बिच्छी र साधु
एकजना साधु गङ्गा नदीमा स्नान गर्न पसे। उनले पानीमा एउटा बिच्छी डुबेको देखे । बिच्छी जलचर होइन, त्यसैले त्यो प्राण बचाउनका लागि पानीबाट निस्किन खोजिरहेको थियो । साधुले त्यसलाई पानीबाट निकालिदिने विचार गरे र समाते । समात्नासाथ बिच्छीले उनलाई टोक्न खोज्यो । तर उनलाई टोकिनु थिएन । उनले हात झट्कार्दा बिच्छी पानीमै खस्यो।
साधुले फेरि बिच्छीलाई निकाल्न खोजे, बिच्छीले फेरि टोक्न खोज्यो र साधुले हात तान्दा त्यो फेरि पानीमा खस्यो।
एकजना युवक साधुको यो क्रिया नियालेर हेरिरहेका थिए । टोक्न खोज्दाखोज्दै पनि साधुले त्यसलाई निकाल्ने प्रयत्न गरिरहेको देखेर ती युवकले सोधे, “आफूलाई गुन गर्न खोज्नेलाई पनि पटकपटक टोक्न खोज्ने यस तुच्छ जीवलाई किन निकाल्न खोज्नुहुन्छ ? मर्न दिनुहोस् न डुबेर !”
साधुले मुसुक्क हाँसेर जवाफ दिए, “यो विचराले जानेको नै टोक्न मात्र हो । प्रकृतिले यसलाई यति मात्र सीप दिएको छ । तर म त मानिस, मैले त अरू धेरै कुरा जानेको छु । मसित बुद्धि, विवेक, दया, करुणा सबै कुरा यससित भन्दा बढी छ । मैले पनि यही कीराको बैगुनसित होड गर्न थालें भनें म मान्छे भएको के अर्थ भयो र ?”
युवक छक्क परे। यो घटनाले उनको जीवनमा नै परिवर्तन ल्यायो। उनी आफ्नो अहित गर्न खोज्नेहरूलाई समेत “त्यसको बुद्धि त्यति नै रहेछ त म के गरौं भनेर क्षमा गर्न जान्ने भए।
शिक्षाः आफूलाई अरूभन्दा राम्रो र विवेकशील ठान्छौं भने हामीले अरूले भन्दा राम्रो र विवेकशील काम पनि गर्नु पर्छ ।
शिक्षक मासिक, २०६७ असोज अंकमा प्रकाशित।



