हाम्रो बारे
पूर्व-प्राथमिक देखि कक्षा-१२ सम्म अध्ययनरत नेपालका झण्डै आधा करोड बालबालिकालाई साक्षर, शिक्षित र सुयोग्य नागरिक बनाउने प्रत्यक्ष जिम्मेवारी करीब दुई लाख शिक्षकको काँधमा रहेको छ। आजका शिक्षकले कक्षाकोठा र समाजमा जस्तो चरित्र, मर्यादा र योग्यता प्रदर्शन गर्छन्, भोलिको नेपाली समाजको स्वरुप र देशको शैक्षिक स्तर त्यस्तै हुनेछ। नेपाली समाज सबै दृष्टिले उन्नत, सुसंस्कृत, अनुशासित, मर्यादित, प्रतिष्ठित एवं न्याय र सामञ्जस्यपूर्ण बनोस् भन्ने साझ अभिलाषा साकार पार्न स्कूल–उमेरमा हुर्किरहेका आजका सम्पूर्ण बालबालिकालाई त्यसै अनुरुपको शिक्षा दिनुपर्छ, राम्रो बाटोमा डोर्याउनुपर्छ। यो अत्यन्त गहन जिम्मेवारी हो। तर के शिक्षक एक्लैले यो दायित्व वहन गर्न सम्भव हुन्छ ? के हाम्रा शिक्षकहरू त्यस निम्ति सबै दृष्टिकोणबाट समर्थ छन् ? एउटा शिक्षकलाई तलब र चक-डस्टर दिएर राज्यका निकायले आफ्नो कर्तव्य पूरा गरेको ठान्न मिल्छ ? एउटा शिक्षक र समाज अभिभावकबीचको सम्बन्ध कस्तो हुनुपर्ने हो ? यी र यस्तै प्रश्नहरूले बारम्बार घच्घच्याएपछि ‘समाज र प्रेसले स्कूल, बालबालिका र शिक्षकका गतिविधि माथि निरन्तर चासो राख्नुपर्छ’ भन्ने साझा निष्कर्षमा पुगेका केही शिक्षाप्रेमी र पत्रकारहरूको साझ प्रयत्न हो– शिक्षक मासिकको प्रकाशन। यसमा स्कूल–शिक्षासँग गाँसिएका सबैखाले समस्या र सम्भावनाहरूको खोजी ‘शिक्षक’ लाई केन्द्रबिन्दुमा उभ्याएर गरिनेछ। अर्थात्, यसमा शिक्षासँग सम्बन्धित जुनकुनै विषय पनि समेटिन सक्नेछन्, तर विषयलाई हेर्ने आधारभूत कोण चाहिं शिक्षक वा शिक्षण पेशा हुनेछ।
प्रकाशनको उद्देश्यः
- शिक्षक र समुदायबीच शिक्षा, शिक्षण र शिक्षकका बारेमा संवादको ढोका खोल्न;
- शिक्षकको शैक्षिक, बौद्धिक, मान सिक, पेशागत र सीपगत क्षमता अभिवृद्धिमा सघाउन;
- शिक्षण पेशाको सामाजिक-प्रतिष्ठा पुनस्र्थापित गरी शिक्षकको मनोबल उकास्न तथा ‘शिक्षण आफैंमा एउटा पूर्ण पेशा हो, यसमा रमाउन सिकौं’ भन्ने सन्देश विस्तार गर्न;
- शिक्षक-विद्यार्थी र शिक्षक-अभिभावकबीच सार्थक सम्बन्धका उपायहरू पहिल्याएर समाज मा पस्कन;
- शिक्षकका अप्ठ्यारा र आकाङ्क्षा नीतिनिर्मातासम्म अनि नीतिनिर्माता र सरकारका अपेक्षा शिक्षकसम्म पुर्याउने सन्देश बाहकको भूमिका निर्वाह गर्न;
- शिक्षा र शिक्षणविधिको क्षेत्रमा देश-विदेशमा भइरहेका चाखलाग्दा, ज्ञानवर्द्धक र उपयोगी चिन्तन, क्रियाकलाप र प्रविधिहरू नेपालका शिक्षकहरूसम्म पुर्याउन।
'अरू केही गर्न नसक्नेहरू पढाऊ, पढाउन पनि नसक्नेहरू स्कूल चलाऊ’ को दुष्चक्रबाट नेपालको वर्तमान स्कूल-शिक्षा पद्धतिलाई स्वस्थ र वाञ्छित मार्गमा पुनस्र्थापित गरी अघि बढाउनका निम्ति सही र स्तरीय शिक्षाको पक्षमा ‘केही’ गर्न इच्छुक र उत्साही व्यक्तिहरू, विज्ञ वर्ग; समुदाय र निकायहरूसँग हातेमालो गर्न हामी सदा तत्पर रहनेछौं।