नेपालको भूगोलः पढ्नु र पढाउनुको महत्व

हरेक मुलुकको सिमानाभित्र भूगोल हुन्छ, तर नेपाललाई ‘भौगोलिक देश’ नै भन्न मिल्छ; किनकि हाम्रोमा संसारमै नपाइने हिमाल–पहाड–तराईको उत्तर–दक्षिण उचाइ-गहिराइ र पूर्व-पश्चिम विविधता पाइन्छ, त्यो पनि छोटो दूरीमै। यो भूगोलले नै नेपालको अग्रगमन र अधोगति- दुवैको निर्धारण गर्दछ भने ‘ज्योग्राफी’ (Geography) विषय स्कूल र कलेजमा प्राथमिकतासाथ पढाइनुपर्ने थियो। तर हाम्रा कक्षाकोठामा भूगोलको पढाइ अति नै कमजोर भएको छ, र नयाँ पुस्तालाई चाहिने देशको भौगोलिक ज्ञान प्रायः छैन भन्दा हुन्छ। त्यसै कारण समाजशास्त्रदेखि पत्रकारिता, राजकाजदेखि भौतिक संरचना निर्माण र अर्थतन्त्रको अध्ययन- सबै पक्षहरू कमजोर बन्न पुगेका छन्।

१० भदौको रसुवा-विध्वंसलाई सामना गर्न पनि भूगोल र भूगर्भको ज्ञान चाहिन्छ। शुरुमा रसुवा सिमानाबाट तल झ्रेको प्रलयकारी लेदो-गेग्रानयुक्त बाढीको कारण स्वभावतः तिब्बतको हिमताल फुटेर आएको अनुमान भयो। तर वास्तविकता अर्कै रहेछ, कि नेपालको सिमाना लाङटाङ लिरुङ हिमालको उत्तरी फेदको ल्हेन्दे खोलासम्म नै रहेछ।

चट्टान र हिमनदी नेपाली भू-भागबाटै फुटेर, तल बग्दै रसुवागढी हुँदै आएको रहेछ। यसरी यो त्रासदी नेपालमै उत्पन्न भएको थाहा भयो। अब यसको पर्याप्त अध्ययन गरिनुपर्छ- भूगर्भदेखि भूराजनीतिसम्म। नत्र त, ‘चीनले पठाएको बाढी’ भन्दै पन्छिन सजिलो नै हुनेभयो।

नेपालका विभिन्न समुदायको बसोबासको विविधता- हिमालय पर्वतको भौगर्भिक उत्पत्तिले निर्धारण गरेको हो। जब जम्बुद्वीपको टापु, एशियाली ‘टेक्टनिक प्लेट’ सँग बजारिएर ५ करोड वर्षको अन्तरालमा हिमालय पर्वत उठ्यो, त्यसपछि नै मनसुनी वर्षाका कारण यस क्षेत्रमा हरियाली छायो, मानव बसोबासको लागि उर्वरभूमि बन्यो। प्राग्ऐतिहासिक समयमा बसाइँसराइ गर्दै मानिस यहाँ आउने जाने गर्न थाले, तर भिरालो र खोलाहरूले काटेको देश भएकोले यहाँ आएर बसोबास गर्नेहरूका विविध समुदाय उत्पत्ति भए, तिनको भाषा, रहनसहन र संस्कृति पनि फरक–फरक हुनपुग्यो। हाम्रो देशले २०७२ को संविधान अन्तर्गत आत्मसात् गरेको समावेशिता हाम्रो भूगोलले दिएको जनसांख्यिक विविधतामा आधारित छ।

आर्थिक नीतिनिर्माण र संरचनाहरूको निर्माणलाई भूगोलको ज्ञानले सघाउने काम मात्र गर्दैन, यो अपरिहार्य नै छ। भूगोलको ज्ञानले विश्वव्यापी मौसम परिवर्तन बारे हामीलाई अझ् सचेत गराउँछ र पृथ्वीको बढ्दो तापक्रमले ‘पर्माफ्रस्ट’ (हिउँले बाँधेको गेग्रान) कसरी पगाल्दैछ भन्ने बुझउँछ। पूरै हिमाली शृंखलाको फेदमा लाखौं वर्ष बरफले बाँधेर राखेको अर्बौं टन ढुंगा–धूलो बढ्दो विश्व तापमानका कारण कमजोर बन्दैछन्। यतातिर ध्यान गएको भए शायद २० वर्षको समय र २५ करोड डलर खर्च गरेर बनाएको मेलम्ची खानेपानी आयोजना बारे सोचिन्थ्यो कि, भोटेकोशीमा त्रिशूली बजारदेखि माथि टिमुरेसम्म झन्डै १५० करोड डलर लगानी गरेर खडा गरिएका र अहिले ध्वस्त भएका एक दर्जन जलविद्युत् आयोजना निर्माण अघि नै अलि सच्चिन्थ्यो कि  ?

कुनै कारण विना पनि आफ्नो भूगोल र भौतिक परिवेश प्रति नागरिकमा जिज्ञासा र साधारण चासो हुनुपर्ने हो। काठमाडौं उपत्यकाको उत्पत्ति के, कसरी हो ? यो आफैं एउटा कौतूहलको विषय छ, जबकि २५०० किमी लामो हिमाली शृंखलाछेउ यो एक कचौरा आकारको फराकिलो उपत्यका बन्न पुग्यो।

पोखरा उपत्यकाको बान्की बुझन पनि भूगोल चाहियो नै। मात्र ८०० वर्ष अगाडि आएको महाभूकम्पका कारण आजको अन्नपूर्ण-४ हिमालको ठूलो भाग भासियो र तलको पूरै उपत्यकालाई चट्टान, ढुंगा र माटो-बालुवाले पुरेर समथर बनाइदियो। यसैले पोखरा शहर गेग्रानको थुप्रो माथि बसेको छ र यसै कारण परेको पानी यहाँ अडिंदैन। पोखराको मैदानमा उठेका टापु जस्ता थुम्काहरू ८०० वर्ष अघि अग्ला-अग्ला पहाडका टुप्पा थिए।

भूगोल जान्नाले शहरीकरण कसरी गर्ने/नगर्ने (सबैलाई अहिले लागेको बेनी बजारको खतरा) वा राजमार्ग कसरी नबनाउने भन्ने बुझन सकिन्छ। फर्केर हेर्दा पहाडै पहाड अघोर–सिमभञ्ज्याङ र टिस्टुङ हुँदै नौबिसे झ्र्ने भारतीय सहयोगमा बनेको त्रिभुवन राजपथ (‘बाइरोडको बाटो’) नै उपयुक्त देखिंदै गयो। पछिका दशकमा चिनियाँ सहयोगमा बनेका नदी किनार दौड्ने राजमार्ग (पृथ्वी राजमार्ग, अरनिको राजमार्ग) कति उपयुक्त रहे ? जबकि यी राजमार्ग नदीको कटान र पहिरोले भत्केको भत्केकै छन्।

भूगोलको सामान्य ज्ञान आफैंमा रमाइलो पनि छ। जस्तै; काठमाडौंबाट नारायणघाटतर्फ जाँदा पहिला त्रिशूली नदीमा बूढीगण्डकी मिसिन्छ, अनि लगत्तै मस्र्याङ्दी, सेती, कालीगण्डकी। यीमध्ये कुन नदी तिब्बतदेखि हिमाल छिचोल्दै झ्रेको छ ? कुन चाहिं नेपाल भित्रकै उत्पत्ति हुन् ? कालीगण्डकी नदी माथितिर लाग्दा धौलागिरि र अन्नपूर्ण शृंखला बीच बग्दा किन यसलाई ‘विश्वकै गहिरो खोल्सा’ भनिन्छ ? अनि कालीगण्डकीको उद्गम भौगोलिक हिसाबले तिब्बती पठारको अंश हो भने नेपालका अरू कति क्षेत्र त्यस्ता छन्  ?

पूर्वी नेपालको चीन-तिब्बत सिमाना हिमालय पर्वतको पानीढलो अन्तर्गत कहाँसम्म पर्छ भन्ने कुराले भौगोलिक अर्थ मात्र राख्दैन, सांस्कृतिक, भूराजनीतिक र सामरिक महत्व पनि राख्छ। कञ्चनजङ्घादेखि जुगल हिमालसम्मको हिमाली धार नै दुई देश बीचको सिमाना रहेको छ, तर लाङटाङमा आएर यो पूरै पर्वत नेपालभित्र पर्छ। लाङटाङभन्दा पश्चिमतर्फ गणेश हिमाल शृंखलाका केही चुचुरा नेपालभित्र पर्छन् भने त्यसभन्दा पश्चिमका सबै हिमशृंखला पूर्ण रूपमा नेपालका हुन्— जस्तै, मनस्लु, अन्नपूर्ण, धौलागिरि, अपि र साइपाल। र, यही ठाउँमा, सगरमाथा (एभरेस्ट, चोमोलोङ्मा) नेपालको शान र धरोहर भन्दै गर्दा भौगोलिक हिसाबले यो नेपाल र चीन बीच आधा–आधा बाँडिएको छ भन्ने तथ्य पनि बिर्सनुहुँदैन। इतिहास (सीमा रेखाङ्कन कार्य) र भूगोल राम्ररी नबुझनेले ‘सगरमाथा पूरै नेपालको होइन है’ भन्नेलाई दुत्कार्ने गर्छन्।

नेपाल र नेपालीले देश र आफूलाई राम्रोसँग चिन्न पाएका छैनन्, भूगोलको पर्याप्त ज्ञान नहुनाले। र, यसैकारण राजकाज, अर्थतन्त्र, संरचना निर्माण, बसोबास निर्धारणको सहज व्यवस्थापन गर्न सकेका छैनौं। भूगोल र अर्थतन्त्रको सम्बन्धको सही आकलन नभएकोले संविधान लेखनको बेला जताततै गाउँ बस्तीलाई ‘नगरपालिका’ अन्तर्गत ल्याइयो। मधेशी अभियन्ताले समेत अडान नराख्दा ‘सुनकोशी–कमला’ डाइभर्सन नभई भारतको दबाबमा ‘सुनकोशी–मरिन’ डाइभर्सन अगाडि बन्नपुग्यो, जबकि भूबनोट र ढलानका कारण कमला डाइभर्सन नै मधेश प्रदेशको लागि बढी फाइदाजनक हुन्थ्यो। सुनकोशी–कमला योजना बनाएको भए भारतले कोशीमा बनाउन खोजेको उच्च बाँधको उचाइ अलि घटाउनु पथ्र्यो। कोशी प्रदेशमै पनि, उक्त प्रस्तावित उच्च बाँध बारे धेरै सोच र चिन्ता छैन। किनकि उच्च बाँधपछि त्यहाँ बन्न जाने बृहत् डुबान क्षेत्र हाम्रो कल्पनामै छैन।

लिम्पियाधुरा त्रिकोणको बारेमा जनमानसमा चासो नै बढी हुन्थ्यो होला— यदि सुगौली सन्धिले महाकाली नदीलाई सिमाना बताइरहँदा महाकालीको मूलधार चाहिं सिधै उत्तर जाने लिपुलेकतर्फको सानो खोला नभई पश्चिम–उत्तर बग्ने कुती याङ्ग्री नदी हो भन्ने बुझाइ— भूगोलमा आधारित ज्ञान पर्याप्त भइदिएको भए अझै गम्भीर हुनसक्थ्यो। 

स्कूल–कलेजमा भूगोल पढाइमा यति हेलचेक्र्याइँ भएको छ कि नेपालका विद्यार्थीहरू आफ्नो मुलुकलाई गहिराइमा बुझनबाट वञ्चित छन्। यस्तो ‘भौगोलिक देश’ छ हाम्रो, तर यसबारे उत्साह र अनुसन्धानको कति ठूलो खडेरी !  

commercial commercial commercial commercial