विद्यार्थी किन दण्डित हुन्छन् ?
‘सर ! मेरो छोरालाई जति पिट्नुहुन्छ, पिट्नुस् । हामीलाई त टेर्दै टेर्दैन ।’
‘मेरो बच्चालाई पिट्ने सर को हो ? मिडिया र प्रहरी बोलाउँछु । त्यसलाई कहाँ छोड्छु र ! मेरो बच्चालाई पिट्न पठाएको हुँ र !’
नेपालको सन्दर्भमा विद्यार्थीलाई दिइने शारीरिक दण्ड (Corporal Punishment) ले ठूलै चर्चा पाउने गरेको छ । विद्यार्थीहरू विभिन्न बहानामा पिटिएकै कारण यस्तो चर्चा हुने गरेको हो । हराम्रो पालामा हामी पनि नपिटिएका होइनौँ । फरक के हो भने त्यो समयमा उक्त कुरा हामी हाम्रा अभिभावकलाई भन्नै सक्दैनथ्यौँ । भनिहाले पनि उल्टैगाली खानुपर्दथ्यो । उक्त खबर बाहिर आउँदैनथ्यो तर अहिले मिडियाद्वारा बाहिर आउँछ । के एउटा शिक्षकले ‘मेरो बच्चालाई पिटे हुन्छ !’ भन्ने अभिभावकका बालबालिकालाई पिट्ने र ‘मेरो बच्चालाई पिट्ने को हो ?’ भनी धम्क्याउने अभिभावकका बालबालिकालाई नपिट्ने हो र ? मेरो अनुभवमा शिक्षकबाट विद्यार्थी पिटिनुको एउटा कारण शिक्षकमा शैक्षिक मनोविज्ञान बुझने क्षमताको अभाव हो भने दोस्रो कारण शिक्षक र अभिभावकबीच पारस्परिक सम्बन्ध नहुनु हो ।रूसोले भनेझैँ, “विद्यार्थी एक पुस्तक हो जसका पन्नापन्ना शिक्षकले पढ्नुपर्दछ ।” किनकि एक बालकको आमाबाबुपछि को दोस्रो आमाबाबु भनेका शिक्षक नै हुन् । अभिभावकले ‘सर मेरो बालबच्चालाई जे बनाउनुहुन्छ, तपाईँको जिम्मा’ भन्दछन् । यस्तो संवेदनशील कार्यको लागि व्यवहारले पाको, मनैबाट शिक्षाप्रति आकर्षित, तालिम प्राप्त, शिक्षा मनोविज्ञानको ज्ञान भएको व्यक्ति शिक्षण क्रियाकलाप मा संलग्न भएमा मात्र यो समस्या बिलाएर जान्छ ।
हामीकहाँ विद्यार्थीले गृह कार्य गरे न भने गृह कार्य न गर्नु को कारण खोज्नुको सट्टा पिटिहाल्ने प्रवृत्ति प्रचुर मात्रामा पाइन्छ । यसरी कारण नखोतली विद्यार्थी पिट्नु सरासर मूर्खता हो । समस्याको समाधान नभएर झनै समस्या थप्नु हो । पिटाइलाई प्रारम्भिक चरणको रूपमा भन्दा अन्तिम विकल्पको रूपमा विद्यार्थी सुधार्ने औजारको रूपमा लिनु बुद्धिमान निर्णय हो । त्यसै गरी विद्यार्थी अनुत्तीर्ण भएमा उसकै दोष देखाइन्छ । तर, शिक्षकले शिक्षण विधि; उमेर, तह सुहाउँदो उपयुक्त भयो कि भएन भनेर घोेत्लिएको कमै पाइन्छ । के विद्यार्थी अनुत्तीर्ण हुनु शिक्षकको चाहिँ कमजोरी होइन र ? असल शिक्षक बालबालिकासँग निकै घुलमिल हुनुपर्दछ । जसका कारण बालबालिकाले आफ्नो सम्पूर्ण समस्या, सुखदुः ख आफ्नै शिक्षकलाई भन्न सक्दछन् । शिक्षक डरको पर्याय नभएर बालबालिकाको सहयोगीको छायाँ बन्न सक्नुपर्दछ । हाम्रा बालबालिकाले हराम्रो शिक्षकलाई जहिले पनि मित्र ठान्नुपर्नेमा शत्रु ठानेको पाइन्छ । उदाहरणका लागि एक शिक्षक विद्यालयमा एकदिन अनुपस्थित हुँदा विद्यार्थीहरू निकै खुसी भएको पाइन्छ ।
दण्डले प्रश्रय पाउनुमा अभिभावकको पनि उत्तिकै दोष देखिन्छ । प्रायः अभिभावक आफ्ना बालबालिकालाई विद्यालयभित्र प्रवेश गराउने बित्तिकै आफ्नो दायित्व पूरा भएको सम्झन्छन् । अभिभावकको दायित्व त अब पो शुरु हुन्छ त किनभने विद्यालय भनेको दूरदराजको वस्तु होइन, यो त शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट चल्ने संस्था हो । केही अभिभावकहरूलाई छाडेर भन्ने हो भने उनीहरू विद्यालय समय–समयमा आउनु त परकै कुरा हो । यतिसम्म कि आफ्ना बालबालिकाको नतिजापत्र (Mark-Sheet) लिनसम्म विद्यालय नआएका उदाहरणहरू बग्रेल्ती छन् । यसबाट बालमस्तिष्कमा कस्तो असर पर्ला ? सोचनीय छ । प्रायः अभिभावकले भन्ने गरेका वाक्य, “सर, मैले त भने जति पैसा तिरेको छु, मेरा छोराछोरी पास हुनुपर्छ है !’ यसबाट के छर्लङ्ग हुन्छ भने विद्यालयभित्र बालबच्चा हुल्दिनु नै अभिभावकको दायित्व सकिनु हो ।
आखिर विद्यार्थीलाई पिट्नु अन्तिम लक्ष्य के हो त ? भनेर प्रश्न गर्दा शिक्षकहरूको एउटै जवाफ हुने गर्छ– ‘उसलाई सुधार्न’ । विकसित देशहरूको शिक्षक–विद्यार्थी सम्बन्धलाई नियाल्दा के प्रस्ट हुन्छ भने त्यहाँ शिक्षकहरू त के स्वयम् अभिभावकले पनि आफ्ना बालबालिकालाई पिट्न पाइँदैन ।
अहिले विभिन्न कारणहरूले हाम्रा बालबालिकाले नैतिकता, सामाजिकीकरण जस्ता कुरा हरू बिर्संदै गइरहेको परिस्थितिमा न त शिक्षकहरूले उनीहरूका अभिभावकलाई जानकारी दिएर बालबालिकाको सुविधा नै कटौती गर्न सक्छन् न त तालिम पाएर उचित व्यवहार नै । बालबालिकाको सुविधा कटौती गरौँ, प्रायशः बालबालिकाको त्यस्तो सुविधा नै छैन । सुधार्न खोजौँ अगुल्टोलाई पनि नठोसी बल्दैन भनेझैँ पिट्नु बाहेक अर्को विकल्प छैन । यस्तो अवस्थामा बालबालिका सम्बन्धी सरोकार राख्ने संस्थाहरूले तालिमको व्यवस्था गरिदिए कति जाती हुनेथियो ।
केही व्यक्तिहरू सही ढङ्गले शारीरिक तथा मान सिक यातना दिन नभई एउटा बालकको उज्ज्वल भविष्यको खातिर आफ्नो गल्तीको अनुभूति हुने गरी डर मात्र देखाउन पिटेमा त्यसले टनिक (Tonic) को काम गर्ने बताउँछन् । उनीहरूको तर्क छ– ‘हामीले पनि शिक्षकको पिटाइ खाएका थियौँ र आज हामी यो अवस्था (Status) मा छौँ ।’ त्यस समयमा हामीलाई पिटेर ठीक गर्नु भएछ भन्नेको जमात पनि कम छैन भने बालबालिकालाई पिट्नै हुँदैन भन्ने जमात पनि ठूलै छ । पुस महिनाको शिक्षक मासिकको मनका कुरा स्तम्भमा कलानिधि दाहालले पिटेको विद्यार्थी ठूला पदमा रहेर सेवारत रहेको कुरा सगर्व प्रस्तुत गर्नु भएको छ, जुन वास्तविक हो । अतः एव निरन्तर मूल्याङ्कन पद्धति, मामला अध्ययन, घटना अभिलेख आदि जस्ता मनोवैज्ञानिक तरिकाबाट विद्यार्थीको कमजोरी हटाई सुधार गर्न सकिन्छ कि प्रयास गरौँ अन्यथा देश अनुसार खुर्सानी चोरेको बालक अन्तिममा जेल पर्दा उसले आफ्ना अभिभावकलाई ‘तपाईँहरूकै कारण आज म जेल परेको हुँ’ भन्नेसम्म चाहिँ हुन नदिऊँ ।
जोरपाटी, काठमाडौं