सोचाइमा मौलिकता काममा सफलता
नयाँ–नयाँ सोचाइ र समन्वय गर्ने खुबीका धनी प्राचार्य गेहेन्द्रप्रसाद दाहाल एकपछि अर्काे स्कूललाई सफल तुल्याउन लागिपरेका छन्
२०५६ भदौमा सुर्खेतको घुस्रास्थित जनसेवा निम्नमाध्यमिक विद्यालयको व्यवस्थापनले एकैसाथ दुई निर्णय ग¥योः गेहेन्द्रप्रसाद दाहाललाई प्रधानाध्यापकमा नियुक्ति गर्ने र तलब खुवाउन नसकिएको कारण देखाएर चार शिक्षकलाई अवकाश दिने । एकातिर प्रस्तावित निमाविलाई मावि बनाउने सपना, अर्कोतिर शिक्षक हटाउने विद्यालय व्यवस्थापनको निर्णय आफैँमा विरोधाभासपूर्ण थियो । त्यसैले भर्खर २८ वर्ष टेकेका दाहालले प्रअको कुर्सीमा बस्नेबित्तिकै व्यवस्थापन समितिबाट चार शिक्षक थमौतीको निर्णय गराए । त्यसको ६ महिनापछि शिक्षा कार्यालयबाट चारवटा शिक्षक दरबन्दी पनि ल्याए ।
विद्यालय प्रशासकको रूपमा दाहालको त्यो पहिलो परीक्षा थियो । त्यही परीक्षाको ‘रिजल्ट’ले उनलाई अहिलेसम्म अघि बढ्न प्रेरणा र सफलता दिलाइरहेको छ । आज उनी जिल्लाकै नमुना शिक्षकको रूपमा कहलिएका छन् ।
२०६५ असार ३१ गते घुस्राका बासिन्दा खेतमा रोपाईं छोडेर जिल्ला शिक्षा कार्यालय घेराउमा पुगे । उनीहरूको एकसूत्रीय माग थियो– ‘हाम्रो हेडसर फिर्ता गर !’ जिशिकाले प्रअ दाहाललाई घुस्राबाट सुर्खेत उपत्यकाकै इत्राम उच्चमाविमा सरुवा गरेपछि उनीहरू शिक्षा कार्यालय घेर्न पुगेका थिए । हुन पनि; दाहालले घुस्रामा चमत्कार नै गरेका थिए । निमाविसमेत नचल्ने अवस्थामा गुज्रिरहेको विद्यालय एक दशकमै जिल्लाको ‘क’ श्रेणीको उच्चमावि बनेको थियो । फुसको छानोमा चलिरहेको सो विद्यालय भौतिक सम्पत्तिबाट सम्पन्न बनेको थियो । प्रअको जिम्मेवारी सम्हाल्दा विद्यालयको थाप्लोमा रु.१३ हजार ऋण थियो । सरुवा हुँदा उनले नयाँ प्रअलाई रु.१९ लाख नगद सुम्पिए । उनी आफ्नो कामको मूल्याङ्कन गर्दै भन्छन्, “घुस्रा
स्कूलको सफलता नै मेरो शिक्षक–जीवनमा सन्तुष्टि लिने आधार हो ।”
घुस्रा स्कूलको सफलताले उनी मात्र सन्तुष्ट भएनन्, जिल्लाको सिङ्गो शिक्षा क्षेत्र नै त्यसबाट प्रभावित भयो । स्थानीयवासी भक्तबहादुर ढकाल जिल्ला शिक्षा अधिकारीको रूपमा सुर्खेत आउँदा इत्राम उच्च माविको अवस्था दयनीय थियो । त्यहाँको अवस्था सुधार्न ढकालले नै दाहाललाई ‘कन्भिन्स’ गरेर घुस्राबाट सरुवा गरेका थिए ।
तीन वर्षको अवधिमा दाहालले घुस्राको ‘रिजल्ट’ इत्राममा पनि दोहो¥याए । अहिले इत्रामको चोला फेरिएको छ । “मोटो रकम तिरेर उच्चमावि सञ्चालन त गरिएको थियो, तर पढ्ने विद्यार्थी नै थिएनन्”, दाहाल त्यतिबेलाको अवस्था सम्झ्न्छिन्, “अहिले भने विद्यार्थीको भार थेगिनसक्नु छ ।” उनका अनुसार २०६५ मा इत्राममा उच्च मावि तहमा जम्मा ८० जना विद्यार्थी थिए । अहिले शिक्षा, व्यवस्थापन, विज्ञान, कृषि–विज्ञान र मानविकीमा गरी झ्ण्डै ५०० विद्यार्थी अध्ययनरत छन् । उतिबेला भर्नाको लागि एसएलसी पूरकका विद्यार्थी कुर्ने विद्यालय अहिले नियमितमा राम्रो अङ्क ल्याएका र काठमाडौंका निजी विद्यालयमा पढेका विद्यार्थीहरूको समेत आकर्षण बनेको छ । काठमाडौंको एक निजी विद्यालयबाट ८० प्रतिशत अङ्क ल्याएर एसएलसी गरेका किरण खड्का त्यस्तै एक विद्यार्थी हुन् । कृषि–विज्ञानमा १२ कक्षा पढिरहेका किरण भन्छन्, “आफ्नै जिल्लाको राम्रो विद्यालयमा नयाँ विषय पढाइ हुन्छ भनेपछि काठमाडौं छोडेर सुर्खेत आएको हुँ ।”
दाहालको प्रवेशसँगै इत्रामले माध्यमिक तहमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको छ । उनी आउनुभन्दा एक वर्षअघि २०६४ को एसएलसीमा २१ प्रतिशत नतिजा हासिल गरेको विद्यालयले पछिल्लो वर्ष ५० प्रतिशत पु¥यायो । यसपालि जिल्लाबाट औसत ४० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा इत्रामले भने ५५ प्रतिशत नतिजा ल्यायो । उक्त विद्यालयका विष्णु चौधरी ८८.६२ प्रतिशत अङ्कसहित जिल्ला प्रथम पनि भए । “हाम्रो स्कूलले तीन वर्ष अवधिमा नयाँ इतिहास बनाएको छ”, विद्यालय व्यवस्थापन समिति सदस्य लालमती पन्त भन्छिन्, “यो सबै विद्यालय प्रशासकको नाताले प्राचार्यले गरेको मिहिनेतको फल हो ।”
दाहालले एसएलसी नतिजा सुधार्न विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरे । उनले त्यस्ता कक्षाहरूमा आफैं विद्यार्थीको रूपमा बसेर सहजीकरणको काम पनि गरे, जसले विद्यार्थी र शिक्षकबीचको समस्या पहिचान गरी समाधानमूलक शिक्षणनीति बनाउन सघाएको उनको अनुभव छ ।
इत्राम उच्च मावि अहिले भौतिक पूर्वाधारका हिसाबले समेत अब्बल छ । यसबीचमा रु.८० लाख लागतमा भूकम्प प्रतिरोधात्मक नयाँ भवन र पर्खाल निर्माण गरिएको छ । शिक्षा विभागको रु.९ लाख सहयोगमा विद्यालयमा मध्यपश्चिमको नमुना विज्ञान–प्रयोगशाला स्थापना भएको छ ।
इत्राम उमाविको खातामा अहिले करिब रु.६० लाख बचत छ । आफ्नै मिहिनेतबाट भौतिक र आर्थिक रूपमा सम्पन्न तुल्याएको उमाविको भावी लक्ष्यबारे प्राचार्य दाहाल भन्छन्, “अब विद्यालयलाई सबै दृष्टिले यस क्षेत्रकै नमुना बनाउने ध्येय छ ।”
नेपालका प्रायः सरकारी विद्यालयका शिक्षकहरूले चौमासिक रूपमा तलब बुझछन् । इत्राम उच्च माविमा भने महिना पुग्नेबित्तिकै शिक्षक–कर्मचारीहरूको हातमा तलब पर्छ । बजेट पारित होस्÷नहोस् वा जिशिकाले विद्यालयको खातामा तलब पठाओस्÷नपठाओस्, यसले इत्राम उमाविलाई फरक पार्दैन ।
प्राचार्य दाहालको सफलताको सूत्र चाहिँ के हो त ? उनको सटिक जवाफ छ, “कर्तव्यप्रति एकाग्र, नवीनतम सोच, समन्वयकारी भूमिका र अर्काको अस्तित्वको सम्मान– यति भए पुग्छ ।” विद्यालयमा भोलि गर्ने कामको योजना उनी अघिल्लो साँझ् नै बनाइसक्छन् ।
नवीनतम सोच निर्माण गर्न सक्नु दाहालको सफलताको अर्काे पक्ष हो । घुस्रा उच्च माविमा रहँदा उनले जिल्लामै पहिलोपटक पत्रकारिता विषयको पढाइ शुरु गरे । त्यसले बजारदेखि टाढा भए पनि घुस्रामा विद्यार्थीको आकर्षण बढ्यो । इत्राममा आउनेबित्तिकै उनले ग्रामीण विकास र कृषि–विज्ञान जस्ता नयाँ विषय भिœयाए । समाज र विद्यार्थीको चाहना पहिचान गरी त्यसलाई पूरा गर्न सकेमा मात्र शिक्षामा गरिएको लगानी फलदायी हुने उनको विश्वास छ ।
आपूmले बनाएको योजनामा विद्यालय व्यवस्थापन समिति र अन्य सहकर्मीको समेत दृष्टिकोण मिसाएर अघि बढ्न सक्नु प्राचार्य दाहालको विशेष खुबी हो । इत्राममा प्रत्येक महिनाको अन्तिम दिन शिक्षक र महिनाको पहिलो शनिबार व्यवस्थापन समितिको बैठक बस्छ । त्यसबीचमा कार्यालय सहयोगी र अन्य कर्मचारीको बैठक बस्छ । दाहाल तीनवटै बैठकमा सहभागी हुन्छन् । र, सबै तहमा देखिएका समस्याहरूको पहिचान गरी समाधानको पहल गर्छन् । विद्यालयको आर्थिक, भौतिक र शैक्षिक अवस्था सुधारमा व्यवस्थापन समिति अध्यक्ष श्रीधर पौड्यालको सहयोगलाई उनी बिर्सिन मान्दैनन् । “एक सफल विद्यालय निर्माणमा विद्यालय व्यवस्थापक र प्रशासकको सहकार्य अत्यन्त जरुरी छ”, उनी अनुभव सुनाउँछन् ।
अन्य शिक्षकहरूलाई जिम्मेवार बनाउन र उनीहरूको योग्यताको सम्मान गर्न हरेकजसो शिक्षकलाई उनले लिखित रूपमै अधिकार सुम्पिएका छन् । शिक्षा विभाग प्रमुखदेखि कक्षागत र सेक्सनगत संयोजक तोकिएका छन् । उच्च माविका प्रत्येक सङ्कायबाट छात्रछात्रा पर्ने गरी ‘स्वच्छ शैक्षिक वातावरण निर्माण समिति’ गठन गरिएको छ । यसले सबैलाई आ–आफ्नो जिम्मेवारीप्रति वफादार गराउने शिक्षण विभागप्रमुख यदु ज्ञवाली बताउँछन् ।
सन् २००५ मा नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष भएपछि धेरैले अनुमान गरे, अब गेहेन्द्र काठमाडौंमै बस्छन् । उनलाई काठमाडौंमै बस्ने ‘अफर’ नआएको पनि होइन । “काठमाडौंका एक प्रतिष्ठित मित्रले मासिक रु.८० हजार तलबसहित निजी स्कूलमा जागिरको प्रस्ताव राख्नुभएको थियो”, उनी सम्झ्न्छिन्, “तर मैले आफ्नो धरातल बिर्सिन चाहिनँ ।”
उनी बुबा कृष्णप्रसादको शैक्षिक विरासतले आपूmलाई सुर्खेतमै तानेको ठान्छन्ः “मेरो बुबाले शिक्षक भएर कमाएको ख्यातिकै कारण म शिक्षक बनेँ र काठमाडौंको सम्पन्नता छाडेर सुर्खेत फर्किएँ ।” अहिले पनि सुर्खेतको एक विद्यालयमा प्रधानाध्यापक रहेका बुबा कृष्णप्रसादलाई नै गेहेन्द्र आफ्नो आदर्श मान्छन् ।
इत्राम उच्च माविमा सिसी क्यामेरा जडान गरिएको छ । यो उपलब्धिमा उनी जेसिज अध्यक्ष हुँदाको अवसरलाई श्रेय दिन्छन् । युरोप भ्रमणमा देखेको प्रविधिलाई उनले पाँच वर्षपछि नेपालमा राजधानीदेखि टाढाको एक सरकारी विद्यालयमा भिœयाए । “जेसिजको अध्यक्ष भएर पाएको उपलब्धिलाई शिक्षाक्षेत्रमा लगानी गर्नु सन्तुष्टिको अर्को आधार हो” उनले भने । सिसी क्यामेराले स्वच्छ शैक्षिक वातावरण निर्माणमा टेवा पु¥याउने उनको ठम्याइ छ ।
“विद्यालय मन्दिर हो, सकिन्छ द्रव्य–फूल चढाऔँ, सकिँदैन मन चढाआँै”, गेहेन्द्र सरको मन्त्र हो यो । विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकले यहीअनुसार आचरण गरे शैक्षिक विकासमा टेवा पुग्ने उनको विश्वास छ । ७
कलेन्द्र सेजुवाल