अल्पज्ञानको मिठासमा भुलिरहेकालाई पढ्न मन हुँदैन

अध्ययन तथा अध्ययन संस्कृतिको कुरा हुँदा अमत्र्य सेनको पछिल्लो पुस्तकमा उल्लेख भएको एउटा दृश्यको सम्झ्ना हुन्छ। अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता सेनको पछिल्लो पुस्तक अर्थशास्त्रमा केन्द्रित छैन। निश्चय उनले अर्थशास्त्र पढ्दाका केही सम्झना जोडेका छन् तर यो उनको जीवनकालको महत्वपूर्ण संस्मरणको सँगालो हो– होम इन द वल्र्ड । यसको एक दृश्यले तत्कालीन भारतीयको पठन संस्कृतिको मनोविज्ञानलाई उजागर गर्छ।

संस्मरणमा उल्लेख भए अनुसार सन् १९५३ मा सेन पानीजहाज मार्फत बेलायत गइरहेका हुन्छन्। बेलायतको ट्रिनिटी विश्वविद्यालयमा पढ्नको लागि हवाईजहाज मार्फत जान भाडा महँगो हुन्छ। तसर्थ, पैसा बचाउनको लागि १९ दिन लामो पानीजहाजको यात्रा रोज्छन्। बेलायतमै हकी खेल्न गइरहेको महिला टोली पनि सेन चढेको पानीजहाजमा हुन्छ । टोलीकी एक सदस्यसँग सेनको कुराकानी हुन्छ। ती महिलाले अमत्र्य सेनलाई हरबखत गणित अभ्यास गरिरहेको देखेकी हुन्छिन्। र एकदिन संवादको क्रममा ती खेलाडीले सेनलाई भन्छिन्– “मैले सधैं स्कूललाई घृणा गरें। शिक्षाको आवश्यकता नै के छ र ?”

“मलाई हकी खेल्न आउँदैन” अमत्र्य सेन भन्छन्, “त्यसैले मैले पढाइ रोज्नुप र्‍यो।”

“म तिमीलाई (हकी खेल्न) सिकाउँछु।”

“सिकायौ भने त, त्यो पनि शिक्षा भयो नि ! तिमीले मलाई शिक्षा दिएको हुन्छ।”

“निश्चय नै” हकी खेलाडी महिलाले भन्छिन्, “तर यो शिक्षा तिमीले जहाजको तलामा बसेर दिनभरि अभ्यास गरिरहेको गणित भन्दा धेरै रमाइलो हुन्छ।”

आज पनि हामीमध्ये धेरैलाई पढ्ने काम भनेको सेनले ७० वर्षअघि भेटेकी ती हकी खेलाडीलाई जस्तै लाग्ने हो। धेरैको लागि पढ्नु वा अध्ययन गर्नु दिग्दार लाग्दो काम हो । हामीमध्ये अधिकांशलाई पुस्तक अध्ययन–रुचिको विषय हैन । धेरैलाई त विद्यालयको पढाइ र कलेजसम्मको यात्रा प्रमाणपत्रको लागि मात्र हो । धेरै अभिभावक आफ्ना सन्तानले उसको रुचिको विषय पढोस् भन्ने चाहँदैनन् । कुन विषय वा विधा रोजे छिटो रोजगार मिल्छ भन्ने ध्यान रहन्छ। हामीमध्ये अधिकांशको चिन्तन कसरी पैसा कमाउने भन्नेमा केन्द्रित छ । समग्र जीवन के हो र यसलाई कसरी सहज बनाउने भन्ने सोच्दैनौं । हामी समाजको एक सदस्य भएर जीवन बाँचिरहेका हुन्छौं। समाज राजनीति, कूटनीति, मानवता र प्रकृतिको आपसी सिद्धान्तहरूको प्रभावमा चलिरहेको हुन्छ । किताबले राजनीतिको रंग, कूटनीतिको कला, मानवताको मर्म र प्रकृतिको प्रवृत्ति बुझन सिकाउँछ। यी कुराहरू कुनै सिद्धान्तकार, लेखक, विज्ञ वा नेताले भनेको वा व्याख्या गरेको जस्तो एक सरल र एकपक्षीय पनि हुँदैन। यस्ता कुराहरू एकाध पुस्तक पढेर बुझ्निे कुरा पनि हैन। यसको अर्थ यत्ति नै पुस्तक पढेर बुझ्न्छि भन्ने पनि छैन। पुस्तक पढिरहँदा राजनीति, कूटनीति र प्रकृतिसँग मानिसको सम्बन्ध र यसले मानिसको जीवनमा पार्ने प्रभावको बारेमा बुझछौं। अन्य तत्वसँग जीवनको सम्बन्ध बुझनु भनेको जीवन जिउने कला सिक्नु हो। जीवन जिउने कला सिकेपछि हाम्रा भोगाइ सहज र सरल बन्दै जान्छन्। तर जीवनलाई सहज बनाउने नाममा अधिकांशले अध्ययनलाई बेवास्ता गरिरहेका छन्। यो उल्टो यात्रा वा बुझइ हो। 

अध्ययन वा पढाइको विषय जीवनको भोगाइ र अस्तित्वसँग जोडिनुपर्छ। तर हामीले पढाइलाई रोजगारी वा करिअरसँग मात्र जोड्न खोजिरहेका छौं। यसको लागि पढेको कुरा जान्नुपर्छ भन्ने बुझियो। यसैलाई प्रोत्साहित गर्नको लागि ‘धावन्ति खेती, घोकन्ति विद्या’को भाष्य तयार गरियो। निश्चय नै अहिलेको शिक्षाले यो नारालाई प्रोत्साहित गर्दैन। तर अधिकांशको चिन्तन भने उही पुरानो भाष्यमा अल्झ्एिको छ । आज पढ्न नचाहने र पढ्न चाहने दुवैको चिन्तन एउटै छ। जसरी भए पनि पैसा कमाउने कामको सुनिश्चितता होस्। पढ्नको लागि विदेश जाने होस् वा पढाइ त्यागेर श्रम गर्न विदेश जाने, दुवैको मूल उद्देश्य पैसा नै देखिन्छ। अधिकांशले पढे पनि जागिर खानको लागि मात्र पढ्छौं । कतिले कतै प्रमाणपत्र पेश गर्नुपर्छ कि भनेर पढ्न चाहन्छन्। पढ्ने क्रममा लिनुपर्ने ज्ञानको चिन्ता छैन। परिणामतः कति नेता वा पैसावालहरूले अरूलाई परीक्षा लेख्न लगाएको समाचार पढिन्छ। कुनै समय त बनारसको पान पसलबाट प्रमाणपत्र ल्याउँछन् भन्ने हल्ला पनि व्यापक थियो। यहाँ धेरैलाई शिक्षित देखिनुपरेको छ तर ज्ञान हासिल गर्नु छैन।

हाम्रो लागि पढ्ने काम सूचना संकलन गर्ने उद्देश्यसँग मात्र जोडिएको छ। तसर्थ हामी पढ्दै गर्दा घटना र पात्रमा केन्द्रित हुन्छौं। तर पुस्तकभित्रको अध्याय पढ्दै गर्दा त्यसको सन्देश र मर्मलाई भुल्छौं। अल्बर्ट आइन्स्टाइनका अनुसार शिक्षा त्यो हो, जो हामीले पढिसकेर भुल्दा पनि बाँकी नै रहन्छ। त्यो अर्थमा शिक्षा भनेको कुनै पनि अध्ययनले दिने सन्देश र मर्म नै हो। हामीले पढेका पात्रहरू भुल्न सक्छौं । घटनाको मिति र स्थानहरू भुल्न सक्छौं। तर त्यसले सिकाउने पाठ आत्मसात् गरियो भने त्यसले हाम्रो सोच र व्यवहार नै बदल्छ।

यो अर्थमा पढाइ आफैंमा मनोरञ्जन पनि हो । कुनै पनि किताबमा घोत्लिनु भनेको त्यहाँका घटना, पात्र वा मितिको बारेमा जान्नु मात्र हैन । संवेगहरूसँग खेल्दै ती पात्र, घटनाको अवलोकन गर्नु पनि हो। कुनै पनि मितिमा भएका घटनाहरूको परिकल्पना गर्नु पनि हो। सयर र परिकल्पना मानिसका जीवनमा सुन्दरतम चिजहरू हुन्। निश्चय नै यो वास्तविकता भन्दा परको कुरा हो। तर यसले मानिसलाई खुशी बनाउँछ। मनोरञ्जन दिलाउँछ, जो मानसिक स्वास्थ्यको लागि अति आवश्यक तत्व हो।

ज्ञान र मनोरञ्जनका स्रोत अरू पनि छन्। तर अध्ययन- ज्ञान र मनोरञ्जन प्राप्तिको सजिलो तरीका हो। यद्यपि हामी पढ्दैनौं। जीवनयापनको लागि अध्ययन आवश्यक छ। केही प्राप्तिको लागि औपचारिक शिक्षा र जीवनयापनको लागि अध्ययन आवश्यक छ। जीवनमा आर्थिक तथा सामाजिक हैसियत बदल्नको लागि औपचारिक अध्ययन चाहिन्छ। तर जीवन र सोच नै बदल्नको लागि चाहिं स्वध्यायन चाहिन्छ, जो निरन्तर चल्ने प्रक्रिया हो। हामी स्वध्यायन त गर्दैनौं नै, पायो भने औपचारिक अध्ययनको प्रमाणपत्र पनि छलछाम गरेर लिन पाए हुन्थ्यो भन्ने ठान्छौं। यसको अर्थ, अध्ययनलाई बाध्यताको एउटा फिक्का कामको रूपमा बुझनु हो। 

विकसित देशको तुलनामा हाम्रो औपचारिक शिक्षाको इतिहास छोटो छ। एक त छोटो समय, अर्काेतिर यसले प्राविधिक कुरामा मात्र केन्द्रित हुँदा समग्रमा यो प्रभावकारी हुन सकेन। हामीले धेरै समयसम्म विद्यालयको शिक्षा पास, फेलसँग मात्र जोड्यौं । पाठको मर्मलाई बुझने हैन, त्यसको पात्र, स्थान र घटना रट्ने काममा केन्द्रित भयौं वा बनायौं। मान्छेलाई कुनै पनि नयाँ काम गर्दा सहज महसूस गर्दैन। औपचारिक शिक्षाको इतिहास एक शताब्दी पनि नभएको देशमा पढ्नु, लेख्नु नयाँ काम नै हो । यो नयाँ काममा रस बसाउन उत्प्रेरित गर्नुपथ्र्यो। तर ‘घोकन्ति विद्या र धावन्ति खेती’ भनेर यसलाई बाध्यात्मक बनाइदियौं। बाध्यात्मक काममा मानिसको रुचि हुँदैन। कुनै पनि विकल्प पाउने वित्तिकै त्याग्छ। अहिले भइरहेको पनि यही नै हो। धेरैलाई घोकेर पास गर्‍यो, काम पाइँदैन भन्ने लाग्छ। त्यसैले यहाँ कोही पनि आफ्नो लागि पढिरहेका छैनन्। अरूको लागि पढिरहेका छन्। अरूले काम गर्ने ठाउँमा प्रमाणपत्र माग्ने हुनाले जोहो गर्न कस्सिएका छन्। यही कारण परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिन्छन् । धेरैजसो पढेर बेरोजगार हुनुभन्दा बेलैमा वैदेशिक रोजगारमा जान तम्सिएका हुन्छन्। धन, सम्पत्ति तथा मान्छेको उच्च हैसियतलाई सम्मान गर्ने हाम्रो समाजको संस्कारले यस किसिमको सोचलाई अझ् मलजल गर्‍यो।

अर्काेतिर अल्पज्ञानले दिने आत्म-विश्वासमा पनि हाम्रो समाज भुलिरहेको छ। भनिन्छ कि अल्पज्ञान खतरनाक हुन्छ । यो नकारात्मक पाटो भयो। व्यक्तिविशेषको लागि अल्पज्ञानको सकारात्मक पाटो पनि छ । त्यो भनेको ज्ञानको बारेमा भ्रम र आत्मविश्वास हो। कुनै खास क्षेत्रमा लामो अध्ययन गरेपछि मान्छेले विज्ञता प्राप्त गर्छ। विज्ञता प्राप्त गरेको व्यक्तिले कुनै खास उद्देश्यको लागि निश्चित मञ्चहरूमा आत्मविश्वासका साथ कुरा राख्छ। तर अल्पले जताततै आफू जान्ने, सुन्ने भएको अभिव्यक्ति दिइरहन्छ। यस्तो आत्मविश्वास भएका मान्छेहरू हामी चियापसलमा धेरै नै भेट्छौं। यस्ता व्यक्तिमा आफू जान्ने हुँ भन्ने भ्रम यति ठूलो हुन्छ कि उसले पढ्नुपर्छ वा अरूको कुरा पनि सुन्नुपर्छ भन्ने आवश्यकता नै ठान्दैन। यस्ता मान्छेले पढेर आनन्द लिने कुरा रुचाउँदैनन्। उनका लागि चिया र सोमरसको चुस्की अनि मान्छे भुलाउन तयार पारिएका कमसल पाठ्य तथा सञ्चार सामग्री नै मनोरञ्जनका अनुपम स्रोत हुन्। त्यही कारण चियापसलमा देशको चिन्तन गर्ने छ्यापछ्याप्ती भेटिन्छन्। देश कता जाँदैछ भन्ने उनीहरूलाई राम्ररी थाहा हुन्छ। अफसोस, निर्वाचनको बेला उपयुक्त उम्मेदवारलाई मत दिन चुक्छन्। यही नै हो अल्पको समस्या तर लाग्छ कि ऊ नै संसारको जान्ने, सुन्ने व्यक्ति हो। 

अध्ययन तथा पढ्ने काम भनेको विना चिनीको अमेरिकानो कफी खानु हो। अमेरिकानो कफीमा दूध राखिंदैन। त्यसमाथि चिनी पनि नराख्दा पिउनेले पाउने पहिलो स्वाद भनेको तीतो मात्र हो। तर यसको आदत लागेपछि दूध र चिनी सहितको कफी पनि फिक्का लाग्छ। पुस्तक अध्ययन पनि यस्तै हो। शुरू-शुरूमा पाना पल्टाउँदै अक्षरमाथि आँखा दौडाउने काम पट्यारलाग्दो हुन्छ। आदत बसेपछि किताबबाटै समाज र ज्ञानका विभिन्न विधालाई छिचोल्न सकिन्छ । तर यो कामको लागि उत्प्रेरणा जोगाउने काम शिक्षा प्रणाली र समाजका अग्रजको हुनुपथ्र्याे जो भएन।

(बोखिम लेखक तथा पत्रकार हुन् ।)

commercial commercial commercial commercial