खाँचो छ शिक्षक अग्रसरताको

जबसम्म यो पेशालाई हामीले व्यावसायिक बनाउन सक्दैनौं, तबसम्म हामी विशुद्ध शिक्षक भएर रहन सक्दैनौं । जबसम्म हामी शुद्ध शिक्षक बन्न सक्दैनौं, तबसम्म शिक्षाको स्तर आशातीत उचाइमा पुग्न सक्दैन ।

नेपालमा सार्वजनिक विद्यालयको स्तर माथि उठ्न नसकेको भनी उठेको चिन्ता र चासो अस्वाभाविक छ्रैन । शिक्षाको स्तर ले एउटा व्यक्तिको जीवनमा पार्ने फरकको तुलनामा अहिले देखि एका चिन्ता र सरोकारलाई कमै मान्न सकिन्छ । विद्यालय शिक्षाको स्तर अपेक्षित रूपमा माथि उठ्न नसक्नुमा सरकार, विशेष गरी शिक्षा मन्त्रालय र यस अन्तर्गतका निकाय र पदाधिकारी देखि शिक्षकसम्म सबै जिम्मेवार छन् । सबैले आ–आफ्नो भागको दोष कबुल गर्नैैपर्छ ।

वर्षौं शिक्षण गरेको मेरो निजी अनुभवका आधारमा भन्नुपर्दा, शिक्षाको सफलता र असफलतामा शिक्षक नै सबैभन्दा बढी जिम्मेवार हुन्छ । खाली स्लेट जस्तो दिमाग लिएर आएको एउटा बालकको कलिलो मस्तिष्कमा कस्ता रेखाहरू कोर्ने हो भन्ने कुरा शिक्षकमा भर पर्दछ । यदि हामी शिक्षकहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेका थियौं भने सार्वजनिक विद्यालयको स्तर अहिलेभन्दा पक्कै पनि माथि हुनेथियो ।

शिक्षाको गुणस्तर किन घट्यो ? यो प्रश्नको ठोस उत्तर शिक्षकले नै दिनसक्छ, दिनुपर्दछ । किनभने खास शिक्षा दिने हामी शिक्षकले नै हो । शिक्षा मन्त्रालय देखि अभिभावकसम्मका सरोकारवालाहरू त सहजकर्ता मात्र हुन् । शिक्षाको स्तर माथि उठाउन नसक्नुको कारण स्पष्ट गर्ने र ती कारणहरू सम्बोधन गर्न प्रेरित गर्ने काम पनि हामी शिक्षकहरूकै हो । कक्षाकोठामा किन रराम्रोसित पढाउन सकिएन ? किन विद्यार्थीले सिक्नुपर्ने जति सिक्न सकेनन् ? शिक्षकमा पेशाप्रति किन निष्ठा जागेन ? योग्यता र क्षमता नभएर हो कि ? समय नपुगेर हो कि ? शिक्षा नीति उपयुक्त नभएर हो कि ? पाठ्यक्रम उपयुक्त नभएर हो कि ? विद्यालयमा आवश्यक भौतिक अवस्थाको कमिले हो कि ? अभिभावकहरूको उदासीनताले हो कि ? व्यवस्थापनको कारणले हो कि ? यी सवालहरूको ठोस र वस्तुनिष्ठ उत्तर खोज्न अब हामी शिक्षकहरू नै अग्रसर हुनुपर्छ ।

यो सन्दर्भमा, सर्वप्रथम सार्वजनिक विद्यालयमा शिक्षकको नियुक्ति प्रक्रिया केलाउनु जरुरी हुन्छ । अहिले निम्न चार तरिकाबाट नियुक्त शिक्षकहरू सार्वजनिक विद्यालयमा कार्यरत छन्ः

  • विज्ञापन गरी साधारण अन्तरवार्ताबाट स्थायी र अस्थायी भएका ।
  •  भनसुनको आधारमा अस्थायी नियुक्ति पाई स्वतः स्थायी भएका ।
  •  खुल्ला, लिखित र मौखिक प्रतिस्पर्धामा सफल भई स्थायी नियुक्ति भएका ।
  •  दबाब, शक्ति, नाता अथवा देखावटी प्रक्रिया पूरा गरी अस्थायी नियुक्ति भएका । यस्तो नियुक्ति प्रक्रियाबाट विद्यालय छिरेका शिक्षकको जमात कस्तो होला भनेर सहजै अनुमान गर्न सकिन्छ । नियुक्ति प्रक्रिया उल्लेख गर्दा मैले योग्यता र दक्षतामा प्रश्न उठाउन खोजेको होइन, केवल शिक्षकहरूको पेशामा आगमन कसरी हुने गरेको छ भन्ने मात्र उल्लेख गर्न खोजेको हुँ । थोरै मानिसहरू मात्र शिक्षण पेशालाई आफ्नो रोजाइको पेशा बनाएर आउन चाहन्छन् । धेरैजसो शिक्षकका लागि ‘शिक्षण’ आफैँमा एउटा पूर्ण पेशा नभएर, अर्को काम नपाउञ्जेलका लागि पर्खिने बिसौनीजस्तो मात्र भएको छ ।

बढी निरुत्साहित गर्ने काम भइरहेको छ । र, त्यो काम शिक्षकको पेशागत हकहितको नाममा खोलिएका संस्थाको नाममा भइरहेको छ । शिक्षक संघ–सङ्गठनहरू राजनीतिक दलका भ्रातृ सङ्गठनको रूपमा रहेका छन्– जसले शैक्षिक प्रशासनलाई स्वच्छ, निष्पक्ष र प्रभावकारी रूपमा काम गर्न नदिई राजनीतिक सोचले ढाकिदिन्छ । र, यस्तो राजनीतिक सोचले शिक्षकलाई पेशाइतर कार्यमा बढी संलग्नगराउँछ । यसले एउटा शिक्षकलाई मात्र नभएर अरू शिक्षकलाई पनि नकारात्मक प्रभाव पार्छ, जसले गर्दा शिक्षण प्रक्रियामा गुणात्मक ह्रास आउँछ । त्यसैले शिक्षालाई सही दिशा दिन र शिक्षकलाई राजनीतिमा लागेको आरोपबाट मुक्त गर्न शिक्षण पेशाको व्यवसायीकरण पहिलो शर्त र प्रस्थान बिन्दु दुवै हो । जबसम्म यो पेशालाई हामीले व्यावसायिक बनाउन सक्दैनौं, तबसम्म हामी विशुद्ध शिक्षक भएर रहन सक्दैनौं । जबसम्म हामी शुद्ध शिक्षक बन्न सक्दैनौं, तबसम्म शिक्षाको स्तर आशातीत उचाइमा पुग्न सक्दैन ।

शिक्षकहरूलाई व्यावसायिक बनाउनका लागि र यो पेशाको मर्यादा पुनस्र्थापित गर्न एउटा प्याकेज नै तयार गरी कार्यको थालनी गर्नु पर्ने देखिन्छ । यसका निमित्त निम्न केही नीतिगत र व्यावहारिक पक्ष कार्यान्वयन गर्नु आवश्यक देखिन्छः

  • शिक्षा विषयमा अध्ययन गरेका प्रथम श्रेणी र सोभन्दा माथिको स्तर प्राप्त गर्ने व्यक्तिहरूलाई स्वतः शिक्षकमा नियुक्ति दिने प्रथा ल्याउनुपर्दछ । यसले प्रतिभाशाली र योग्य व्यक्तिहरूलाई आकर्षण गर्न सक्दछ ।
  • शिक्षक नियुक्तिलाई पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउनुपर्छ ।
  • शिक्षकको बढुवा उसले गरेका सिर्जनात्मक वा रचनात्मक कामको मूल्याङ्कनका आधारमा गरिनुपर्छ ।
  • बढुवा थप तलबको निमित्त मात्र नभई थप जिम्मेवारीको रूपमाग्रहण गर्ने अवस्थाको सिर्जना गर्नु पर्दछ ।
  • शिक्षकहरूको तलब हरेक महिनामा भुक्तानी गर्नु / गराउनु पर्दछ ।
  • पेशाप्रति समर्पित भई रराम्रो वा उल्लेख्य काम गर्ने शिक्षकलाई तत्काल थप प्रोत्साहन दिने परिपाटी बसाल्नुपर्दछ ।
  • कामको आधारमा पुरस्कार र दण्डको नीति कार्यान्वयन गर्नु पर्दछ ।
  • शिक्षकहरूको सङ्गठन पेशागत हकहितको लागि मात्र हुनुपर्दछ ।
  • निरीक्षण प्रणालीलाई नियमित, चुस्त र सहयोगात्मक बनाउनुपर्दछ ।
  • शिक्षकको उमेर र सेवा अवधिलाई ध्यानमा राखी क्षमता वृद्धिको अवसर प्रदान गर्नु पर्दछ ।
  • तालिमलाई सेवाको अनिवार्य शर्त बनाउनुपर्दछ । कुनै पनि शिक्षकले प्रत्येक वर्ष एक हप्तासम्मको पुनर्ताजगी तालिम लिनैपर्ने व्यवस्था मिलाउनुपर्दछ ।
  • विद्यालयको व्यवस्थापकीय पक्षमा समुदायलाई अनिवार्य सहभागी गराउनु पर्दछ र विद्यालयमा भए/ गरेका र शिक्षकहरूका क्रियाकलाप को अनुगमन गर्ने तथा प्रोत्साहन र दण्डको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने अधिकार प्रदान गरिनुपर्दछ ।
  • शिक्षकहरूको कार्यबोझ् साप्ताहिक २९ घण्टीभन्दा बढी गर्नु हुदैन ।
  • विद्यालयमा पुस्तकालय र अध्ययन कक्षको व्यवस्था गर्नु पर्दछ ।
  • विद्यालयले शैक्षिक सामग्रीको व्यवस्था गर्दा सोझै शिक्षकलाई जवाफदेही बनाउने गरी व्यवस्था गर्नु पर्दछ ।
  • विद्यालयमा अभिलेख पुस्तिकाको व्यवस्था गरी शिक्षकहरूले गरेका उल्लेख्य कार्यको दैनिक रूपमा स्वयंले अभिलेखाङ्कन गर्ने परिपाटीको विकास गर्नु पर्दछ ।

गत असारमा शिमला, भारतका विद्यालयको अध्ययन भ्रमणमागइयो । त्यहाँका शिक्षकहरूले आफ्नो विद्यालय क्षेत्रका विद्यार्थीहरूको लगत राख्ने र कुन परिवारको बालबालिका विद्यालय आइरहेको छ/छैन पत्ता लगाई त्यसको निराकरण समेतको कार्यलाई आफ्नो दायित्वभित्र राखेको पाइयो । कुन विद्यार्थी कुन विषयमा कस्तो छ भन्ने पत्ता लगाउने र कमजोर विद्यार्थीलाई छुट्टै समयमा अतिरिक्त सहयोग गर्ने गरेको समेत पाइयो । यसबाट त्यहाँका शिक्षकहरू कति व्यावसायिक छन् भन्ने कुरा स्पष्ट हुन्छ । व्यावसायिकताले मात्र लगावको भावना पैदा हुन्छ जसले आफ्नो दायित्व अकिञ्चन रूपमा निर्वाह गर्न सक्दछ ।

मुलुकको लागि शिक्षा कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा विगतमा थुप्रै आयोग र समितिहरू बने, सिफारिसका ठेली प्रस्तुत भए, पाठ्यक्रमका ढाँचाहरू बने, विद्यालय र शिक्षकहरू पनि थपिए तर पनि मुलुकले खोजेको शिक्षा प्राप्त भएन । अहिले फेरि नयाँ मौका आएको छ । नेपालमा लोकतान्त्रिकगणतन्त्रको स्थापना भएको छ । यो राजनीतिक सङ्क्रमणको घडी सही नीति लिने र सही पद्धति बसाउने उपयुक्त अवसर हो । यही बेलामा शिक्षाको निम्ति सही नीति र पद्धति पहिल्याउन सक्यौं भने मात्र नयाँ नेपालको खाका कोरिन सक्छ । जसरी शिक्षाको विकास नभई नयाँ नेपाल बन्न सक्दैन, त्यसै गरी शिक्षक पेशालाई व्यवसायिक नबनाई शिक्षा उँभो लाग्न सक्दैन ।       

सिटौला, भृकुटी मावि, दुर्गापुर, झपाका प्रधानाध्यापक हुन् ।

commercial commercial commercial commercial