बाढीले टुटाएको विद्यार्थी-स्कूल सम्बन्ध
बगेका घर, हराएका अभिभावक र मेटिएका सपना
नुवाकोटको विदुर नपा–१२ स्थित महेन्द्र माविका विद्यार्थी हुन्- सञ्जय मगर। बाढीपछि दुई दिनसम्म विद्यालय भवनमै आश्रय लिएर बसेका उनी हेलिकप्टरबाट उद्धार भई विदुर–४ आइपुगेका छन्। अहिले विदुरको होल्डिङ सेन्टरमा सहारा लिइरहेका उनीसँग न बस्ने घर छ, न त कापी–किताब नै। आफू अन्योलमा परेको बताउँदै उनी भन्छन्, “विद्यालय जाने पुल र घरखेत सबै बाढीले बगायो, अब कुन विद्यालय गएर पढ्ने भन्ने केही थाहा छैन।”
रसुवाको उत्तरगया गाउँपालिकास्थित नीलकण्ठ माविको कक्षा–३ मा पढ्ने ८ वर्षीया बुचना तामाङ बाढी आएका बेला विद्यालय परिसरमै रहेकाले जोगिइन्। तर, उनका बुवा पासाङ र आमा डेजीलाई घरसँगै बाढीले बेपत्ता बनायो। अभिभावकविहीन बनेकी बुचना यतिबेला नीलकण्ठ माविकै संरक्षणमा छन्।
सञ्जय र बुचनाको मात्र होइन त्रिशूलीको अकल्पनीय बाढीले १४ हजारभन्दा बढी बालबालिकाको शिक्षा र लालनपालन संकटमा पारिदिएको छ। विदुर–१०, भैंसेकी अम्बिका माझी यतिबेला गेर्ख‘टारस्थित सुन्दरी क्यौरिनी माविमा आश्रय लिइरहेकी छिन्। उनका छोराहरू अतीत (कक्षा–६), आशिष (कक्षा–७) र अमृत माझी (कक्षा–९) खोलापारिको चण्डेश्वरी माविमा पढ्थे। बाढीले उक्त विद्यालयमा आंशिक क्षति पुर्याए पनि उनीहरूको घरबास भने सबै सकिदियो। आफ्ना पीडा पोख्दै अम्बिका भन्छिन्, “दुईकोठाको घर थियो, अलिअलि भएको पैसा पनि सबै बाढीले बगाएर लग्यो। अब छोराहरूलाई कसरी पढाउने, कहाँ राख्ने ?”

यस्तै कारुणिक कथा छ त्रिभुवन त्रिशूली मावि कक्षा–१२ मा पढ्ने १७ वर्षीया सविना तामाङको। उनका दुई भाइ रविन र गोविन्द क्रमशः चण्डेश्वरी मावि र रामचन्द्र आविमा पढ्थे। बाढीले उनीहरूका बुवा निमा तामाङ र आमा रिक्ची घलेलाई मात्र खोसेन, उनीहरूले पढ्दै आएको विद्यालय भवन समेत बगाएर लैजाँदा तीनै जना भाइबहिनीको पढाइ अन्योलमा परेको छ। त्यस्तै, तीन वर्षअघि आमाबुबा गुमाएका उत्तरगया–१ रसुवाका ११ वर्षीय मुकेश तामाङले यसपटकको बाढीमा आफ्ना दाजु मुस्कान र दिदी रोशनीलाई पनि गुमाउनुपर्यो। छात्रवृत्तिमा पढ्दै आएका उनको अहिले न टेक्ने थातथलो बाँकी छ, न त सम्हाल्ने परिवार।
पुलसँगै टुट्यो ‘विद्यार्थी–स्कूल’ सम्बन्ध
रसुवाको उत्तरगयादेखि धादिङको गल्छीसम्मको तटीय क्षेत्रमा बाढीले साना–ठूला गरी कम्तीमा ३० वटा पक्की तथा झोलुङ्गे पुलहरू बगाएको छ। पुल बगाएपछि नदी वारिपारि गरेर अध्ययन गर्दै आएका सयौं बालबालिकाको विद्यालयसँगको पहुँच पूर्ण रूपमा विच्छेद भएको छ।
नुवाकोटको क्षति
विदुर–१२ मा रहेको महेन्द्र माविका प्रधानाध्यापक ताराप्रसाद श्रेष्ठ विदुर–२ का बासिन्दा हुन्। पहिले मोटरसाइकलबाट सिमचौरको पुल तरेर उनी सात मिनेटमै विद्यालय पुग्थे। तर अहिले देवीटार बजारको तुइन तरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । आफ्नो विद्यालयको परिस्थिति सुनाउँदै प्रअ श्रेष्ठ भन्छन्, “हाम्रो स्कूलमा २५० जना विद्यार्थी थिए, बाढीपछि कम्तीमा ५० जना घट्ने देखिएको छ। त्यसमध्ये २५ जना खोलापारिबाट आउने र २५ जना नदी किनारमा घरखेत बगाएका बालबालिका छन्।”

विदुर–४ स्थित पृथ्वी माविका ९२८ विद्यार्थीमध्ये १०४ जना त्रिशूली पारिका बस्तीबाट आउने गर्थे, जसमध्ये ६३ जना विद्यार्थीको घरबास बाढीले बगाएको छ। अर्कोतिर पारिको विद्यालय जान नसकेका वारिका बालबालिकाका अभिभावकले आफ्नो विद्यालयमा आएर पढ्नका लागि लगातार अनुरोध गरिरहेको प्रअ बाबुराम लामिछानेको भनाइ छ। विदुर नगरपालिकाका अनुसार उक्त नगरमा रहेका विभिन्न विद्यालयका ७ जना शिक्षक र २३३ जना विद्यार्थी बेपत्ता छन्। तीन सामुदायिक, दुई संस्थागत, एक मदरसा, एक क्याम्पस साथै एक प्रदेश सरकार अन्तर्गत रहेको विस्तारित शिक्षा तालिम इकाइ गरी आठ वटा शैक्षिक संस्थाका संरचना बाढीबाट बगेका छन् । बाढीले चण्डेश्वरी माविको दृष्टिविहीन छात्रावास समेत बगाएको छ।
त्रिभुवन त्रिशूली माविले महिला फिडर छात्रावास सहित सबै भौतिक संरचना गुमाएको छ। कक्षा–११ र १२ को पढाइमा विशेष नाम कमाएको उक्त विद्यालयमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा समूहको पठनपाठन हुँदै आएको थियो। मदरसा इस्लामिक कुरानीया स्कूलका मौलाना हविजीका अनुसार बाढीले मदरसाको १६ कोठे पक्की भवन, हल सहितको ८ कोठे अस्थायी भवन र ५५ जना क्षमताको छात्रावास बगाएको छ। तर यसका विद्यार्थी र शिक्षक सकुशल छन्। कक्षा ५ सम्म सञ्चालित उक्त मदरसामा आवासीय सुविधा लिइरहेका ५५ जना सहित जम्मा ७० जना विद्यार्थी अध्ययनरत थिए। यस्तै शिक्षा तालिम इकाइका प्रशिक्षक रमेशप्रसाद लामिछानेका अनुसार तीन वटा भवनका २४ कोठा, तीन वटा तालिम हल र ३० जना क्षमताको शिक्षक छात्रावास तथा प्रशिक्षक निवास बाढीमा परेका छन्।
रसुवाको क्षति
उता रसुवाको नीलकण्ठ माविका ५०८ विद्यार्थीमध्ये करीब २०० विद्यार्थी र तीन जना शिक्षक–कर्मचारी बेपत्ता छन्। अभिभावक गुमाउने ८७ विद्यार्थीमध्ये आमा–बुबा दुवै गुमाएका करीब ५६ जना छन्। सो विद्यालयका अंग्रेजी शिक्षक नारायणबहादुर थापाको शव सनाखत भइसकेको छ। नीलकण्ठ माविका प्रअ माधव लामिछाने अभिभावकविहीन र दूरदराजका बालबालिकाका लागि आवासीय व्यवस्था आवश्यक देखिएको बताउँछन् । उनी भन्छन्, “अहिले हाम्रो विद्यालयमा १०० जनाको छात्रावास छ, तर अब कम्तीमा १५० जना क्षमताको छात्रावास थप्नुपर्छ ।” धेरै शिक्षक जिल्ला बाहिरका भएकाले उनीहरूका लागि पनि ३० जना क्षमताको आवासीय संरचना जरूरी भएको उनको कथन छ।

विद्यालय क्षतिले निम्त्याएका चुनौती
विपद्पछि नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा विद्यालयहरू तीन फरक परिस्थितिबाट गुज्रिरहेको देखिन्छ। पहिलो समूहमा पूर्ण रूपमा क्षति भएर बगरमा परिणत भएका विद्यालय पर्छन्। नुवाकोटको त्रिभुवन त्रिशूली मावि, चेतना आवि, रामचन्द्र आवि, उत्तरगया बोर्डिङ स्कूल, त्रिशूली सामुदायिक बोर्डिङ स्कूल र रसुवाको मालिका आवि, ट्रिनिटी मोर्डन बोर्डिङ स्कूल, गोसाइँकुण्डस्थित टिमुरेको राष्ट्रिय आवि– यसका प्रत्यक्ष उदाहरण हुन्, जहाँ न भवन बाँकी छ, न त शैक्षिक सामग्री।
शिक्षा विकास तथा समन्वय इकाइ, रसुवाका सूचना अधिकारी जीवन दाहालका अनुसार गोसाइँकुण्ड गाउँपालिकाको टिमुरेको बस्ती सहित त्यहाँको राष्ट्रिय आधारभूत विद्यालय बाढीले बगाएको छ। दाहाल भन्छन्, “३५ जना विद्यार्थी रहेको सो विद्यालयका करीब २५ जना विद्यार्थी अझै सम्पर्कमा आएका छैनन्। साथै ३ जना महिला र ३ जना पुरुष गरी ६ जना शिक्षक पनि बेपत्ता छन् ।”
दोस्रो समूहमा भौतिक रूपमा सुरक्षित भए पनि विद्यार्थी र शिक्षक बेपत्ता वा विस्थापित बनेका विद्यालय छन्। स्याफ्रुबेंसीको कोमिङ वाङफेल मावि (१३० मध्ये ५ जना विद्यार्थी बेपत्ता), गोसाइँकुण्ड बोर्डिङ स्कूल (१०० मध्ये १९ जना बेपत्ता), रसुवा मावि (३ जना बेपत्ता), हाइल्याण्ड आवासीय मावि (६ जना बेपत्ता) र धुन्चे तथा भीमसेन आविका विद्यार्थी यसका उदाहरण हुन् ।
तेस्रो समूहमा भने नदी किनारमै भएका कारण नदी कटानको उच्च जोखिममा परेका विद्यालय पर्छन्। शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत मावि, रणभुवनेश्वरी मावि, क्षेत्रपाल आवि, चण्डेश्वरी मावि, जेडी बोर्डिङ, ओममाने पब्लिक स्कूल र पायोनियर बोर्डिङ जस्ता शैक्षिक संस्थाहरू जोखिममा रहेका छन्। नुवाकोटको विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटा जोखिममा रहेका विद्यालयको भविष्यप्रति चिन्ता व्यक्त गर्दै भन्छन्, “ती विद्यालयहरू कत्तिको सुरक्षित छन् ? बालबालिकाले कसरी पढ्ने, अभिभावकले कसरी पढाउन पठाउने र नगरपालिकाले कसरी चलाउने भन्ने प्रश्न अहिले अनुत्तरित छ।”
स्कूल पुनर्संरचनाको खाँचो
विद्यालयहरू पूर्ण रूपमा सञ्चालन नहुँदासम्म कुन विद्यालयमा कति विद्यार्थी बाँकी रहन्छन् अथवा फर्किएर आउँछन् भन्ने यकिन गर्न कठिन छ । शुरुमा करीब २०० जना विद्यार्थी बेपत्ता भएको भनिएको रसुवाको नीलकण्ठ माविका झ्ण्डै १०० विद्यार्थी सम्पर्कमा आइसकेका छन्। तर पनि १०० जनाभन्दा बढी अझै बेपत्ता छन्। बाढीपछि विद्यालय पुग्ने पुल, सडकको क्षति, विद्यालय बग्नु, बस्ती नै नष्ट हुनु र अभिभावक बसाइँ सर्ने जस्ता गतिविधि देखिएका छन्। उत्तरगया गाउँपालिका (रसुवा) का शिक्षा प्रमुख बोधराज पाठक तत्कालका लागि एकीकृत योजना चाहिने बताउँछन्। पाठक भन्छन्, “तत्कालका लागि मनोपरामर्श, अस्थायी सिकाइ केन्द्र र छात्रावासको व्यवस्थापन जरूरी छ। बालबालिकाले घरवास, अभिभावक र पुस्तक गुमाएका छन् भने विद्यालयले बालबालिका गुमाएका छन्। बस्ती र विद्यालय नै बगेर बगर बनेकाले अब विद्यालयको नक्शांकन र सेवा क्षेत्र समेत परिवर्तन गर्नुपर्ने देखिएको छ।”

विदुर नगरपालिकाले शेरा गाउँको अन्नपूर्ण पञ्चकन्या आविलाई आवासीय रूपमा चलाउने गरी काम अगाडि बढाएको बताइएको छ। उता, रसुवाको चिलिमे क्षेत्रका विद्यालय तुरुन्तै खोल्न सक्ने अवस्था नभएकाले स्याफ्रुबेंसीको कोमिङ वाङफेल मावि १०० जना क्षमताको छात्रावासमा अभिभावक गुमाएका बालबालिकालाई राख्ने र धुन्चेको रसुवा माविको क्षमता बढाउने तयारी भइरहेको छ।
यस्तै त्रिभुवन त्रिशूली मावि विदुरका लागि पठनपाठन शुरु गर्नका लागि सरकारले वडा-९ मा रहेको डिभिजन भवन कार्यालय तोकिदिएको छ। सो विद्यालयका प्रअ राजेन्द्र दवाडी असोज ५ देखि विद्यार्थीको सिकाइलाई निरन्तरता दिने गरी अस्थायी कक्षाकोठा बनाउने काममा लागिरहेको बताउँछन्। उनले अहिले सबैभन्दा ठूलो समस्या डेस्क र बेन्चको भएको सुनाए। उनका अनुसार चौधरी फाउण्डेशनले सहयोग गर्ने भनेको सामग्री त्रिशूली पारिसम्म पुर्याउनका लागि सडकको समस्या परेको छ। शिक्षा मन्त्रालयले मागे अनुसार ३५० जना अट्ने छात्रावासको प्रस्ताव तयार गरी पठाइएको छ। विद्यालयको स्थायी भवनको सुरक्षित र पर्याप्त जमिनको समस्या देखिएको छ। उक्त विद्यालयमा १ हजार ६४३ विद्यार्थी थिए।
नक्शांकन र सेवा क्षेत्र कार्यान्वयन नहुँदाको सास्ती
नेपालको शिक्षा ऐन र राष्ट्रिय शिक्षा नीतिले ‘विद्यालय नक्शांकन’ र ‘सेवा क्षेत्र’ को स्पष्ट व्यवस्था गरेको छ। अर्थात्, बालबालिकाले आफ्नो घरबाट निश्चित दूरीभित्र सुरक्षित रूपमा विद्यालय पुग्न पाउने गरी भूगोल, जनसंख्या र जोखिमका आधारमा मात्र विद्यालय स्थापना र सञ्चालन गरिनुपर्छ । नयाँ विद्यालय खोल्ने अनुमति दिंदा र भविष्यमा पनि विद्यार्थी कम हुने देखिएको कारण विद्यालय समायोजन गर्दा अनिवार्य विद्यालय नक्शांकन गरिनुपर्ने प्रावधान छ।

तर, भोटेकोशी–त्रिशूली क्षेत्रमा यो नीति कागजमा मात्र सीमित रहँदा विपद्पछि जटिल समस्या निम्तिएको छ। प्राकृतिक जोखिम र भौगोलिक पहुँचको ख्यालै नगरी खोलाका बगर र अति जोखिमयुक्त किनारमा विद्यालय सञ्चालनको मनपरी अनुमति दिनु एउटा प्रमुख कारण देखिन्छ।
अब के गर्ने ?
शिक्षा विभागका सूचना अधिकारी निमप्रकाशसिंह राठौर तत्कालका लागि सक्दो छिटो बालबालिकालाई कक्षाकोठामा फर्काएर व्यस्त राख्ने प्रयास गरिएको बताउँछन्। उनले भवन नष्ट र क्षति भएका विद्यालयका लागि अस्थायी सिकाइ केन्द्र बनाउने काम भइरहेको र होल्डिङ सेन्टरको रूपमा प्रयोग भएका विद्यालयका विस्थापितलाई अर्को ठाउँमा स्थानान्तरण गर्ने र स्थानीय तहसँगको समन्वयमा तथ्यांक लिने, तत्काल गर्नुपर्ने काममा हातेमालो गर्ने काम भइरहेको पनि बताए। स्थायी भौतिक संरचना निर्माणको काम नीतिगत र स्थानीय आवश्यकताको आधारमा गरिनेछ।
बाढीपछि नुवाकोट र रसुवाका थुप्रै विस्थापित परिवार छिमेकी जिल्ला सहित काठमाडौंतर्फ पलायन भइरहेका छन्। थातथलोमै रहेकाहरू पनि सडक सञ्जाल टुट्दा आफ्नै विद्यालय पुग्न सक्ने अवस्थामा छैनन्। यस्तो बेला स्थानान्तरण प्रमाणपत्र वा अन्य प्रशासनिक कागजातमा सहजीकरण गर्न शिक्षा विभागले ‘आपत्कालीन लचिलो भर्ना नीति’ घोषणा गर्नुपर्ने समेत देखिन्छ।

विस्थापित विद्यार्थी जहाँ पुगेका छन्, जहाँ पढ्न चाहन्छन् र सकिन्छ त्यहींका विद्यालयमा कागजी अड्चन विना तत्काल पढ्ने व्यवस्था गर्ने वातावरण बनाउनुपर्ने पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने बताउँछन्। त्रिभुवन त्रिशूली माविका प्रअ राजेन्द्र दवाडीले बाढीले विद्यालयसँगको दूरी टाढा बनाएको हुँदा अस्थायी रूपमा अर्को विद्यालय र अनुकूल ठाउँमा सिकाइ केन्द्रको अवधारणा अगाडि बढाउनुपर्ने बताए। “हाम्रै कुरा गर्नुहुन्छ भने खोला वारि र पारि विद्यार्थी छन्, सबैलाई एकै ठाउँमा सिकाइ गर्न अब सम्भव छैन”, उनले भने।
विगतका विपद्का अनुभवले संघीय शिक्षा मन्त्रालयको नेतृत्व स्थानीय तहमा रहने गरी ‘एकीकृत विपद् शिक्षा संकट कोष’ स्थापना गरी पुनर्निर्माणको काम गर्दा प्रभावकारी हुने विज्ञको सुझव छ । पालिकाको विपद् कोष, प्रदेशको सामाजिक विकास मन्त्रालय तथा संघीय सरकारको साझेदारीमा उक्त कोषमा रकम जम्मा गरी अस्थायी सिकाइ केन्द्र निर्माण, निःशुल्क शैक्षिक सामग्री वितरणमा खर्च हुनुपर्ने शिक्षाविद् डा. विष्णु कार्की बताउँछन्। उनले भौतिक र मानवीय कामका लागि ‘फास्ट ट्रयाक’बाट बजेट निकासा गर्ने कार्यविधि बनाउनुपर्नेमा जोड दिए। तर बाढीले बगाएका विद्यालयलाई पुरानै जोखिमयुक्त बगर वा नदी किनारमा हतार–हतार पुनर्निर्माण गर्ने गल्ती दोहो¥याउनु नहुने शिक्षाविद् डा. कार्कीको सुझाव छ। उनका अनुसार अहिलेको विपद्लाई विद्यालय निर्माण र सञ्चालनको ढाँचा बदल्ने अवसरका रूपमा लिनुपर्छ। डा. कार्कीले भने भूगर्भीय तथा भौगोलिक जोखिमको अध्ययन गरेर मात्र विद्यालयको नयाँ सुरक्षित स्थान निर्धारण गरी पुनर्निर्माण गरिनुपर्छ, दान दिएको र अरू काममा उपयोग नहुने जमिनमा विद्यालय बनाइनुहुँदैन।

विद्यालयको पुनःनिर्माण गर्दा ‘जलवायु उत्थानशील विद्यालय पूर्वाधार मापदण्ड’ अपनाउनुपर्ने कार्की बताउँछन्। उनले विद्यालय भवनलाई नियमित पठनपाठनका अतिरिक्त भविष्यमा आउन सक्ने विपद्का बेला ‘सामुदायिक आश्रयस्थल’ का रूपमा समेत प्रयोग गर्न सकिने गरी बहुउद्देश्यीय डिजाइनमा निर्माण गर्नुपर्नेमा जोड दिए । प्रभावित क्षेत्रको आवश्यकता हेरेर छात्रावास निर्माण गर्दा त्यसमा इनडोर र आउटडोर प्रयोगशाला लगायत शैक्षिक पूर्वाधार समेत समेट्नुपर्ने उनको सुझाव छ।

विद्यालयको भौतिक पूर्वाधारका साथै सडक र पुलहरू पुनर्निर्माण हुन समय लाग्ने भएकाले त्यस अवधिसम्मका लागि वैकल्पिक उपायको निकास निकाल्न आवश्यक रहेको कार्की बताउँछन्। उनले पठनपाठन गर्दा पाठ्यक्रम विकास केन्द्रको पाठ्यभारलाई समायोजन गरी बाढी प्रभावित क्षेत्रका विद्यालयमा वैकल्पिक सिकाइका स्थानीय मोडल तत्काल लागू गर्नुपर्ने उनको सुझाव छ।
यो स्थलगत रिपोर्ट सहित त्रिशूली–भोटेकोशी बाढीको प्रभाव सम्बन्धी सामग्रीको संयोजन कारखाना समूहद्वारा सञ्चालित सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेसन (सीएसई) परियोजनाको आर्थिक सहयोगमा गरिएको हो ।)
- सम्पादक



