‘दि रेड बेलुन’ बाल मनोविज्ञान बुझन सघाउँछ
पास्कललाई लाग्छ, बेलुनको पनि आफ्नै दिमाग हुन्छ । सोही दिमागको सहायताले आफूलाई सञ्चालन गर्छ । त्यसैले उसले बेलुन हातबाट छोड्ने बेलामा बेलुनलाई हातले इशारा गरेर केही भन्न खोज्छ ।
अन्दाजी ७/८ वर्षको बालक पास्कल एकदिन फ्रान्सको राजधानी पेरिसको सडकै–सडक स्कूलगइरहँदा बाटोमा हावा भरिएको ठूलो रातो बेलुन देख्छ । बडो सावधानीका साथ पर्खाल माथि चढेर च्याप्प बेलुनको धागो समात्न समर्थ भएको मा मख्ख पर्छ । बेलुनसँग खेल्दै जाँदा ऊ अरूभन्दा अलि ढिलो कक्षामा पस्छ । कक्षाकोठामा पनि पास्कल त्यतिकै बस्न सक्दैन । भर्खर हात परेको नयाँ खेलौनामा उसको बालमस्तिष्क तानिरहन्छ र घरी–घरी झयालबाट बाहिर बेलुन उडाइरहन्छ । कक्षा सकिएपछि पनि ऊ बेलुनसँग खेल्दै खेल्दै आफ्नै सुरमा घरतिर लाग्छ ।
पास्कललाई लाग्छ, बेलुनको पनि आफ्नै दिमाग हुन्छ । सोही दिमागको सहायताले आफूलाई सञ्चालन गर्छ । त्यसैले उसले बेलुन हातबाट छोड्ने बेलामा बेलुनलाई हातले इशारा गरेर केही भन्न खोज्छ । बेलुन पनि उसले भनेको मानेझै गरी बाटोमा घरी अघि घरी पछि गर्दै पछ्याउँदै यात्रामा साथ दिएको प्रतीत हुन्छ । एक दिन स्कूल जाने बेलामागाडी चढ्नुअघि पास्कलले बेलुनलाई हातबाट छोडिदिन्छ र बेलुनलाई केही कुरा भन्छ ।
पास्कल जहाँगाडीबाट झर्छ, संयोगवश बेलुन त्यति नै बेला त्यही ठाउँमा पुग्छ । बेलुनको पनि दिमाग हुन्छ र दिमागका इशारामा नै बेलुन चल्ने गर्छ भन्ने आफ्नो अनुमान सत्य भएको उसलाई भान पर्छ । रातो रंगको ठूलो अनि देख्दै आकर्षक लाग्ने बेलुन पास्कलले उडाएर हिँडेको देखेपछि अरू केटाकेटीहरूको पनि मन त्यतैतिर तानिनु अस्वाभाविक होइन । सबैले पास्कलको बेलुनलाई पछ्याएर दौडन्छन् । तर कसैले पनि बेलुन समात्न नपाउँदै कक्षा शुरु भएको जनाउ आउँछ । अनि बेलुन त्यतिकै छोडेर सबैजना कक्षाकोठातिर दौडन्छन् ।
हावामा उडिरहेकोे बेलुन झयालबाट अनायास कक्षाकोठामा पस्न पुग्छ । बेलुन कक्षाकोठामा पुगेपछि केटाकेटीहरू सबैले कराउँदा स्वाभाविक रूपमा होहल्ला हुने नै भयो । यो हल्लाको आवाज प्रिन्सिपलको कानसम्म ठोक्किन पुग्छ । एक्कासी आएको हल्लाबाट प्रिन्सिपल रीसले आगो हुन पुग्छन् र फटाफट कक्षामा पस्छन् । हिलियमग्याँस भरिएका कारण बेलुन यसरी माथि माथि उडेको हो भनेर अबोध केटाकेटीलाई बुझाउने महत्वपूर्ण अवसर हो भन्ने कुरा उनको दिमागमा फुर्दैन । त्यसैले बेलुनलाई शैक्षिक सामग्रीको रूपमा प्रयोग गर्नतिर लाग्दैनन् । उल्टै पास्कललाई पाखुरामा च्याप्प समातेर तान्दै कक्षाबाट बाहिर निकाल्छन् । खाली कोठा खोलेर चुपचाप भित्र धकेलिदिँदै बाहिरबाट ताला मारिदिन्छन् । एउटा अबोध बालक ठूलै अपराधीझ्ंै थुनिन पुग्छ । दिनभर थुनिँदा पनि कोही कसैले थुनिएको पास्कलको विषयमा चासो देखाउँदैनन् । बालक आफैंले बरु बेलाबेलामा आफ्नो प्यारो खेलौना बेलुन कता पुग्यो होला भन्ने बालसुलभ जिज्ञाासामा बाहिर चियाइरहेको हुन्छ ।
हावामा उडिरहेको बेलुन यताउता गर्दा बेलाबेलामा प्रिन्सिपलको टाउकातिर पनि छुन पुग्छ । त्यतिबेला उनी बेलुन नै फुटाइदिउँला जसरी रिसाउँछन् । दिनभरि खाली कोठामा थुनिएको बालकलाई उसका सबै साथीहरू घर फर्किसकेपछि मात्र बाहिर निकालिन्छ । उस माथि कुनै सहानुभूति देखाउनुको सट्टा उल्टै प्रिन्सिपलले तर्साएर ‘तँ यहाँबाट तुरुन्त भागिहाल्’ भनेर कराउँछन् ।
तर प्रिन्सिपलको दुव्र्यवहारले पास्कललाई कुनै असर गर्दैन । ऊ हातमा बेलुन खेलाउँदै र उडाउँदै मन्दगतिमा घर फर्किन्छ । बाटोमा उसले आफूजस्तै सानी केटीलाई भेट्छ जसको हातमा नीलो बेलुन हुन्छ । अगाडि बढ्दै जाँदा उसलाई सडकमा खेल्दै गरेका अरू केटाहरूले त्यही रातो बेलुनका लागि पछ्याउँछन् । अनेक तरहले छल्दै र भाग्दै पास्कल आफ्नो बेलुन जोगाउन सक्दो प्रयास गर्छ । तर, लखेट्दै आएका केटाहरूको जमातले अँठ्याएपछि उसको केही जोर चल्दैन । अनि आफ्नो हातमा रहेको बेलुनको डोरी फुत्काएर उसले हावामा छाडिदिन्छ । अन्ततः गुलेली हानेरै भए पनि ती बद्मास केटाहरूले बेलुन फुटाएरै छाड्छन् । रातो बेलुनको हिलियमग्याँस हावामै मिसिन्छ र खुजमुजिएको खोल मात्र भुईंमा खुत्रुक्क खस्न पुग्छ ।
ठीक त्यसैबेला पेरिस शहरमा अरू थुप्रै रङ्गीचङ्गी बेलुनहरू आउँछन् । यी सबै बेलुनका धागोलाई एकैठाउँमा समातेर बेलुनहरूलाई एकठाउँमा ल्याउन पास्कल सफल हुन्छ । अनि ऊ तिनै बेलुनको धागाहरूमा झुण्डिएर पेरिस शहर माथि आकाशमा विचरण गर्छ । एउटा बेलुन फुटे पनि बेलुनजस्तै हावामा उड्ने बालकको चाहना अन्ततः पूरा भइछाड्छ । यो उत्कर्षसँगै मात्र ३४ मिनेटको फिल्म सकिन्छ ।
फिल्मको कथा लेखन, निर्देशन तथा उत्पादन सबै अलबर्ट लामोरिजीले गरेका हुन् । सन् १९५६ मा फ्रेञ्च भाषामा बनेको यो फिल्म बालबालिका सम्बन्धी बनेका पुराना सिनेमामध्ये एक मानिन्छ । फिल्मको कथावस्तुबाट मूलतः दुईवटा सार खिच्न सकिन्छ । पहिलो , प्रिन्सिपलले बालमनोविज्ञानलाई बुझेर तदनुरुप केटाकेटीसँग व्यवहार गर्नु पर्छ । दोस्रो, बेलुन जस्ता आफ्नो स्कूल या वरिपरि सहजै उपलब्ध हुने वस्तुहरूलाई समस्याका रूपमा नलिई विद्यार्थीलाई नयाँ ज्ञान दिने महत्वपूर्ण शैक्षिक सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ र गर्नु पर्छ ।