‘पाल्पाका हेडसर’: जगतबहादुर जोशी

१९८२ सालमा तानसेनमा जन्मिएका जगतबहादुर जोशी २००६ सालमा बनारसको हिन्दू विश्वविद्यालयबाट स्नातक गरी फर्किएपछि राणाहरूले मूलतः आफ्ना र अनुयायीका सन्तानलाई पढाउन खोलेको तानसेनको पद्म पब्लिक हाईस्कूलमा अंग्रेजी पढाउन थाले । त्यतिबेला पाल्पामा अंग्रेजीमा स्नातक गर्ने अर्को व्यक्ति थिएन । पद्म पब्लिक स्कूल पनि पाल्पाको पहिलो विद्यालय थियो । त्यतिबेला जगतबहादुर मासिक रु.९१ पाउँथे । जोशीले पढाउन थाल्दा देशमा राणाशासन विरोधी अभियानले जरोगाडिसकेको थियो । झन् बनारसमा उच्चशिक्षा हासिल गरेर फर्किएका तन्नेरी त्यसै चुप लागेर बस्न सक्ने त अवस्था नै थिएन । जोशी छात्रछात्रालाई पढाउने कामसँगै राणाशासनको विरोधमा अरूलाई उकास्ने र सङ्गठित गर्ने गतिविधिमा पनि संलग्न भए । विद्यार्थीसमेत राणाशासनको विरोधमा लेख तथा रचना तयार गर्न थाले । त्यस्ता लेख–रचना प्रकाशन गर्न उनले मासिक पत्रिका पथप्रदर्शक को प्रकाशन आरम्भ गरे ।

यति गरिसक्दा, विद्यालय सञ्चालक समितिका पदाधिकारी र राणाहरूको आँखामा जोशी ‘विरोधी’का रूपमा चित्रित नभइरहन सम्भव थिएन । सञ्चालक समितिले स्कूलको ‘फि’ बढाएर सर्वसाधारणका छोराछोरीलाई स्कूलबाट बाहिर राख्ने रणनीति अपनायो । यसको विरोध गर्दै जोशीले जागिर छोडे । “सीमित व्यक्तिले मात्र पढ्ने–पढाउने चलन रहेको विद्यालयमा म शिक्षक भएपछि सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको थियो । तर विद्यालयले शुल्क वृद्धि गरेर सबैलाई पढ्न नदिने जुक्ति निकालेपछि मैले पनि राजिनामा दिएँ” उनी भन्छन् ।

त्यसपछि जोशीले २००८ सालमा तानसेनमै जनता मावि स्थापना गरे । पाल्पामा सर्वसाधारणले स्थापना गरेको त्यो पहिलो सार्वजनिक स्कूल थियो । जनस्तरबाट खोलिएको यो स्कूलमा छात्रछात्राको ओइरो लाग्नु स्वाभाविक थियो । जोशीले जनता माविलाई छिटै नै सफलताको शिखरमा पुर्‍याए । हेडमास्टरका रूपमा जोशी विद्यालयलाई व्यवस्थापकीय नेतृत्व मात्र दिँदैनथे, नियमित रूपमा कक्षा पनि लिन्थे । त्यसैले पाल्पामा उनको दुईवटा परिचय बनेको छ– ‘सफल हेडमास्टर’ र ‘नामुद अंग्रेजी शिक्षक’ । उनको अथक मेहनत र योगदानका कारण छोटो समयमै नाम कमाएको जनता माविलाई चार वर्षअघि मात्रै पनि शिक्षा मन्त्रालयले जिल्लाको एउटा नमुना विद्यालयको रूपमा छनोट गरेको थियो । अहिले उक्त स्कूल उमावि र बहुमुखी क्याम्पसको रूपमा समेत विकसित भइसकेको छ ।

जनता माविमा १४ वर्ष नेतृत्वदायी भूमिका निर्वाह गरे पछि जोशी २०२५ सालमा तानसेनकै सेन माविको संस्थापक प्रअ हुन पुगे । उनी यो विद्यालयमा २३ वर्ष हेडमास्टर रहे । त्यस अवधिमा उनले विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न अनि स्तरीय पठनपाठन हुने विद्यालय बनाए । सफलतापूर्वक स्कूल चलाउने फर्मूला के हो त ? जोशी भन्छन्, “व्यवस्थापकीय कौशल र स्तरीय शिक्षण ।” जोशीलाई हेडमास्टरका रूपमा पाएका दुवै स्कूल अहिले पनि पाल्पाका राम्रामध्ये पर्छन् । सेन उमाविका प्राचार्य दिलबहादुर शाक्य आफ्नो स्कूलका संस्थापक प्रअ जोशीलाई सम्झदै भन्छन्, “विद्यालय रराम्रो हुनुमा उहाँको योगदान अतुलनीय छ, उहाँलाई कहिल्यै भुल्न सकिने छैन ।” सेन माविलाई २३ वर्ष नेतृत्व दिएपछि भने जोशी करीब एक वर्ष बुटवलको ज्ञानोदय रात्रि हाईस्कूलको पनि प्रअ भए ।

२०१५ सालमा जनता माविको शैक्षिक प्रगति देखेर राजा महेन्द्रले उक्त विद्यालयलाई वार्षिक रु.७,२०० सहयोग गर्ने घोषणा गरेका थिए । त्यतिबेला यो रकम निकै ठूलो मानिन्थ्यो । ३७ वर्ष प्रअ र चार वर्ष शिक्षक गरी कुल ४१ वर्ष शिक्षक जीवन बिताएका जोशीले आफ्ना छात्रछात्राबीच कुशल शिक्षक र असल अभिभावकको परिचय बनाएका छन् । “मेरा विद्यार्थीले मलाई सर मात्रै भन्दैनन् काका र बुबा पनि भन्छन्” उनी सम्झन्छन् । जोशीले राणाकालमै खोलेको सार्वजनिक पुस्तकालयले अहिले पनि पाल्पालाई ज्ञान र सूचना बाँडिरहेको छ ।

चम्किला चेला
अङ्ग्रेजीको शिक्षक भए पनि जोशीले कहिल्यै ट्युसन पढाएनन् । कमजोर विद्यार्थीको पढाइ सुधार्न उनी विशेष कक्षा चलाउँथे । उनको कथन छ, “प्रतिभाशाली र कमजोर दुवैलाई बराबर माया गरेर सिक्ने वातावरण दिनु एउटा असल शिक्षकको कर्तव्य हो, शिक्षक जीवनमा म यो कर्तव्यप्रति हमेशा सचेत रहेँ ।” जगतबहादुर जोशीले पढाएका मध्ये थुप्रै छात्रछात्रा देशका विभिन्न स्कूलका प्रअ र क्याम्पसका प्रमुख भएका छन् । संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्रगौतम पनि कुनै बेला जोशीका छात्र थिए । गौतमले कक्षा ७ र ८ जनता माविमा जोशीसँग पढेका थिए । गौतम र जोशीबीच सामीप्यताको माध्यम चाहिं त्यतिबेला कविताले बनेको रहेछ । “मेरो कविता सुनेर गौतम ध्यानमग्न हुन्थे । उनको कविता पनि मार्मिक हुन्थ्यो । गौतम पढाइमा अब्बल थिए र साहित्यमा पनि रुचि थियो”, जोशीगौतमको बाल्यकाल सम्झन्छन् ।

जोशीका धेरै विद्यार्थी अहिले पनि शिक्षा, स्वास्थ्य, प्रशासन, राजनीति आदि समाजका विभिन्न क्षेत्रका महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन् । तिनैमध्येमा पर्छन्– डा. पृथ्वीराज लिगल, डा. मोहनमान सैँजु आदि । जोशीका छात्र तथा सेन उमाविका प्राचार्य डिलबहादुर शाक्य भन्छन्, “सबै विद्यार्थीले नबुझेसम्म पाठ दोहोर्‍याइरहने अनि महत्वपूर्ण व्यक्तिको जीवन कथा भन्ने बानीले उहाँको कक्षा सकिएको पत्तै हुँदैनथ्यो, उहाँका धेरै छात्रछात्रा जीवनमा सफल भएका छन् ।”

कुनै बेला जगतबहादुर जोशीका छात्र रहेका संयुक्त राष्ट्रसंघका सहायक महासचिव कुलचन्द्रगौतमले गुरुको योगदानको कदर गर्दै आफ्नो खर्चमा जनता माविको प्राङ्गणमा जगतबहादुर जोशी अडिटोरियम बनाएका छन् । २०५० सालमा शिक्षकबाट अवकाश लिँदाको क्षणलाई उनी जीवनको सबैभन्दा नरमाइलो घटना ठान्छन् । सेन माविमा आयोजित उनको बिदाइ समारोहमा शिक्षक र विद्यार्थीले प्रदान गरेका उपहार ग्रहण गर्दा जोशीका आँखा आँसुले भरिएका थिए । त्यो क्षणको सम्झना गर्दै उनी भन्छन्, “सबैको माया र सम्मान पाउँदा आफूले गरेको मेहनतको सम्झना भयो र आत्मगौरवको अनुभूति भयो ।”

८३ वर्षीय जोशी अहिले बुटवलस्थित घरमा पत्नीसँग बस्दै आएका छन् । शारीरिक रूपमा धेरै कमजोर भएका छन् । तथापि उनले लेखपढको कामलाई जारी राखेका छन् । अहिले सामाजिक र शैक्षिक क्षेत्रमा योगदान दिने व्यक्तिको कमि भइरहेकोमा जोशी चिन्ता व्यक्त गर्छन् । उनी भन्छन्, “पैसाको पछि लाग्ने धेरै भए । निः स्वार्थ रूपमा शिक्षाको विकास र समाज सेवामा लाग्नेहरू घट्तै जाँदा समाज लाई कालान्तरमा बेफाइदा हुन्छ ।” असल शिक्षक सधैँ पेशाप्रति इमान्दार, छात्रछात्राको चाहना अनुसार पढाउन सक्ने खुबी भएको हुनुपर्ने जोशीको भनाइ छ ।

 

commercial commercial commercial commercial