शैक्षणिक सामग्रीको अनुकूलनः अर्थ र आशय

साधारण अर्थमा- शैक्षिक सामग्री भन्नाले शिक्षण क्रियाकलापमा प्रयोग गरिने श्रव्य, दृश्य र श्रव्य-दृश्य प्रकारका सामग्री भन्ने बुझिन्छ। यहाँ सामग्रीको अनकूलन गर्ने भन्ने सन्दर्भमा सामग्री भन्नाले अध्ययनका विषयवस्तुलाई बुझिन्छ भने अनुकूलन भन्नाले पाठ्यक्रमका सिकाइ उपलब्धि हासिल गराउन सजिलो होस् भन्ने अभिप्रायले विद्यार्थीको रुचि, स्तर, आवश्यकता तथा स्थानीय परिवेश अनुसारको विषयवस्तुको छनोटलाई जनाउँछ। 

‘सामग्री अनुकूलन’ गर्नुको प्रमुख अभिप्राय पाठ्यपुस्तकमा रहेका सीमितताहरूलाई न्यूनीकरण गर्नु हो। पठनपाठनका क्रममा कुनै विषयवस्तु थप गर्ने, अनावश्यक विषयवस्तु हटाउने र असान्दर्भिक विषयवस्तुलाई परिमार्जन गरेर सामग्रीको अनुकूलन गर्न सकिन्छ। यसलाई ‘गर्दै जाने, परिणाम हेर्दै जाने र पाठ सिक्दै जाने’ एउटा क्रियात्मक अनुसन्धानको चक्रीय अभ्यासका रूपमा अपनाउने गरिन्छ। 

सामग्रीको अनुकूलन गर्ने अभ्यासले शिक्षक, प्रशिक्षकलाई स्थानीय आवश्यकता र सुविधा अनुसार सामग्रीको छनोट र परिमार्जन गरी शिक्षण प्रशिक्षण गर्ने क्षमताको विकास गराउँदछ। केही सीमितताका बावजूद यस कार्यले अपेक्षित सिकाइ उपलब्धि हासिल गर्न पाठ्यपुस्तकमाथि अधिक निर्भर रहने बानीलाई कम गर्न मद्दत गर्दछ।

त्यसैले पाठ्यसामग्रीको अनुकूलन भनेको– सिकारूको आवश्यकता, रुचि, स्तर र चाहना अनुसार हुने गरी पाठहरू थपघट गर्ने कार्य हो। यो स्थानीय आवश्यकता र सामग्रीको अभावका कारण सिर्जना हुने कठिनाइलाई कम गर्ने एउटा उपाय पनि हो। स्थानीय रूपमा उपयोगी हुने र सहजै उपलब्ध हुने नयाँ सामग्रीलाई पाठ्यवस्तुमा समावेश गर्ने हस्तक्षेपकारी प्रयत्न हो। पाठ्यसामग्रीको अनुकूलन गर्ने कार्यअन्तर्गत सिकारु र शिक्षकको क्षमता, परिस्थिति विशेष र समकालीन माग अनुसार थप उपयुक्त र सान्दर्भिक बनाउने र पाठ्यसामग्रीहरूलाई आवश्यकतानुसार परिवर्तन गर्ने कार्यहरू पर्दछन्।

पठनपाठन कार्यमा सामग्रीको अनुकूलन गर्ने प्रक्रिया
सर्वप्रथम पाठ्यपुस्तकको मूल्याङ्कन गर्नुपर्छ । अनुकूलन गर्नुपर्ने विषयसूची तयार गर्नुपर्छ। यसबाट पाठ्यपुस्तकमा दिइएका सामग्रीका सबल पक्ष र अनुकूलन गर्न आवश्यक पर्ने पक्षहरूको पहिचान गर्न सहज हुन्छ। अनुकूलन गर्नुपर्ने सामग्रीको पहिचान गरिसकेपछि अनुकूलन गर्नुपर्ने कारण पहिचान गर्नुपर्छ।

यसपछि पाठ्यक्रमसँग सामग्रीको सान्दर्भिकता अध्ययन गर्नुपर्छ। अनुकूलन गर्न लागिएका सामग्रीहरूको उपयुक्तता र सान्दर्भिकतालाई कक्षाकोठाको वातावरण व्यवस्थापन, शैक्षणिक योजना, सिकाइ उद्देश्य, शिक्षण सिकाइ क्रियाकलाप, सिकाइ उपलब्धिको परीक्षण र मूल्याङ्कनहरूसँग तुलना गर्नुपर्छ। यसका साथै पाठ्यक्रमले अनुमान गरेका विशेष आवश्यकता भएका आधारमा अनुकूलन गर्नुपर्ने र नपर्ने कुराको पहिचान गरिन्छ। अनुकूलन गरिएका सामग्रीबाट हासिल हुने सिकाइ उपलब्धि र उद्देश्य पनि तय गर्नुपर्छ । यसका लागि बेन्जामिन एस ब्लुमको उद्देश्यहरूको वर्गीकरण लाई पनि आधार मान्न सकिन्छ।

सामग्रीको अनुकूलनबाट सिकारुमा कसरी सक्रिय सिकाइ गराउन सकिन्छ भन्ने कुराको अनुमान गर्नुपर्छ । अनुकूलन गरिएका सामग्रीलाई कुन-कुन शिक्षण सिद्धान्त र विधिको प्रयोग गरिएको खण्डमा सिकाइ प्रक्रिया अझ बढी सहज र सहयोगात्मक बनाउन सकिएला भन्ने उपायको खोजी गर्नुपर्छ। विद्यार्थीलाई पढ्न दिक्क लाग्ने र मसिनो गरी गर्नुपर्ने अभ्यास भएमा त्यसबाट छुटकारा दिलाउने उपायको खोजी गर्नुपर्छ । सिकारु बीचमा सिर्जनात्मक अन्तरक्रिया हुने क्रियाकलापहरू छनोट गर्नुपर्छ। अर्थपूर्ण र व्यवहारमा तत्कालै काम लाग्ने क्रियाकलाप र अभ्यासहरू परिमार्जन गर्नुपर्छ। 


पुस्तकमा दिएका हरेक अभ्यासको सही उत्तार दिन शिक्षक सक्षम हुनु जरूरी छ भन्ने हाम्रो धारणा छ। त्यसैले सामग्रीको अनुकूलन गर्ने कार्यले यो यथार्थलाई बिर्सनुहुँदैन।

विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलापका जतिसुकै राम्रा र आदर्शयुक्त शिक्षण सिद्धान्त र विधिहरूको कुरा गरेतापनि हाम्रो शिक्षा प्रणाली परीक्षोन्मुख नै छ। हाम्रा शिक्षण सिकाइ क्रियाकलाप र पाठ्यवस्तु परीक्षोन्मुख प्रभाव (वासब्याक इफेक्ट) का राम्रा र नराम्रा दुवै गुणबाट निर्देशित छन्। जतिसुकै राम्रो विधि भनेर हामीले वकालत गरे पनि परीक्षामा उत्कृष्ट नतिजा ल्याउन त्यस विधिले खासै महत्व राख्दैन भने त्यसलाई विद्यार्थी र समुदायले स्वीकार गर्ने अवस्था रहँदैन। हाम्रो देशमा परीक्षा भन्ने कुरा शैक्षिक प्रशासक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी सबैलाई सचेतीकरण गर्ने लठ्ठी बनेको छ। शिक्षकले नै पाठ्यवस्तुको पूर्ण व्याख्या गरिदिनुपर्ने चलन छ। पुस्तकमा दिएका हरेक अभ्यासको सही उत्तर दिन शिक्षक सक्षम हुनु जरूरी छ भन्ने हाम्रो मनमा छाप छ। त्यसैले सामग्रीको अनुकूलन गर्ने कार्यले यस यथार्थलाई बिर्सनुहुँदैन। नत्र विद्यार्थीले हाम्रो अनुकूलनको अभ्यासलाई पचाउन सक्ने अवस्था रहँदैन। 

अव्यावहारिक आदर्शका कुरालाई कार्यरूपमा उतार्न सकिंदैन । त्यसैले सर्वप्रथमतः सहजै उपलब्ध हुने स्रोत-साधन, शिक्षण सामग्री र आफ्नो पेशागत ज्ञान र सीपको पहिचान गर्नुपर्छ। किनभने न्यूनतम स्रोत र साधनको कमी भयो भने पनि शिक्षकको शिक्षण योजना र सीपलाई प्रभाव पार्दछ। त्यसैले होला, नयाँ शिक्षण सिद्धान्त र सीपको कुरा गर्ने बित्तिकै शिक्षकको दिमागमा पहिले आफ्नो विद्यालयमा उपलब्ध हुने भौतिक, आर्थिक र शैक्षिक सुविधाका कुराहरू आउँछन्। यो अस्वाभाविक कुरा हो। 

अनुकूलनका नाममा गरिने कुराकानी बोझिला भए भने यसले शिक्षकलाई सामग्री जुटाउन अतिरिक्त समय, स्रोत र साधनको चिन्ताले सताउन सक्दछ । यस्तो अवस्था आयो भने शिक्षकको उत्साह र जाँगर सेलाउँछ। त्यसैले सामग्रीको अनुकूलनका कुरा गर्दा विद्यालयमा उपलब्ध हुने स्रोत–साधन र शिक्षण सामग्रीको पहिचान गर्न र ती सामग्रीको उपयोग गर्ने पेशागत ज्ञान र सीपको पहिचान र विकास हुन ज्यादै आवश्यक छ।

विद्यालयमा सामग्रीको अनुकूलन क-कसले गर्ने
सामग्रीको अनुकूलन यही मान्छे र पक्षले गर्नुपर्छ भन्ने छैन। जो शिक्षणसिकाइ क्रियाकलापमा संलग्न रहन्छन्, जसले पाठ्यपुस्तकको उपयोग गरेर शिक्षण प्रशिक्षण गर्दछन्, जसले पाठ्यपुस्तक लेख्ने र प्रकाशन गर्ने काम गर्दछन्, ती सबै पक्षले गर्ने हो। त्यसैले सामग्रीको अनुकूलन गर्ने कार्यमा शिक्षक, प्रशिक्षक, प्राज्ञिक वर्ग सबै जना प्रत्यक्ष रूपमा लाग्नु आवश्यक छ। यस कार्यमा विद्यार्थीदेखि शिक्षाका प्रमुख सरोकारवालाहरू, शैक्षिक प्रशासक, सुपरीवेक्षक, सबैलाई सहभागी गराउन सकिएमा सम्बद्ध पक्षबाट थप विश्वास र सहयोग प्राप्त गर्न सकिन्छ । 

सामग्रीको अनुकूलन गर्ने विधि 
१. थप गर्ने वर्गको अनुकूलन (प्लस क्याटेगोरी): यस विधि अनुसार शिक्षकले मौलिक पाठमा केही नयाँ पाठ र क्रियाकलापहरू थप गर्न सक्दछन्। फरक पाठ पढाउने र नयाँ क्रियाकलाप गराउने (एडिसन), पाठलाई विस्तार गरेर पढाउने र क्रियाकलापलाई लम्ब्याउने, पाठलाई अझ बढी विस्तार गर्ने (एक्सपान्सन), र पुरानो पाठ हटाएर अर्को नयाँ पाठ र अभ्यास पढाउने (सब्स्टिच्युसन) थप गर्ने वर्गका अनुकूलनहरू हुन्। 

२. घटाउने वर्गको अनुकूलन (माइनस क्याटेगोरी): यस विधि अनुसार शिक्षकले मौलिक पाठमा केही पुराना, मिति गुज्रिएका पाठ र क्रियाकलापहरू घटाउने, हटाउने, छोट्याउने, अप्ठ्यारा पाठलाई सरल बनाउने, विषयवस्तुको गहिराइ कम गर्न सक्दछन्। सिकारुले अध्ययन गर्न नसक्ने पाठ र हल गर्न नसक्ने अभ्यासलाई हटाउने (डिलिसन), धेरै संख्यामा रहेका बुँदालाई कम गर्ने, भाग र अङ्गका नामहरूको संख्या कम गर्ने, विभाजनका आधार वा संख्यालाई कम गर्ने (सबट्याक्सन) र लामा वाक्य भएका बुँदाहरू लाई सिकारूले कण्ठ गर्न, सम्झ्न, याद गर्न सक्ने गरी छोट्याउने, विषयवस्तुको गहिराइलाई कम गर्ने र विषयवस्तुको कठिनाइलाई सरल बनाएर प्रस्तुत गर्ने (रिडक्सन) घटाउने वर्गका अनुकूलनहरू हुन् ।

३. थपघट नगर्ने वर्गका अनुकूलन (जिरो क्याटेगोरी): यस विधि अनुसार शिक्षकले मौलिक पाठ र क्रियाकलापहरूलाई कुनै थपघट नगरी फरक तरिकाले अनुकूलन गर्न सक्दछन्। यस अन्तर्गत शिक्षण विधि परिवर्तन गर्ने (मोडिफिकेसन), पाठमा दिइएको सट्टा अर्को क्रियाकलाप गराउने (रिप्लेसमेन्ट), पाठमा दिइएको बुँदा, चित्र र दृष्टान्त आदिको क्रम परिवर्तन गरेर पढाउने (रिसिक्वेसिङ), पाठको विधा परिवर्तन गर्ने (कन्भर्सन), हार्डवेयरका कुरा सफ्टवेयर र सफ्टवेयरका कुरा हार्डवेयरबाट पठनपाठन गर्ने विधिहरू यस अन्तर्गत पर्छन् ।

सामग्रीको अनुकूलनका चरण 
१. छोटा वाक्य लेख्ने: एक वाक्यमा भरसक एउटै समापक क्रियापद प्रयोग गर्ने । एउटाभन्दा बढी असमापक क्रियापद प्रयोग गर्नाले कुन चाहिं महत्वपूर्ण हो भन्ने कुरा छुट्याउन कठिन हुन्छ।
२. शब्दहरू सरलीकृत गर्नेः क्लिष्ट, अर्थ लगाउन कठिन हुने, उच्चारण गर्न कठिन हुने, बहु अर्थ लाग्ने शब्दहरूलाई पढ्ने बित्तिकै अर्थ लाग्ने गरी सरलीकृत गर्ने । सरलीकृत शब्दभण्डारको प्रयोगले अध्ययनमा रुचि जगाउँछ। समय, स्रोत-साधन र व्याख्यानका हिसाबले शिक्षकको प्रस्तुति मितव्ययी बन्दछ।

३. भाषा, शैली र विधालाई सरलीकृत गर्नेः घुमाउरो अर्थ लाग्ने भाषा र शैलीलाई सजिलो बनाउने। सिकारुले पढ्दा सजिलै अर्थ लाग्ने गरी प्रस्तुत गर्ने। ताकि त्यसले के भन्न खोजेको हो भनेर थप व्याख्या गर्नु नपरोस् । स्थानीय भाषाभाषीका अनुसार सुन्दा र पढ्दा अनौठो लाग्ने कुराको प्रयोग गरिएको भए तिनको सट्टामा स्वाभाविक कुरा जनाउने भाषाको प्रयोग गर्ने।
४. वाक्यलाई पुनर्गठन गर्नेः धेरै वटा संयोजक तथा असमापक क्रियापदहरूको प्रयोग गरेर एउटै लामो वाक्य बनाइएको भए तिनलाई पुनर्गठन गर्ने । एउटा पूरै अनुच्छेदको निर्माण हुने गरी लामो वाक्य लेखिएको भए मुख्य मुख्य कुराहरू छुट्टिने गरी छोटा वाक्य बनाउने।

५. थप व्याख्या वा अनुवादको प्रयोग गर्नेः स्थानीय तथा मातृभाषामा अनुवाद गरी राखिएका शब्दावलीलाई जुन भाषामा प्रस्तुत गर्दा सजिलो हुन्छ त्यही भाषामा प्रस्तुत गर्ने । जस्तै, त्यसपछि, पहिलो, दोस्रो, यसरी, पनि, यस्तो, अनि, र, फेरि आदि जस्ता शब्दको प्रयोग गरेर विषयवस्तुको प्रस्तुतिलाई सान्दर्भिक र रोचक बनाउने।

सामग्री-अनुकूलनबाट सम्बोधन गर्न सकिने शिक्षकका केही समस्या
१.    समयमा कोर्स पूरा नहुने समस्या।
२.    देशको बदलिंदो परिवेशका कारण केही पाठको मिति गुज्रिएको र केही पाठ पढाउनै योग्य नभएको समस्या ।
३.    विभिन्न उमेर, रुचि, चाहना र स्तरका विद्यार्थीहरू रहेकाले एउटै पाठ सबैलाई पढाउन नमिल्ने समस्या । 
५.    पाठ्यपुस्तकका पाठले विभिन्न भाषा, जाति, लिङ्ग, धर्म, क्षेत्र, संस्कृति, आदिलाई समेट्न सकेन भन्ने गुनासो आउने समस्या ।
६.    पाठका अभ्यासहरू शिक्षण गर्न कठिन हुने समस्या।
७. पाठले मागेका सामग्रीहरू स्थानीय तहमा उपलब्ध नहुने समस्या ।
८.    केही पाठ अति सजिलो र केही अति कठिन हुने समस्या।
९.    भौगोलिक सुगमता तथा विद्यालयमा उपलब्ध सुविधाका कारण विद्यार्थीलाई अभ्यास र क्रियाकलापहरू सजिलो लाग्ने समस्या।
१०.    विद्यार्थीको रुचि, स्तर र क्षमता पाठ्यपुस्तकका पाठ र अभ्यासले अनुमान गरेभन्दा विद्यार्थीले सिकाइमा चुनौती भएको महसूस गर्न नपाउने समस्या।

निष्कर्ष
सामग्रीको अनुकूलन गर्ने कार्य एक पेशेवर शिक्षक, प्रशिक्षक तथा तालिमकर्मीका लागि पेशागत सक्षमताको विकास गर्ने एउटा आवश्यक विधि हो। यो शिक्षक, प्रशिक्षकका रूपमा पेशाागत क्रियाकलाप गर्दा अपनाउन प्रयोग गर्न सकिने एउटा विकल्प र सङ्कट व्यवस्थापनको एउटा उपाय पनि हो। यसो भन्दैमा सामग्री अनुकूलन गर्ने कार्यलाई जथाभावी र जे गरे पनि हुने रहेछ भन्ने अर्थमा लिनुहुँदैन। यसका केही सीमितताहरू छन्। ती सीमितताहरूलाई हामीले ख्याल गर्नुपर्दछ।

शिक्षकले अपनाउने यस किसिमका नौला अभ्यासबाट विद्यार्थीमा पहिलो पटकमै उत्साहको सञ्चार हुन्छ भन्ने छैन। बरू चिन्ता र शङ्काले ग्रसित हुन सक्दछन्। यस किसिमका नयाँ अभ्यासबाट कमजोर विद्यार्थीहरू पनि बढी चिन्तित हुने गर्दछन्। किनभने यस्ता विद्यार्थीको प्रमुख चिन्ताको विषय परीक्षा हुन्छ। फेल भइएला भनेर हरदम चिन्ता लिने विद्यार्थीका लागि कोर्स नसकिएला भन्ने डर हुन्छ भने पढाइमा तेज विद्यार्थीले अनुकूलनको आधिकारिकता र वैधतामाथि बारम्बार प्रश्न गर्न सक्दछन्। अभिभावक र समुदायबाट प्रश्न र शङ्काको ओइरो लाग्न सक्छ। ती सबै पक्षलाई विश्वस्त तुल्याउन सक्ने गरी क्रियाकलापहरू गरेर देखाउने पेशागत दक्षता, दृढ इच्छाशक्ति र आत्मविश्वास भएमा सामग्री अनुकूलनको आधारमा पठनपाठनलाई थप प्रभावकारी बनाउन सकिन्छ। 

(उपसचिव, शिक्षा प्रशासन)

शिक्षक मासिक, २०८२ माघ अंकमा प्रकाशित । 

commercial commercial commercial commercial