भाइले आमा खोइ भनेर सोधिरहन्छ, मसँग उत्तर छैन
भर्खरै पुनर्निर्माण गरिएको घर र परिवारका १७ जना सदस्यलाई भोटेकोशीको बाढीले क्षणभरमै बगाएर लग्यो। तर, २० वर्षीया कोपिला तामाङको मनले अझै पनि आमा घर फर्केर आउने आशा मारेको छैन।
बाढी आउँदा कोपिला काठमाडौंमा थिइन्। गाउँमा बज्रपात परेको खबर पाउनेबित्तिकै उनी रसुवातिर हानिइन्। गाउँ पुगेपछि उनी स्तब्ध भइन्- न त्यहाँ उनको घर थियो, न त छिमेक नै ! “हाम्रो घर र छिमेकको नामोनिसानै रहेनछ”, गाउँबाट फर्कंदै गर्दा नुवाकोटको विदुरमा भेटिएकी कोपिलाले मलिन अनुहारमा भनिन्।
यो त्रासदीमा उनले आफ्नी आमा, बहिनी, हजुरआमा र एक महीनाको भतिज सहित १७ जना आफन्तलाई गुमाएकी छिन्। अहिले उनीसँग बाँकी छ त ७ वर्षको भाइ अनि मोबाइल फोन र त्यसमा कैद भएका तिनै प्यारा आफन्तका तस्बिरहरू, जसलाई हेर्दै उनी टोलाउने गर्छिन्। कोपिलाका ७ वर्षीय भाइ अहिले यही अकल्पनीय विक्षिप्तताबाट गुज्रिरहेका छन् । उनले यो त्रासदीको भयानक यथार्थ बुझन सकेका छैनन् ।

“भाइ अझै धेरै सानो छ” कोपिलाले भनिन्, “उसलाई अझै पनि लाग्छ कि आफूलाई माथितिर भाग् भनेर आफन्तलाई खबर गर्न जाँदा बाढीले बगाएकी आमा कतैबाट फर्केर आउनुहुन्छ। उसले बारम्बार सोधिरहन्छ- ‘आमा खोइ ?’ मसँग उसलाई दिने कुनै उत्तर छैन तर जिम्मेवारी छ। अब मैले नै उसको आमा बनेर उसलाई हुर्काउनु छ, त्यसैले म कमजोर हुन्नँ, मैले मेरो भूमिका जसरी पनि निभाउनैपर्छ।”
२०७२ सालको विनाशकारी भूकम्पमा घर भत्किए पनि ज्यान जोगाउन सफल कोपिलाको परिवार उत्तरगया-१, तिरु गाउँबाट बेत्रावतीमा सरेको थियो। तर भूकम्पको घाउ निको हुन नपाउँदै भोटेकोशीको बाढीले सिङ्गो परिवार र भविष्य नै खोसिदियो। “मलाई अहिले आफ्नै अगाडि पूरै संसार अन्धकार लागिरहेको छ” टोलाउँदै कोपिलाले भनिन्, “अगाडिको बाटो देखेको छैन तर पनि सानो भाइलाई सम्हाल्नुछ।”
शिक्षक मासिक, २०८३ असोज अंकमा प्रकाशित ।



