आजीवन अवकाश नलिने अठोट
जतिबेला नर्सका रूपमा परिचय दिन महिलाहरूले नाक खुम्च्याउनुपर्ने अवस्था थियो त्यही समयमा १९ वर्षीया एक युवतीभित्र नर्स बन्ने इच्छा थियो । उनका बुबाको चाहना पनि छोरीलाई नर्स बनाउने थियो । तर बुबाको चाहना र आफ्नो इच्छा विपरीत उनी शिक्षण पेशा अँगाल्न बाध्य भइन् । कारण एउटै थियो– नर्सलाई समाजले हेर्ने नकारात्मक दृष्टिकोण ।
३६ वर्षअघि बाध्यताले अँगालेको शिक्षण पेशा यतिबेला उनको पहिचान बन्न पुगेको छ । इन्दिरा जैसी (५५) आज पनि त्यही पेशामा रमाएकी छन् । ‘इन्दिरा मेडम’ को पहिचानसँगै आर्जेको नाम, दाम र सम्मानका कारण विगतमा बाध्यताले अँगालेको भए पनि अहिले उनी शिक्षण पेशा छोड्ने कल्पनासम्म गर्न सक्दिनन् । जतिबेला पुरुष शिक्षक पनि मुस्किलले भेटिन्थे त्यतिबेला उनी शिक्षण पेशामा होमिइन् । २०१० साल जेठ १५ रुपन्देहीको बुटवलमा जन्मिएकी इन्दिरा श्रेष्ठले बुटवल माविबाट १६ वर्षमा एसएलसी उत्तीर्ण गरिन् । २०२९ सालमा इन्टर पनि बुटवलबाट उत्तीर्ण गरेकी उनले त्यही वर्षदेखि इन्द्रराज्यलक्ष्मी माविमा अङ्गे्रजी पढाउन शुरु गरिन् । पढाउन थालेको ६ महिनामै उनी स्थायी भइन् ।
सहकर्मी शिक्षक जीवनाथ जैसीसँग २०३२ सालमा अन्तरजातीय विवाह गरेपछि उनले जन्मथलो छाड्नुप¥यो । नेवारको परिवारमा जन्मिएकी इन्दिरालाई जीवनाथको बाहुन परिवारले स्वीकार नगरेपछि उनीहरू घरबार छोडेर कैलाली पुगे । धनगढीको त्रिनगर निमाविमा पति जीवनाथसँगै इन्दिराले पढाउन थालिन् । पढाउँदा पढाउँदै २०३४ सालमा उनले बीएको पढाइ पनि पूरा गरिन् । दुई वर्षपछि उनको सरुवा पञ्चोदय माविमा भयो । २०३५ सालमा सरकारले इन्दिरालाई बी.एड.गर्न काठमाडौं पठायो । अङ्ग्रेजी विषयमा एकवर्षे बीएड पूरा गरेपछि उनी पञ्चोदयमै फर्किइन् ।
३३ वर्षपछि २०६२ सालमा सरकारी शिक्षकको जागिरबाट अवकाश लिएपनि इन्दिराले शिक्षण कर्मबाट विश्राम लिइनन् । बरु २०५० सालमा स्थापित निजी बोर्डिङ ग्यालेक्सी माविको ‘फूलटाइमर प्रधानाध्यापक’ बनिन् । उनकै प्रयासमा प्राविबाट शुरु गरिएको ग्यालेक्सी अहिले उमावि बनिसकेको छ र सुदूरपश्चिमकै राम्रो विद्यालयको रूपमा स्थापित भइसकेको छ । उनले पढाउने कार्यलाई मात्र निरन्तरता दिइनन्, आफ्नो पढाइलाई पनि अगाडि बढाइन् । दुई वर्षअघि उनले कुमाउ विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर सकेकी छन् ।
कैलालीका सरकारी विद्यालयहरूमा जेठोमध्येको मानिने त्रिनगर, पञ्चोदय र निजीतर्फको जेठो विद्यालयमा अध्यापन गरेकी इन्दिरा आफूले पढाएका थुप्रै विद्यार्थीहरू डाक्टर, इञ्जिनियर, मन्त्री, सांसद्, अधिकृत भइसकेको सुनाउँछिन् । उनले भनिन्, “सन्तुष्टिको आधार नै मैले पढाएका विद्यार्थीहरू राम्रो राम्रो ठाउँमा पुग्नु हो । जीवनका ३७ वर्ष शिक्षण पेशामा बितेकोमा मलाई गर्व छ । त्यसैले बाँकी जीवन पनि शिक्षण पेशामा बिताउने अठोट लिएकी छु ।”
कमजोर विद्यार्थीलाई पढाइमा कसरी अब्बल बनाउने ? धेरै शिक्षकका लागि यक्षप्रश्न हो । उनको ३७ वर्ष लामो अनुभवले भन्छ– प्रोत्साहन र हौसला । ९ कक्षामा अनुत्तीर्ण भएको आवेशमा मार्नका लागि खुकुरी लिएर आएको एक विद्यार्थीलाई बदलेर एसएलसी उत्तीर्ण गर्न सक्षम बनाएको अनुभव इन्दिरासँग ताजै छ । “मलाई काट्न आएको त्यो विद्यार्थीलाई सम्झइबुझइ मैले पढ्न मात्र लगाइनँ एसएलसी उत्तीर्ण गराएर छाडेँ, यो मेरो शिक्षण जीवनको कहिल्यै नबिर्सने अनुभव हो ।” राष्ट्रिय शिक्षा पुरस्कारबाट २०५२ र २०६३ मा सम्मानित इन्दिरा स्थानीयस्तरमा पनि सम्मानित भइसकेकी छन् ।
प्रत्येक पुरुषको सफलतामा महिलाको हात रहने भनाइ रहेपनि पति जीवनाथको सहयोग र हौसलाले शिक्षण पेशामा सफलता मिलेको उनी बताउँछिन् । “मेरोजस्तो श्रीमान भए महिलाहरू निकै अगाडि बढ्न सक्छन् । शरीर र स्वास्थ्यले साथ दिएसम्म पढाउँछु र सामाजिक कार्यमा पनि सक्रिय रहन्छु । जीवन रहेसम्म म अवकाश लिन्नँ” उनी भन्छिन् ।