गुरु बन्ने योग्यता
एक दिन एक जना व्यापारीले दार्शनिक गुरु लाओत्जुसँग सोधे- “गुरु, तपाइँका शिष्य येन कस्ता व्यक्ति हुन् ?”
लाओत्जुले जवाफ दिए- “उदारतामा उनी मभन्दा निकै श्रेष्ठ छन्।”
व्यापारीले फेरि सोधे- “तपाइँका चेला कुंग कस्ता छन् ?”
लाओत्जुको जवाफ थियो- “कुंगको वाणी अर्थात् बोलीवचन मेरोभन्दा कता हो कता सुन्दर र तर्कपूर्ण हुन्छ।”
व्यापारीको अर्को जिज्ञाशा थियो- “तपाइँका अर्का शिष्य चाङ चाहिं कस्ता छन् त ?”
गुरु लाओत्जुले स्वाभाविक रूपमा जवाफ दिए- “म उनी अर्थात् चाङ जति साहसी छैन।”
लाओत्जुका कुरा सुनेर ती व्यापारी आफैं चकित परे । उनले फेरि सोधे- “गुरु; यदि तपाइँका शिष्यहरू कुनै न कुनै गुणमा तपाइँभन्दा उत्कृष्ट छन् भने ती किन तपाइँका शिष्य रहिरहेका ? तपाइँका कुरा सुन्दा त उनीहरू चाहिं तपाइँका गुरु र तपाइँ तिनको चेला हुनुपर्ने जस्तो पो लाग्छ !”
गुरु लाओत्जुले व्यापारीको पछिल्लो प्रश्नको जवाफ मुस्कुराउँदै दिए- “पहिलो कुरा त उनीहरू सबै मेरा शिष्य किन छन् भने उनीहरूले मलाई गुरुको रूपमा स्वीकार गरेका छन्। र, उनीहरूले मलाई गुरु किन स्वीकार गरेका हुन् भने उनीहरूलाई थाहा छ- कुनै एउटा गुण–विशेषमा श्रेष्ठ या सर्वश्रेष्ठ हुँदैमा ज्ञानी भइँदैन।”
“त्यसो भए ज्ञानी को हो त ?” व्यापारीले जिज्ञासा राखे।
लाओत्जुको जवाफ थियो- “ज्ञानी ऊ हो जसले एउटा होइन, सबै सद्गुणमा समान अधिकार राखेर तिनमा सन्तुलन कायम गर्न सक्छ ।” ७
स्रोतः जेन कथा
शिक्षक मासिक, २०८२ साउन अंकमा प्रकाशित ।



