रेशम र रोनाल्डोहरू. . .
कुनै विद्यार्थी किन होमवर्क गर्दैनन् ?
यो कथा मात्र होइन, तर भन्दाभन्दै यो कथा जस्तै भएको छ।
म त्यसदिन रेशमले कक्षामा गरेको व्यवहार सम्झिरहेको छु। उसका ती भावशून्य तर कठोर आँखा म कहिल्यै बिर्सिन्न होला ।
त्यस दिन म निकैबेरदेखि याद गरिरहेको थिएँ, रेशमको ध्यान मेरा कुरामा थिएन, ऊ घोप्टो परेर कागजमा केही लेखिरहेको वा लेखिरहेको भन्दा पनि कोरिरहेको जस्तो देखिन्थ्यो। विद्यार्थीले ध्यान नदिएको बुझेपछि शिक्षकले गर्ने भनेकै आफूले पढाइरहेको पाठबाट कुनै प्रश्न सोध्ने हो। मैले उसको नाम लिएर एउटा प्रश्न गरें। ऊ निकै गाह्रो मान्दै उठ्यो तर प्रश्नको उत्तर नदिई। मलाईभन्दा पर भित्तातिर हेरेजसरी उभियो, एउटा मूर्ति जस्तै। उसले उत्तर दिने चेष्टा नै गरेन, न त ‘थाहा छैन सर’ भन्यो।
विद्यार्थीले त्यसो गर्दा आफूलाई कस्तो हुन्छ भन्ने कुरा एउटा शिक्षकले मात्र बुझछ। मलाई उसका गालामा झापड हानेर आफ्नो अहंलाई तुष्टि दिन मन लाग्यो। उसतिर अघि पनि बढें। तर मलाई त्यसैबेला रेशमभन्दा पछाडिको भित्ताबाट जीवन ‘माझी सर’ले हेरिरहेको जस्तो लाग्यो। ती असल मान्छेका विनम्र आँखाको तेजले मलाई त्यहीं रोक्यो। मैले रेशमलाई भनें, “आउँदैन भने बस !”
त्यस दिन; मैले पढाउन नै सकिनँ। तर आफूलाई स्वाभाविक बनाउन प्रयास गरें। थाहा छैन आफूलाई स्वाभाविक बनाउन गरेको त्यो प्रयास चाहिं कत्तिको स्वाभाविक थियो। धन्न कक्षा सकिएको घन्टीले मेरो उद्धार गर्यो। विद्यार्थी पनि जर्याकजुरुक उठे। ढोकाबाट निस्किंदै गर्दा मैले एकपल्ट कक्षातिर हेरें। रेशम अझै कागजमा केही कोरिरहेको थियो।
कक्ष-८ को रेशमलाल मगरको आजको मौनता, सामान्य थिएन; तर त्यसका पछाडिको कोलाहल बुझने क्षमता मसित थिएन।
म शिक्षक-कोठामा पुगें, नोटबुक थन्क्याएँ र सोच्न थालें। अलि पर्तिर मनसरा मिस केही लेख्दै हुनुहुन्थ्यो। उहाँ कक्षा-८ को कक्षा-शिक्षक भएकाले मैले रेशमका बारेमा सोधें । ‘पढाइमा औसतभन्दा तलको र हिजोआज जिराहा हुँदै गएको केटो’ बाहेक खासै जानकारी पाइनँ। तर मलाई त्यति जानकारीले पुगेन। त्यो ‘औसतभन्दा तलको क्षमता’ र ‘जिराहापन’ को कारण खोज्न मन लाग्यो।
मलाई किन रेशम मगरका बारेमा जान्न मन लाग्यो- त्यसको पनि कारण छ। म आफू कक्षा ९ मा पढ्दा ‘कहिल्यै होमवर्क गर्दैनस्’ भन्दै घनश्याम सरले झपड हानेर मेरा मुखबाट रगत आएको देखेपछि जीवन सरले ती आफूभन्दा जेठा शिक्षकलाई चर्को स्वरमा चुनौती दिएको घटना मेरो जीवनको सबैभन्दा ठूलो मोड, अंग्रेजीमा भन्दा ‘टर्निङ पोइन्ट’ थियो । त्यस दिन जीवन सरले ती पाका मास्टरलाई भन्नुभएको थियो, “घनश्याम सर्, तपाईं-हामीसित कुटिमाग्न आएका होइनन्, यी केटाकेटी। सक्नुहुन्छ भने दामोदरले किन होमवर्क गर्दैन भन्ने बुझनुस् न !”

“कहिल्यै होमवर्क गर्न नसक्नेले किन पढ्नु त ? पढाइ छाडे भो’नि त ! समाजमा खेताला पनि चाहिन्छन्... !” घनश्याम सर भुत्भुताउँदै अर्कातिर गएका थिए।
२०-२५ वर्षअघिको समाजमा शिक्षकले स्कूलमै विद्यार्थीलाई त्यस्तो पनि भन्थे भन्ने कुरा नै अहिलेको पुस्ताका लागि नौलो होला। जीवन सरले हेडसरसित भनेर मलाई अर्को सेक्सनमा सारिदिएर घनश्याम सरको अहं र मेरो भविष्य दुवै जोगाइदिएको घटनाले मलाई धेरै कुरामा कारण खोज्ने बानी लगाइदिएको छ।
त्यसपछि म पनि फेरिएँ। पढें, बढें र शिक्षक बाहेक अरू केही हुनै मन लागेन, निकै प्रयत्न गरेर शिक्षक नै भएँ।
म यो स्कूलमा नयाँ नै थिएँ, त्यसैले विद्यार्थीको पृष्ठभूमि जान्नै पाएको थिइनँ। त्यो ‘रेशम काण्ड’ भएका दिन स्कूलपछि पूर्ण सर र म सँगसँगै घर फर्कियौं । मैले उहाँलाई रेशमकै बारेमा सोधें । “मेरो सोल्टीको छोरो हो” भन्दै पूर्ण सरले बताए अनुसार, रेशमको मूल घर माथि लेकमा रहेछ । केही वर्षअघि उसका बाबा साउदी अरब गएपछि उसकी आमा छोराछोरी पढाउन भनेर यो सानो बजारमा आएर बसेकी रहिछन्। उनी स्वास्थ्य चौकी बनाउने ठेकेदारकहाँ गिट्टी–बालुवाको काम गर्दी रहिछन्। उसका बाबा बिरामी भएर भर्खरै घर फर्किएका रहेछन् । उसभन्दा तल्तिर एउटी बहिनी र भाइ रहेछन्।
बाबा देश बाहिर र आमाले गाउँघरमा मजदुरी गरेर पढाइरहेका यी केटाकेटीको पढाइ सामान्यतया राम्रै रहेछ । तर केही समययता घरमा झ्ै–झ्गडा बढ्न थालेपछि रेशमको व्यवहारमा परिवर्तन आएको रहेछ।
केही महिनाअघि लेक गाउँ गएका बेला आफ्नी आमाका बारेमा एक जना फुपू पर्नेले “छोराछोरी पढाउने निहुँमा चाउचाउ खान र लोग्नेको कमाइ उडाउन गएकी” भनेको सुनेपछि रेशम फुपूसित झ्गडा गर्न पुगेछ । त्यसपछि गाउँमा उसको समेत खोइरो खन्न थालिएछ । बिरामी भएर विदेशबाट फर्केका बाबुलाई गाउँलेले नानाथरी कुरा लगाएपछि बढेको कचकच र झडाका कारण नै रेशम फेरिएको हो भन्ने निष्कर्षमा पूर्ण सर पुग्नुभएको रहेछ । मलाई उहाँका कुरा सुनेर दुःख लाग्यो, तर रेशमलाई रेशम जस्तै नरम बनाउने चुनौती पनि थपिएको अनुभव भयो।
रेशमको व्यवहारका बारेमा कुरा गर्दागर्दै पूर्ण सरले आफ्नो कक्षामा रहेकी, एक जना पढ्न नसक्ने र दुई तीन पटक फेल भएर १० कक्षामा आइपुगेकी एउटी छात्राका बारेमा बताउनुभयो । दुःख लाग्यो तर त्यो समेत जिम्मेवारी आफैंमा थपिए जस्तो पनि लाग्यो।
अर्को दिन कक्षामा पस्नासाथ मैले कक्षाका सबै विद्यार्थीलाई एकछिन नियालेर हेरें। म आफूलाई एउटा संवेदनशील शिक्षक ठान्ने मान्छे हुँ। तर त्यो दिन मेरै लागि पनि फरक रह्यो। उनीहरूका अनुहार, लगाएका लुगा, शरीरको बनावट सबैले केही न केही कथा बोके जस्तो लाग्यो। कसैका अनुहारमा उत्सुकता थियो, कसैमा अल्छीपन, कसैमा डर त कसैकोमा उपहासको भाव। उनीहरूलाई हेर्दा जे देखिन्थ्यो, त्यसले केही हदसम्म तिनका परिवारको बारेमा समेत केही भनिरहे झैं लाग्यो। त्यस दिन मैले खासै पढाइनँ, बरु विद्यार्थीसँग रमाइलो कुराकानी गरें, केही चुट्किला सुनाएँ, उनीहरूलाई पनि भन्न लगाएँ । कक्षाको वातावरण निकै रमाइलो र हलुका भयो।
त्यस दिन पनि रेशमको अनुहारमा उस्तै गम्भीरता थियो, मानौं ऊ मनमा कुनै गह्रौं कुरा बोकेर बसेको छ । कक्षाबाट बाहिर निस्कँदा मैले रेशमको काँधमा हात राखें र भनें, “तिमी आज खासै बोलेनौं, अर्को बुधबारका लागि चुट्किला सुनाउनेमा शुरूमै तिमीलाई राख्छु नि !” रेशमको अनुहारमा एकदमै चकित परेको भाव देखियो तर मैले त्यसलाई देखेको नदेख्यै गरें ।
त्यस दिन अपराह्नमा प्रअको कोठामा भेला भएर हामीले विद्यालयका समस्याग्रस्त बालबालिकाका बारेमा कुरा ग¥यौं र उनीहरूलाई सार्थक काममा लगाउने केही उपायका बारेमा छलफल ग¥यौं ।
अर्को दिन स्कूल छुट्टी भएपछि अचानक मलाई आफ्नो आँगनमा देख्दा रेशमको अनुहारमा छाएको भावमा मैले छक्क र डरको मिश्रण देखें। ऊ बाख्रालाई घाँस हाल्दैथियो । के गर्ने, के भन्ने उसले केही मेसो पाएन र ट्वाल्ल परेर मलाई नै हेरिरह्यो। “घरमा आमा–बाबा हुनुहुन्न ?” भन्ने मेरो प्रश्नको जवाफमा उसले बाबा भित्र भएको र आमा काममा गएको बतायो । अनि मैले “बाबालाई भेटौं न त” भन्दा चाहिं उसको मुखमा स्पष्टै त्रासको छायाँ देखियो । मैले उसलाई छेउमा बोलाएर भनें, “रेशम, तिमी एउटा असल विद्यार्थी हौ, म तिमीलाई कसरी मदत गर्न सक्छु भनेर बुझन आएको हुँ।” रेशमको अनुहारमा त्यसबेला देखिएको भावलाई शब्दमा उतार्ने सामथ्र्य मसित छैन। म एकछिन उसका बाबासित भलाकुसारी गरेर, रेशमकी बहिनी रीताले दिएको चिया खाएर आफ्नो डेरातिर लागें ।
दुई–तीन दिन सामान्य नै बित्यो । मैले रेशमलाई मात्र होइन, कक्षामा अलि पछाडि रहेका अरू विद्यार्थीलाई पनि अलि नियमसित नाम लिएर बोलाउन र कक्षाका गतिविधिमा उनीहरूको सहभागिता बढाउन थालेको थिएँ । एक दिन मैले एउटा नयाँ परीक्षण गर्ने विचार गरें र विद्यार्थीलाई भनें, “म तिमीहरूलाई केही प्रश्न सोध्छु । जान्नेलाई स्याब्बासी दिन्छु र नजान्नेलाई पुरस्कार दिन्छु।”
त्यसलाई स्पष्ट पनि पार्नुपथ्र्यो, पारें।
“हेर, म पनि कमजोर विद्यार्थी थिएँ । स्याब्बासी र पुरस्कार मेरा भागमा कहिल्यै परेनन्। नजान्नेलाई हेप्ने चलन थियो । अहिलेको सोचाइ हो, एउटा कुरा नजान्नेले अर्को कुरा जानेको हुन सक्छ, उसलाई आफूले जानेको कामको पुरस्कार दिनुपर्छ।”
प्रश्नहरू सोधिए, उत्तरहरू आए । संयोगवश एउटै उत्तर नमिलाएर पुरस्कृत हुने विद्यार्थी रेशम नै भयो ।
रेशमले के पुरस्कार पाउँछ भनेर सबै उत्सुक थिए । मैले भनें- “स्कूलको वार्षिकोत्सवमा हुने गायन प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा रेशमलाई। ऊ त्यसको ‘टीम लिडर’ !”
म आठौं कक्षामा जे गरिरहेको थिएँ, त्यही काम दशौं कक्षामा पूर्ण सर र नवौं कक्षामा अञ्जु मिस गरिरहनुभएको थियो। हामी रणनीति बनाएरै कमजोर देखिएका विद्यार्थीलाई अगाडि ल्याउन यो प्रयोग गरिरहेका थियौं। केहीलाई चित्त बुझेन होला तर हामीले काममा पुर्याउनुपर्ने तरीका सबै पुर्याएका थियौं।
अहिलेलाई उताका कुरा रहन दिऊँ, म मेरै कक्षाको कुरा गर्छु।
भोलिपल्ट एकाबिहानै कसैले आँगनबाट ‘सर !’ भनेर मलाई बोलायो । मैले देखें- अगाडि रेशम उभिएको थियो। मैले केही बोल्न नपाउँदै उसले भन्यो, “सर, म सक्दिनँ। मलाई कसैले पत्याउँदैनन्। टेर्दैनन्।”
म उसको अनुहारमा हेरेर हाँसें मात्र। ‘बस’ भनेर बस्न लगाएँ। चिया पकाएँ, बिस्कुट पनि निकालेर थालीमा राखें। आफूले खाएँ र उसलाई पनि खान भनें। ऊ अलि सहज भयो । उसले फेरि सक्दिनँ भन्नुअघि मैले आफैं भनें, “तिमी सक्छौ र त लगाएको नि मैले। नसकेका कुरा सिकाउने म छु। अरू सरहरू हुनुहुन्छ।”
त्यो अनपेक्षित जिम्मेवारीसित ऊ डराएको थियो। सोध्यो, “सर, मैले गर्नुपर्ने चाहिं के के हो ?”
“धेरै केही छैन। सबै कक्षाका गाउन चाहने विद्यार्थीको लिस्ट बनाउने। तीमध्ये अलिअलि मात्र गाउन सक्नेलाई पनि मौका दिने र आफूले तयार गरेको लिस्ट मूल समितिलाई जिम्मा लगाउने।”
अनि थपें, “बीचमा अरू साधारण कामहरू पनि पर्न सक्छन्, मिलेर ती पनि गरौंला।”
“सबै कक्षाबाट विद्यार्थी छान्ने काममा सरहरूको पनि मदत चाहिन्छ...” रेशमको आशय थियो, मैले सहयोग पाऊँला र ? भन्ने ।
रेशम, ढुक्क भएर जाऊ । तिमीहरूको यो परीक्षा होइन, पढाइ हो र सघाउन हामी छौं।
भोलिपल्ट राष्ट्रिय गान भेलामा स्कूलको आगामी वार्षिकोत्सव कार्यक्रमका बारेमा हेडसरले जानकारी दिनुभयो । सांस्कृतिक कार्यक्रमको संयोजनको कामका लागि कक्षा १० बाट सुष्मा, ९ बाट धिरज र ८ बाट रेशमलाई जिम्मेवारी दिइएको कुरा सबैलाई बताउनुभयो। सांस्कृतिक कार्यक्रमको समग्र संयोजन मेरो जिम्मामा पर्यो।
मैले ती तीन जनालाई अरू केही साथी छान्न भनें । सबैलाई टीममा लिएर काम गर्न सजिलो पनि भयो र रमाइलो पनि हुन्छ भन्ने मेरो सोचाइ थियो।

म सबै विद्यार्थीलाई काम लगाउँथें। तर नजानिंदो गरी रेशममा ध्यान दिइरहेको हुन्थें। पढाइमा कमजोर ठानिएका विद्यार्थीलाई नेतृत्व दिएर सार्थक काम गराउने हाम्रो आइडियाले रङ ल्याउँदै थियो। उसो त बलभद्र सरले ‘पढ्न नसक्नेलाई त हो नि नेता बनाउने’ भनेर बेलाबेलामा घोचपेच नगर्नु भएको होइन। तर हाम्रो उद्देश्यले त्यस्ता कुरामा अल्मलिन दिएन।
हामी प्रत्येक दिन स्कूल लाग्नुभन्दा अघि, हाफटाइममा र स्कूल छुट्टी भएपछि भेटेर के काम भएको छ भनेर छलफल गर्न थाल्यौं। मैले त सधैं भनिरहन्थें, एक दिन हेडसरले हामी सबैलाई खाजा खुवाउन लिएर जानुभयो र उनीहरूलाई भन्नुभयो, “हेर, म पौडी खेल्न जान्दिनँ, दामोदर सर फूटबल खेल्न सक्नुहुन्न। सबै काममा उत्तिकै तगडा कोही पनि हुँदैन । तर आफूले जानेको काममा सबै अब्बल हुन्छन्। तिमीहरूलाई हामीले धेरै विचार गरेर छानेका हौं, आफूलाई सफल सावित गराउने काम तिमीहरूको।”
हाम्रा संयोजकहरू यति कुरा राम्ररी बुझने भइसकेका थिए।
कार्यक्रमका दिन सबै विद्यार्थीका अभिभावक आएका थिए। रेशमका आमाबाबा दुवैलाई म आफैं गएर निम्तो दिएको थिएँ । कार्यक्रम भयो। माइकमा आफ्ना छोराछोरीको नाम सुन्दा त बाबुआमालाई कति खुशी लाग्छ, संयोजकका बाबुआमाले त उनीहरूको प्रशंसा पनि सुने।
कार्यक्रमका बीचमा मेरो बोल्ने पालो थियो। म हलमा उपस्थित दर्शकदीर्घातर्फ हेर्दै बोल्न थालें- “हामी शिक्षकहरूलाई राम्ररी थाहा हुन्छ, हाम्रा प्रत्येक विद्यार्थीमा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ। त्यो प्रतिभा कहिलेकाहीं पढाइमा देखिन्छ, कहिले खेलकुदमा, कहिले कलामा र कहिले सङ्गीतमा। त्यस्तो प्रतिभालाई पहिचान गर्न र तिखार्नको लागि हामीले उनीहरूलाई विशेष रूपमा सहयोग गर्नुपर्दछ। हाम्रो सानो सहयोग, एउटा सानो सद्भावको शब्दले पनि उनीहरूको आत्मबल धेरै बढाउँछ। यस्तै बढेको आत्मबलले नै भविष्यमा सक्षम र सचेत नागरिक तयार पार्न ठूलो मद्दत गर्दछ।”
मैले हेडसरलाई रेशमको घरका कुरा सुनाएको थिएँ, उहाँले आफ्नो भाषणमा नाम नलिइकनै छोराछोरीको पढाइका लागि दुःख गर्ने बाबुआमाको धेरै प्रशंसा गर्नुभयो। घरको वातावरण नराम्रो भए अभिभावकहरूको लगानी खेर जान्छ भन्दै स्कूलको वातावरण हामीले राम्रो बनाउने र घरको वातावरण तपाईंहरूले राम्रो बनाउने भनेर अभिभावकहरूलाई भन्नुभयो।
हामीले कार्यक्रमको अन्त्यमा, सांस्कृतिक कार्यक्रम राखेका थियौं । अझ् संयोजकहरूको प्रस्तुति त सबैभन्दा पछाडि। सुष्माले ‘मेरो पाउमा आज कोही पाउजु बाँध’ भन्ने गीतमा नृत्य प्रस्तुत गरिन्, धिरजले अहिलेका र पूर्व प्रधानमन्त्रीहरूको नक्कल गरेर सबैलाई हँसाए। रेशमको पालो गीतको थियो, उसले गीत गाएको सुनेर सबै छक्क परे, उसकी आमाले त आँसु नै पुछेको देखियो। रेशमले गाएको नारायण गोपालको गीत ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा...’ सुनेर “अति राम्रो, सुन्दर !” भन्दै नरेन्द्र सर जुरुक्क उठेर गएर रेशमलाई अँगालो हाले। नरेन्द्र सर आफूलाई राम्रै गायक मान्थे, तर आज रेशमको गीत सुनेपछि “मभन्दा पनि राम्रो गीत गाउने मान्छे त रेशम हो” भन्दै उनलाई मञ्चमै बोके। हल तालीले गुञ्जायमान भयो।
पहिल्यै आफ्नो मन्तव्य दिएर आसनमा बसिसक्नुभएका हेडसर फेरि माथि जानुभयो र माइक लिएर बोल्न थाल्नुभयो- “म दामोदर सरको कुरामा पूर्णरूपमा सहमत छु, त्यसैले उहाँले भन्नुभएको कुरा म दोहोर्याउँदिनँ। हामी प्रायः फुटबल खेलाडी रोनाल्डो, मेसी आदिको उदाहरण दिन्छौं। उनीहरूले आफूलाई जुन काममा दक्ष बनाउन चाहेका हुन्, त्यसमा निरन्तर प्रयास गरेकाले नै विश्व प्रसिद्ध बनेका हुन्। तर, हामी आफ्ना विद्यार्थीसँग भने अर्कै व्यवहार गर्छौं। पढाइ बाहेक अरू केही गर्नै हुँदैन जस्तो सोच्छौं, अरू कुनै विकल्प नै छैन भन्छौं। त्यो गलत हो। हामीले हाम्रा विद्यार्थीमा रहेको प्रतिभा र सीपलाई निखार्ने वातावरण बनाइदिन सक्यौं भने सबैको कल्याण हुन्थ्यो। धन्यवाद !”
हल तालीले गुञ्जायमान भयो, सबै आ-आफ्नो ठाउँबाट उठे। तर धेरै विद्यार्थी सुष्मा, धिरज र रेशमतिर बढिरहेका थिए- उनीहरूलाई बधाई दिन र उनीहरूको प्रतिभाको प्रशंसा गर्न उत्सुक थिए। रेशमको रसिलो आँखा र अवरुद्ध गलाले भने मलाई खोजिरहेको थियो। उसको नजर ममा अडिएको थियो, मानौं उसले आफ्नो सफलताको सम्पूर्ण श्रेय मलाई दिन चाहन्छ। मैले पनि रेशमलाई हेरें, उसको अनुहारमा सन्तुष्टिको भाव स्पष्ट देखिन्थ्यो। मलाई लाग्यो, आज मैले एउटा शिक्षकको रूपमा आफ्नो कर्तव्य पूरा गरें।
त्यो साँझ्, म आफ्नो कोठामा एक्लै थिएँ। मलाई आजको दिनको घटनाहरू याद आइरहेका थिए। रेशमको अनौठो व्यवहार, पूर्ण सरसँगको कुराकानी, रेशमको घरमा गएको क्षण र अन्त्यमा, गायन प्रतियोगिताको सफलता। मलाई जीवन माझी सरको याद आयो र आफ्नो ढाडमा उहाँले धाप मारे जस्तो अनुभव भयो।
(बालबालिकामाथि हुने शारीरिक तथा मानसिक दण्ड-सजाय विरुद्ध जनचेतना जगाउन देशका विभिन्न ठाउँमा पुगेको थिएँ। त्यसै क्रममा यो घटना÷कथा बाग्लुङको एउटा कार्यशालामा एकजना शिक्षकबाट सुनें। अरूलाई सुनाउन-सुन्न रमाइलो पनि होस् भन्नाका खातिर केही कुरा थपघट गरेको छु। - लेखक)
सम्पादन: केदार शर्मा



