गृहकार्य गर्ने पनि एआई जाँच्ने पनि एआई !
वाइली (Wiley) नामक अनुसन्धान तथा प्रकाशन कम्पनीले २०२३ को अन्तिमतिर उत्तरी अमेरिकाका विद्यार्थीहरू माझ गरेको एक सर्वेक्षणले, कलेज पढ्ने त्यहाँका विद्यार्थीमध्ये ५८ प्रतिशतले च्याट जीपीटी वा त्यस्तै खाले जेनेरेटिभ एआई टुल प्रयोग गर्ने गरेको देखाएको छ। शिक्षकतर्फ पनि त्यस्तै खाले तथ्य देखिन्छ। वाइलीले नै २०२२ मा गरेको अर्को अनुसन्धानमा ६० प्रतिशत शिक्षकहरूले जेनेरेटिभ एआई चलाउने गरेको बताएका थिए। शंकै छैन, अरू प्रविधिले जस्तै एआई (आर्टिफिसियल इन्टेलिजेन्स) ले पनि विद्यार्थीको पढ्ने र शिक्षकको पढाउने तरिका फेरेको छ। करिब दुई वर्षअघि ओपन एआई कम्पनीले सार्वजनिक गरेको च्याट जीपीटी एआई असिस्टेन्ट र त्यसपछि आएका अरू एआई टुलले सबैभन्दा धेरै विद्यार्थी र शिक्षककै कम्प्युटर र मोबाइल फोनमा प्रवेश पाएका छन्।
एआईको चर्चा र प्रयोग बढ्न थालेपछि अहिले एउटा
चुट्किला खुबै चलेको छ ः
शिक्षकले गृहकार्यमा इतिहास, अर्थतन्त्र र राजनीतिबारे निबन्ध लेख्न लगाए रे ! घर पुगेर विद्यार्थीले चाहिं च्याट जीपीटीलाई, “ल, यसबारे एउटा राम्रो निबन्ध लेखिदेऊ त !” भनेछन् अनि त्यहाँ आएको उत्तर कपी-पेष्ट गरेर आफ्नो गृहकार्य बुझएछन् । शिक्षकले फेरि विद्यार्थीले पठाएको गृहकार्यलाई च्याट जीपीटीमै हालेर, “मेरो लागि यो गृहकार्य जाँचिदेऊ, अनि ५० पूर्णांकमा सुहाउने अंक देऊ !”, भनेछन्।
रमाइलोको लागि बनाइएको भए पनि यो चुट्किलाले कक्षाकोठाभित्र बढिरहेको एआईको प्रयोगबारे धेरै कुरा उजागर गर्छ। शुरूमा एआईले ल्याउने सम्भावनाबाट शुरू भएको बहस अहिले यसबारेको साक्षरता, खतरा, अनि यसको नियमनमा बढी केन्द्रित हुन थालेको छ। आज यसबारे चर्चा गरौं।
विभिन्न आर्थिक तथा सामाजिक अवस्थाका देशमा शैक्षिक गतिविधिमा एआईको फरक-फरक प्रभाव छ। विकसित देशहरूमा एआईको द्रुततर विकास र प्रयोग भइरहेकाले उनीहरू विद्यालयमा कसरी यसलाई मर्यादित ढंगले चलाउने भनेर नीतिनियमहरू बनाउनमा आफ्नो समय लगाइरहेका छन्। एआईमै आधारित नयाँ-नयाँ आविष्कार र अनुसन्धानहरू गरिरहेका छन्। अर्कोतिर हामी र हामी जस्तै अन्य विकासोन्मुख या अल्पविकसित देशहरू छन् जहाँ सामान्यतः आधारभूत शिक्षाकै लागि संघर्ष चलिरहेको छ र भर्खरै मात्रै शैक्षिक गतिविधिमा, जनेरेटिभ एआई व्यापक हुनुभन्दा पहिलेका अथवा पुराना भनिने प्रविधिहरूको प्रयोग हुन थालेको छ। तर जेनेरेटिभ एआई टुलहरूको सहज उपलब्धताका कारण एकदमै कम लगानीमा पनि हाम्रा शिक्षक र विद्यार्थी एआई युगमा प्रवेश गर्न थालेका छन्, कम्तीमा पनि इन्टरनेटको राम्रो पहुँच भएका शहरी क्षेत्रहरूमा। च्याट जीपीटी सार्वजनिक भएको पहिलो वर्षको तथ्यांक हेर्ने हो भने सर्च इन्जिन गुगल मार्फत च्याट जीपीटी खोजेर वेबसाइटमा जानेहरूको संख्याका आधारमा नेपाल मुख्य पाँच राष्ट्रभित्र पथ्र्याे। यो संख्यामा पनि शिक्षक र विद्यार्थीको उल्लेख्य हिस्सा थियो भन्ने अनुमान लगाउन सकिन्छ।
शैक्षिक गतिविधिमा जेनेरेटिभ एआईको प्रयोगः कसरी ? कति सही, कति गलत ?
हामीकहाँ पनि कक्षाकोठा भित्र या कक्षाकोठा बाहिर, सबैखाले शैक्षिक गतिविधिमा जेनेरेटिभ एआई टुलहरूको प्रयोगमा बढोत्तरी आउन थालेको छ। विश्वभरि अनलाइनमा उपलब्ध सूचनाहरूमा तालिम गराइएको हुनाले यी टुलहरूले असीमित ज्ञान र जानकारीको महासागरसँग शिक्षक र विद्यार्थी दुवैलाई जोडेका छन्। नयाँ प्रयोग गरेर सिर्जनशील लेख, चित्र अनि भिडियो बनाउन सघाएका छन्। यी टुलहरूले हामीले नसोचेको कोणबाट समेत विषयवस्तु विश्लेषण गर्न सक्ने भएकाले विद्यार्थी र शिक्षकको सोचाइ विस्तार गर्न र विश्लेषणात्मक सोच निर्माण गर्न सघाउने अनुसन्धाताहरूले जिकिर गरेका छन्।
यस प्रसंगलाई अलि विस्तार गरौं। शिक्षकले पाठयोजना बनाउन, त्यही अनुसारको गृहकार्य र कक्षाकोठा गतिविधिहरू डिजाइन गर्न जेनेरेटिभ एआई प्रयोग गर्न सक्छन्। त्यस्तै विद्यार्थीहरूले जेनेरेटिभ एआई प्रयोग गरेर कक्षाकोठामा पढाइएका विषयवस्तुहरूलाई जोडेर विश्लेषण गर्न, अप्ठेरा लेख र पुस्तकहरूको सारांश तयार गर्न, शिक्षकले दिएको गृहकार्यको पृष्ठ अनुसन्धान गर्न अनि नयाँ तर्कहरू विकास गर्न सक्ने सम्भावना छ। कक्षाकोठा बाहिरका गोष्ठी, सेमिनार या अन्य शैक्षिक गतिविधि डिजाइन गर्न पनि यी टुलहरूको प्रयोग गर्न सकिन्छ।
यो त भयो आदर्श परिकल्पना। एआई प्रयोग गरेर धेरै राम्रो र सिर्जनशील काम गर्न सकिने भए पनि यसको गलत फाइदा उठाइरहेका विद्यार्थी र शिक्षकहरूको संख्या पनि बढ्न थालेको छ। “ए ! यसले त सबै काम गरिदिन्छ, अब मेरो सबै काम यसैलाई गराउँछु, म चाहिं आरामसँग बस्छु” भन्ने सोच शिक्षक र विद्यार्थी दुवैमा विकास भइरहेको तथ्य पनि उजागर भइरहेका छन्। यस्तै दुरुपयोगका कारण कैयौं विश्वविद्यालयले जेनेरेटिभ एआईको प्रयोगमा पूर्णतया बन्देज लगाएका छन्। युरोपेली युनियनले जेनेरेटिभ एआईको प्रयोगलाई पनि कपीराइटको अवधारणासँग जोड्ने नीति बनाइरहेको छ।
नियमन गर्ने हतारो जेनेरेटिभ एआईको गलत प्रयोगले नै सिर्जना गरेको हो। एआईलाई काम लगाएर त्यही कुरा जस्ताको तस्तै पस्किनु पनि चोरीको नयाँ रूप हो। त्यसमाथि पनि सजिलै पक्रिन सक्ने खालको चोरी। अहिले पैसा तिरेर वा सित्तैमा चलाउन मिल्ने सयौं यस्ता टुलहरू अनलाइनमा उपलब्ध छन् जहाँ कुनै लेखको कति प्रतिशत अंश एआई अझ् कुन एआई मोडल प्रयोग गरेर लेखिएको हो अथवा कति प्रतिशत कुरा मानवलिखित हो भनेर सजिलै हेर्न सकिन्छ। केही विश्वप्रसिद्ध विश्वविद्यालयले अनलाइनमा विद्यार्थीले अपलोड गरेको गृहकार्य अन्य प्रकाशनहरूसँग कति मिल्दोजुल्दो छ र एआई प्रयोग गरिएको छ कि छैन भनेर स्वचालित रूपमै जाँचेर शिक्षकलाई गृहकार्यसँगै रिपोर्ट पठाइदिने प्रणाली प्रयोग गर्न थालेका छन्।
जेनेरेटिभ एआई टुलहरूको सहज उपलब्धताका कारण एकदमै कम लगानीमा पनि हाम्रा शिक्षक र विद्यार्थी एआई युगमा प्रवेश गर्न थालेका छन्। च्याट जीपीटी सार्वजनिक भएको पहिलो वर्ष, गुगल मार्फत च्याट जीपीटी खोजेर वेबसाइटमा जानेहरूमा नेपाल मुख्य पाँच राष्ट्रभित्र पथ्र्याे।
अल्छी गरेर जेनेरेटिभ एआईलाई नै सबै काम लगाउने, त्यसमा आफ्नो केही मिहिनेत नलगाउने हो भने त्यसलाई एआईको दुरुपयोग नै मान्न सकिन्छ । त्यस्तै कक्षाकोठामा जेनेरेटिभ एआईको प्रयोग अनैतिक मात्रै नभई प्रत्युत्पादक पनि बन्न सक्छ । पहिलो कुरा त यी जेनेरेटिभ एआई टुलहरूलाई विकसित देशहरूको डाटामा तालिम दिइएको हुन्छ, जसले गर्दा यिनले हाम्रो सन्दर्भमा प्रतिकूल हुने या सम्पूर्ण रूपमा गलत सूचना पनि दिनसक्छन्। कतिपय अवस्थामा जेनेरेटिभ एआईले पूर्णतया काल्पनिक उदाहरणहरू पनि दिन्छन्। त्यसलाई जस्ताको तस्तै गृहकार्य अथवा पाठयोजनामा प्रयोग गर्नु अवश्य पनि राम्रो हैन। केही अवस्थामा यस्ता एआई टुलहरूले प्रयोगकर्ताको व्यक्तिगत विवरण पनि लैजाने गरेको देखिएकाले जुनकुनै जेनेरेटिभ एआई प्रयोग गर्नु असुरक्षित पनि हुनसक्छ।
सही प्रयोग कसरी गर्ने त ?
जेनेरेटिभ एआईको गलत प्रयोग भइरहेको छ या असुरक्षित हुनसक्छ भन्दैमा यसलाई पूर्णतया बन्देज लगाउनु राम्रो तरिका हैन। यसको नियमनका लागि अनि नैतिक प्रयोगलाई बढावा दिएर उच्च लाभ लिन शिक्षक, विद्यार्थी या शिक्षण संस्था सबैले केही बुद्धिमत्ता प्रयोग गर्नैपर्छ। विद्यार्थी या शिक्षकले जेनेरेटिभ एआईमा आएका सबै कुराहरू सही हुन्छन् भनेर सोच्नु पूर्णतया गलत हुन्छ। यसको सीमितता र पूर्वाग्रहबारे जानकार रहनुपर्छ। त्यहाँ लेखिएका कुरा हाम्रो सामाजिक या बृहत् सन्दर्भसँग मिल्छ या मिल्दैन भनेर एकफेर परीक्षण पनि गर्नुपर्ने अनुसन्धाताहरू बताउँछन्। अनि सुरक्षाका लागि आफूले प्रयोग गरिरहेको टुल कति विश्वासयोग्य हो, त्यसले कतै हाम्रो एकदमै धेरै व्यक्तिगत विवरण त मागिरहेको छैन भन्ने पनि याद गर्नुपर्छ।
सबैभन्दा महत्वपूर्ण कुरा, जेनेरेटिभ लगायतका एआई मोडललाई हाम्रो (मानिसको) विकल्पका रूपमा हेर्नुहुँदैन। हाम्रो काममा नयाँ दृष्टिकोण थप्न, विभिन्न अवधारणाबीच सम्बन्ध स्थापित गर्नलाई यसको प्रयोग गर्ने हो। सिर्जनशील, विश्वासिलो अनि विश्लेषणात्मक कुराहरू लेख्नका लागि धेरै काम त हामीले नै गर्ने हो। एआईमा आएका तर्कहरू टिपोट गरेर ती तर्क र उदाहरणहरू सही हुन् या हैनन् भन्ने जाँचेर त्यसलाई आफ्नै तरिकाले आफ्नो शैली र भाषामा पुनर्लेखन गर्ने हो भने हामीलाई नयाँ कुराहरू थाहा पनि हुन्छ, विश्लेषणात्मक चेतको विकास पनि हुन्छ, अनि AI Content Detection Tool ले पनि पक्रन सक्दैन।



