विशेष शिक्षकका विशेष समस्या

शारीरिक अपाङ्गता भएका शिक्षकले सामान्य शिक्षक भन्दा थप समस्या र झन्झ्ट व्यहोर्नुपर्छ । सबैभन्दा ठूलो समस्या चाहिं अपाङ्गहरूलाई ध्यानमा नराखी निर्माण गरिएका भौतिक संरचना नै हुन् ।

  • इतिहासमा स्नातकोत्तर गरे की ताप्लेजुङकी कुमारी निरौला दृष्टिविहीन शिक्षक हुन् । उनी काठमाडौंको कान्ति–ईश्वरी राज्यलक्ष्मी माविको निमावि तहमा पढाउँछिन् । ब्ल्याकबोर्डमा लेख्नुपर्दा उनी विद्यार्थीको सहयोग लिन्छिन् । शिक्षण सम्बन्धी काममा शिक्षकले पनि उनलाई सघाउँछन् । छात्रछात्राको सहभागिता बढी हुने भएको ले निरौलाको कक्षा अन्तरक्रियात्मक र जीवन्त हुन्छ ।
  • कीर्तिपुरमा दृष्टिविहीनहरूका लागि सञ्चालित नेपालको पहिलो स्कूल ल्यावरेटरी मावि, कीर्तिपुरका दृष्टिविहीन शिक्षण विभाग प्रमुख जङ्गबहादुर बोगटी २०२१ साल देखि त्यहाँ कार्यरत छन् । नेपालमा ब्रेललिपिको प्रचलन नै नभएको बेला शिक्षण पेशा अँगालेका बोगटी प्रविधिको विकास ले पढाउन धेरै सजिलो भएको बताउँछन् । उनी नेपाली भाषाको ब्रेलका निर्माता पनि हुन् ।
  • नुवाकोटको पिपलटारस्थित चन्द्र ज्योति माविका शिक्षक दधिराम पाण्डे भर्खरै शिक्षण पेशामा प्रवेश गरेका हुन् । अल्पदृष्टियुक्त भएका कारण उनलाई कक्षा नियन्त्रण गर्न गाह्रो पर्छ । कक्षामा सामान्य शिक्षकले झै विद्यार्थीसँग आँखा जुधाएर पढाउन नसक्दा विद्यार्थीको ध्यान अन्यत्र मोडिने र कक्षामा हल्ला हुने गरेको उनको अनुभव छ ।
  • बलभद्र भारती शारीरिक अपाङ्गता भएका शिक्षक हुन् । उनी खगेन्द्र विशेष शिक्षा मावि, जोरपाटी, काठमाडौंमा २५ वर्ष देखि अङ्ग्रेजी विषय पढाउँदै आएका छन् । उनी कक्षामा पनि ह्विल चेयरमै बस्छन् । आफूले कालोपाटी र चक प्रयोग गर्न नसके पनि पढाउन कुनै समस्या नभएको उनको अनुभव छ ।

अपाङ्ग शिक्षकले सामान्य छात्रछात्रालाई पढाएका जस्तै सामान्य शिक्षकले अपाङ्ग वा विशेष अवस्थाका विद्यार्थीहरूलाई पढाइरहेका दृष्टान्त पनि उत्तिकै भेटिन्छन् ।गोर्खाका ऋषि देवकोटा काठमाडौंको बाल मन्दिर हातामा रहेको बहिरा स्कूलका नेपाली शिक्षक हुन् । उनी साङ्केतिक भाषाका अतिरिक्त हाउभाउ, शैक्षिक सामग्री, ओठको चाल र प्राकृतिक सङ्केतहरूको प्रयोग गरेर बहिरा छात्रछात्रालाई पाठ बुझउँछन् । अपाङ्गमध्ये पनि बहिरालाई पढाउन कठिन हुने उनको कथन छ । उनी भन्छन्, “सबै कुरा बोर्डमा लेख्नैपर्ने हुँदा समय पुग्दैन ।” बहिरालाई पढाउने विशेष शिक्षण सीप उनले तालिमबाट प्राप्त गरेका हुन् ।

बहिरा विद्यार्थी मात्रै अध्ययन गर्ने उक्त माविमा सामान्य र अपाङ्ग दुवै किसिमका शिक्षकहरू छन् । उक्त विद्यालयबाट गत वर्षको एसएलसी परीक्षामा सहभागी भएका सबै (१७ जना) उत्तीर्ण भएका थिए । त्यहींबाट एसएलसी गरी अहिले श्वेत सदन उमावि, सामाखुसीमा कक्षा १२ मा अध्ययनरत प्रज्ञा महर्जन बहिरा विद्यालयमा पढ्न पाएकै कारण आफूमा केही गर्ने आत्मविश्वास पैदा भएको बताउँछिन् ।

कीर्तिपुरको ल्यावरेटरी माविमा कक्षा ९ मा अध्ययनरत भवीन्द्र सिंह सबै विषयको ब्रेललिपिको पुस्तक नपाउँदा समस्या भए पनि शिक्षकहरूले सहयोग गर्ने गरेको अनुभव सुनाउँछन् । बहिरा विद्यार्थी महेन्द्र लिम्बूले आफूलाई अङ्ग्रेजी बिषय सजिलो लाग्ने बताए । बुझने/नबुझने कुरा शिक्षकको क्षमतामा पर पर्ने उनको भनाइ छ । दृष्टिविहीन र सामान्य दुवै किसिमका विद्यार्थी रहेको उक्त विद्यालयमा दृष्टिविहीनले सामान्य विद्यार्थीको सहयोग समेत पाउने गरेका छन् । शिक्षक सीता कँडेलका अनुसार आँखा देख्ने विद्यार्थीले नदेख्नेलाई शौचालय जान, नोट सार्न, नयाँ परिस्थिति अथवा विषय बुझन मद्दत गर्ने गर्छन् ।

ल्यावरेटरी माविका प्रअ लाक्पा शेर्पा आफ्ना अपाङ्ग विद्यार्थीहरू आत्मनिर्भर भएको बताउँछन् । उनीहरूलाई पढाइका साथै अतिरिक्त क्रियाकलाप मा पनि सहभागीगराइने हुँदा उनीहरूको आत्मविश्वास बढेको छ । २०६३ सालमा यो स्कूलबाट चारजना दृष्टिविहीनले एसएलसी परीक्षा दिएकोमा चारैजना प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।

अपाङ्गहरूका लागि शिक्षण पेशा उपयुक्त विकल्प मानिएको छ । नेपाल नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बू पनि रोजगारीमा लागेका दृष्टिविहीनहरूमध्ये धेरैजसो शिक्षण पेशामा रहेको बताउँछन् । सरकारले २०४७ साल देखि नै दृष्टिविहीनका लागि शिक्षणमा कोटा छुट्याउने गरेको छ । समाज कल्याण मन्त्रालयले २०६३ सालमा तयार पारेको अपाङ्ग व्यक्तिहरूका लागि राष्ट्रिय नीति तथा कार्ययोजना अनुसार देशमा सबै किसिमका अपाङ्ग शिक्षकहरूको सङ्ख्या करिब नौ सय रहेको थियो भने २०६४ र ०६५ सालमा २००/२०० राहत कोटा थपिएपछि यो सङ्ख्या बढेर १३ सयको हाराहारीमा पुगेको अध्यक्ष लिम्बूको अनुभव छ । यी मध्ये बहिरा शिक्षकको सङ्ख्या २० छ ।

तर, शिक्षा विभागको आँकडाले मावि तहका ४० जना समेत जम्मा १८० जना मात्र अपाङ्ग शिक्षकहरू कार्यरत रहेको देखाएको छ । १८ वटा जिल्लामा रहेका ३६ वटा विशेष विद्यालयमा २६७ जना विशेष शिक्षकहरू कार्यरत रहेको विभागको आँकडाले देखाउँछ । दृष्टिविहीन, बहिरा र सुस्तमनस्थितिका छात्रछात्राहरूलाई पढाउन देशभरि ३५० वटा स्रोत कक्षा सञ्चालनमा छन् जसमा ३५० जना विशेष शिक्षक कार्यरत छन् । तर, विशेष कक्षामा पढाउने अपाङ्ग भन्दा बढी सामान्य शिक्षक राखिएको छ । यस्ता विद्यालयमा करिब ३५ सय विद्यार्थी पढ्ने गरेका छन् । अपाङ्ग शिक्षकहरूको तथ्याङ्क यसै वर्ष देखि राख्न शुरु गरिएका कारण व्यवस्थित नभएको विभागको कथन छ । सरकारले यस वर्ष प्रावि तहमा ७०, निमाविमा १० र माविमा १३ गरी जम्मा ९३ वटा राहत कोटा दृष्टिविहीनका लागि छुट्याएको छ ।

धरानमा रहेको ज्ञान चक्षु स्कूल दृष्टिविहीनका निम्ति भनेर सञ्चालन गरिएको देशकै एक मात्र स्कूल हो । दृष्टिविहीन र सामान्य विद्यार्थीहरूसँगै पढ्ने विद्यालयको सङ्ख्या भने ५८ छ । शिक्षा विभागले सञ्चालन गरेका एकीकृत विद्यालय समेत गरेर देशभरिमा अपाङ्ग विद्यार्थीहरूलाई पढाउने जम्मा ८० वटा स्कूल रहेका छन् । संघको तथ्याङ्क अनुसार एकसय जना दृष्टिविहीनहरूले स्नातक र ३२ जनाले स्नातकोत्तर उत्तीर्ण गरेका छन् । अपाङ्ग महासंघले शिक्षण अनुमतिप्राप्त ५३ जिल्लाका ४२२ जना अपाङ्ग शिक्षकहरूको विवरण सङ्कलन गरेको छ । बाँकी जिल्लाको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको महासंघका कोषाध्यक्ष कुमार रेग्मीले जानकारी दिए ।

नेपाल अपाङ्ग महासंघका अध्यक्ष वीरेन्द्रराज पोख्रेल बौद्धिकताको प्रयोग गर्न पाइने हुनाले अपाङ्गहरूका लागि शिक्षण पेशा अत्यन्त उपयुक्त भएको बताउँछन् । सन् २००४ को डिसेम्बरमा मुस्ताङ, सुर्खेत, कञ्चनपुर, धनकुटा र पर्सामा गरिएको एउटा सर्वेक्षणले रोजगारीमा लागेका दृष्टिविहीन मध्ये ६० प्रतिशत शिक्षण पेशामा रहेको देखाएको थियो । रोजगारीमा रहेका सबै किसिमका अपाङ्गता भएकामध्ये ४० प्रतिशत शिक्षण पेशामा रहेको पनि उक्त सर्वेक्षणबाट थाहा भएको थियो ।
कयौं सीमितताका बाबजूद पनि विषयवस्तुप्रति दख्खल भएका शिक्षकहरूले उदाहरणीय काम गरेको नेपाल नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बू बताउँछन् ।

विद्यार्थीको व्यवहार र समस्या
फरक–फरक किसिमका अपाङ्गता भएका विद्यार्थीका विशेषता र आवश्यकता पनि फरकफरक हुने गर्छन् । बौद्धिक अपाङ्गलाई धेरै कुरा सिकाउन नसकिने भएकाले उनीहरूलाई जीवन जिउने कला सिकाउने कुरा मा बढी जोड दिने गरिन्छ । शारीरिक रुपमा अपाङ्ग व्यक्तिको मुख्य समस्या हिँडडुल गर्नमा हुन्छ तर पढ्ने रग्रहण गर्ने कुरा मा उनीहरू सामान्य विद्यार्थी जस्तै हुन्छन् । पढाउँदा दृष्टिविहीनका लागि ब्रेल र बहिराका लागि साङ्केतिक भाषाको प्रयोग गरिन्छ । उनीहरूलाई पढाउने शिक्षक ती विषयमा जानकार भएमा विद्यार्थीको सिकाइ प्रभावकारी हुन्छ । तर, सबै शिक्षकले तालिम नलिएका कारण विद्यार्थीको सिकाइ प्रभावकारी हुन नसकेको कथन नेपाल राष्ट्रिय अपाङ्ग महासंघका सचिव कुमार रेग्मीको छ ।

महासंघका केन्द्रीय सदस्य कृष्णगजुरेल विशेष कक्षा सञ्चालनका लागि तालिम दिइएका शिक्षकहरूले बहिरालाई पढाउन अत्यावश्यक साङ्केतिक भाषा पनि राम्ररी नसिकेको र उनीहरूले अपाङ्ग विद्यार्थीलाई मन लगाएर नसिकाएको आरोप ल गाउँछन् । उनी भन्छन्, “सबलाङ्ग शिक्षकले अपाङ्ग विद्यार्थीलाई पढाउँदा सार्न मात्र ल गाउँछन्, उनीहरू अल्छी छन् ।” हाल एउटा विद्यालयमा १० जना मात्रै अपाङ्ग विद्यार्थी भर्ना गर्ने गरिएकोले धेरै अपाङ्गहरूले पढ्न नपाएको बताउँदैगजुरेल भन्छन्, “प्रत्येक जिल्लामा अपाङ्गले पढ्ने एउटा विद्यालय सञ्चालन गर्नु पर्छ ।”

अपाङ्ग शिक्षकप्रति विद्यार्थीहरूको व्यवहार सकारात्मक पाइएको महासंघका अध्यक्ष पोख्रेल बताउँछन् । सहयोगी, नपिट्ने र विद्यार्थीसँग घुलमिल हुन खोज्ने शिक्षकहरूको स्वाभावका कारण अपाङ्ग शिक्षकहरू बढी लोकप्रिय भएको उनको भनाइ छ ।

माथिल्लो कक्षामा भन्दा अपाङ्ग शिक्षकहरूलाई तल्लो कक्षामा बढी समस्या हुने गरेको देखि एको छ । साना कक्षाका विद्यार्थीलाई हातै समाएर लेख्न सिकाउनु पर्ने हुँदा दृष्टिविहीन शिक्षकहरूलाई समस्या हुन्छ । “हामीले नभने पढाउन सक्दैन भन्ने मनोविज्ञान साना कक्षाका विद्यार्थीमा रहेको पाइएको छ”, पोख्रेलले भने, “शिक्षकले माया गर्ने हुँदा केही विद्यार्थीले गृह कार्य न गर्ने , नटेर्ने समस्या पनि छ ।”

तर, अपाङ्ग शिक्षक कुमारी निरौला भने यो कुरा मा सहमत छैनन् । निमाविसम्म सामाजिक विषय पढाउने दृष्टिविहीन शिक्षक निरौलालाई सघाउन विद्यार्थीबीच तँछाडमछाड हुने गर्छ । जेहेन्दार विद्यार्थीसँग उनी पाठ पढ्न, ब्ल्याकबोर्डमा लेख्न, कपी जाँच्न सहयोग लिने गर्छिन् । उनी भन्छिन्, ‘चार वर्षको अनुभवमा कुनै पनि विद्यार्थीले मलाई अपाङ्ग भनेर अपमान गरेका छैनन् ।” खगेन्द्र नवजीवन माविका शारीरिक अपाङ्ग शिक्षक भीमबहादुर विश्वकर्मा पनि विद्यार्थीले आफूहरूलाई हार्दिक व्यवहार गर्ने गरेको बताउँछन् ।

अपाङ्ग शिक्षकहरूका लागि व्याख्यान विधि सबैभन्दा उपयुक्त मानिएको छ । कोर्ष सक्ने चिन्ता लिएर पढाउन थाले बहिरा विद्यार्थीले केही पनि सिक्न सक्दैनन् । बहिराले शब्दलाई शुद्ध रूपमा बुझन नसक्नु अर्को समस्या हो । प्राविधिक विषय चाहिँ बहिरा तथा दृष्टिविहीन दुवै किसिमका विद्यार्थीका लागि समस्या हुने गरेको छ । श्वेत सदन उमाविमा सबै बहिराहरूलाई शिक्षा सङ्कायमा भर्ना गरिएको छ । “प्राविधिक विषय पढाउँदा हुने जटिलताका कारण यस्तो गरिएको हो”, सञ्चालक कपिलचन्द्र पोख्रेलले बताए । राजिनामा दिनु र छोड्नुलाई साङ्केतिक भाषामा बुझाउनु पर्दा उस्तै सङ्केतको प्रयोग गर्नु पर्छ । यसो गर्दा विद्यार्थीहरू झुक्किने गरेका छन् ।

परीक्षामा बहिरा र दृष्टिविहीन विद्यार्थीका लागि एक घण्टा बढी समय दिइने गरिएको छ । यस्ता विद्यार्थीलाई सहयोगी राखेर पनि परीक्षामा लेख्न दिइन्छ । परीक्षामा दोभाषेगार्ड नराखे विद्यार्थीले प्रश्नपत्र नबुझने समस्या छ । तर दोभाषे राख्दा तिनले चिट चोराउने गरेका आरोप लाग्ने गरेको शिक्षकहरूले जनाए ।

स्थायी दरबन्दीमा भएका अपाङ्ग शिक्षकहरूले अन्य शिक्षकसरह सुविधा पाउने गरेका छन् । तर, अपाङ्गका लागि खोलिएका विद्यालयमा पढाउने सबलाङ्ग शिक्षकहरू भने त्यस्तो सुविधाबाट वञ्चित छन् । बहिरा विद्यालयका शिक्षक ऋषि देवकोटा मावि दरबन्दीमा कार्यरत छन् । स्थायी शिक्षकसरह तलब पाउने देवकोटाले पेन्सन र उपदानको सुविधा पाएका छैनन् । समान तलब तथा पेन्सन सुविधाको माग गर्दै धेरै पटक शिक्षा मन्त्रालय धाए पनि समस्या समाधान नभएको शिक्षक देवकोटाले बताए ।
शारीरिक अपाङ्गता भएका शिक्षकले सामान्य शिक्षक भन्दा थप समस्या र झन्झ्ट व्यहोर्नुपर्छ । सबैभन्दा ठूलो समस्या चाहिं सबलाङ्गहरूका निम्ति निर्माण गरिएका भौतिक संरचनाहरू अपाङ्गता भएका शिक्षकहरूका निम्ति चुनौती भएका छन् । विद्यालय भवन, बाटाघाटा, पानी–पँधेरा, शौचालय आदि अपाङ्ग–मैत्री नभएका कारण अपाङ्गता भएका शिक्षकहरूले तिनलाई सहज रुपमा प्रयोग गर्न सकिरहेका छैनन् ।

अबको बाटो
सूचनाप्रविधिको प्रयोगबाट अपाङ्ग शिक्षकहरूले प्रशस्त फाइदा लिनसक्ने देखि एको छ । दृष्टिविहीनहरूले बोल्ने सफ्टवेयर (जस्तैः जज) को प्रयोग गरेर कम्प्युटरबाट लेखपढ गर्न सकिन्छ । महासंघका अध्यक्ष पोख्रेल र नेत्रहीन संघका अध्यक्ष लिम्बू अरूको मद्दत बिना नै कम्प्युटरमा सजिलै काम गर्न सक्छन् । ल्याबरेटरी माविका दृष्टिविहीन कम्प्युटर शिक्षक सीता ज्ञवालीले दृष्टिविहीन र सामान्य विद्यार्थीलाई सजिलै कम्प्युटर सिकाइरहेकी छन् ।

नेपाल नेत्रहीन संघले सरकारी विद्यालयका अधिकांश पाठ्यपुस्तकको ब्रेल संस्करण निर्माण गरेको छ । तर, पाठ्यपुस्तक परिवर्तन भएका बेला छपाइ ढिला भएर समयमा पाठ्यपुस्तक उपलब्ध हुनसकिरहेका छैनन् । पाठ्यपुस्तक र सन्दर्भसामग्री समयमा उपलब्ध गरिनुपर्ने, परीक्षा प्रणालीमा सुधार, सबै ठाउँमा ब्रेललिपि परीक्षण गर्ने विशेषज्ञ राख्ने कुरा मा सुधार गर्न सके दृष्टिविहीनहरूको शिक्षामा पहुँच बढ्न सक्ने देखिन्छ । नेपालमा अहिलेसम्म पर्याप्त ब्रेललिपि विशेषज्ञ तयार भइसकेका छैनन् । हालसम्म करिब पाँच हजार शब्दको मात्रै सङ्केत विकास गरिएकाले प्राविधिक विषय पढाउन समस्या छ ।

नेपाल राष्ट्रिय बहिरा तथा सुस्त श्रवण महासंघले अपाङ्ग शिक्षालाई गुणस्तरीय तुल्याउन तालिम लिएका पर्याप्त बहिरा र दृष्टिविहीनका शिक्षकहरूको व्यवस्था हुनुपर्ने सुझाव दिएको छ । खगेन्द्र नवजीवन माविका पूर्व विद्यार्थी तथा शारीरिक अपाङ्ग कानून व्यवसायी विदुर कुमार थापा अपाङ्ग कल्याण तथा संरक्षण ऐन २०३९ ले अपाङ्गहरूको अनौपचारिक शिक्षामा मात्र जोड दिएको तर अब सरकारले औपचारिक शिक्षामै समेट्नुपर्ने बताउँछन् ।

यता, महासंघले साङ्केतिक भाषाको १० महिनाको तालिम लिएकाहरूलाई शिक्षक लाइसेन्स बराबरको मान्यता दिनुपर्ने माग गरेको छ । अध्यक्ष पोख्रेल अपाङ्गहरूका लागि निश्चित समयभित्र स्थायी अनुमतिपत्रको व्यवस्था गरेर हाललाई अस्थायी अनुमतिपत्र दिएमा शिक्षण पेशामा उनीहरूको संलग्नता बढ्ने ठान्छन् ।

commercial commercial commercial commercial