कडा हेडसर !
झपा, दमकमा २०४५ सालतिर बजारमा चल्तीका दुई वटा सिनेमा हल थिए- नीलकण्ठ र पाथीभरा । त्यसमा पनि आफू पढ्ने हिमालय माविबाट थोरै नजिकको र विद्यालय चलिरहेकै बेला ‘मध्याह्न अवधि’मा भगौडा बनेर सिनेमा हलमा छिर्न सकिने पायकको चाहिं नीलकण्ठ थियो। सिनेमा हलमा तीन वटा श्रेणी हुन्थे- फस्र्ट, सेकेन्ड र थर्ड।
हलभित्र सिनेमाको पर्दा नजिकै पर्ने थर्डको अग्रपंक्तिमा काठे बेन्च वा फिल्म ‘हाउसफुल’ भएको बेला इँटाको आसन हुन्थ्यो २ रुपैयाँ ७५ पैसा वा बढीमा ३ रुपैयाँ पर्ने तेस्रो श्रेणीको टिकट किन्ने औकात पनि नभएका बेला उपाय एउटै हुन्थ्यो- फिल्मको हाफ टाइमपछि गेट्कीका आँखा छलेर सुटुक्क भित्र छिर्ने र, इँटाको आसनमा सबैभन्दा कुनोमा बस्ने। गेट्कीले फेला पारेमा कहिले कानका जरी समातेर बाहिर निकाल्थ्यो पनि, धेरैजसो भने बचिन्थ्यो नै। यसरी पनि जीवनमा धेरै हिन्दी वा नेपाली फिल्म हेर्ने अवसर मिल्यो। तर, सबैका कथा हाफ-टाइम पछाडिका मात्रै सम्झ्नामा छ। भुवन केसी, मिथुन चक्रवर्ती, पुनम ढिल्लोन वा कृष्टि मैनालीका चेहरा मिसमास भएका अनेक विश्रृंखल झ्लक मानसपटलमा छाइरहन्थे। न पूरा कथा थाहा छ, न फिल्मको नाम !
हो, यहाँनेर हेडसर छविलाल शर्मा सिटौलाको प्रवेश हुन्छ जसको नामै काफी थियो- कडाइ, अनुशासन र हरक्षण चनाखो बन्ने- बनाइरहने एउटा अपारको व्यक्तित्व !
उबेलाका दोस्ताना दिनेश, लाखमान, रामप्रसाद, डिल्लीप्रसाद, तुलसी आदिको संगतमा परेर शुरुका केही दिन बेला कुबेलैमा कक्षाबाट भाग्ने बानी परेको थियो। ११ र १२ बजेतिरै नीलकण्ठ सिनेमा हल छेउ पुगिहाल्ने र, भित्र छिर्न दाउ पर्खिबस्ने। तर, त्यसरी सधैं साध्य भएन। केही पटक हाम्रो भगौडा बानीको सुराकी पाएर हेडसर छविलालले तथानाम गाली सहित घोर बेइज्जती गराइसक्नुभएको थियो। परिणामतः अहिलेको भाषामा स्कूल ‘बङ्क’ गर्न मुश्किल पर्दै गयो। अनि उपाय निस्कियो- स्कूलको हाफ टाइममा १ बजेपछि ‘बङ्क’ गर्ने ताकि नीलकण्ठ हलमा पनि सिनेमाको हाफ-टाइम भएको होस्।
थप उपाय पनि निस्कियो- कक्षाकोठामा आफू बस्ने डेस्कमै आफ्नो स्कूले झेलामाथि कापी-किताब पनि पल्टाएरै राख्ने। केही दिन यसरी पनि टर्यो, चल्यो। तर, दिनदशाको दिनगन्ती त्यहींबाट शुरु भयो जहाँ मेरो रंगीचंगी कपडाको झोला जो-कोहीले चिन्न थालेका थिए। पाठपूजामा गइरहने पण्डित बुबाको छोरो म। बुबाले जजमानकहाँबाट ल्याएका साना-साना टालाको ‘कलरफुल’ झोला सिइएको थियो मेरो लागि। झोला हेरेर परैबाट थाहा हुन्थ्यो- ‘पण्डितको कान्छो छोरा आयो है’ भनेर।
यसरी झोला छाडेर भगौडा बनेकै बेला फेरि हेडसर छविलालको प्रवेश भयो, मेरो जीवनमा। नीलकण्ठ हलबाट फिल्म सकेर चोर बाटोबाट विद्यालय फर्कदै गर्दा हलको मुखैमा सानो हिरो साइकलमा हेडसर भेटिए। “ठीक छ कान्छा, यो फिलिमले के सिकायो त ?”, हेडसरको तिखो आवाजले मन-मुटु छेडे झैं भयो, सारा शरीर पानीपानी ! यति भन्दा अरू सहपाठी, सहयात्रु कहाँकहाँ लुकिसकेका थिए, आसपासमा कोही थिएनन्। “पख मात्रै, तिमीहरूलाई बाँधेर घाँस हाल्छु”, यति भनेर हेडसर दमक बीच बजारको निवासतिर लागिहाले।
धेरैपछि मात्रै सरको गालीको भाषा बुझियो- बाँधेर घाँस हाल्ने भनेको गाईवस्तु सरह हो, अर्थात् हामी पशु रहेछौं। अर्थ पहिल्याउँदा झनै नमिठो लाग्ने कटु वचन ! हैट्, पशु जिन्दगी !!
भोलिपल्ट बिहान ९ः३० मा विद्यालय पुग्नासाथै लाइनमा बस्नैपर्यो, ‘हटी होइन डटी लड्ने’ गानदेखि लेफ्ट-राइट दैनिकीका लागि। त्यो नित्य कर्म सकिनासाथ हेडसरको आँखा छल्दै कक्षामा छिरौंला भन्ने यत्नमा म थिएँ, तर पार लागेन।
“कान्छा, तँ यहाँ लाइनमा अगाडि आइज। हिजो सिनेमाघरमा अरू को-को थिए, सबैलाई लिएर झट्टै अगाडि आइहाल्”, हेडसर छविलालको तिखो आवाज म समेत सबै विद्यार्थीले सुने। ओहो, दिनदशाको अर्को कुइनेटो !
अनि मैले पनि हिजो मसँगै गएका र मलाई उक्साएर लैजाने काजी, डिल्ले, रामे, लाखमान सबैलाई बोलाउनै पर्यो। अनि हेडसरले अर्ति दिन थालिहाले, कडा मिजासमा, सधैं झैं।
“हेर त, यसका साल्दाइ-ठुल्दाइहरू कत्राकत्रा पढलेखेका छन्। यो भने नीलकण्ठ को गेट्की होला जस्तो छ”, हेडसरले लामै प्रवचन दिंदै गए, हामी ५/७ जना सिनेमा प्रेमी भने नून खाएको कुखुरा झैं लोलाएर पाँच सयभन्दा बढी विद्यार्थीको लाइन अगाडि उभिएका छौं। अनि, अन्तिममा- निचोडमा हेडसरले भन्न भ्याए- “तिमेरु घाँस खानका दुःखले मान्छे भएर जन्मेका हौ !”
अनि, त्यो गाली-बेइज्जती र तथानामपछि मात्रै कक्षाकोठामा पुग्यौं। कक्षामा छिरेपछि नेपाली कक्षाका गुरु नारायण फुयाँलले पो अर्थ लगाइदिनुभयो, हेडसरले फेरि पनि हामीलाई पशुसरह भनेका रहेछन्- घाँस खानका दुःखले मान्छे भएर जन्मेको भन्दै !
यसरी विद्यालय जीवनमा हेडसर छविलालसँगका अनेकौं अनेक सम्झ्ना छन्। पछि हाईस्कूलमा पुगिकन पनि एकदिन हेडसर अचानक छड्के कक्षामा आउनुभयो, अनि अघिल्लो बेन्चमा आएर मेरै छेउमा आएर उभिनुभयो।
“रामप्रसाद इट्स मेङ्गो !”(Ram Prasad eats mango.)। यो वाक्यमा सब्जेक्ट(अब्जेक्ट(भर्व (Subject-object-verb) कुन (कुन हो) कसले भन्छ ? ‘लु कान्छो भन त ?’ कक्षा-१० मा सेन्टअप परीक्षा र एसएलसीको तयारीमा सघाउ पुग्ने गरी स्कूलले कोचिङ कक्षा चलाएको थियो, बर्खे छुट्टीमा समेत। बिहानभर रतुवा खोला आडैको चारमाने कुमालको भासखेती जोतेर दिउँसोको स्कूले कोचिङ क्लासमा पुगेको कान्छाका सामुमा उनै हेडसर ! मरन्च्यासे ज्यान भए पनि हेडसरको स्वर तिखो थियो, ‘अदव’ गजबको थियो। फेरि हेडसर आफ्नो पावरयुक्त चश्माबाट आँखा उचाल्दै सोधिरहेका हुन्थे- “खोइ त एन्सर कान्छा ? जवाफ खोइ ?”
यो कान्छाले सब्जेक्ट–अब्जेक्ट–भर्व छुट्याउन सके त, मरिजानु !
हातमा चक-डस्टर लिएर सामुमा उभिएका हेडसरको प्रश्नवाचक नजरसँगै कान्छाको सातो माथि रतुवा-चाँजुको मुहानतिर पुगे जस्तो हुन्थ्यो। बिहानभरि हलो जोतेर ठेला उठेका हातभरि पसिना पलाउँथ्यो, ज्यानभर माघे ठिहीमा जस्तै काँडा पलाउँथ्यो। हेडसरको प्रश्नको जवाफ भने कहींकतै अड्किरहेको हुन्थ्यो, घँटेसी लागे झैं।
“पख्लास्, तेरो पढाइको यो कन्तबिजोग हालतका बारे साल्दाइलाई भन्दिन्छु। अनि थाहा पाउलास्।” यसरी हेडसर र साल्दाइ यो जीवनमा सबैभन्दा ‘त्राहिमाम्–नाम’ बनेका थिए। उसबेला हेडसर छविलाल शर्मा सिटौला (बीए, बीएड) र साल्दाइ गोविन्दराज भट्टराई (एमए, एमएड) भनेपछि जीवनमा पुग्नुपर्ने अन्तिम देउरालीझैं थिए। सफलता र उचाइमा कहिल्यै पुग्न नसकिने थोराङपास झैं थिए। झन्डै ३० वर्षपछि उनै हेडसर अर्थात् छविलाल शर्मा सिटौला झपाको दमक बजारमा भेटिए।
चोक बजारबाट स्कूलडाँडाको हिमालय मावि धाइन्जेलको झन्डै दुई किलोमिटर दूरीमा हेडसरको फित्कौली ज्यानलाई बोकेर कुदिरहने त्यो हिरो साइकल अझै साथैमा रहेछ। उमेरका कारण गलेको चेहरा भए पनि हेडसर छविलाल उनै थिए, अदवयुक्त बोलीबाट झनै थाहा हुन्थ्यो- हेडसर उनै हुन्। होइन, तँ त खाडी देशतिर छस् होइन कान्छा ?
‘सर, म खाडीको कतारबाट फिरेर अहिले भारतको दिल्लीमा छु।’
‘कस्तो दुःखिया ठाउँ रोजिस् हओ... खाडी पनि, भारत पनि । कामै गर्ने हो भने अमेरिका, युरोप जानु नि !’
म ङिच्च हाँसे मात्रै, झट्ट कुनै जवाफ थिएन मसँग।

शिक्षा, चेतना र अग्रगामी सोचको खडेरीयुक्त युगमा तेह्रथुुमको मूलपानीमा जन्मे–हुर्केका छविलाल भने अरू साथीसंगी जस्तो सनातनी रहेनछन्। अरूभन्दा केही फरक गरौं, भिन्न बनौं भन्ने सोचाइ उनमा हुर्किएको रहेछ। यही कारण प्राथमिक तहको शिक्षा स्थानीय सङ्क्रान्ति बजारको त्रिभुवन स्कूलमा पूरा गर्नासाथै पढाइ-गुनाइका लागि उनले घरबाहिर निस्कन चाहेछन्। यो सुरमा ६ कक्षादेखिको पढाइ अघि बढाउन लहडी बनेर दार्जीलिङ के पुगेका थिए, यता गाउँमा हल्ला फैलिएछ- सिटौलाको छोराले जातधर्म छाड्यो, गाईको मासु खान थाल्यो भनेर। त्यही हल्लाका कारण दार्जीलिङमा पढ्न गएको छोराका लागि पैसा नपठाइने भएछन् घरबाट। तेह्रथुममा रहेका खर्साङतिरका एक भण्डारी शिक्षकले ‘दार्जीलिङ गएर पढेमा अंग्रेजी राम्रो हुन्छ’ भनेर सुझएका कारण छविलाल भागेर उता पुगेका थिए। तर कुनै उपाय लागेन, ६ कक्षाको अर्धवार्षिक दिएर उनी तेह्रथुम फिरेछन्। यो २०१० सालको कुरा थियो। पढाइको तिर्सना मरेको थिएन । फेरि घरमा बाबुआमासँग कुरा मिलाएर छविलाल काठमाडौं पुगेछन्- नन्दीरात्रि स्कूलमा। त्यो स्कूलको स्तर निर्धारण परीक्षामा अब्बल छानिएपछि उनलाई एकैचोटि १० कक्षामा भर्ना गरिएछ, ९ र १० कक्षाको परीक्षा एकैपटक दिन पाउने गरी। यसरी नसोचेको उपायबाट उनले एसएलसी गरे।
नेपालमा उच्च शिक्षा शुरू नहुँदै छविलाल पढाइ–गुनाइको तिर्खा बोकेर कुदिरहेका थिए। यही कारण क्याम्पस पढ्न सस्तो, सुलभ र संगत पनि मिल्ने थलो बनारस पुगेछन् उनी। स्थानीय हरिश्चन्द्र कलेजका छात्र बन्दै कतुवापुरा, पुचुवा गल्ली (नेता कृष्णप्रसाद भट्टराई बस्ने घर) मा डेरा लिएका रहेछन् । त्यो बेला बालकृष्ण रुपावासी (पोखरेल), तारानाथ शर्माहरू पनि उतै थिए।
बनारसबाट कलेज सकेर फिर्दा त्रिचन्द्र क्याम्पसमा बीए अनर्स कक्षा शुरु भइसकेको थियो। यदुनाथ खनाल, सूर्यबहादुर शाक्य जस्ता खरा शिक्षकसँग पढ्न पाइने भएपछि छविलाल त्रिचन्द्रका कक्षामा उपस्थित भए। यसरी कुनै गाइडलाइन विना हिंड्दाहिंड्दै छविलाल आजको स्थानमा आइपुगेका रहेछन्। “बस चढ्ने स्टेसन कता छ भन्ने थाहा नपाएर कोसौं हिंडेर जुत्ता फटाए जस्तै भो जिन्दगी” छविलालले भने, “निकै लाटो पाराले कुदाकुद गरेरै जीवन बित्यो भन्दा पनि फरक नपर्ने।”
२०२० सालमा बीए अनर्स भएर तेह्रथुमको गाउँ फिर्नासाथै स्थानीय त्रिभुवन स्कूलमा मास्टर बने छविलाल। एकातर्फ छोरो छविलाल हुर्किसकेको थियो भने अर्कातिर बाबु जनार्दनले छोरालाई घर छाड्नै नदिने चर्को थिति कायमै थियो । फेरि उसबेला गाउँमा अ.त.(अराष्ट्रिय तत्व) भनेर बाबु जनार्दन चिनिएका थिए, यसकारण स्वभावमा ती अलिक खरा थिए।
“मैले एसएलसी गरेको साल बाँसबारी छालाजुत्तामा काम गर्न पाउने गरी चिनियाँ कोटाको ट्रेनिङमा मेरो नाम निस्किएको थियो। तर, मलाई घरबाट जानै दिएनन्। ‘बाहुनको छोराले छालाको काम गर्ने’ भनेर थर्काउने काम मात्रै भयो” छविलालले सम्झ्एि, “त्यसमा रंगनाथका छोराले अवसर पाए, पछि उनी महाप्रबन्धक (जीएम) तहसम्म पुगे र राम्रैसँग बाँसबारी छालाजुत्ता चलाए पनि।” बाल्यकालमै बिहा एउटा गरिसकेका छविलालले एसएलसीपछि २०१२ सालमा अर्को बिहा पनि गरेका थिए। तर बिहाबारी, घरपरिवारको रसरंगभन्दा घरबाहिर गएर शैक्षिक र प्राज्ञिक केही काम गर्न पाए हुन्थ्यो भन्ने मनोकांक्षा उनमा सदैव रह्यो। उनी तेह्रथुमको स्कूलमा पढाइरहेकै बेला एक दिन झपाको दमकबाट कोही चिनारु आइपुगेछन्। त्यतिबेला भर्खरै (२०२३ साल असोज १६ गते) दर्ता भएको एउटा निम्नमाध्यमिक विद्यालयका लागि बीए पढेकोे अंग्रेजी समेत पढाउने हेडसर खोज्दै ती चिनारु आएका रहेछन् । त्यो ‘अफर’लाई एउटा अवसर ठान्दै छविलाल तेह्रथुमको चिसोबाट झापाको तातोतिर झ्रेछन्, घरमा बाबुलाई समेत पत्तो नदिई। ‘झापाको सलकपुरमा रहेको धानखेती हेर्छुु भनेर भगौडा बनेका छविलाल दमक आएर २०२३ साल पुस २६ देखि हेडमास्टर बनेका रहेछन्, स्थानीय हिमालय विद्यालयमा।
छविलालले तेह्रथुममा पढाउँदा उनको तलब मासिक १२५ रुपैयाँ थियो, हेडसर बनेर मधेश झरेपछि ३५० रुपैयाँ बनेको रहेछ। तलब त्यो बेलाको गाउँ पञ्चायतले दिन्थ्यो। खान-बस्नको खासै समस्या थिएन । हेडसर भनेपछि मानमनितो थियो नै।
दमकबाट धरान जान पनि सातुसामल बोकेर बाटो नाप्नुपथ्र्यो। एक्लै हिंड्न कठिन थियोे, बाटामा बाघ, भालुले मान्छे खाएको खबर सुनिरहनुपथ्र्यो । दमक गाउँ एउटा जंगल जस्तै रहेछ। “अहिलेको हाईस्कूल (हिमावि) भास-दलदलले भरिएको खोंचमा थियो । त्यहाँ साँझ परेपछि ख्याक्रीले मान्छे खान्थ्यो भन्ने सुनिन्थ्यो। एकपटक सोडारी थरको पियन आफैं झारफुक पनि गथ्र्यो तर, उसैलाई खोंचमा केही चिजले तर्साएर उसको ज्यान ठाउँको ठाउँ गएको थियो”, छविलाल सर आँखा चम्काउँदै भन्छन्।
२०२३ सालमा हिमालय स्कूलमा ७५ जना विद्यार्थी थिए- कक्षा-१ देखि ८ सम्म गरेर। आज (२०८० तिर) कक्षा–१ देखि १२ सम्म गरेर झ्न्डै ४ हजार विद्यार्थी छन्। हेडसर छविलालकै पालामा सयौं र हजारौं विद्यार्थीले यहाँबाट एसएलसी गरेका छन्। मुलुकका उच्च ओहोदादेखि देश–विदेशमा यत्रतत्र छरिएका छन् हेडसरका चेलाचेली। उनी लगातार ३१ वर्ष ८ महीना ११ दिन हेडसर बनेका रहेछन् यस विद्यालयमा। एउटा विशाल नदी तार्ने माझी झैं हेडसर छविलालले धेरैका निम्ति डुङ्गा खियाउने काम गरेका छन्। “शिक्षकको काम भनेकै माझीको जस्तै हो, वारपार गराउने। अब एउटा माझ्ीले म नदी छाडेर बाहिर जान पाइनँ भनेर रुँदा केही हुन्छ र ? उसको काम नदीमा बसेर यात्रु कुर्नु हो। म यही विश्वासमा अडिग छु” हेडसरले भने- “परिस्थितिले परिवर्तन ल्याउने रहेछ, आफसेआफ भावनात्मक परिवर्तन हुँदोरहेछ। २०२३ र २०८० सालमा आकाश–जमिनको अन्तर छ।”
अ.त.को खरो जमाना हुँदै हेडसर छविलाल आज गणतान्त्रिक नेपालको युगमा आइसकेका छन्। तर, शैक्षिक गुणस्तर र पठनपाठनको मनपर्दी हेर्दा भने हाम्रो समय अधोगतिमा गइरहेको हो कि भन्ने उनलाई लाग्छ। “अब कक्षामा टेस्ट लिन नपाइने रे ! मास्टरले पठनपाठन पनि नगर्ने अनि विद्यार्थीको टेस्ट लिएमा कारबाही गर्ने रे ! कस्तो जमाना आयो ? अब शिक्षकले पनि स्कूलै नगई हाजिरी मात्रै जनाए भइहाल्यो नि !” दमक बजारस्थित आफ्नो निवासमा भेटिएका हेडसर बुढ्यौलीको आवेगमा समेत देखिन्थे।
हेडसर आफूले ६० वर्षअघि पढेको ‘साइन्सस्ः क्रिएटर अर डेस्ट्रोेयर’ भन्ने पाठ सम्झ्रिहेका छन् यतिखेर। ओहो ! आज कहाँबाट कहाँ आइयो भन्ने लाग्छ उनलाई। भूतले तर्साएर स्कूलको एउटा पियन मरेको जमानादेखि ‘क्लोनिङ’ बच्चा जन्मने समयसम्म ! मधुमल्लाबाट पठाएको चिठी तेह्रथुम पुग्न एक वर्ष लागेको त्यो क्षणदेखि आज इमेल-फेसबुक-ट्वीटरको मिलिक्क समयसम्म ! जीवनमा कोरा परिकल्पनाले मात्रै पनि नहुँदो रहेछ। जे हुनु छ, त्यो भएरै छाड्ने रहेछ- हेडसर भन्छन्।
हेडसर छँदै एकपटक छविलाल (२०५० सालतिर) छोपुवा बिमारले झ्न्डै खुस्केका थिए। घन्टौंको बेहोसीपछि काठमाडौं लगेर उपचार गर्नाले दैवी चमत्कार झैं उनी फिरेका थिए। त्यो बिमारबाट उठेपछि भने सबै रोग काटे जस्तै भयो । त्यसपछि उनको पुरानो हिरो साइकलले फेरि उसैगरी पाइडल मार्न थालिहाल्यो। “अबको मेरो जीवन सेवामै बित्छ, यो काया रहुन्जेल र ज्यानले धानुन्जेल यो समाजमा सेवक बनिरहनुपर्छ, मेरो सिद्धान्त यति हो” बेलाबेला दार्शनिक झैं बन्ने हेडसर मनका गुम्फन पोखिरहेका थिए– “यो नश्वर चोला आउँदा पनि नाङ्गै, जाँदा पनि नाङ्गै। जीवन र मृत्युबीचको वातावरणले मान्छेलाई बिगार्ने वा सपार्ने रहेछ। धन्य भगवान्, म बिग्रने वातावरणमा पुगिनँ भन्ने लाग्छ।”
उमेरमा ९२ टेकेका हेडसर छविलालका छोराछोरी काठमाडौं वा अरूतिरै छन्। बिहानदेखि बेलुकासम्म साइकलमा स्कूल, गाउँ, बजार चहारेरै उनको दिन बित्छ। उनलाई योभन्दा ठूलो संसार चाहिएको पनि छैन। हेडसरलाई लाग्छ- “संसार त सोचाइमा बनाउने हो। मैले दमक, झपा बाहेक अर्को संसार देखिनँ। काठमाडौंलाई अर्को ठूलो संसार मैले कहिल्यै मानिनँ।’
शिक्षक मासिक, २०८२ पुस अंकमा प्रकाशित ।



