जब मैले कक्षामा फोन प्रतिबन्ध गरें !

कक्षाकोठामा फोन र कम्प्युटर प्रतिबन्ध लगाउने नीति लागू गर्ने हो भने विद्यार्थीले कक्षाबाट अहिलेभन्दा धेरै सिक्नेछन्। कक्षाकोठामा अन्तरक्रिया र विचार गर्न रुचि देखाउनेछन्।

“पेन्सिलभेनियामा मैले पढेका अरू कुनै पनि कक्षाले भन्दा यो कक्षाले मलाई धेरै सिकायो... ।”
“मैले अहिलेसम्म लिएका मध्येको सबैभन्दा उत्कृष्ट कक्षा !”
“गज्जब कक्षा !”

विद्यार्थीबाट मैले पाएका टिप्पणीहरूमध्ये एउटा मात्रै नकारात्मक थियो। तर, यो पनि घमण्ड गर्ने विषय भने होइन। यी टिप्पणीले मेराबारे वा मेरो शिक्षण क्षमताबारे केही बताउँछन् जस्तो मलाई लाग्दैन। खासमा वर्षौंदेखि मैले जसरी पढाइरहेछु यस वर्ष पनि मैले त्यसरी नै पढाएको हुँ।

त्यसोभए के परिवर्तन भयो त ? त्यो हो, मैले यसपटक कक्षाकोठामा मोबाइल, ल्यापटप र ट्याबमा नोट गर्न प्रतिबन्ध लगाएँ। ती प्रविधिको प्रयोग विना टिपोट गर्नै नसक्ने विद्यार्थीलाई भने छुट थियो। शुरुमा विद्यार्थी यो प्रतिबन्धप्रति त्यति सहमत थिएनन् यद्यपि उनीहरूले चर्को विरोध पनि गरेनन्। तर, केही हप्तापछि उनीहरूले यस्तो प्रतिबन्धले राम्रो परिणाम दिएको महसूस गरे। उनीहरू मैले सिकाएका कुराहरू अझ राम्रोसँग ग्रहण गर्न र स्मृतिमा राखिराख्न सक्ने भए। त्यस्तै उनीहरूले कक्षाको आनन्द पनि लिन थाले। 

मेरो नीति थियो- कक्षामा फोनको स्वीच ‘अफ’ नै हुनुपर्छ। र, कुनै हालतमा पनि डेस्कमा देखिनुहुँदैन। शिशु-बालबच्चाबारे घरबाट आउन सक्ने जरूरी र महत्वपूर्ण फोनका लागि भने फोन राख्न छुट थियो। पूरै कक्षा ‘रेकर्ड’ गरिएको थियो। मेरा लेक्चरहरूको रेकर्डको उतार कक्षा सकिएपछि जुनसुकै विद्यार्थीले पनि लिन सक्थ्यो।  

मेरो ४० वर्षको शैक्षिक अन्तरबोधले भन्छ- यो परिवर्तनबाट विद्यार्थीको ध्यान कम छरियो र उनीहरू पढाइमा थप तल्लीन भए। मलाई लाग्छ, यसले उनीहरूको एकाग्रता बढायो। उनीहरू पनि आफ्नो सिकाइबाट सन्तुष्ट छन्।

कक्षामा डिजिटल सामग्रीहरूको प्रयोग कम गर्ने नीतिलाई पाठ्यक्रमसँग जोड्नु मेरो व्यक्तिगत बुझइ र विवेकको विषय हो । आफ्नो नीति लागू गराउन मैले पहिलो लेक्चरमा हातैले नोट गर्नेहरूले डिजिटल सामग्रीका माध्यमबाट नोट गर्नेहरूले भन्दा प्रभावकारी रूपमा जानकारी ग्रहण गर्ने गरेको एउटा अध्ययनको निष्कर्ष कक्षामा प्रस्तुत गरें  त्यसको कारण के रहेछ भने- डिजिटल उपकरण प्रयोग गर्दा विद्यार्थी शिक्षकले बोलेकै गतिमा टिपोट (टाइप) गर्न सक्छन्, जसले गर्दा उनीहरूको ध्यान शिक्षकले बोलेका कुरा जस्ताको तस्तै उतार्नतिर केन्द्रित हुन्छ। यसो गर्दा कक्षामा मैले भनिरहेका विषयवस्तुहरूको मानसिक प्रशोधन नै हुँदैन तर; यसको ठ्याक्कै उल्टो, कसैले पनि ९० मिनेटसम्म प्रतिमिनेट १२५ शब्दका हिसाबले हातले टिपोट गर्न सक्दैन। त्यसैले हातैले नोट गर्नेहरूले कक्षामा शिक्षकको लेक्चर सुन्दै गर्दा मानसिक प्रशोधन पनि सँगसँगै गरेर आफूलाई चाहिने मुख्यमुख्य बुँदा मात्र टिप्छन्। यो प्रशोधन प्रक्रियामा कक्षामा पाएका नयाँ जानकारी मस्तिष्कमा भिन्दै तरिकाले बस्छन् र लामो समयसम्म स्मृतिमा पनि रहन्छन्। 

मोबाइल फोनले कुन हदसम्म हाम्रो एकाग्रता भंग गरिदिन्छ भन्ने तथ्यांक झ्नै डरलाग्दो छ। घोप्टो पारेर राख्दा होस् वा स्वीच अफ गर्दा पनि- मोबाइल फोनले गर्ने ध्यानभंग त्यत्तिकै सशक्त हुन्छ। यसबारे गरिएको एउटा अध्ययनमा अनुसन्धाताहरूले स्नातक तहका ५२० जना विद्यार्थीलाई कक्षाको समयमा मोबाइल फोनको घण्टी र भाइब्रेसन दुवै बन्द गर्न लगाएका थिए। एउटा समूहका विद्यार्थीले मोबाइल फोन घोप्टो पारेर डेस्कमा राखेका थिए । अर्को समूहका विद्यार्थीले भने आफ्नो मोबाइल फोन खल्ती वा झेलामा राखेका थिए। तेस्रो समूहका विद्यार्थीलाई चाहिं बेग्लै कोठामा मोबाइल छोड्न भनिएको थियो। त्यसपछि सबै विद्यार्थीको एकाग्रता जाँच्न केही संज्ञानात्मक परीक्षणहरू गरियो।

तीमध्येको एउटा परीक्षणमा विद्यार्थीको गणितका सामान्य समस्या समाधान गर्ने क्षमता जाँचिएको थियो। अर्को परीक्षणमा ‘प्याट्रन’ पूरा गर्ने खालका नयाँ समस्या समाधान गर्ने क्षमता जाँचिएको थियो। दुवै परीक्षणमा, डेस्कमा फोन राखेका विद्यार्थीको नतिजा सबैभन्दा कमजोर आयो । त्यसपछिको कमजोर परिणाम झेला वा खल्तीमा फोन राख्ने विद्यार्थीको थियो । अर्कै कोठामा फोन छोडेकाहरूको परिणाम भने उत्कृष्ट थियो।

यसमा रोचक पक्ष के पाइयो भने- पछि सोध्दा सबै विद्यार्थीले फोन राखेको स्थानको आधारमा फोन सम्बन्धी आफ्ना विचारमा खासै भिन्नता नभएको बताए। तर पनि यो नतिजाबारे अध्ययनकर्ताहरूको तर्क छ, “स्मार्टफोन प्रयोग नगर्दा पनि; त्यसको उपस्थितिले मात्र हाम्रो संज्ञानात्मक क्षमतामा ह्रास ल्याउँछ।” यसको अर्थ हो, स्मार्टफोनहरूले हामीलाई स्मार्ट बनाउँदैनन्; बनाइरहेका छैनन्। बरु; त्यसको ठ्याक्कै उल्टो चाहिं हुन्छ !

स्मार्टफोनको उपस्थितिले व्यक्तिगत र सामाजिक अन्तरक्रियाको गुणस्तरमा पनि ह्रास ल्याउँछ। अर्को एउटा अध्ययनमा ब्रिटिश कोलम्बियाका अनुसन्धाताहरूले मानिसलाई आफ्ना परिवारजन वा साथीहरूसँग रेस्टुरेन्ट जान अनुरोध गरे। तीमध्ये केहीलाई खाना खाने बेला टेबलमा फोन राख्न दिइयो, केहीलाई दिइएन। फोन टेबलमा राखेका मानिसहरूको ध्यान बेला-बेलामा भंग भइरहेथ्यो र उनीहरू आफूसँगै बसेका साथी वा परिवारजनसँग प्रभावकारी हिसाबले कुराकानी गर्न सकिरहेका थिएनन्, यद्यपि उनीहरूले फोन प्रयोग गरेका थिएनन्। टेबलमै फोन राखेका मानिसहरूले साथीभाइसँगका भेटघाट पनि दिक्कलाग्दा हुनथालेका र खानपानको मज्जा कम हुने गरेको गुनासो पनि गरेका थिए।

विद्यालयका कक्षाकोठा र क्याफ्टेरियामा दिनैभर फोन र ल्यापटप प्रतिबन्ध लगाउनुपर्ने बारेका बलिया तर्क यिनै हुन्। गज्जबको कुरा, माथिको अध्ययनको निष्कर्षले देशैभर नयाँ नीति निर्माणमा सघाएको छ। सन् २०२५ को अप्रिलसम्ममा संयुक्त राज्य अमेरिकाका ११ राज्यले १२ कक्षासम्मका सार्वजनिक विद्यालयमा मोबाइल फोनको प्रयोग र पहुँचमा प्रतिबन्ध लगाएका छन्। अरू राज्यहरूमा पनि विद्यालयमा विद्यार्थीको फोन प्रयोग वा पहुँचमा प्रतिबन्ध लगाउने बारेका कानून विचाराधीन छन्।

यस्ता नीतिहरू कलेज र विश्वविद्यालयहरूमा अझसम्म पुगेका छैनन्। मेरो खोज अनुसार एउटा सानो कलेज वोयमिङ क्याथोलिक कलेजले मात्रै कक्षाकोठामा मोबाइल फोनमा प्रतिबन्ध लगाएको छ। कलेज तहका विद्यार्थी कानूनी रूपमा वयस्क हुन् तर स्नायुविज्ञानले भने उनीहरू जैविक रूपमा वयस्क हुँदैनन् भन्छ। योजना निर्माण, कार्यान्वयन र जोखिम लिने जस्ता कामलाई नियन्त्रण गर्नेे मस्तिष्कको अघिल्लो भाग (प्रि-फ्रन्टल कर्टेक्स) कलेज पढ्ने विद्यार्थीमा पनि पूर्णतया विकास भइसकेको हुँदैन। त्यसै भएर उनीहरूले बेलाबखत कमजोर निष्कर्ष निकाल्छन्, भावावेगमा काम गर्छन् र सामाजिक सम्बन्ध तथा सिकाइमा हानि पुर्‍याउने निर्णय गर्छन्। खासगरी स्नातक तहका विद्यार्थीको शिक्षाको जिम्मेवारी प्राध्यापक र विश्वविद्यालयका शीर्ष व्यक्तिहरूलाई सुम्पनुको कारण यही हो।

म त चाहन्छु- सबै विश्वविद्यालयका कक्षाकोठालाई ह्वाइट हाउस (अमेरिकी राष्ट्रपति भवन) वा अरू सरकारी भवनहरू जस्तै सूचना प्रवाहका लागि संवेदनशील क्षेत्रका रूपमा लिइयोस्। विद्यार्थीलाई मोबाइल फोन बोक्ने छुट दिइनुहुँदैन र सबै फोनहरू कक्षाकोठा बाहिर नै राखिनुपर्छ। विद्यार्थीले कक्षा शुरु हुनुअघि आफ्ना फोन बाहिरै छोड्नुपर्छ र कक्षा सकिएपछि मात्र लिन पाउनुपर्छ। फेरि पनि, प्राध्यापकहरूलाई भने यो नीति लागू नगर्ने छुट हुन्छ । खासगरी सिंगो सिकाइ प्रणाली र कक्षाको विषयवस्तु नै फोनसँग जोडिएको छ भने तिनको प्रयोग गर्ने छुट दिने अधिकार प्राध्यापकसँग हुन्छ। पक्कै पनि यस्तो विचार राख्ने म एक्लो छैन। हालै मैले थाहा पाएँ, पेन्सिलभेनिया विश्वविद्यालयमा कक्षाकोठामा मोबाइल फोनमा प्रतिबन्ध लगाउने पनि म एक्लो होइन रहेछु। दर्शनशास्त्रका प्राध्यापकले पनि आफ्नो कक्षामा फोन प्रतिबन्ध लगाएका छन्। र, ‘लिभिङ डेलिबरेट्लीः मन्क्स, सेन्ट्स एन्ड द कन्टेम्प्लेटिभ लाइफ’ (जानीबुझी जिउनुः भिक्षु, साधु र चिन्तनशील जीवन) शीर्षकको धर्मशास्त्रको कक्षामा विद्यार्थीहरू आफैंले भिक्षुको जीवनको अनुभव गर्न ३० दिनका लागि फोन त्याग्ने निधो गरेका रहेछन्।

कक्षाकोठामा फोन र कम्प्युटर प्रतिबन्ध लगाउने नीति लागू गर्ने हो भने विद्यार्थीले कक्षाबाट अहिलेभन्दा धेरै सिक्नेछन्। कक्षाकोठामा अन्तरक्रिया र विचार गर्न रुचि देखाउनेछन्। उनीहरूको सामाजिक अन्तरक्रिया सहज हुनेछ र आफैं पूर्ण भएको महसूस गर्नेछन्। त्यसैले, झ्ण्डै दुई दशकअघिका ती सुनौला दिनहरूमा फर्कौं- जतिबेला विद्यार्थीसँग ‘फ्लिप फोनहरू’ मात्र थिए र उनीहरू अहिलेभन्दा धेरै सिकिरहेका थिए। 

(चिकित्सक डा. इमानुयल पेन्सिलभेनिया विश्वविद्यालयमा मेडिकल एथिक्स र हेल्थ पोलिसीका प्राध्यापक हुन् ।)
२५ अगष्ट, २०२५ को न्यूयोर्क टाइम्स बाट ।

अनुवाद: लक्ष्मण श्रेष्ठ

commercial commercial commercial commercial