फोहोरमैला व्यवस्थापनमा ‘अशेष’को अवधारणा
के हुन सक्ला त शहरी फोहोरमैलाको उचित समाधान ? यो प्रश्नको उत्तर खोज्नका लागि नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र काठमाडौं महानगरका प्रमुख बालेन शाहले भारतको मध्यप्रदेश राज्यमा पर्ने इन्दोर शहरको अवलोकन भ्रमण गरेका रहेछन्। भ्रमणबाट फर्केपछि उनीहरूले इन्दोर शहरको सरसफाइ र स्वच्छताको सफलताका बारेमा धेरै ठाउँमा भाषण पनि गरेका थिए।
त्यसो भए; इन्दोर शहरको सरसफाइको सफलताको सूत्र के हो त ? फोहोरमैला व्यवस्थापनमा इन्दोर शहरले कसरी सफलता हासिल गर्यो ? यही विषय अध्ययन गर्न ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी)का तर्फबाट हामीहरू पनि इन्दोरको भ्रमणमा गएका थियौं । आरएसडिसीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि महिलाहरूलाई अघि सारेर प्लाष्टिकको पुनःप्रयोग तथा पुनःप्रशोधन सम्बन्धी ‘वुमेनप्रेन्यूअर्सफोरप्लाष्टिक’ (Womenpreneurs4Plastic) नामक परियोजना सञ्चालन गरेको छ । सोही परियोजना अन्तर्गत स्थानीय समुदाय, जनप्रतिनिधि र सरकारका प्रतिनिधिहरू सहितको हाम्रो टोली इन्दोर शहरको फोहोरमैला व्यवस्थापन बारे जान्न–बुझनका लागि गएको थियो। सोही अध्ययन भ्रमणका अवसरमा प्राप्त जानकारी र अनुभव संक्षेपमा यहाँ प्रस्तुत गरिंदैछ।

कुहिने र नकुहिने फोहोर राख्नको लागि कन्टेनरमा छुट्याइएका खोपा ।
‘जहाँ समस्या छ, समाधान पनि त्यहींबाट निस्कन्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्ने हो भने कुनै पनि चुनौतीको निकास फेला पार्न सकिने रहेछ। इन्दोरको अध्ययन भ्रमण गरेपछि यो कथनप्रति थप विश्वास बढेको छ। यसका लागि अठोट र दृढ इच्छाशक्ति भने हुनुपर्छ। इन्दोर शहर एउटा नमूना नै रहेछ। ‘स्वच्छ शहर’का रूपमा इन्दोर सन् २०१७ देखि लगातार सात पटक भारत सरकारबाट पुरस्कृत हुन सफल भएको छ।
सशुल्क भ्रमण
हामी जस्ता बाहिरबाट अध्ययन-अवलोकनमा जानेहरूले इन्दोर नगरनिगमलाई शुल्क तिर्नुपर्छ। शुल्क तिरेपछि मात्रै निगमका पदाधिकारीहरूले त्यहाँ फोहोर व्यवस्थापन कसरी हुन्छ भनेर सैद्धान्तिक तथा व्यावहारिक ढंगले देखाउने गर्दछन्। इन्दोर नगरनिगमले सन् २०१५ बाट फोहोरमैला व्यवस्थापनको लागि ठोस नीति तथा कानून बनाएर काम आरम्भ गरेको रहेछ। प्रारम्भमा दुई वटा वडाबाट थालनी गरेर त्यसको अनुभवका आधारमा दोस्रो चरणमा अरू १० वटा वडा र त्यसपछि पूरै नगरमा कार्यक्रम विस्तार गरिएको थियो। तर अहिले इन्दोर शहरसँगै जोडिएका ग्राम पञ्चायतमा पनि सरसफाइको सोही मोडेलको अभ्यास भइरहेको छ।
इन्दोरको फोहोरमैला व्यवस्थापनमा नगरनिगम अर्थात् यहाँको स्थानीय सरकारले अगुवाइ गरेको छ। त्यसमा, निगमलाई समुदाय, अन्य सरकारी निकाय र सामाजिक संस्थाहरूको साथ मिलेको छ। निगमले समुदाय परिचालन गर्ने जिम्मा चाहिं गैरसरकारी संस्थाहरूलाई दिएको छ। गैरसरकारी संस्थाहरू हरेक बस्तीमा पुगेर समुदायलाई भिन्न-भिन्न कार्यक्रम मार्फत सचेतीकरण गर्दछन्। यसरी सरकार, नागरिक समाज, सामाजिक संस्था, व्यापारी, व्यवसायी तथा स्थानीय समुदायको एकीकृत प्रयासमा इन्दोर शहरको सरसफाइ अभियान थालनी भएको र सफलताको शिखरमा पुगेको रहेछ । परिणामतः आज इन्दोर सरसफाइ र स्वच्छताको पाठ सिक्नका लागि दक्षिणएशियाकै नमूना शहर बनेको छ।

इन्दोरको फोहोर–व्यवस्थापन प्रक्रिया बुझन गएको नेपाली टोली।
हाम्रो भ्रमण टोलीले फोहोरमैला व्यवस्थापनलाई अझ् नजिकबाट बुझन घर-घरबाट फोहोर सङ्कलन कसरी हुने रहेछ भनेर नजिकबाट अवलोकन गरेको थियो। घर-घरबाट फोहोर सङ्कलन गर्न नगरनिगमका ६ वटा अलग-अलग कोठा भएको सानो ट्रक जस्तो गाडी ‘हल्ला बोल’ भन्ने गीत घन्काउँदै टोल-टोलमा जाने रहेछ। कुन टोलमा कतिवेला सो गाडी पुग्छ भन्ने समय पूर्वनिर्धारित नै हुने रहेछ। त्यसैले सबै घरवाला र बहालमा बस्ने मानिसहरू फोहोरको गाडी आउने समयप्रति सचेत हुन्छन्। मानिसहरूले घर-घरमै अलग-अलग डस्टबिनमा फोहोरलाई छुट्याएका हुन्छन् र छुट्याएको फोहोर सो संकलन गर्ने गाडीका ६ वटा कोठामा अलग-अलग गरेर राखिदिन्छन्। फोहोरलाई कुहिने, नकुहिने (खतराजन्य, प्लास्टिक, धातु, प्याड, आदि) गरेर छुट्टाछुट्टै राखिने रहेछ।
सफाइ अधिकारीहरूका अनुसार करीब ३० लाख जनसंख्या भएको इन्दोर शहरमा फोहोर संकलन र ढुवानीका लागि गुड्ने गाडीको संख्या १६०० भन्दा माथि छ। तीमध्ये ७५० वटा अलग कोठा भएका गाडी दैनिक बस्ती-बस्तीमा जान्छन्। खतराजन्य फोहोरको लागि भने अलग्गै साधन र अलग तालिका तोकिएको हुने रहेछ। त्यस्तै, शहरमा भएका बगैंचा, पार्क, उद्यानहरूमा पैदा हुने जैविक फोहोर संकलन गरेर त्यहीं नै जैविक मल बनाउने गरिंदो रहेछ।
फोहोर सङ्कलन गर्दै हिंड्ने साधनहरूको लागि बाटो खुल्ला हुनुपर्ने नगरनिगमको नियम रहेछ। ती साधनको गति र समय पनि तोकिएको हुने रहेछ। सो अनुसार साधन चले/नचलेको निगरानी नगरनिगमबाट जीपीएस मार्फत ट्रयाकिङ गरिएको हुन्छ। कुनै स्थानमा समयको पालना नभएमा तत्काल फोन गरी स्पष्टीकरण मागिने रहेछ। त्यस्तै, इन्दोरका सबै घरधुरीको विवरण पनि जीपीएसमा राखिएको छ र सूचना तथा प्रविधिको ठूलो टीमले अनुगमन गरिरहेको हुन्छ। कुनै घरधुरीले दुई या तीन दिनसम्म निरन्तर गाडीमा फोहोर फाल्न नल्याएमा निगमबाट खोजबिन हुने रहेछ। फोहोर दिन नआएका परिवारलाई सम्बन्धित कर्मचारीले ढोका ढकढक्याइ ‘फोहोर किन नल्याएको र फोहोर कहाँ/कसरी व्यवस्थापन गर्दैछौ ?’ भनी जवाफ माग्ने रहेछन्। अनि कसैको घर नजिकमा वा सडकमा फोहोर देख्यो र त्यसलाई फोटो खिचेर नगरनिगमलाई पठाइदियो भने तत्कालै खोजबिन हुनेरहेछ । त्यसरी तस्वीर पठाउनेलाई पुरस्कृत र जथाभावी फोहोर राख्ने व्यक्तिलाई जरिवाना सहितको कारबाही हुनेरहेछ।

शून्य फोहोर (अशेष) को अवस्थामा पुगेको इन्दोरको एउटा वडा ।
यहाँ फोहोरमैला व्यवस्थापनमा संलग्न कर्मचारीलाई शुरुमा आधारभूत तालिम दिएर मात्र काममा खटाइने रहेछ, जसले गर्दा उनीहरू समुदायमा बोलचाल कसरी गर्ने घर-परिवारसँग कसरी व्यवहार गर्ने र आफ्नो स्वास्थ्यमा कसरी ध्यान पु¥याउने भनेर सचेत भएको पाइयो। सरसफाइमा खटाइएका अधिकांश कर्मचारी पहिले बाटो वा फोहोरको डंगुरबाट प्लाष्टिक, धातु आदि बिक्रीयोग्य वस्तु टिपिहिंड्ने समुदाय÷परिवारका सदस्यहरू रहेछन्। यी कर्मचारीलाई विगतमा आफैंले त्यस्तो कार्य गर्दा धेरै चुनौती थियो। आम्दानीको टुङ्गो थिएन। सुरक्षित रोजगार थिएन, समुदायमा उनीहरूप्रति उपेक्षा र अनादर भाव थियो। अहिले नगरनिगमले नै उनीहरूलाई स्थायी रोजगारी दिएको छ। यसो हुँदा उनीहरूको जीवन बढी सुरक्षित र सम्मानित पनि भएको छ। यसरी फोहोर व्यवस्थापनमा सीमान्तकृत समुदायको जीविकोपार्जन पनि प्रत्यक्ष रूपमा जोडिन पुगेको देखिन्छ।
इन्दोर शहरमा सङ्कलन भएको सबै फोहोर सर्वप्रथम नजिक पर्ने ट्रान्सफर स्टेसनहरूमा लगिंदो रहेछ। शहरमा दैनिक १५० देखि २०० मेट्रिक टनसम्म फोहोर धान्ने क्षमता भएका १० वटा ट्रान्सफर स्टेसन रहेछन्। भिन्न-भिन्न स्थानमा रहेका ट्रान्सफर स्टेसनहरूमा गाडीले ल्याएको फोहोर बेग्ला-बेग्लै खन्याइने रहेछ। त्यहाँबाट कुहिने, प्लास्टिकजन्य, धातुजन्य, विद्युतीय, सिसा लगायत विभिन्न वर्गका फोहोरहरू अलग-अलग विभाजन गरेर पुनःप्रयोग हुने स्थानतिर लगिने रहेछ।
नगरपालिकाका कुनै वडाले अलग्गै ट्रान्सफर स्टेसन बनाएर फोहोरमैला व्यवस्थापन गर्न चाहेमा त्यसो गर्न पनि पाउने रहेछ। इन्दोरका कतिपय वडाले नगरनिगमले तोकेका शर्त र प्रक्रिया पूरा गरेर आफ्नै वडामा फोहोरमैलाको व्यवस्थापन गरी ‘शून्य फोहोर वडा’ बनी ‘नमूना वडा’को मान्यता समेत पाइसकेका रहेछन्। विगतका वर्षहरूमा इन्दोर शहरको फोहोर लगेर थुपारिएको स्थान (ल्याण्डफिल)मा १५ लाख टन बराबरको फोहोरको पहाड बनेको थियो। अहिले त्यो ठाउँमा मनोहर उद्यान, घुमफिर गर्ने पार्क बनाइएको छ। त्यससँगै कुहिने फोहोर गलाएर ग्याँस उत्पादन गर्ने प्लान्ट सञ्चालनमा छ। साथै, कुहिने फोहोरलाई सकेसम्म ‘होम कम्पोष्टिङ’ गरी घरमा नै सदुपयोग गर्न नगरनिगमले अहिले पनि प्रोत्साहित गर्ने गर्दछ। कुहिने फोहोरलाई ‘होम कम्पोष्टिङ’ गर्ने नागरिकलाई नगरपालिकाले विशेष सम्मानसहित पुरस्कृत गरेर हौसला दिने रहेछ।

प्रथम चरणको प्रशोधन ।
घर, समुदाय तथा संस्थाहरूबाट निस्कने दिसाजन्य लेदो, बाथरुम तथा किचन आदिको तरल फोहोर अर्थात् ढललाई पनि उपचार या प्रशोधन गर्ने संयन्त्रमा पुर्याई निश्चित मापदण्ड पूरा भएपछिको पानीलाई मात्र खोलामा छोडिने रहेछ। प्लास्टिक, धातु, सिसा, जुत्ता–चप्पल लगायत पुनःप्रशोधन योग्य फोहोरहरू सम्बन्धित पुनःप्रशोधन गर्ने व्यक्ति वा संस्थालाई बिक्री गरिने रहेछ । यसरी गरिने बिक्रीबाट नगरनिगमले वार्षिक भारु २५-२६ करोड आम्दानी गर्ने रहेछ। ढलको उपचार गर्ने क्रममा निस्कने लेदोलाई भने थप प्रक्रियामा लगेर जैविक मल बनाउन प्रयोग गरिने रहेछ। त्यहाँ दैनिक ५५-५६ टन
जैविक मल उत्पादन भइरहेको देखियो।
डम्पिङ साइटसम्म फोहोर पुर्याउनै नपर्ने गरी शहरी फोहोरको व्यवस्थापन भएको कुरा सुन्दा हामीमध्ये धेरैलाई अविश्वसनीय लाग्न सक्छ। तर इन्दोरमा यस्तो कार्य सम्भव र सफल भएको छ। शहर/बस्तीको बीचमा फोहोरमैला सङ्कलन गर्दा, ट्रान्सफर स्टेसनमा राख्दा, त्यहाँबाट पठाउँदा र पुनःप्रशोधन मार्फत पुनःप्रयोगमा ल्याउँदा समेत कहीं कतै दुर्गन्ध आएको थाहा हुँदैन। इन्दोर शहरदेखि करीब ३० किमी दूरीमा पर्ने काली बिल्लोद ग्राम पञ्चायतले समेत फोहोरमैला गर्न इन्दोरकै मोडल पछ्याएको पाइयो।
इन्दोर शहरको सफल–सफाइ अभियानको मूल मर्म ‘शून्य–फोहोर’ (Zero Waste) को मन्त्रमा लुकेको देखिन्छ। यहाँको नगरपालिकाले आफ्नो अभियानको नाम नै ‘अशेष–इन्दोर’ राखेको छ। यहाँ ‘अशेष’ को आशय- ‘त्यस्तो अवस्था जहाँ फोहोरको कुनै पनि अंश (अवशेष) बाँकी रहँदैन’ भन्ने हुन्छ। त्यसैले, उनीहरूको नारा छ- “कचरा अब कचरा नहीं, अशेष है !” त्यस्तै अर्को नारा छ- “हमारा संकल्प: कचरा मुक्त, अशेष इन्दोर” ।
हुन पनि जब फोहोरमैलाको पूर्ण प्रशोधन, पुनप्र्रशोधन तथा उपयोग हुन थाल्छ, त्यतिवेला फोहोर भन्ने कुनै वस्तु नै शेष रहँदैन, अर्थात् सबै खपत भएर अशेष (शून्य) हुन्छ। यस्तै अभ्यास गरेर इन्दोरका केही वडाले आफूलाई शून्य–फोहोर (Zero Waste) को अवस्थामा पुर्याइसकेका छन् भने अन्य कतिपय वडा र छेउछाउका पालिकाहरू पनि त्यो बाटोमा लागेका पाइन्छन्।

इन्दोरको फोहोर–व्यवस्थापन प्रक्रिया बुझन गएको नेपाली टोली ।
इन्दोरको यस्तो अभ्यास र सफलताबाट नेपालका नगरपालिकाहरूले पनि फोहोरमैला व्यवस्थापन गर्न सिक्न सकिने धेरै कुरा देखियो। तीमध्ये पहिलो कुरा, फोहोरमैलाको व्यवस्थापन गर्ने सवालमा कहीं कतैबाट पनि कुनै पनि प्रकारको राजनीति हुनु नहुने रहेछ। स्थानीय सरकारले पनि सर्वपक्षीय सहमतिमा उपयुक्त नीति र कानून निर्माण गर्नुपर्छ। नीति, कानून लागू गर्न सबै प्रतिबद्ध हुनुपर्छ र बनेको कानून सबैका लागि मार्गदर्शन हुनुपर्छ। दोस्रो कुरा, सर्वपक्षीय सहमतिमै फोहोर व्यवस्थापनको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सहितको कार्यक्रम पनि बनाउनुपर्छ। तेस्रो कुरा, समुदायलाई सशक्तीकरण नगरिकन फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन सम्भव छैन। त्यसनिम्ति समुदाय परिचालनका गतिविधि गर्नु अनिवार्य छ।
‘फोहोर’ भन्ने शब्दलाई हामीले दुर्गन्धित, नराम्रो, काम नलाग्ने भन्ने ढंगले मात्रै बुझदै आएका छौं। तर इन्दोर भ्रमणपछि यो धारणामा पनि परिवर्तन आउनु जरूरी रहेछ भन्ने लाग्यो। फोहोर भन्ने वस्तुलाई ‘फोहोर’ भनेर डम्पिङ साइटमा लैजानुको सट्टा यसलाई पुनःप्रशोधन गरेर ‘अशेष’ अथवा शून्यमा पुर्याउने भनेर बुझने तथा यसलाई स्रोतको रूपमा पुनःप्रयोग गर्न सकिन्छ भन्ने चेतनाको विकास गर्नु जरूरी देखिन्छ। यस्तो कार्य सरकारले मात्रै गरेर हुँदैन। यसमा सामाजिक गैरसरकारी संस्था र नागरिक समाजको भूमिका अनिवार्य हुन्छ। दृढ इच्छाशक्ति र अठोट सहित स्थानीय सरकारहरू अगाडि बढ्ने हो भने फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन सम्भव छ भन्ने कुराको उदाहरण इन्दोर शहर हो।
(बस्याल आरएसडिसीका निमित्त कार्यकारी निर्देशक हुन्।)



