बाढीपछिको सिकाइ : भौतिक पुनर्निर्माणअघि मनको उपचार

बाँधेको कालो कपाल, बुट्टेदार कुर्ता लगाएकी करीब १२ वर्षकी एक बालिका। नीलो टेन्टभित्र कालो म्याटमा घोप्टिएर डटपेनले कापीमा केही लेखिरहेकी थिइन्।

२०८३ भदौ २१ गते नुवाकोटको सदरमुकाम विदुरस्थित जिल्ला प्रशासन कार्यालयको माथि रहेको पितृमोक्ष धाम क्रियापुत्री कल्याणकारी संस्थाको भवन पुग्दा देखिएको दृश्य हो यो। भवनको एक कान्लामाथि दुईवटा टेन्ट टाँगिएका छन्। माथिल्लो टेन्टमा मानसिक समस्याको प्राथमिक उपचार र तल्लो टेन्टमा सिकाइका गतिविधि चलिरहेका छन्। तल्लो टेन्टमा तिनै बालिका टोलाउँदै कापीमा केही लेखिरहेकी छिन्। अरू बालबालिका एकछिन खेल्थे, लेख्थे अनि यताउति गर्थे। तर उनी एकोहोरो घोप्टिएर कोरिरहन्थिन्। उनको अनुहारमा एउटा गहिरो शून्यता देखिन्थ्यो।

होल्डिङ सेन्टरमा खाना खाने समय भयो। सबै बालबालिका खाना खान गए, तर उनी फेरि पनि लेखिरहिन्। अरू बालबालिका खाना खाएर परामर्शका लागि दोस्रो टेन्टमा पुगे। उनी परामर्श सेवा लिन पनि गइनन्। नगरपालिकाले खटाएका भीमसेन माविका शिक्षक राजन भट्टले सुनाए- ‘बाढीमा उनका बुबाआमा दुवै बेपत्ता भएका छन्।’ शिक्षक भट्ट आफैंले पनि उनीसँग दोहोरो संवाद गर्न नसकेको बताए। 

त्रास, निद्राहीन रात र ट्रमाको घेरा
विदुर नगरपालिका-४ स्थित पृथ्वी मावि पुग्दा कक्षाकोठामा सशस्त्र प्रहरीका जवानहरू भरिएका थिए। तेस्रो तलामा भेटिइन् विद्यालयकी कार्यालय सहयोगी रेखा श्रेष्ठ। उनको घर बाढी आएको ठाउँभन्दा ८०० मिटर र विद्यालयभन्दा करीब ५०० मिटर माथि छ। रेखा र उनको परिवार आफ्नै घरमा बस्छन्।

रेखाका छोरा पृथ्वी माविमै कक्षा ७ मा छन्। बाढी आएको बेला उनी विद्यालयमै थिए। बाढीको त्यो विभीषिकापछि उनको छोराको मानसिक अवस्था सामान्य रहेन। उनी एक ठाउँमा शान्त भएर बस्नै सक्दैनथे, हरसमय भागिरहने वा दौडिरहने गर्थे। गाउँमा कसैले खोला आयो, भागौं भनेर हल्ला मात्र गर्दा पनि उनी अत्यधिक आत्तिएर शरीर नै नीलो हुन्थ्यो।

रेखाको छोराले लगातार ५ दिनसम्म पानी समेत खान मानेन। राति निद्रामै उठेर हिंड्ने र मोबाइलमा बाढीका समाचार वा भिडियो देख्ने बित्तिकै फेरि बाढी आयो भन्दै चिच्याउने गर्थे। छोराको अवस्था यसरी जटिल बनेपछि वैदेशिक रोजगारीमा रहेका उनका बुबा नेपाल फर्किए। परिवारले उनलाई उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल पुर्‍याए।

चिकित्सकहरूले गाली नगर्न, दिमागमा तनाव हुने कुरा नगर्न र बाढीका समाचार नदेखाई सामान्य खेलहरूमा अल्झाउन सुझाव दिए। काठमाडौंमा दिनभरि विभिन्न ठाउँमा घुमाएपछि र परिवारसँग समय बिताएपछि उनको अवस्थामा केही सुधार आयो। अहिले उनी परिवार सहित विदुर फर्किएका छन्, तर पूर्ण रूपमा निको भइसकेका छैनन्। अझै पनि राति निद्रामै उठेर हिंड्ने र खाना खान मान्दै नमान्ने समस्या कायम छ।

बालबालिकालाई प्राथमिक मनोपरामर्श
अहिले स्वास्थ्य मन्त्रालय र विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा बाढीग्रस्त बस्तीमा प्राथमिक परामर्श सेवा सञ्चालन भइरहेको छ। मन्त्रालयका अनुसार त्यस्तो परामर्शका लागि १४७ जना जनशक्ति खटिएका छन् र बाढीको १५ दिनमा ८ हजार ७६८ जनाभन्दा बढी मानिसहरूले प्राथमिक सेवा पाइसकेका छन्। संकटको अवस्थामा विपद् प्रभावितलाई ‘हामी तपाईंको साथमा छौं’ भन्ने प्रत्याभूति दिलाउनु नै महत्वपूर्ण रहेकाले सोही काम मनोवैज्ञानिक प्राथमिक परामर्शकर्ताहरूले गरिरहेकोे स्वास्थ्य सेवा विभागका डा. प्रकाश ज्ञवालीले जानकारी दिए। 

विदुरस्थित सोही होल्डिङ सेन्टरमा बालबालिकालाई परामर्श दिइरहेकी नलिनी खड्गीका अनुसार अहिले प्रारम्भिक चरणमा बालबालिकासँग सम्बन्ध र विश्वास निर्माण गर्ने, उनीहरूलाई सकारात्मक क्रियाकलापमा संलग्न गराउने र असहज परिस्थिति सामान्यीकरण गराउने काम भइरहेको छ । साधारण काउन्सिलिङले मात्र काम नगर्ने, औषधि नै खानुपर्ने जटिल मानसिक समस्या देखिएका बालबालिकाहरूलाई भने दक्ष मनोचिकित्सक कहाँ ‘रिफर’ गर्ने गरिएको छ।

सुनकोशी र मेलम्चीः दोहोरिंदै आएको उही नियति
२०८१ असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि सुनकोशी नदीमा आएको विनाशकारी बाढीले सिन्धुलीको मूलकोटस्थित पशुपति आधारभूत विद्यालय (आवि) को जगै हल्लाइदियो। सुनकोशी किनारैमा रहेको यस विद्यालयका १२ कक्षाकोठा गेग्रान र हिलोले पुरिए। कम्प्युटर ल्याब, शैक्षिक सामग्री र डेस्क-बेञ्च क्षणभरमै बाढी सँगसँगै बगे।

घटनालगत्तै अभिभावक, स्थानीय समुदाय, गैरसरकारी संस्था र स्थानीय सरकारको सक्रियतामा विद्यालय त सफा गरियो। डेक्स-बेञ्च र शैक्षिक सामग्रीको तत्कालीन जोहो गरेर एक महीनापछि पठनपाठन पुनः शुरु पनि भयो, तर त्यहाँको अवस्था अझै पनि सामान्य बन्न सकेको छैन। प्रधानाध्यापक निर्मलाकुमारी श्रेष्ठका अनुसार उनीहरूको विद्यालय सुरक्षित स्थानमा सर्न सकेको छैन। विद्यालय ‘मर्ज’ गर्ने विषय पनि उठ्यो। तर मूलकोट बजारका विद्यार्थीलाई पायक पर्ने विद्यालय नजिक नभएपछि यो विषय पनि टुंगो लाग्न सकेको छैन। विद्यालयमा कम्पाउण्ड नहुँदा विद्यार्थी असुरक्षित छन्, कम्प्युटर ल्याब पुनर्जागृत हुनसकेको छैन। शिक्षकहरू परम्परागत शैलीमै कक्षा धानिरहेका छन्।

थप दुःखद् पाटो त के छ भने, पशुपति आविमा अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधा सहित पढाइन्थ्यो। बाढीपछि कम्पाउण्ड र सुरक्षाको अभावमा सिन्धुली र छिमेकी जिल्लाका त्यस्ता २२ जना बालबालिकाको सिकाइ पूर्ण रूपमा विथोलिएको छ। रोजगारीको सिलसिलामा बाहिरबाट मूलकोट आएका अभिभावकका २० भन्दा बढी बालबालिका विद्यालय छाडेर अर्कै स्थानमा स्थानान्तरण भइसकेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २०८१ को मनसुनमा पशुपति आवि जस्तै देशका ४१ जिल्लाका ६७७ विद्यालयमा क्षति पुगेको थियो।

विगतका घाउ र मनोसामाजिक संकट
विपद्ले भौतिक पूर्वाधार मात्र भत्काउँदैन, बालबालिकाको बालमस्तिष्कमा गहिरो मनोवैज्ञानिक आघात पनि छोड्छ। २०७८ असार १ गते मेलम्चीमा आएको बाढीको भोगाइ पनि फरक थिएन। हेलम्बु-१ स्थित गोल्मादेवी माविका प्रअ सोम ज्योति सम्झ्न्छिन्, “शुरुमा कहिले र कसरी विद्यालय खोल्ने भन्ने अन्योल थियो। २४ दिनपछि स्थानीय तह र जिल्ला प्रशासनको समन्वयमा विद्यालय त खुल्यो, तर वास्तविक चुनौती त्यसपछि शुरु भयो। घरगोठ, खेतीपाती, बाटो र पुल समेत बाढीले बगाएका कारण विद्यार्थी ठूलो मानसिक तनावमा थिए। क्षमताभन्दा बढी विद्यार्थीलाई आवासीय सुविधा दिनुपर्ने, दिवा खाजा निरन्तर चलाउनुपर्ने र सबैभन्दा मुख्य कुरा विद्यार्थीको बिग्रिएको मनस्थितिलाई लयमा ल्याउनुपर्ने थियो। विद्यालयका ३०० विद्यार्थीमध्ये करीब ८० प्रतिशतमा डराउने, रुने, कराउने र एकोहोरो हुने जस्ता गम्भीर मनोसामाजिक समस्या देखिएका थिए । पछि दक्ष विशेषज्ञ मार्फत मनोसामाजिक परामर्श गराएपछि मात्रै वातावरण केही सहज बनेको थियो।”

ऐन-कानून व्यवहारमा कहिले ?
नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले विपद् प्रभावितहरूलाई अनिवार्य मनोसामाजिक परामर्श सेवा दिने व्यवस्था गरेको छ। त्यस्तै, बालबालिका सम्बन्धी ऐन, २०७५ ले पनि विपद्का कारण मानसिक वा शारीरिक रूपमा प्रभावित बालबालिकालाई ‘विशेष संरक्षण आवश्यक परेका बालबालिका’का रूपमा वर्गीकरण गर्दै उनीहरूलाई विशेष मनोसामाजिक सहयोग पुर्‍याउनुपर्ने दायित्व तोकेको छ।

यसै गरी, विद्यालय शिक्षा क्षेत्र योजना-एसईएसपी (२०७९-२०८८) मा संकटको घडीमा शिक्षाको निरन्तरता, विद्यालयमा आधारित मनोसामाजिक प्राथमिक उपचार र स्वास्थ्य सेवाको संयन्त्र बनाउने रणनीति स्पष्टसँग उल्लेख गरिएको छ। तर, मूलकोट र मेलम्चीका घटनाले नीति र व्यवहार बीच अझै ठूलो खाडल रहेको देखाउँछ।

बाढीपछि सिक्नै पर्ने शिक्षा
विपद्पछिको शैक्षिक पुनरुत्थानमा प्रायः भौतिक इँटा र सिमेन्ट जोड्ने हतारो हुन्छ। बालबालिकाको खलबलिएको मनस्थितिलाई सम्हाल्ने काम दोस्रो प्राथमिकतामा परेको देखिन्छ। त्रिशूली-भोटेकोशी लगायत विगतका विपद्का घटनाबाट सिक्नै पर्ने पहिलो पाठ भनेको भौतिक पुनस्र्थापन अघि बालबालिकालाई तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार उपलब्ध गराउनु हो। मनोचिकित्सक डा. अमित झका अनुसार विपद्को आघातले बालबालिकाको मस्तिष्कको सिकाइ क्षमतामा गम्भीर असर पुर्‍याउँछ। डा. झा भन्छन्, “विद्यालय खुल्नेबित्तिकै पाठ्यक्रम पूरा गर्ने हतारो नगरी कम्तीमा दुई हप्ता कक्षाकोठालाई घाउ निको पार्ने थलो बनाइनुपर्छ।” 

शिक्षकले बालबालिकामा मानसिक तनाव भए/नभएको पहिचान गर्ने ७ तरिका

१.    व्यवहारमा आएको असामान्य परिवर्तन नियाल्ने अत्यधिक उदास हुने, निराश देखिने, बारम्बार रुने, चुपचाप बस्ने वा पहिलेभन्दा फरक व्यवहार गर्न थालेको छ कि छैन, हेर्नुहोस्।
२.    साथीसँगको अन्तरक्रिया घटेको छ कि छैन साथीहरूसँग नबोल्ने, समूहमा सहभागी नहुने, एक्लै बस्ने वा सामाजिक गतिविधिबाट टाढिन खोज्ने बालबालिकालाई विशेष ध्यान दिनुहोस्।
३.    ध्यान र एकाग्रतामा समस्या देखिएमा ख्याल गर्ने पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने, एकोहोरो हुने, अस्वाभाविक रूपमा चञ्चल हुने वा सामान्य कुरामा पनि झस्किने व्यवहार तनावको संकेत हुन सक्छ ।
४.    डर, आत्तिने र असुरक्षाको अवस्था बुझ्ने
    बाढी वा विपद्को कुरा गर्दा अत्यधिक डराउने, आत्तिने वा बेचैन हुने बालबालिकालाई सुरक्षित वातावरणमा व्यक्तिगत रूपमा कुरा गर्ने अवसर दिनुहोस्।
५.    ठूला बालबालिकासँग सरल प्रश्न मार्फत बुझ्ने राति राम्रोसँग निद्रा लाग्छ ?, अझै धेरै डर वा तनाव भइरहेको छ ?, कसैसँग मनका कुरा गर्न मन छ ? जस्ता सहज प्रश्न सोधेर उनीहरूको अवस्था बुझ्न सकिन्छ ।
६.    साना बालबालिकाको भावना व्यवहार र सिर्जनाबाट बुझ्ने भावना शब्दमा व्यक्त गर्न नसक्ने बालबालिकालाई चित्र कोर्न, खेल्न वा समूहगत गतिविधिमा सहभागी गराएर उनीहरूको व्यवहार र भावनात्मक अवस्था अवलोकन गर्नुहोस् ।
७.    समस्या देखिएमा एक्लै समाधान गर्न नखोज्ने प्रारम्भिक रूपमा तनाव वा मानसिक समस्याको संकेत देखिएका बालबालिकालाई विद्यालयका मनोपरामर्शदाता, मनोविज्ञ वा सम्बन्धित विशेषज्ञकहाँ व्यक्तिगत परामर्शका लागि पठाउनुहोस् ।

डा. झाको विचारमा- चित्रकला, खेलकुद, संगीत, नाटक र कथा वाचन जस्ता बालमैत्री गतिविधि मार्फत बालबालिकालाई सामान्य अवस्थामा फर्काएपछि मात्रै औपचारिक पठनपाठन शुरु गर्नु व्यावहारिक हुन्छ। उनी थप्छन्- अर्को महत्वपूर्ण पाटो सुरक्षित र समावेशी पूर्वाधारको पुनर्निर्माण हो। बाढीको उच्च जोखिममा रहेका नदी किनारका विद्यालयहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्छ। विशेष गरी अपाङ्गता भएका र आवासीय सुविधामा रहेका बालबालिका विपद्पछि सबैभन्दा बढी विस्थापित हुने भएकाले उनीहरूका लागि पहुँचयुक्त र कम्पाउण्ड वाल सहितको सुरक्षित घेराबार निर्माणलाई प्राथमिकतामा राख्नै पर्छ। यसका साथै, स्थानीय तहको नेतृत्वमा विपद् लगत्तै वैकल्पिक सिकाइ केन्द्र सञ्चालन गर्ने, पोषिलो दिवा खाजालाई निरन्तरता दिने र बगेका शैक्षिक तथा प्राविधिक सामग्रीको द्रुत क्षतिपूर्ति गर्ने एकीकृत योजना बन्नु आवश्यक रहेको प्रअ निर्मला बताउँछिन्।  


 

 

commercial commercial commercial commercial