सबैभन्दा आनन्ददायी काम
शिक्षण पेसाबाट म विस्तारै राजनीतितिर तानिएँ । मन्त्रीसम्म भएँ । तर, हाईस्कूलको हेडमास्टर हुँदाको जस्तोगौरव, आत्मसम्मान र आनन्द कहिल्यै प्राप्त गर्न सकिनँ ।
म महोत्तरीगौशाला हाईस्कूलमा २०२२ सालमा पहिलो पल्ट शिक्षक बनेको थिएँ । २०२५ सालमा बीए गरे पछि मलाई रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडामा हेडमास्टर हुने प्रस्ताव आयो । २०३० साल फागुन १० गते प्रअको नियुक्ति लिएँ । सञ्चालक समितिको निर्णयबाट म हेडमास्टर भएको थिएँ । त्यसबखत मेरो तलब रु.४०० थियो ।
हेडमास्टर भएर गएको पहिलो दिनमै स्कूलमा अनौठो घटना भयो । एक हुल विद्यार्थी स्कूलको चारैतिर घुमेर कक्षामा नपसिकन बजारतिर फर्के । विद्यार्थीहरूले किन यसो गरेका हुन् भनेर मैले शिक्षकहरूलाई सोधेँ । तर कुनै पनि शिक्षक केही बोलेनन् । सबैले एकअर्काबीच मुखामुख मात्र गरे । एकैछिनपछि नेपालीको शिक्षक शङ्करप्रसाद सत्यालले मौनता तोड्दै भने, “उहाँ त यो स्कूलमा हेडमास्टर भएर आउनुभएको सोझे कुरा भनिदिऊँ न । यो स्कूलको बारेमा जानकारी दिऊँ । स्थिति सम्हाल्न सक्नुहुन्छ भने बस्नुहुन्छ, सक्नुहुन्न भने जानुहुन्छ ।” म त जीवनकै ठूलो परीक्षा दिन आए जस्तो पो भयो त !
अनि मैले उनलाई सोधेँ, “विद्यार्थी किन कक्षामा नपसी हिँडे ?”
“हजुर ! यहाँको चलन नै यस्तै छ ।” उनले मसिनो स्वरमा भने ।
“यिनको हाजिरी ?”
“त्यो त दैनिक भइरहेको छ ।”
“कक्षामा नपसिकन पनि हाजिरी कसरी हुन्छ ?”
“उनीहरूका नेताहरूले अगाडि नै भनेका हुन्छन्, हराम्रो हाजिर गरिदिनु । अनि हामी खुरुखुरु हाजिर गरिदिन्छौं ।”
विद्यार्थीले के गरेका ? शिक्षक के हेरेर बसेका ? अभिभावक कस्ता होलान् ? भन्ने कौतुहलता र विष्मयले मन अशान्त भयो । यस्तो त मैले जीवनमा देख्नु त के कहिल्यै सुनेको पनि थिइनँ ।
अनि मैले लगत्तै शिक्षकहरूको बैठक बोलाएँ । “१० बजे देखि ४ बजेसम्म पूरै पढाइ त गर्नै परयो, बीचमा ‘इन्टरभल’ पनि राख्नुपर्छ । त्यो अनुसारको रुटिन बनाउनुपरयो” भनेर मैले कुरा राख्न नपाउँदै एकजना शिक्षकले भने, “सर, त्यो त पहिल्यै छ । खाली कार्यान्वयन मात्र नभएको हो ।” अन्ततः त्यो बैठकमा भोलि देखि कक्षा रराम्रोसित सञ्चालन गर्ने कुरा मा सबै शिक्षकहरूको बीचमा सहमति भयो ।
भोलिपल्ट १० बजे पियनलाई घण्टी लगाउन लगाएँ । अनि सबै विद्यार्थीका सामु चौरमा उभिएर भनेँ, “विद्यार्थी भाइबहिनीहरू हो, ल आ–आफ्नो कक्षामा जाऊ ।” मैले त्यहाँ कडा स्वरमा नै बोलेको थिएँ । हिजो जो विद्यार्थीहरू कक्षामा नपसी हिँडेका थिए, तिनीहरू पनि सुरुक्क कक्षामा पसे । त्यो देखेर म औधी खुसी भएँ । यति सजिलै उनीहरू कक्षामा पस्लान् भनेर मैले सोचेको थिइनँ । अनि शिक्षकहरूलाई विद्यार्थीको हाजिर कक्षामै गएर गर्न निर्देशन दिएँ । जब हाजिर भयो, हिजो अस्ति कक्षामा नबस्ने विद्यार्थीहरूले भने छन्, हामी त कक्षामा नबस्ने । त्यसपछि शिक्षक विद्यार्थी दुवै कक्षाबाट हिँडे । शिक्षक न्याउरो मुख लगाएर मेरो छेउ आइपुगे ।
अब कसरी यिनलाई तह लगाउने भनेर मनमनैगम खान थालेँ । छेवैमा रहेका शिक्षकलाई सोधेँ, यहाँ बिहान प्रार्थना (एसेम्ब्ली) सभा हुन्छ कि हुँदैन ?
“हुन्छ कि हुन्न, खोइ के भनौं सर..”
“भोलि देखि नियमित रूपमा एसेम्ब्ली हुन्छ । भोलि चाहिँ मेरो लेक्चर पनि हुन्छ ।” मैले रणनीतिक निर्णय सुनाएँ । भोलिपल्ट १० बजेको घण्टी लाग्नासाथ सबै विद्यार्थीलाई चौरमा लाइनमा राखियो । सबैलाई आ–आफ्नो कक्षाको लाइनमा बस्न भनियो । अनि मैले पढाइको महत्व र आवश्यकताबारे उनीहरूलाई करिब २०/२५ मिनेट लेक्चर दिएँ । अब स्कूलको कुनै पनि कक्षा छाड्न नपाइने र पढाइ पहिलाको भन्दा रराम्रोसित हुने कुरा मा पनि प्रतिबद्धता जाहेर गरें । हिजो अस्ति कक्षामा नगइकन हाजिर गरेर हिँड्ने विद्यार्थीहरू पनि आज चुपचाप कक्षामा गए ।
२/४ दिनपछि गाउँघरमा मेरो बारेमा सकारात्मक कोणबाट चर्चा हुन थाले छ । नयाँ हेडमास्टरले त स्कूललाई अनुशासितरूपले चलाउन थाले छ ! कक्षामा नपसी हिँड्ने विद्यार्थीलाई पनि तह लगाए छ ! पढाइ पनि रराम्रो हुन थाल्यो रे ! आदि आदि । यसबीचमा आफूलाई सुधार्न नचाहने केही विद्यार्थीलाई त निष्कासन गर्नै परयो । तर, बाँकी हुल्याहा विद्यार्थीहरू सज्जन भए । स्कूलको पढाइमा सुधार हुँदै गयो ।
स्थानीय राजनीतिसँग जोडिएको एउटा प्रसङ्ग पनि रोचक नै छ । पछि राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत भएका नवराज सुवेदी त उतिबेलै राष्ट्रिय राजनीतिमा नाम चलेका राजनीतिज्ञमागनिन्थे । रामेछापमा उनीपछि का नेताहरू दीपबहादुर कार्की र नारायणबाबु श्रेष्ठको नाम आउँथ्यो । म त्यहाँ जाँदा नारायणबाबु श्रेष्ठ स्कूल सञ्चालक समितिमा थिए । दीपबहादुर कार्की चाहिँ जिल्ला पञ्चायतका सभापति थिए । दीपबहादुरजीको छोरा पनि मेरै स्कूलमा विद्यार्थी रहेछन् । तर, स्कूलमा ऊ विद्यार्थीले गर्न नसुहाउने काम गर्दोरहेछ । कहिले छात्राहरूलाई जिस्क्याउने त कहिले के गरेर हैरान पार्ने । पटक–पटक उजुरी र गुनासाहरू आएपछि मैले एकदिन शिक्षकहरूको बैठकमा त्यो विद्यार्थीको आचरणबारे सोधेँ । बहुमत शिक्षकले उसलाई कारबाही नै गर्नु पर्ने धारणा राखे । मैले भनेँ, “शिक्षा ऐन नियमले हामीलाई १५ दिनसम्म कक्षाबाट निष्कासन गर्न सकिने अधिकार दिएको छ । तर, १५ दिनपछि त ऊ फेरि कक्षामा आउँछ नि ! तपाईंहरूको विचार मा के गर्नु उचित होला ?”
“पछि को कुरा पछि नै सोचौंला । अहिलेलाई निष्कासन नै उचित हो । त्यसले एउटा सन्देश पनि जान्छ ।” शिक्षकहरूको यो मत आएपछि मैले पनि यसै गर्ने निधो गरें । हामीले माइन्युट नै गरेर यो निर्णय गर्यौ । पञ्चायतको त्यति ठूलो दबदबा रहेको बेलामा जिल्ला पञ्चायतको सभापतिको छोरालाई स्कूलबाट निष्कासन गर्ने कुरा चानचुने थिएन । जिल्ला नै हल्लाउने समाचार थियो त्यो ।
त्यो कुरा कसैमार्फत सभापतिकहाँ पुर्याइयो । अनि उनले तुरुन्त सिडिओकहाँ गएर अनुरोध गरे छन्, “जसरी भएपनि मेरो छोराको निष्कासन फिर्तागराइदिनुपरयो । नत्र मेरो त इज्जतै जाने भो ।” काफ्ले थरका ती सिडिओले मलाई तुरुन्तै खबर
पठाए, “भोलि स्कूल जानुअघि जिल्ला कार्यालयमा उपस्थित हुनुहोला । विशेष सल्लाह गर्नु छ ।”
भोलिपल्ट बिहान म सिडिओकोमा हाजिर भएँ । सिडिओले भने, “लौ न हेडसर, सभापतिज्यूको त इज्जतै जाने’भो । कारबाही फिर्ता लिइदिनुपरयो ।”
“म त यहाँ दुई/तीन महिनाअघि मात्र आएको हुँ । यहाँका पुराना शिक्षकहरूको रायसल्लाहबमोजिम निर्णय गरिएको हो । केटोले बद्मासी गरेकाले कुनै विकल्प नभएपछि यो निर्णय लिइएको हो । यत्तिकै कसरी निर्णय फिर्ता गर्न मिल्छ होला र ?” मैले भनेँ ।
“होइन हेडसर ! तपाईंले पुनर्विचार गरिदिनुपरयो । जे भए पनि सभापतिजीको छोरा... ।” उनले फेरि भने ।
“फिर्ता लिन त फेरि बैठक बोलाएर बहुमतका आधारमा निर्णय गरे पछि मात्र फिर्ता हुन्छ । यहाँ मैले अहिले भनेर कसरी फिर्ता हुन सक्छ र !” प्रजातान्त्रिक प्रणालीका मूल्यमा आधारित भएर मैले सिडिओलाई सम्झउन खोजेँ ।
मेरो कुरा सुनेर सभापति खुब रिसाए । ठूलो–ठूलो स्वर निकालेर कराए, “मेरो छोरालाई निकाल्ने तपाईं को हो ?”
मैले धैर्यपूर्वक सभापतिलाई भने, “मैले त तपाईंको बारेमा यो दुई तीन महिनामा धेरै थाहा पाउने मौका पाएँ । तर, तपाईंलाई मेरो बारेमा केही पनि थाहा छैन नि ! तपाईंले जस्तै मैले पनि बोल्न थालेँ भने के होला ? तर, म एउटा जिम्मेवार हेडमास्टर भएकाले कड्किएर बोल्ने पक्षमा छैन । यदि तपाईं हेडमास्टरको क्षेत्राधिकारमा प्रवेश गरेर मलाई हप्काउनुहुन्छ भने म पनि आफ्नो निर्णयबाट पछि हट्दिनँ ।”
कुनै बेलामा त्रिचन्द्र कलेजमा मनोविज्ञानको शिक्षक रहिसकेका सिडिओले मेरो कुरा बुझहिाले । “तपाईंहरू जानुस् हामी कुरा मिलाउँछौं” भनेर उनले सभापति बाहेक सबैलाई बैठकबाट धपाए । अनि हामी तीन मात्र कुरा कानी गर्न बस्यौं । “ए हेडसर ! केटोलाई पढ्न मन छैन भने पढ्दैन । उसको बारेमा धेरै चिन्ता न गर्नु स् ।” सिडिओले भने, “सभापतिजीले आफ्नो छोरालाई सम्झउनुहुन्छ । तपाईं आफ्नो निर्णय फिर्ता लिइदिनुस् ।” “म त अठारौं शताब्दीको जस्तो शासक होइन, जे भन्यो–भन्यो । त्यसबाट पछि नहट्ने । मेरो आशय त तपाईंको छोरा, जो मेरो विद्यार्थी हो, त्यो सुध्रोस् र रराम्रोसित पढोस् । उसका कारण स्कूलको पठनपाठनको वातावरण पनि नबिग्रोस् भन्ने मात्र हो ।” मैले विनम्र भएर भनेँ । हुन पनि मलाई सभापतिको छोरो निकालेँ भनेर अहम् तुष्टीकरण गर्नु थिएन । प्रअको दायित्वबोध गरेरै मैले त्यो निर्णय लिएको थिएँ । अन्त्यमा सभापतिले आफ्नो छोरालाई सम्झउने शर्तमा मैले त्यो कारबाही फिर्ता लिन सहमति जनाएँ । र, स्कूल गएर बैठकको औपचारिकता पूरा गरेर कारबाही पनि फिर्ता लिएँ । त्यसपछि त्यो केटाको आनीबानीमा सुधार आयो । यो घटनाले मेरो बारेमा स्कूलमा र वरपर रराम्रो सन्देश दिए छ । मेरो इज्जत र प्रभाव दुवै बढेको अनुभव भयो ।
शिक्षण पेसाबाट म विस्तारै राजनीतितिर तानिएँ । मन्त्रीसम्म भएँ । तर, हाईस्कूलको हेडमास्टर हुँदाको जस्तोगौरव, आत्मसम्मान र आनन्द कहिल्यै प्राप्त गर्न सकिनँ । आज पनि म ती दिनहरू सम्झ्ँदा मेरो जीवनको सबभन्दा सार्थक समय त्यही थियो भन्ने लाग्छ । त्यसैले म आजका शिक्षक साथीहरूलाई अनुरोध गर्द छु— सबभन्दा ठूलो कुरा जीवनलाई सार्थक बनाउने र आनन्दित हुने नै रहेछ । आनन्द त्यो कुरा मा आउँछ, जुन कुरा ले समाज मा कुनै ठोस योगदान पुर्याउँछ । शिक्षक हुनु भनेको नयाँ पुस्तालाई सक्षम बनाउने काम हो । समाज लाई रुपान्तरण गर्ने कुरा हो । अनि असल शिक्षक हुनुजत्तिको रराम्रो र आनन्ददायी काम अरू केही हुन सक्दैन ।
खपाङ्गी, पूर्व प्रअ, रामेछाप
प्रस्तुतिः सुदर्शन घिमिरे