शिक्षक हुनुको गर्व !

“... हृदयले रोपेको बिरुवाले
मायाले फुलाएको फूलले
आफूलाई हुर्काउने मालीलाई
साँचै नै चिन्न सक्छ र ?
कहिल्यै आफैं अघि सरेर
आफ्नो मालीलाई सम्झ्ेर
‘धन्यवाद’ भन्न सक्छ र ? ...”

यो एउटा आफ्नै पुरानो कविता हो । कुनैबेला आफ्नो कामको जस नपाएको वा उल्टो दोष बोक्नु परेको अनुभव हुँदाको अभिव्यक्ति हुनुपर्छ, यो ।

भन्ने गर्छन्, ‘मान्छेको भलो गर्नुहुन्न । एउटा मुटु दियो भने अर्को पनि दे भन्छन्... ।’ यो अतिशयोक्तिपूर्ण अभिव्यक्ति जताततै सुनिने गर्छ र यो नकारात्मक कथनलाई प्रायः हामी पचाउँछौं मात्र हैन, यसैको शिकार पनि हुन्छौं ।

तर हाम्रो जीवनमा यस्ता क्षणहरू पनि हुन्छन्, जसले हामीलाई सुकर्म कहिल्यै खेर जाँदैन भन्ने सत्य सम्झइदिन्छन् ।

केही समयअघिको कुरा हो, काठमाडौंको मातातीर्थमा निर्मित करुणा बौद्ध बिहारको सभा भवन विभिन्न उमेरका स्कूले विद्यार्थी, तिनका अभिभावक, चिवरधारण गरेका बौद्ध भिक्षु–भिक्षुणी र उपासक–उपासिकाहरूले खचाखच भरिएको थियो ।

पाहुनाको हारमा यो पंक्तिकार पनि थिई । अचानक कार्यक्रम संचालिकाले मेरो नाम सम्बोधन गरिन् । सबै पाहुनालाई केही न केही उपहार दिने सिलसिलामा नाम बोलाइएको थियो । अरू जस्तै म पनि उठें । उपहारको रूपमा त्यहींका एकजना शिक्षक र विद्यार्थीका सुन्दर हस्ताक्षरमा उतारेर आकर्षक फ्रेममा सजाइएको मेरै एउटा कविता भिक्षुणी चन्द्रशिला गुरुमाको हातबाट प्राप्त हुँदा, हर्षमिश्रित आश्चर्यले म अवाक् भएँ । भावविभोर भएँ । उपहारलाई प्रेमपूर्वक हातमा थापें । एकछिनमा फेरि अर्को उपहार पाउँदा देख्छु– अर्की एक विद्यार्थीले मेरो सिंगै कविता संग्रह ‘रात’ लाई नै हस्ताक्षरमा उतारिदिएकी रहिछन् ! कुनै किसिमको कल्मषले फोहोर नपारिसकेको सफा हृदयका स–साना विद्यार्थी र तिनलाई असल नागरिक बनाउने प्रयासमा रहेका शिक्षकहरूबाट पाएको यस्तो उपहार कुनै पनि मान, पदवी, पुरस्कारभन्दा कता हो कता ठूलो थियो । म कृतज्ञ भएँ— यो घटनासँग जोडिइएका सबैप्रति, जीवनप्रति नै !

मातातीर्थको करुणा बिहारसँग मेरो परिचय धेरै पुरानो होइन । वर्ष दिन जति भयो होला म त्यहाँ पहिलो पटक पुगेको, त्यो बिहार निर्माण गर्ने भिक्षु मंगल भन्तेको निम्तोमा । त्यो बिहार ठूलै क्षेत्रमा फैलिएको छ । हरेक शनिबार त्यहाँ बच्चाहरूलाई हस्ताक्षरकलाको प्रशिक्षण हुन्छ । २०० भन्दा बढी बच्चाहरूले त्यो प्रशिक्षण निःशुल्क पाउने मात्र हैन, त्यस दिन बिहानको खाना समेत त्यहीं खाँदारहेछन् । उनीहरूले त्यहाँ राम्रो वातावरणमा सुन्दर अक्षर लेख्न सिक्न पाउँदा रहेछन् । तिनै बच्चाले वर्षभरि गरेको मिहिनेतलाई स्याबासीका रूपमा पुरस्कृत गर्न त्यो कार्यक्रमको आयोजना भएको थियो । यो आफैंमा एउटा अत्यन्त सुन्दर र सुखद कुरा हो । तर मेरोनिम्ति भने यसको साक्षी हुन पाउनुभित्र अर्को ठूलो सन्तुष्टि पनि लुकेको थियो ।

मंगल भन्ते एशियाका विभिन्न देशमा बौद्ध दर्शनको प्रवचन दिंदै भ्रमण गरिरहनुभएको छ । बाह्र भाषाका ज्ञाता, अत्यन्त मिहिनेती र हाल ताईवानको एक बौद्ध केन्द्रमा रहने गर्नुभएका प्राध्यापक भिक्षु मंगल नेपालमा राम्रो बौद्ध पुस्तकालय, बौद्ध विद्यालय बनोस्, नेपालका लिपिहरू नहराउन् भनी निरन्तर लागिरहनुभएको छ । अचेल उहाँसँग मेरो कुराकानी भइरहन्छ— नेपाल आएको बेला प्रत्यक्ष भेटमा र अरूबेला सामाजिक सञ्जालको माध्यमबाट । एकदिन उहाँको उद्देश्य, सुकर्म, सकारात्मक भावना, क्षमता र दृष्टि अनि निरन्तरता आदिको सराहना गर्दा उहाँले भन्नुभयो– “यो त सबै मिसले नै रोपेको भावना होइन र ? उहिल्यै मिस बलम्बुमा पुगेर छरेको बीउ त हो नि !  सबै कर्मको श्रेय किन मलाई नै दिन खोज्नुहुन्छ ?”

‘मिस’ शब्द नेपाली मूलको हैन । प्रचलित अर्थका हिसाबले यो शुद्ध नहोला । तर यो उमेरमा समेत, एकजना सम्मानित भिक्षुले ‘मिस’ भनेर सम्बोधन गर्दा र आफ्नो सुकर्मको भागिदार मलाई समेत बनाइदिंदा म भावविभोर भएँ । कुनैवेला आफूलाई पढाउने एउटी ‘मिस’ लाई खोज्दै मंगल भन्ते मकहाँ आइपुग्नुभएको थियो ।  अचेल म उहाँलाई गुरु मान्छु । उहाँसँग धेरै कुरा सिक्ने प्रयत्न गरिरहेकी छु । तर म देख्छु, आफ्नो बाल्यकालमा केही समय पढाएकी ‘मिस’ प्रतिको उहाँको सम्मान र स्नेह अझ्ै जस्ताको तस्तै छ । जब जब म उहाँसँग कुरा गर्छु, धेरै वर्षअघि, आफू भर्खरै युवावस्थामा प्रवेश गरेको बेला, बलम्बुको एउटा सानो प्राइमरी स्कूलमा पढाएका दिनहरूको स्मृति एक एक गर्दै आँखा अघि आइरहन्छ ।

किशोरावस्थामा छँदा, शिक्षक हुनु सबभन्दा आदर्श काम हो भन्ने लाग्थ्यो । त्यो उमेरका सपनाहरूमा आफ्नै किसिमको पवित्रता हुन्छ । अलिकति पनि आदर्शबाट प्रभावित भएका सबै किशोरकिशोरीमा ‘देशको सेवा’ भन्ने कुरा मनमा कुँदिएको हुन्थ्यो । ‘कसरी गर्ने त देशको सेवा ?’ भन्ने आफ्नै प्रश्नको जवाफमा ‘शिक्षक भएर’ भन्ने उत्तर पाउँथें अन्तर्मनबाट । एसएलसी पास गरेपछि १६ र १७ वर्षकै उमेरदेखि प्राइमरी स्कूलहरूमा पढाउने काम थालें । कतै औपचारिक रूपमा त कतै स्वयंसेवक भएर पनि लागें । लामो समय नै मैले शिक्षक भएर काम गरें । समाजको सबभन्दा तल्लो वर्ग मानिएका ‘दलित’ विद्यार्थी पढ्ने स्कूलदेखि गाउँ–शहरका त्यो बेलाका राजपरिवारका सन्तानलाई पढाउने स्कूलसम्मको अनुभव बटुलें । भाषा पढाउने क्रममा विभिन्न देश, भिन्न भिन्न संस्कृति र स्तरका विद्यार्थीसँग मित्रता भयो । यस्ता सबै अनुभवले जीवनलाई समृद्ध बनाएको जस्तो लाग्छ । जीवनमा केही गर्न सकिएन भन्नु पर्दैन भन्ने लाग्छ । शिक्षक हुनु भनेको त वर्तमान र भविष्यका सबै क्षेत्रमा छुनु रहेछ ।

यतिबेला विगतसँग सम्बन्धित कर्मको कुरालाई सम्झ्ँदैछु— जीवनमा लामो समय पढाउने काम गरें । मैले पढाएका सबै विद्यार्थीलाई म सम्झ्न्नि, चिन्दिनँ । जब जब कुनै विद्यार्थी आफंैले चिनेर मलाई आफ्नो परिचय दिन्छन् र ‘तपाईं मेरो ‘शिक्षक’, ‘गुरुआमा’, ‘मिस’... भनेर अगाडि उभिन्छन्, त्यो क्षण आनन्ददायी लाग्छ । उमेर जति बढ्दैछ, यस्ता मन पर्ने क्षणहरू पनि बढ्न थालेका छन् । शुरूमा काम गर्ने बेला कहिल्यै पनि नसोचेको कुरा यतिबेला म प्राप्त गर्दैछु । किशोरावस्था वा युवावस्थामा काम गर्दा फलको आशा गरेको थिएन । तर उमेर बढ्दै र जीवनका कठिनाइ भोग्दै जाँदा भने असन्तुष्टि पनि चुलिंदोरहेछ ।

आफू वरिपरि कृतघ्नताको तस्वीर बढी देखिन थाल्दो रहेछ । र, त्यसले गर्दा युवावस्थामा काम गर्दाको पवित्र ‘स्वान्त सुखाय’ को भाव ओझ्ेलमा पर्न थाल्दोरहेछ । तर जब जब ‘सम्यक् स्मृति’ को उज्यालोले मनलाई प्रकाशित गर्छ, सुकर्मको फल आफैं प्राप्त हुन्छ भन्ने कुराका अनेक ज्वलन्त उदाहरण पनि देखा पर्दा रहेछन् ।

अहिले शिक्षण पेशामा छैन म । तर मैले धेरै ठाउँमा पढाएको सम्झ्ना आइरहन्छ । आफूले प्रेमपूर्वक पढाएका विद्यार्थीले पनि सम्झ्न्छिन् र सम्झ्निुपर्छ भन्ने पनि होइन । मलाई सानोमा पढाउने सबै शिक्षकहरूलाई म पनि सम्झ्नि सक्तिनँ । तर कतिलाई बिर्सन खोजे पनि बिर्सन नसकिने पनि हुँदोरहेछ । आफूलाई माया गरी पढाउने शिक्षकहरूप्रति बेलाबेलामा श्रद्धा जाग्छ । तर पनि नजिकै गएर भेटघाट गरी कृतज्ञता व्यक्त गर्न सकेको छैन । यी हरफहरू लेखिरहँदा पनि ती शिक्षकहरूप्रति श्रद्धा जागिरहेको छ । उतिबेला म पढेको सानो स्कूलमा दुःख गरी पढाउनुहुने पूर्णतारा शाक्य र गीतादेवी श्रेष्ठ जस्ता श्रद्धेय गुरुमाहरू अब त ८० वर्ष नै नाघिसक्नुभयो होला । कुनैबेला पूर्णतारा गुरुआमासँग फोनमा कुरा गर्छु । हरेक पल्टको कुरामा उस्तै आशीर्वाद वर्षिरहन्छ ।

जीवनमा शिक्षण बाहेकका पनि धेरै काम गरियो । यतिखेर भने मलाई फेरि पनि अन्य सबै कामभन्दा बेग्लै अनुभूति भइरहेछ । मैले कुनैबेला आदर्श कर्मको रूपमा लिएको शिक्षण पेशाबाट समाजको निम्ति सुकर्मलाई अगाडि बढाउन सकिन्छ भन्ने सोच आज एकैजना भन्तेबाट पूरा भएको महसूस हुन्छ ।

बुद्ध जन्मेको देशको एक भिक्षु, बलम्बुको एउटा साधारण किसान परिवारका सुपुत्र आज आफ्नै मिहिनेत र प्रतिभा लिएर बुद्ध दर्शनदेखि अन्य विषयको पनि विज्ञ भएर अनि विश्वका विभिन्न देशहरूमा फैलिंदै र फैलाउँदै पनि हुनुहुन्छ । भिक्षु मंगलकै वाक्यलाई यहाँ स्मरण गर्दा यही जन्ममा मेरो एउटा ठूलो सपना पूरा हुन आएको छ र यसमा हर्षित मात्र होइन भित्रैबाट गर्व पनि लागेको छ ।

commercial commercial commercial commercial