थप मिहिनेत गर्ने, तर केमा गर्ने ?
म दुई सन्तानको बाबु हुँ। उनीहरू राजधानीको एउटा विद्यालयमा पढ्छन्। वर्षमा केही पटक उनीहरूको रिजल्ट लिन उनीहरूसँगै विद्यालय जानुपर्छ। शिक्षकसामु बच्चाको छेउमा बसेर नतिजा सुन्दा सधैं एउटै दृश्य दोहोरिन्छ, बच्चाको अनुहार रातोपिरो, मेरो मन अलिकति अमिलो। शिक्षक प्रेमपूर्वक भन्नुहुन्छ, “सामाजिकमा अझै मिहिनेत गर्नुपर्यो !”
म टाउको हल्लाउँछु। बच्चाले पनि बुझे जस्तो गर्छ। तर विद्यालयबाट फर्किंदा एउटा साधारण प्रश्नले मलाई पछ्याइरहन्छ।
मिहिनेत त गर्ने तर कहाँ गर्ने ? कसरी गर्ने ?
कक्षा–१० को सामाजिक अध्ययन पुस्तकमा १० वटा अध्याय छन्। हरेक अध्यायमा उप–अध्याय छन्। परीक्षामा ४ प्रकारका प्रश्न आउँछन्। ती प्रश्नले विद्यार्थीबाट फरक–फरक तहको सोचाइ माग्छन्। मेरो बच्चा कुन अध्याय या शीर्षकमा अड्किएको हो ? कुन प्रकारको प्रश्नमा उसले बारम्बार अङ्क गुमाइरहेको हो ? उसले विषयवस्तु नै नबुझेको हो कि प्रश्नले के मागेको छ भन्ने कुरा उसलाई थाहा नभएको हो ? जानेको कुरा व्यवस्थित रूपमा लेखेर उत्तर दिन नसकेको हो कि नयाँ सन्दर्भमा सिकेका कुरा प्रयोग गर्न समस्या भएको हो ?
“सामाजिकमा मिहिनेत गर्नुपर्छ” भन्ने कुरा गलत होइन। तर एउटा अभिभावकका लागि त्यति मात्र सल्लाह पर्याप्त होइन। किनकि मैले आफ्नो बच्चा सामाजिकमा कमजोर छ भन्ने थाहा पाएर मात्रै पुग्दैन, मलाई ऊ कहाँ र किन अड्किएको छ भन्ने पनि थाहा हुनुपर्छ।
यही प्रश्नले मलाई विद्यालयको परीक्षालाई फरक ढंगले हेर्न सिकायो।
हामी विद्यालयमा वर्षभरि धेरै किसिमका परीक्षा लिन्छौं। गृहकार्य, कक्षाकार्य, एकाइ परीक्षा, त्रैमासिक परीक्षा, अन्तिम परीक्षा आदि हुन्छ। यस अवधिमा विद्यार्थीले सयौं प्रश्नको उत्तर लेख्छ। शिक्षकले ती उत्तर जाँच्नुहुन्छ। सही उत्तरमा चिनो लगाउनुहुन्छ, गलत उत्तर सच्याएर अङ्क दिनुहुन्छ। अन्त्यमा ती सबै उत्तर एउटा संख्यामा बदलिन्छन्– ६८, ५४, ४१, १७ आदि। जसलाई हामी नतिजा भन्छौं।
मलाई लाग्छ, शायद यहींनेर हाम्रो सबैभन्दा ठूलो शैक्षिक क्षति भइरहेको छ। किनकि एउटा उत्तरपुस्तिका केवल अङ्क निकाल्ने कागज मात्रै होइन। त्यो त विद्यार्थीले के सिक्यो, के बुझयो, कहाँ अलमलियो, कसरी सोच्यो, कुन ठाउँमा अनुमान गर्यो, कहाँ अवधारणा बुझेर पनि उदाहरणको प्रयोग गलत गर्यो, कहाँ प्रश्न नै नबुझी उत्तर लेख्यो भन्ने प्रमाण पनि हो।

हामी हरेक विद्यार्थीलाई हरेक परीक्षामा अङ्क दिन्छौं, तर त्यसबाट अर्थ निकै थोरै निकाल्छौं। मानौं, दुई विद्यार्थीले विज्ञानमा ३०/३० अङ्क ल्याए। लब्धाङ्क पत्रमा ती दुवै बराबर देखिन्छन्। शिक्षकले सुझव दिन्छन्— “दुवैले विज्ञानमा मिहिनेत गर्नुपर्छ।” तर ती दुई विद्यार्थीको समस्या बिल्कुल फरक हुन सक्छ।
पहिलो विद्यार्थीलाई कुनै निश्चित अवधारणा नै स्पष्ट नभएको हुन सक्छ। दोस्रोले अवधारणा राम्रोसँग बुझेर पनि नयाँ परिस्थितिमा त्यसलाई प्रयोग गर्न नजानेको हुन सक्छ। एउटाले, ‘प्रश्नले के मागेको हो’ भन्ने बुझन नसकेको हुन सक्छ भने अर्कोले उत्तर जानेर पनि त्यसलाई ठीकसँग प्रस्तुत गर्न नसकेको हुन सक्छ।
यसरी अङ्क समान भए पनि सिकाइको समस्या फरक हुन सक्छ। यही कारण ‘विद्यालयमा हामी परीक्षा किन लिन्छौं ? त्यसको उद्देश्य के हो ?’ भन्ने विषयमा सोच्नुपर्ने बेला आएको छ।
परीक्षा केवल विद्यार्थीलाई अङ्क वा ग्रेड दिने प्रक्रिया मात्र होइन विद्यार्थीको सिकाइ बारे प्रमाण सङ्कलन गर्ने सबैभन्दा ठूलो अवसर पनि हो। त्यो प्रमाणलाई प्रयोग गरेर हामीले अर्को शिक्षण कस्तो बनाउने, कसलाई के सहयोग गर्ने, कुन पाठ या अध्यायमा फर्किने, कुन प्रकारका प्रश्न बढी अभ्यास गराउने भन्ने निर्णय गर्न सक्नुपर्छ। अर्थात् परीक्षाको वास्तविक काम उत्तरपुस्तिका जाँचिएपछि शुरु हुनुपर्छ। तर हाम्रो अभ्यासमा प्रायः उल्टो हुन्छ। उत्तरपुस्तिका जाँचिएपछि परीक्षाको उपयोगिता सकिएको जस्तो मानिन्छ।
त्यसैले, परीक्षाको परिणामले विद्यार्थीलाई एउटा ‘लेबल’ लगाइदिन्छ, तर दिशा दिंदैन। “तिमी गणितमा कमजोर छौ”, “तिमी नेपालीमा राम्रो छैनौ”, “विज्ञानमा धेरै मिहिनेत गर” यस्ता वाक्य हामीले धेरै सुनेका छौं। तर “तिमी गणितमा कमजोर छौ” भन्नु र “तिमीलाई ज्यामितिको यो अवधारणामा थप अभ्यास चाहिन्छ” भन्नु एउटै कुरा होइन । यहाँ पहिलो वाक्यले विद्यार्थीको पहिचानमाथि टिप्पणी गर्छ। दोस्रो वाक्यले समस्या पहिल्याउँछ र समाधानको बाटो पनि देखाउँछ । विद्यार्थीको नामसँग कमजोरी जोड्नुको सट्टा कमजोरीको प्रकृतिसँग विद्यार्थीलाई जोड्न सकियो भने शिक्षा धेरै फरक हुन सक्छ । यो केवल शब्दको फरक होइन ।
एउटा बच्चाले बारम्बार “तिमीलाई गणित आउँदैन” भन्ने कुरा सुन्यो भने विस्तारै उसले गणितसँग मात्र होइन, आफ्नै क्षमतासँग प्रश्न गर्न थाल्छ। तर उसलाई “तिमीलाई बीजगणितको यो पाठ राम्रो आउँछ, तर ज्यामितिको यो अवधारणामा थप अभ्यास चाहिन्छ” भनियो भने समस्या उसको पहिचान बन्दैन। समस्यालाई उसले समाधान गर्नुपर्ने एउटा मिसन बनाउन पुग्छ।
त्यसका लागि विद्यार्थीले लेखेको उत्तरपुस्तिकाले धेरै कुरा भन्न सक्छ। जस्तो, विद्यार्थीले कुन प्रश्न किन छोड्यो ? कुन प्रश्नमा आधा उत्तर लेख्यो ? कहाँ मुख्य बुँदा छुट्यो ? कुन प्रकारको प्रश्नमा बारम्बार गल्ती गरिरहेको छ ? तथ्य सम्झ्निे प्रश्नमा राम्रो गरेर प्रयोग गर्नुपर्ने प्रश्नमा किन समस्या भयो ? एउटै अवधारणामा कक्षाका धेरै विद्यार्थी किन अड्किए ? यस्ता प्रश्नको उत्तरले विद्यार्थीको मूल्याङ्कन मात्र गर्दैन, शिक्षणका लागि प्रमाण पनि जुटाउँछ।
तर, परीक्षाबाट शिक्षण बारे अहिले हामी कति प्रमाण सङ्कलन गर्ने गर्छौं ?

हामीलाई थाहा छ— एउटा शिक्षकसँग एउटा कक्षामा ४० वा ५० विद्यार्थी हुन्छन्। उनले दिनभरि धेरै वटा कक्षा पढाउनुपर्छ। पाठयोजना बनाउनुपर्छ, उत्तरपुस्तिका जाँच्नुपर्छ, विद्यालयका अन्य जिम्मेवारी पनि हुन्छन् । यस्तो अवस्थामा प्रत्येक विद्यार्थी कहाँ अड्किएको छ भन्ने कुरा सम्झेर व्यक्तिगत शिक्षण योजना बनाउनु अवश्य पनि सजिलो छैन।
त्यसैले, हाम्रा धेरै निर्णय अनुभव र अनुमानका आधारमा हुन्छन्। अनुभव अमूल्य छ। तर अनुभवसँग प्रमाण जोडियो भने निर्णय अझ् स्पष्ट हुन सक्छ।
यदि शिक्षकले परीक्षापछि थाहा पाउनुभयो— कक्षाका अधिकांश विद्यार्थीलाई एउटा निश्चित अध्यायमा समस्या छ, केही विद्यार्थीलाई प्रश्न बुझन समस्या छ, केहीलाई जानेको कुरा उत्तरमा व्यक्त गर्न कठिन छ, केहीलाई प्रयोगमा आधारित प्रश्नमा समस्या छ भने उहाँले पूरा पाठ्यक्रम फेरि पढाउनुपर्दैन। उहाँलाई कुन पाठमा फर्किने भन्ने थाहा हुन्छ । कसलाई के अभ्यास दिनुपर्ने हो त्यो पनि थाहा हुन्छ।
यहींबाट विद्यार्थीले दिने परीक्षा शिक्षकको लागि प्रमाण जुटाउने माध्यम बन्न सक्छ । अभिभावकका लागि पनि यो परिवर्तन उत्तिकै महत्वपूर्ण छ।
म आफ्नै अनुभवमा फर्कन्छु।
यदि शिक्षकले म र मेरो बच्चालाई “नेपालीमा मिहिनेत गर्नुपर्यो” भन्नुको सट्टा “उसले भावार्थ, निबन्ध, संवाद, वादविवादमा राम्रो गरिरहेको छ तर व्याकरणमा समस्या भइरहेको छ” भन्नुभयो भने मेरो भूमिका बदलिन्छ । शिक्षकको यस्तो समीक्षाले अभिभावकलाई चिन्तित होइन स्पष्ट बनाउँछ।
व्यक्तिगत रूपमा म आफ्ना छोराछोरीको परीक्षाफल बुझन विद्यालयमा फेरि–फेरि जानुपर्ने वर्षहरू अझै बाँकी छन्। शायद शिक्षकले फेरि पनि भन्नुहुनेछ, “कुनै विषयमा थप मिहिनेत चाहिन्छ।”
तर म अब त्यसपछि अर्को वाक्य पनि आओस् भन्ने चाहन्छु–
“यो अध्यायमा। यो पाठमा।”
“यो प्रकारको प्रश्नमा।”
“यो सोचाइको तहमा।”
त्यति भयो अथवा मैले सोचे जस्तो सल्लाह शिक्षकबाट आउन थाल्यो भने अभिभावकको मन अमिलो हुँदैन, बरु उसले बाटो देख्छ। बच्चा डराउँदैन, उसले आफ्नो समस्या बुझछ। शिक्षकलाई पनि ‘नतिजा सुधार्नुपर्छ’ भन्ने सामान्य दबाब मात्र हुँदैन। कहाँ काम गर्नुपर्ने हो भन्ने स्पष्ट हुन्छ।
मेरो विचारमा परीक्षाको वास्तविक उद्देश्य यही हुनुपर्छ। विद्यार्थीलाई कति आयो भनेर बताउने मात्र होइन अब के गर्नुपर्छ भनेर देखाउने पनि । किनकि परीक्षाको मूल्य अङ्कमा समाप्त हुँदैन।
यसको वास्तविक मूल्य त्यतिबेला शुरु हुन्छ, जब नतिजाले शिक्षक, विद्यार्थी र अभिभावकको निर्णय बदल्छ।
(लेखक स्कूल- शेर्पाका संस्थापक हुन् ।)



