वसन्त थापाको औसत जिन्दगी !
वसन्त थापासँगको मेरो साथ र संगत पुरानो हो। पाँचदशक त नाघ्यो होला। त्यतिबेला काठमाडौं यति जगमगाइसकेको थिएन। थोरै, तर स्पष्ट सम्झ्ना छ मलाई हाम्रो पहिलो भेटको। ज्ञानेश्वरबाट गौशाला लाग्ने सडकको मुखैमा भएको त्यो भेट र परिचय दुवै रमाइलो थियो। वसन्त गोरो, मोटोमोटो, खाइलाग्दो व्यक्तित्वको लक्का जवान केटो थियो। शरीरका हिसाबले म निकै दुब्लो भए पनि मेरो अनुहार र शरीर नराम्रो चाहिं थिएन। भेट हुनेवित्तिकै हामी एकअर्काप्रति आकर्षित भयौं। त्यसपछि दिनहरू बित्दै गए। वसन्तसँगको मेरो मित्रता ‘अभिन्न’ हुँदै गयो। रहँदा बस्दा त्यो अभिन्न अवस्थामा नजानिंदो किसिमले अलिकति ईष्र्या पनि जोडियो। हामी एकअर्काका लेखनलाई प्रतिस्पर्धात्मक नजरले हेर्न थाल्यौं।
वसन्त लेखनमा मात्रै अल्झ्एिर बसेन। उसले आफ्ना लागि सिर्जनाका नयाँ–नयाँ क्षेत्र पहिल्याउन थाल्यो। बहु-आयामिक प्रयोगमा उसको रुचि उसको ‘पेशा’ पनि बन्यो। भर्खरै प्रकाशित उसको कृति ‘औसत एउटा जिन्दगी’ उसका वैचारिक विम्बहरूको सँगालो हो। बत्तीस थान संस्मरणको यो सँग्रह समसामयिक घटनाको विवरण मात्र होइन, उसको सिर्जनात्मक प्रतिभाको परिचायक पनि हो।
वसन्तले औसत एउटा जिन्दगी पुस्तकको पुछारमा आफूलाई ‘किन म लेखक होइन ?’ भन्ने टिप्पणी मार्फत आफ्नो चिनारी चलायमान रहेको स्वीकार गरेको छ। टिप्पणी शैलीमा लेखिएको यो रचनामा आफ्नो चिनारी एकनासको नरहेको बताउँदै ऊ लेख्दछ: ‘जीवनको यात्रा नै मेरो त्यस्तै रह्यो। सीधा सरलरेखामा कहिल्यै चल्न सकेन। सधैं बांगोटिंगो, टेढोमेढो, चाइनिज चेकरको गेम जस्तो। मानिसहरू साहू, व्यापारी, पुलिस, सेना, वकील, न्यायाधीश, शिक्षक, डाक्टर, नेता, पाइलट, मिस्त्री हुन्छन् र जीवनभर उनीहरू त्यही भनेर चिनिन्छन, त्यसैको फ्रेममा जकडिन्छन् । म भने अनेक साइजको फ्रेममा पस्दै निस्कँदै गरें। म पुस्तक प्रकाशकको फ्रेममा थिएँ र एक अर्थमा अझै छु पनि । त्यसअघि म पत्रकारको फ्रेममा थिएँ। फिलिम फेस्टिभलको आयोजक पनि भएँ र रहें । त्यसभन्दा अगाडिको कुरा नगरौं के–के थिएँ के–के।’
बाँच्न गाह्रो कम्युनिष्टपुत्र भएर— वसन्तको ‘औसत’ जिन्दगीको यो वृत्तान्त सर्वाधिक मर्मस्पर्शी र संवेदनशील छ। ...घोपा अस्पतालको शवगृहबाट उहाँको पार्थिव शरीर लिएर आएपछि हाम्रो घर–आँगनमा धरानका सबै घटकका कम्युनिष्टहरू श्रद्धाञ्जलि दिन भेला भए। बा आफैं भने पहिले रायमाझी पार्टीको केन्द्रीय समितिमा र पछि पार्टी फुटेर बनेको नेकपा (मानन्धर)को केन्द्रीय समितिमा मृत्युपर्यन्त रहनुभएको थियो । हँसिया–हथौडा सहितको रातो झ्ण्डा उहाँको शवमाथि ओढाए। त्यो झ्ण्डाले एउटा खास पार्टीको नभई सम्भवतः समग्र कम्युनिष्ट पार्टीको प्रतिनिधित्व गरेको थियो।...
वसन्तका यी शब्दहरूले आजको समयको राजनीतिक प्रवाहलाई स्पष्ट देखाउँछन्। जम्माजम्मी १८ वर्षअघि भएको वसन्तका बाको देहावसान भन्दा अघिका नौ वर्षमा बाले भोग्नु परेको यन्त्रणा आजको सामयिक यथार्थ बनेको छ। नेताहरू समृद्धिको उपल्लो तह भोग्दैछन्। जनताका सेवामा लागेका कार्यकर्ताको जीवनमा कुनै परिवर्तन आउन सकेको छैन। वसन्तलाई कम्युनिष्ट पुत्र भएर बाँच्न कठिन लागेको छ। तर, देशमा परिवर्तनका लागि काम गर्ने कांग्रेस र अरू राजनीतिक दलका प्रतिबद्ध कार्यकर्ताको जीवनको अन्तिम समय पनि वसन्तका बाको भन्दा भिन्न छैन।
वसन्तले आफ्नो औसत जिन्दगीमा भोगेका कष्टको विवरण अहिलेको पुस्ताका लागि अद्भुत र अनौठो लाग्न सक्दछन्। उसका यी रचना विविध अनुभव र अनुभूतिका सँगाला हुन्। उसको यो सँगालोको अन्तिम रचनाको शीर्षक छ– किन म लेखक होइन ? उसले लेखेको छ: ‘म आफैंले खडा गरेको मापदण्ड र आफूखुशी तयार पारेको परिभाषा बमोजिम भने म लेखक किमार्थ होइन। लेखकको त्यस उच्च आसनमा बस्ने अधिकार म राख्दिनँ ।’ वसन्तको यो अभिव्यक्तिसँग म सहमत छैन। तर किन सहमत छैन ? औसत एउटा जिन्दगी पढिसकेकोले पनि म व्याख्या गर्न चाहँन्न । उसले विभिन्न समयमा लेखेका र कथेका यी रचनाहरू विभिन्न समयका सहज र सान्दर्भिक व्याख्या र विवरण हुन्। वसन्तले आफ्नो ‘औसत एउटा जिन्दगी’ लाई नेपाली समाजको प्रतिविम्ब बनाएको छ। यो उहिल्यै स्थापित भइसकेको विषय हो। उसका रचनाहरूको यो संकलनले यही कुरा बताउँछ।



