गुरु बन्ने योग्यता

एक दिन एक जना व्यापारीले दार्शनिक गुरु लाओत्जुसँग सोधे- “गुरु, तपाइँका शिष्य येन कस्ता व्यक्ति हुन् ?”

लाओत्जुले जवाफ दिए- “उदारतामा उनी मभन्दा निकै श्रेष्ठ छन्।”

व्यापारीले फेरि सोधे- “तपाइँका चेला कुंग कस्ता छन् ?”

लाओत्जुको जवाफ थियो- “कुंगको वाणी अर्थात् बोलीवचन मेरोभन्दा कता हो कता सुन्दर र तर्कपूर्ण हुन्छ।”

व्यापारीको अर्को जिज्ञाशा थियो- “तपाइँका अर्का शिष्य चाङ चाहिं कस्ता छन् त ?”

गुरु लाओत्जुले स्वाभाविक रूपमा जवाफ दिए- “म उनी अर्थात् चाङ जति साहसी छैन।”  

लाओत्जुका कुरा सुनेर ती व्यापारी आफैं चकित परे । उनले फेरि सोधे- “गुरु; यदि तपाइँका शिष्यहरू कुनै न कुनै गुणमा तपाइँभन्दा उत्कृष्ट छन् भने ती किन तपाइँका शिष्य रहिरहेका ? तपाइँका कुरा सुन्दा त उनीहरू चाहिं तपाइँका गुरु र तपाइँ तिनको चेला हुनुपर्ने जस्तो पो लाग्छ !”

गुरु लाओत्जुले व्यापारीको पछिल्लो प्रश्नको जवाफ मुस्कुराउँदै दिए- “पहिलो कुरा त उनीहरू सबै मेरा शिष्य किन छन् भने उनीहरूले मलाई गुरुको रूपमा स्वीकार गरेका छन्। र, उनीहरूले मलाई गुरु किन स्वीकार गरेका हुन् भने उनीहरूलाई थाहा छ- कुनै एउटा गुण–विशेषमा श्रेष्ठ या सर्वश्रेष्ठ हुँदैमा ज्ञानी भइँदैन।”

“त्यसो भए ज्ञानी को हो त ?” व्यापारीले जिज्ञासा राखे।

लाओत्जुको जवाफ थियो-  “ज्ञानी ऊ हो जसले एउटा होइन, सबै सद्गुणमा समान अधिकार राखेर तिनमा सन्तुलन कायम गर्न सक्छ ।” ७

स्रोतः जेन कथा

शिक्षक  मासिक, २०८२ साउन अंकमा प्रकाशित । 

commercial commercial commercial commercial