फलाहारमा बाँच्छन्, राम्रो पढाउँछन् !

बन्दको अवज्ञा गर्दा पाण्डेय करिब १० पटक कुटिएका छन् । उनी जो सुकैले स्कूल बन्दको आह्वान गरे पनि त्यसको अवज्ञा गर्ने बताउँछन् । उनको कथन छ, “अधिकारप्राप्तिको बाटो बन्द होइन, बन्दले अधिकार दिलाउने होइन, अरूको अधिकार हनन् गरेको छ । स्कूल बन्द गरेर पठनपाठन बिगार्नु सर्वथागलत हो ।”

स्याङ्जाका शिक्षक पदमप्रसाद पाण्डेयकोे जीवनशैली योगीको जस्तो छ तर, उनी योगी भने होइनन् अङ्ग्रेजीका शिक्षक हुन्; अन्न नखाने शिक्षक ! तीन दशक देखि कन्दमूल र वनस्पतिमा बाँचेका पाण्डेय नियमित योग अनि ध्यान गर्छन् । शिक्षण पेशाबाट निवृत्त भएपछि पूर्णतः तपस्यातिर लाग्ने मनसायले उनले तपस्या स्थल समेत छनोट गरिसकेका छन् ।

जीवनशैली हेर्दा उनी रुढिवादी जस्ता लाग्छन् । तर, व्यवहारमा उनी त्यस्ता पनि होइनन्; किनकि उनी ल्यापटप र कम्प्युटरमा लेख्छन् अनि इन्टरनेटबाट देश/दुनियाँ नियाल्छन् । टाइ/सूट बेगर पनि उनी एउटा सफल र आधुनिक मास्टर भएका छन् । नेपाल शिक्षक युनियनको ९ वैशाख २०६६ मा राजधानीमा सम्पन्न दोस्रो महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित पाण्डेयको व्यक्तित्वलाई परम्परागत र आधुनिकताको सङ्गम भन्न मिल्छ । शैक्षिक दृष्टिबाट चाहिँ उनी गुरु र शिक्षकका सङ्गम हुन् । उनको बाँच्ने शैली औसत शिक्षकको भन्दा बेग्लै छ ।

सादगीपूर्ण खानपान, अनुशासित जीवन, साधारण पोशाक, आफ्नो आदर्शमा अडिग रहने र छात्रछात्रा एवं स्कूलको उन्नतिमा लागिरहने पाण्डेयका मुख्य विशेषता हुन् । पत्नी र छोरा पनि पाण्डेयकै पथमा हिँड्दैछन् । उनका कतिपय छात्रछात्राले उनलाई आफ्नो जीवनको ‘आदर्श व्यक्ति’ पनि मानेका छन् ।

अन्न आम मानिसको प्राथमिक भोजन मानिन्छ । दाल, भात, रोटी, अचार, तरकारी, मासु आदि औसत नेपालीका नियमित खाना हुन् । कतिपयलाई त यी खानेकुरा बिना बाँच्ने कल्पना गर्न पनि कठिन पर्छ । तर, पदमप्रसादका लागि यी खानेकुरा को कुनै पर्वाह नै हुँदैन । उनले अन्नलाई मानव भोजनको तेस्रो विकल्पमा राखेका छन् । मानिसले केही नपाएमा मात्र अन्न खानुपर्ने उनको मान्यता छ । पाण्डेय झण्डै ३० वर्षयता आफू कन्दमूल र वनस्पतिको भरमा मात्र बाँचेको बताउँछन् । उनका प्रिय भोजनमा पर्छन्, आलु, तरुल, आँप, अङ्गुर, काँक्रो, स्याउ, दूध, नासपाती, मेवा,गाजर, मूला आदि । लसुन र प्याज बाहेक सबै जातका तरकारीमा नुन नहाली खाने पाण्डेय काँचो केरा र आलु चाहिँ भुटेर, उसिनेर वा पोलेर खान्छन् । चामल, पीठो आदि अन्नसँग उनको दुश्मनी नै भने होइन । फलाहार, वनस्पति र दूध नपाएको अवस्थामा सास धान्नका निम्ति उनी यदाकदागहुँको रोटी खाने गर्छन् । २०३७ देखि २०४४ सम्म भने फलाहार र वनस्पति मात्रै खाएर बाँचेको, अन्न नछोएको उनको कथन छ ।

अन्न प्राथमिक भोजन नभएकै कारण यसलाई सङ्ग्रह गर्न मिल्ने तर आफूले खाने फलफूल, तरकारी, दूध आदि प्राथमिक भोजन भएको ले सङ्ग्रह गर्न नमिल्ने पाण्डेयको तर्क छ । मानिसका लागि कन्दमूल र वनस्पतिभन्दा उत्तम खानेकुरा केही नभएको पाण्डेयको धारणा छ । अन्नसँगै उनका निम्ति मासु र मदिरा तथा धुम्रपान पनि वर्जित छ । सिंह, चितुवा, स्याल आदि जङ्गली जनावरले मासु खाने भएको ले जनावरको आहारालाई मानिसले अपनाउँदा मानिस र पशुबीच भिन्नता नहुने भन्दै पाण्डेय मानिसले मासु खानै नहुने जिकिर गर्छन् ।

दूबो र पञ्चगव्यको स्वाद
महात्मागान्धीको सादा जीवन र उच्च विचार को सिद्धान्तबाट प्रभावित भएर २० वैशाख २०३७ बाट पाण्डेयले प्राकृतिक जीवनशैली आरम्भ गरेको पाण्डेयको कथन छ । शुरु का दुई महिना दूबो र पञ्चगव्य (गाईको दूध, दही, घिउ,गहुँत रगोबर) खाएर बाँचेको बताउँछन् । उनी भन्छन्, “एक महिना दूबो र एक महिना पञ्चगव्य खाएर प्राकृतिक जीवन आरम्भ गरेको हुँ ।”
घरमा अङ्क र अक्षर चिनेर थप अध्ययनको निम्ति भारतको हैदरावादस्थित स्वामी विवेकानन्द आश्रम पुगेका पाण्डेयले सन् १९७४ मा आन्ध्रप्रदेश युनिभर्सिटीबाट म्याट्रिककुलेसन र त्यसपछि इलाहावाद विश्वविद्यालयबाट इन्टरमिडियट एवंगोरखपुर विश्वविद्यालयबाट स्नातक गरे । स्नातकोत्तर चाहिँ सन् १९९९ मा त्रिविविबाट गरे । पूर्वीय आध्यात्मवादलाई जीवन–दर्शनका रूपमा अपनाएका पाण्डेयले कलेज–विश्वविद्यालयमा चाहिँ अङ्ग्रेजी भाषा र साहित्यको अध्ययनलाई पहिलो प्राथमिकतामा राखेका थिए ।

-----------------------

“छात्रछात्राको पढाइप्रति हरदम चिन्तित हुने अत्यन्तै जिम्मेवार शिक्षकको नाम हो पदमप्रसाद पाण्डेय । पेशाप्रतिको निष्ठा, अनुशासन र शुद्ध आचरण उहाँका गहना हुन् । यिनैगुणले उहाँलाई आदर्श शिक्षक बनाएको छ ।”

मोहन ज्ञवाली
अध्यक्ष , नेपाल शिक्षक संघ

-----------------------

नेपाल फर्किएपछि २०३५ सालमा पाण्डेय गम्भीर बिरामी परे । उनलाई टी.बी. रोग लागेको थियो । त्यही रोगको लामो उपचारका क्रममा उनले प्राकृतिक जीवन र प्राकृतिक उपचारपद्धति अपनाउने निधो गरे । प्राकृतिक जीवन आरम्भ गरेको पहिलो पाँच वर्ष उनले लामो कपाल तथा दाह्री पालेका थिए भने सेतो धोती र कुर्ता लगाउने गरेका थिए । अचेल उनी दौरा, सुरुवाल, टोपी र इस्टकोट ल गाउँछन् भने विशेष अवस्थामा दौरा सुरुवाल, कोट, टोपी र कपडाको जुत्ता ।गम्छा चाहिँ पाण्डेयको काँधबाट कहिल्यै छुट्दैन ।गम्छाले पसिना पुछ्न र बजार जाँदा फलफूल तथा तरकारी पोको पारेर ल्याउन मिल्ने भएको ले पाण्डेय अरूलाई पनि गम्छा प्रयोग गर्न सल्लाह दिने गर्छन् ।

प्राकृतिक जीवनका लाभ
फलफूल, सागसब्जी/तरकारी र दूधलाई नियमित आहारा बनाएका कारण आफूमा निरन्तर ४८ घण्टासम्म काम गर्न सक्ने शक्ति रहेको पाण्डेय दाबी गर्छन् । आफूलाई सामान्यतया दिनभरि भोक नलाग्ने र कहिलेकाहीँ खाए वा नखाएको अरूले नै सम्झउनुपर्ने स्थिति आइपर्ने कुरा पनि सुनाउँछन् । फुर्सदमा दुई दिनसम्म निराहार र सात दिनसम्म पानी मात्रै खाएर तपस्यामा बस्ने उनी दशैँको बेला चाहिँ दुई दिन रसाहार (लिक्युड फास्ट) तथा त्यसपछि को दुई दिन सुख्खा खानेकुरा को भरमा
(ड्राइफास्ट) ध्यानमा बस्ने गरेको बताउँछन् ।

खानेकुरा को असरले होला पाण्डेयको स्वभाव शान्त तथा फूर्तिलो देखिन्छ । खानपान र सादा जीवनशैलीका कारण नकारात्मक सोचाइ र अरूको कुभलो गर्ने इच्छा नै नजाग्ने उनको अनुभव छ । आफूमा अरूमा जस्तो सम्भोगप्रति अत्यधिक रुचि उत्पन्न नहुने पनि उनले बताए । उनी वीर्य जति धेरै संरक्षण गरयो त्यति नै शरीर मजबूत हुने तर्क गर्छन् । पति–पत्नी दुवैमा सम्भोगप्रति आसक्ति नरहेको उनीहरूको भनाइ छ ।

पाण्डेयको औसत दैनिकी बिहान चार बजेबाट शुरु हुन्छ । पद्मासनमा बसेर प्राणायाम र ध्यान गरे पछि दुई लिटर पानी पिउने पाण्डेय त्यसपछि शारीरिक अभ्यास गरेर समाचार सुन्ने गर्छन् । पाण्डेयको समाचारको स्रोत रेडियो हो । ल्यापटप र कम्प्युटरलाई उनले जीवनशैली बनाएको पाइन्छ । बिहानको नृत्य कर्मपछि खाना खाएर ९ बजे विद्यालय जाने पाण्डेयको नियमित रुटिन हो । शिक्षक युनियनको कोषाध्यक्ष छानिएपछि स्कूल जाने समयमा उनी शिक्षक युनियनको कार्यालय जान्छन् ।

जस्तो पति, उस्तै पत्नी
आजीवन विवाह न गर्ने अडानमा रहेका पदमप्रसाद पाण्डेय सुन्दर तथा शिक्षित युवतीले नै विवाहको प्रस्ताव राखेपछि आफ्नो अडान परिवर्तन गरेको बताउँछन् । उनको व्यक्तित्व र जीवनशैली मन पराएर रुपन्देहीकी निर्मलागौतमले आफ्ना बाबुआमालाई ‘पदम सरले विवाह गर्नु हुन्छ भने हुन्छ नत्र अविवाहितै बस्छु’ भनेपछि पाण्डेयले तिनै युवतीसँग विवाह गरे । त्यतिबेला पाण्डेयको उमेर ३४ थियो भने निर्मलाको २२ । विवाह गर्ने निधो भएपछि १० वटा प्रेमपत्र आदानप्रदान भएको पनि पाण्डेयले सुनाए ।

पाण्डेय दम्पतीको जीवनशैलीमा धेरै भिन्नता छैन । दुवै जनाको खानेकुरा , शैक्षिक योग्यता, पेशा, आदर्श र सिद्धान्त लगभग समान छन् । स्नातकोत्तर उत्तीर्ण पाण्डेय पत्नी निर्मला पनि आदर्श उमावि स्याङ्जामा शिक्षक छिन् । उनीहरूले एक्लो छोरालाई पनि आफ्नै आदर्शमा हिँडाउन खोजेका थिए । छोरालाई शुरु का चार वर्ष अन्न दिएका थिएनन् भने १४ वर्षसम्म नुन खुवाएनन् । तर, पाण्डेयका बाबुआमा र समाज को कारण तिनले छोरालाई चाहिँ नुन र अन्न खान सिकाएका छन् । तैपनि पाण्डेय भन्छन्, “हामीले आग्रह गर्दा मात्र खान्छ, नत्र हाम्रै भोजनमा रमाउँछ ।”

पाण्डेयका छोरा स्कूलमा औपचारिक अध्ययन नै न गरी २०६३ सालमा पाण्डेयले पढाउने आदर्श उमाविबाट ८३ प्रतिशत अङ्क ल्याएर एसएलसी उत्तीर्ण भए । छोरालाई पाण्डेयले घरमै स्वाध्यायन गर्ने व्यवस्था मिलाएका थिए । एसएलसीपछि को अध्ययनलाई चाहिँ उनका छोराले अघि बढाउन सकेका छैनन् । एक वर्षअघि भारत बैङ्गलोरको एउटा कलेजमा आइएस्सीमा भर्ना गरिएका पाण्डेय पुत्र कक्षाकोठामा समूहसँग बसेर पढ्ने बानी नभएका कारण नेपालै फर्किए । त्यसपछि उनलाई काठमाडौं विश्वविद्यालयमा भर्ना गरिएको थियो । तर, त्यहाँ पनि औपचारिक अध्ययन गर्न नसकेर उनले यसपटक कक्षा ११ को परीक्षा दिएनन् । यसबाट पदमप्रसादलाई आफ्नो प्रयोगबाट छोरा माथि अन्याय भएको हो कि भन्ने लाग्न थालेको छ । उनी भन्छन्, “त्यस्तो हो रहेछ भने मैले छोरासँग सार्वजनिक रूपमा क्षमा माग्नुपर्छ ।”

अवकाश लिएपछि तपस्वीको जीवन बिताउनका लागि उनले चितवनको देवघाट र आफ्नो जन्मथलो स्याङ्जाको रुद्रवेणीको बेलथुम्कोमा तपस्यास्थल बनाएका छन् । बेलथुम्को उनको जन्मथलो हो जहाँ उनका ८९ वर्षका बुबाआमा बस्छन् ।

शिक्षक जीवन
पदमप्रसाद पाण्डेयको शिक्षक जीवनको सुरुआत २०३३ सालमा स्याङ्जाको आलमदेवी गाविसको कोटाकोट प्राविबाट भएको देखिन्छ । त्यसअघि उनी नेपाली काङ्ग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सदस्य थिए । बी.पी. निर्वासनबाट नेपाल आउँदा स्वागत गरेको आरोपमा उनलाई शिक्षकबाट निष्कासन गरे पछि २०३५ सालमा पाल्पाको यम्घास्थित सीता निमाविको अङ्ग्रेजी शिक्षक भए । २०४१ सालमा फेरि स्याङ्जा फर्केर उनी कोटाकोट आदर्श मावि, आलमदेवीमा अस्थायी शिक्षक भए । त्यसको एक वर्षपछि भएको नेपाली काङ्ग्रेसको सत्याग्रहमा भाग लिएको निहुँमा उनी फेरि निष्कासनमा परे । यो उनको तेस्रो निष्कासन थियो । सरकारी स्कूलबाट निष्कासन भएपछि पाण्डेयले पोखराको निजी स्कूलमा काम गरे । २०४८ सालमा सरकारले पुनर्वहाली गरे पछि उनी आदर्श मावि फर्किए । २०४९ साल देखि उनी निरन्तर माविको प्रअको रूपमा क्रियाशील छन् ।  

आदर्श मावि, आलमदेवीबाट स्याङ्जाको मालुङ्गाको सार्वजनिक माविमा उनी २०५८ मा सरुवा भएका हुन् । पदमप्रसादले सार्वजनिक उमाविको नेतृत्व लिएपछि उक्त स्कूलको पठनपाठन उकालो लागेको देखिन्छ । २०५७ सालको एसएलसीमा सहभागी सार्वजनिक उमाविका ८४ जनामध्ये एक जना मात्रै उत्तीर्ण भएका थिए । २०५८ मा सात जना छात्रछात्रा सफल भए । त्यतिबेलासम्म जिल्लामा कमजोरमध्येमागनिने उक्त स्कूलले पाण्डेयको नेतृत्व पाएपछि ‘रराम्रो’ मानिन थालेको छ ।

पाण्डेय कुनै समूहले पनि स्कूल बन्द गर्नु हुँदैन भन्ने पक्षमा छन् । विभिन्न समूहले गरेको बन्दको अवज्ञा गर्दा पाण्डेय करिब १० पटक कुटिएका छन् । उनी जो सुकैले स्कूल बन्दको आह्वान गरे पनि त्यसको अवज्ञा गर्ने बताउँछन् । उनको कथन छ, “अधिकारप्राप्तिको बाटो बन्द होइन, बन्दले अधिकार दिलाउने होइन, अरूको अधिकार हनन् गरेको छ । स्कूल बन्द गरेर पठनपाठन बिगार्नु सर्वथागलत हो ।” शिक्षकका पेशागत संस्थाले बन्द गरे मा त्यसको साटो अरू समयमा पढाएर शोधभर्ना गरिनुपर्ने उनको तर्क छ । पाण्डेय आफूले यस्तै गर्दै आएको बताउँछन् । सार्वजनिक उमाविका वर्तमान निमित्त प्रअ चूडामणि पाण्डे पदमप्रसादलाई नियम कानूनमा जोड दिने र आफ्नो मान्यतामा अडिग रहेर स्कूलको उन्नतिमा अनवरत क्रियाशील हुने शिक्षक ठान्छन् । उनीसँग आठ वर्ष सङ्गत गरेका चूडामणि भन्छन्, “हामीले स्कूल बन्दगरौं भन्दा एक्लै स्कूल खोल्ने गर्नु हुन्थ्यो । संस्थाको हितका निम्ति मरिमेट्ने हेडमास्टर हो उहाँ । टिप्पणी गर्न मिल्ने उहाँको नरराम्रो बानी हामीलाई थाहा छैन ।”

माओवादीले आफ्नो हिंसात्मक आन्दोलनका बेला शिक्षकसँग जबर्जस्ती चन्दा असुल्ने गरेका थिए । तर माओवादीलाई एक सुका पनि चन्दा नदिने शिक्षकमा पर्छन् पदमप्रसाद । चन्दा नदिएको र उनीहरूले भनेको नमानेका कारण अहिले पनि माओवादी पाण्डेयप्रति रुष्ट देखिन्छ । ५ असोज २०६४ मा सार्वजनिक उमाविको व्यवस्थापन समितिको नेतृत्व माओवादीले लिएपछि समितिको पहिलो बैठकले पदमप्रसादलाई प्राचार्यबाट हटाउने निर्णय गरयो । तर छात्रछात्रा र स्थानीय बासिन्दाको विरोधका कारण माओवादीको उक्त निर्णय करिब १३ महिनासम्म कार्यान्वयन हुनसकेन । उनी शिक्षक युनियनको नेतृत्वमा चुनिए र काजमा काठमाडौं आएपछि अर्का शिक्षकलाई निमित्त प्रअका रूपमा नियुक्ति गरिएको छ । युनियनको नेतृत्वमा आउनुअघि पाण्डेय नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष थिए ।

पाण्डेयलाई धेरैले काङ्ग्रेसी शिक्षक भन्छन् । तर, उनी शिक्षकले दलीय राजनीति गर्नु हुँदैन भन्ने मान्यता राख्छन् । उनी भन्छन्, “शिक्षकको काम पढाउने हो, स्कूल बन्द गर्ने अनि दलीय राजनीतिमा लागेर पठनपाठन बन्द गर्नु भावी पुस्ताको भविष्य बर्बाद पार्नु हो । मैले यस्तो कहिल्यै गरिनँ र अरूले पनि गर्नु हुँदैन भन्ने मेरो अडान छ, यो मेरो शिक्षक जीवनको आदर्श हो ।” दलीय राजनीति न गरे पनि शिक्षकका पेशागत संस्थामा भने शिक्षकहरू आवद्ध हुनुपर्ने उनको मान्यता छ ।

उनले पढाएका धेरै छात्रछात्राले शिक्षक प्रतिनिधिसँग को कुरा कानीमा पाण्डेयलाई आदर्श शिक्षक भनेका छन् । तीमध्ये धेरैजसोले पाण्डेयसँग पढेका कारण आफ्नो जीवन नै परिवर्तन भएको समेत बताएका छन् । तिनको भनाइमा छात्रछात्राको भविष्य निर्माणका लागि असाध्यै मेहनत गर्ने , सबैलाई समान व्यवहार र आदर गर्ने , विद्यार्थीको भावना बुझेर पढाउने अनि जीवनदर्शन सिकाउने पाण्डेयका मुख्य विशेषता हुन् । घरको आर्थिक कमजोरीका कारण एसएलसीपछि पढ्न छाडेकी सृजना भट्टराई पाण्डेयकै प्रेरणाका कारण अहिले बानेश्वर क्याम्पसमा स्नातक पढ्दैछिन् । उनी भन्छिन्, “सर नभएको भएँ म कहाँ हुन्थे थाहा छैन, पढ्न छाडेकी मलाई कक्षा ११ मा भर्ना गराए र उच्चशिक्षा हासिल गर्न हौसला दिनुभयो । उहाँप्रति म ऋणी छु ।”

सिद्धार्थगौतम बुद्ध क्याम्पस बुटबलमा बी.एड. दोस्रो वर्षमा अध्ययनरत पाण्डेयकी पूर्व छात्रा संगितागौतमको मूल्याङ्कनमा विद्यार्थीको कमजोरी पत्ता लगाएर त्यसलाई समाधान गर्ने पाण्डेयको क्षमता छ । उनी भन्छिन्, “मेरो ‘आइडल’ शिक्षक पदम सर हो ।” उनी सार्वजनिक उमावि, मालुङ्गामा पढ्दा पाण्डेयसँगै बस्थिन् भने काठमाडौं आउँदा पनि पाण्डेयकै डेरामा बस्छिन् । पाण्डेयसँग बस्दा बुबा जस्तो लाग्ने उनको अनुभूति छ । उनी मात्रै होइन कुनै बेला पाण्डेयसँग पढेका र अहिले विभिन्न शैक्षिक संस्थामा उच्चशिक्षा हासिल गरिरहेका अरू छात्रछात्राले समेत पाण्डेयका औंल्याउन मिल्ने कमजोरी फेला पार्न सकेनन् । उनका छात्रगोपाल भट्टराईले चाहिँ उनको विद्यार्थीलाई नमस्कार गर्ने बानीलाई ‘नरराम्रो’ भने । उनका अनुसार त्यसरी शिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा शिक्षकलाई विद्यार्थीले हेप्छन् ।

शिक्षक पेशागत संस्थाका पदाधिकारीले पाण्डेयलाई असाध्यै मेहनती शिक्षक भन्ने गरेका छन् । नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालीको भनाइ छ, “छात्रछात्राको पढाइप्रति हरदम चिन्तित हुने अत्यन्तै जिम्मेवार शिक्षकको नाम हो पदमप्रसाद पाण्डेय । पेशाप्रतिको निष्ठा, अनुशासन र शुद्ध आचरण उहाँका गहना हुन् । यिनैगुणले उहाँलाई आदर्श शिक्षक बनाएको छ ।” पाण्डेयले शिक्षक नेताहरूमध्ये नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष केशवप्रसाद भट्टराईलाई आदर्श मान्ने गरेका छन् । भट्टराईको मूल्याङ्कनमा चाहिँ पाण्डेय दिएको जिम्मेवारी खटेर पूरा गर्ने इमान्दार शिक्षक रगतिलो हेडमास्टर हुन् ।

commercial commercial commercial commercial