विश्वमान सरको झनक झनक माया !
तपाईंले विद्यार्थीसँग पाठ्यपुस्तक बाहेकका कुरा गर्ने गर्नुभएको छ ? उदाहरणका लागि, तपाईं घुम्न गएको ठाउँ बारे ? वा तपाईंले पहिलो पटक कहिल्यै मोबाइल फोनको प्रयोग गर्नुभयो ? आफ्ना कुरा ‘रोमान्टिसाइज’ गर्ने तरिकाले होइन, आफ्नो पुस्ताको अनुभव र ज्ञान छलफलका रूपमा पुस्तान्तरण गर्ने तरिकाले ! हामी अक्सर आफ्नो समयको कुरा ‘सबैभन्दा राम्रो र सही थियो’ भन्नेबाट ग्रसित हुन्छौं। म र मेरी छोरीको उमेरमा २१ वर्षको फरक छ। ऊ र म बाँचेको सामाजिक, आर्थिक र राजनीतिक वातावरण विल्कुल बेग्लै छ। तर, कहिलेकाहीं म पनि आफ्नो पालाका कुराको बखान गरिरहेकी हुन्छु। सामान्यतः हाम्रो बखान उनीहरूलाई ‘बोरिङ’ हुन्छ, तर छलफल र कथात्मक शैली भने कामलाग्दो हुन्छ।
आज म यहाँ मेरा त्यस्तै एक शिक्षकको बारेमा बताउँछु जसले हामीलाई पाठ्यपुस्तक भन्दा बाहिर गएर आफ्नो अनुभव सुनाउनुभयो । त्यो अनुभवमा ‘तिमीहरूलाई के थाहा !’ भन्ने दम्भ थिएन, बरु ‘मैले बाँचेर आएको समय यस्तो थियो, तिमीहरू योभन्दा राम्रो जिन्दगी अनुभव गर्नु है’ भन्ने प्रेरणा हुने गथ्र्यो।
शिशु विकासिनी प्रावि सुनसरीबाट कक्षा–५ पास गरिसकेपछि हामी ठूलो स्कूल आयौं- जनता (उच्च) मावि। यो स्कूल हाम्रो सानो स्कूलभन्दा भिन्न थियो। यहाँ स्कूल ड्रेस लगाएर जानुपथ्र्यो। हरेक शिक्षक कक्षामा आउँदा ‘गुड मर्निङ’ र ‘गुड आफ्टरनुन’ भन्नुपथ्र्यो। सानो स्कूलमा अंग्रेजी विषयको कक्षामा मात्र हामी ‘गुड मर्निङ’ र ‘गुड आफ्टरनुन’ भन्थ्यौं। यहाँ आनन्दले डेस्क–बेन्चमा बसेर, चारैतिर भित्ता र माथि छाना भएको कक्षाकोठामा पढ्न पाइन्थ्यो। घण्टी लाग्थ्यो। टिफिनको र कक्षाको निश्चित समय थियो। हरेक विषयका फरक–फरक शिक्षक थिए। सानो स्कूलको कडा अनुशासन पनि यहाँ होलो थियो। अनि तीन–चार वटा हाम्रै जस्तो सानो स्कूलबाट आएका नयाँ–नयाँ साथीहरू पनि थिए। घरै वा भनौं आफ्नो खेतैसँग टाँसिएको स्कूलमा आउँदा मसँग बेग्लै उत्साह थियो। नयाँ साथीबाट नयाँ कुरा फटाफट टिपिरहेकी थिएँ। त्यही स्कूलमा पढेका साथीहरूसँग सर–मिसहरूका भिन्न–भिन्न आनीबानी जानिरहेकी थिएँ। जस्तो कि, बद्री बस्नेत सरको ‘अनि के त’ भन्ने थेगो छ। उहाँको कक्षामा शुरु–शुरुमा सरले कति चोटि ‘अनि के त’ भन्नुहुन्छ भनेर गनेर बस्थें। कुन सर कडा हुनुहुन्छ अनि कुन सरले पिट्नुहुन्न!

विश्वमान परियार सरसँग मेरो पहिलो इम्प्रेसन गतिलो भएन। झुरुरु परेको कपाल अगाडिको भागमा थोरै लामो पछाडि छोटो। सरको हेयर स्टाइल अन्य शिक्षकभन्दा फरक थियो। उहाँको साइकल पनि अरू सरहरूको जस्तो हिरो थिएन, अलि फरक थियो। शहरमा गियर भएको साइकल देख्दा विश्वमान सरको साइकलको झ्ल्को आउँछ। आइरन गरेको सर्ट जिन्स पाइन्टमा घुसारेर बेल्ट लगाएर चट्ट परेर आउनुहुन्थ्यो। गगल्स र डिङ्गो बुटमा सर एकदम स्मार्ट देखिनुहुन्थ्यो। सरको दाहिने कान सानोमा तेल तताएर लगाउँदा पोलेको भन्थे, एकपत्र उप्किए जस्तो कलिलो, रातो थियो।
विश्वमान सरसँगको त्यो दोस्रो कक्षा थियो। खै किन हो, कक्षा छेउमै हामी बाहिर बसेर पढिरहेका थियौं। सरले त्यतिखेर हामीलाई वातावरण विषय पढाउनुहुन्थ्यो। सरले घरबाट पढेर आउनु भनेको पाठका प्रश्न सोध्न थाल्नुभयो। मैले फटाफट जवाफ दिएँ। सरलाई सेक्सन ‘बी’ मा पनि जान्ने विद्यार्थी रै’छन् भन्ने लाग्यो होला। किनकि, सानो स्कूलबाट आएका अरू सबै जान्नेहरूले बेलैमा नाम लेखाएर सेक्सन ‘ए’मा परेका थिए। ढिलो नाम लेखाएपछि मेरो रोल नं. ९७ थियो। रोल नं. ६० सम्म ‘ए’ सेक्सन भएकाले म सेक्सन ‘बी’ मा परें अनि मेरो रोल नं. ३७ भयो। अहिले त रोल नं.ले विद्यार्थीको गुणस्तर तय हुन्छ, त्यो त झ्न् बेग्लै समय थियो। सर मबाट प्रभावित भएर ‘नाम के हो ?’ भनेर सोध्नुभयो अनि ‘घर कहाँ हो ?’ पनि सोध्नुभयो। त्यसताका ‘तिम्रो घर कहाँ हो ?’ भनेर सोध्दा ‘खाँबो गाडेको ठाउँमा’ भन्ने नयाँ कुरा मैले सिकेकी थिएँ। सरलाई पनि मैले फ्याट्ट त्यही भन्न पुगें। सर रिसाउनुभयो। विद्यार्थीलाई प्याट्ट कुटिहाल्नु भन्दा चेतावनी दिने सरको बानी थियो। ‘तिमेरु यस्तै पढ, यसरी नै होमवर्क नगर, यसैगरी हल्ला गर कि मलाई झ्नक झ्नक माया लागेर आउँछ’ भनेर कडा स्वरमा भन्नुहुन्थ्यो र ‘माया’को संकेत आफ्नो दाहिने हात उचालेर देखाउनुहुन्थ्यो। ‘ए तँलाई राम्रो मुखले बोल्न नआउने रै’छ, त्यसैगरी बोल् कि मलाई झ्नक झ्नक माया लागेर आउँछ!’ सरले हात उचालेर हपार्नुभयो। म खिस्स भएँ। आफूले गल्ती गरेको महसूस भयो।
विश्वमान सर विद्यार्थीलाई पटक्कै नकुट्ने होइन। उहाँ पनि कडा रिसाउनुहुन्थ्यो। तर, उहाँ विद्यार्थीसँग घुलमिल हुन पनि जान्नुहुन्थ्यो। पाठ पढाएपछि समय बच्ने बित्तिकै सर हामीलाई आफूले घुमेका ठाउँबारे बताउनुहुन्थ्यो । एकैछिनमा कुहिरो अनि एकैछिनमा घाम लाग्ने ठाउँ दार्जीलिङको ‘हिल स्टेशन’ हो भन्ने कुरा मैले सरबाटै सुनेकी थिएँ । ठूलो स्कूलमा कक्षा–१० पुगेपछि विद्यार्थी शैक्षिक भ्रमण जाने चलन थियो। यस्तै एउटा शैक्षिक भ्रमणमा विश्वमान सर लगायत केही अन्य सर–मिस पनि दार्जीलिङ जानुभएको थियो। अरू सर–मिसले उहाँहरूको कक्षामा दार्जीलिङबारे कति सुनाउनुभयो थाहा छैन, तर हामीले भने आफू नै दार्जीलिङ गए जस्तो गरेर विश्वमान सरबाट सुन्यौं । दार्जीलिङको रेल, भानुभक्तको सालिक र त्यहाँको नेपाली भाषाबारे उहाँबाटै सुन्यौं । किन त्यहाँ नेपाली भाषा, संस्कृति नेपालभन्दा पनि बढी मुखर देखिन्छ भन्ने कुरा थाहा पाउँदा लागेको थियो— जब पहिचानको संकट पर्छ, मान्छे आफ्नो भाषा र संस्कृति जोगाउन लागिपर्छ । यहाँ हामी कसैलाई ‘हामी दशैं मनाउँदैछौं’ भनी रजिस्टर गर्न पर्ने थिएन तर दार्जीलिङको दशैं आफूलाई नेपाली मूलको हो भन्ने कुरा जीवित राख्नका लागि जरूरी थियो। सरले यी कुरा यति गहिरो गरी भन्नुभएको होइन तर सरले भनेका कुराहरू समयक्रममा परिपक्व हुँदै जाँदा मैले बुझन सकेकी हुँ।
सरले हामीलाई आफूले पहिलो पटक क्यासेट प्लेयर चलाउँदाको अनुभव सुनाउनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो— ‘ओहो, एउटा डब्बाभित्र चक्का हाल्दा गीत बजेको देखेर म छक्क परेको थिएँ’, ‘अहिले मेरो छोरा जन्मँदै क्यासेट प्लेयर चलाउन जान्दछ । तिमेरु जन्मँदै टिभी आइसकेको थियो। हामीले धेरैपछि देखिम। तिमीहरूले अझै कति नयाँ नयाँ कुरा देख्नेछौ ।’ नभन्दै, आज हामीले अनेकन् नयाँ कुरा अनुभव गर्न पाइसक्यौं।
विश्वमान सरले नै हो हामीलाई ‘कम्प्युटर भन्ने एउटा मेसिन छ, जसले अप्ठेरा अप्ठेरा हिसाब पनि सरल बनाइसक्यो’ भनेको। पत्यार लागेको थिएन, क्याल्कुलेटर त थाहा थियो तर यो कम्प्युटर भन्ने जिनिस कसरी फरक छ भन्ने लाग्थ्यो। उहाँ विज्ञानका चमत्कारबारे हामीलाई यति रोचक शैलीमा भन्नुहुन्थ्यो, हामी अचम्म मानेर उहाँका कुरा सुन्थ्यौं। ‘कसरी सम्भव भयो होला’, उहाँका कुराले हाम्रो मनमा यस्तो प्रश्न उमाथ्र्यो।

विश्व सर त्यसबेला युवा नै भएर हो कि विद्यार्थीसँग गफ गर्न रमाइलो मान्नुहुन्थ्यो। हामी ‘आज सरले हामीलाई के नयाँ कुरा सुनाउनुहोला’ भनेर कुथ्र्यौं। सरले पुरानै कुरा दोहो¥याए पनि हामीलाई उहाँको कथात्मक शैलीले तानिराख्थ्यो। जनसंख्या र वातावरण विषयमा उहाँले पढाएको कुरा उति सम्झ्नामा छैन। सम्झ्नामा छन् त, पाठ्यपुस्तक भन्दा बाहिर गएर भनेका कुराहरू।
अक्सर पाठ्यपुस्तक पढाएर त्यसमा विद्यार्थीले ल्याउने नम्बरमै शिक्षकहरूको शिक्षण सफलताको मापन हुन्छ । अभिभावकले पनि शिक्षकलाई त्यही कसीमा राखेर हेर्छन्। तर, शिक्षकसँग त पाठ्यपुस्तकको मात्र ज्ञान हुँदैन। सफलता, असफलता, रिस, चिन्ता अनेक भावनासँग जुधेको अनुभव पनि हुन्छ। उसले भेटेका मान्छेहरूको कथा हुन्छ । उसको शिक्षक बन्ने यात्राको पनि कथा हुन्छ। उसले देखेका ठाउँहरूको तस्बिर हुन्छ । तर यी कुराबारे कमै शिक्षकले विद्यार्थीसँग संवाद गर्छन्। कतिले भन्न जानेका हुन्नन्, कतिलाई पाठ्यपुस्तकमै केन्द्रित हुनुपर्छ भन्ने लाग्छ, कतिलाई प्रणाली र अभिभावकको अपेक्षाले बाँधेको हुन्छ। तर, यसको घाटा भने विद्यार्थीलाई भइराखेको हुन्छ। हाम्रो सोच्ने, संवाद गर्ने, फरकपन बुझने र आफ्नो ठाउँभन्दा पनि पर संसार छ भनेर सिकाउने कुनै एउटा विषय हुन्न स्कूलमा । शिक्षकको संवाद आफैंमा यति महत्वपूर्ण विषय हो जुन विद्यार्थीले पछि जुनसुकै विषय पढोस्, जहाँसुकै जाओस्, जेसुकै बनोस् सधैं सम्झ्इिराख्छ, उसलाई सधैं काम लागिरहन्छ।
अनि थाहा छ, यस्तो शिक्षकलाई विद्यार्थीले सधैं सम्झ्रिहन्छन्। अहिले मेरा साथीहरू (मेरो स्कूलभन्दा बाहिरका) सँग उनीहरूको स्कूलको कुनै शिक्षक बारे सोध्यो भने विश्वमान सर जस्तै शिक्षकका कुरा गर्छन्। यही लेखका लागि मैले सरसँग कुरा गरेकी थिएँ। हाम्रो स्कूलबाट उहाँ शारदा मावि, बलाहा सरुवा भएर जानुभएको थियो, तीन वर्षअघि रिटायर्ड हुनुभएछ। ‘सर बलाहामा पढाउँदा पनि झ्नक झ्नक माया लाग्छ भनिरहनुहुन्थ्यो कि ?’ मैले सोध्दा सर हाँस्नुभयो ।



