दिवा खाजा: शिक्षक-विद्यार्थीको एउटै भान्छा

- प्रकाश घिमिरे

गतिलो सिकाइ गरिरहेका सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण पनि राम्रो छ। नुवाकोटको ककनी गाउँपालिका-२ मा रहेको शिवालय मावि अभिभावकलाई खुशी पार्न सफल त्यस्तै विद्यालयमध्येमा पर्दछ। यस विद्यालयको वातावरण, सिकाइ क्रियाकलाप र समुदाय परिचालनका अभ्यासहरू हेर्नलायक छन्। शिवालय माविले गरेका केही उल्लेख्य अभ्यास यस्ता छन् ः

१. एक शिक्षक-एक बिरुवा–एक गमला कार्यक्रम
विद्यालयमा हरियाली कायम गर्ने हेतुले हामीले ‘एक शिक्षक-एक बिरुवा–एक गमला’ कार्यक्रम अगाडि बढाएका छौं। विद्यालयको जग्गा नभएको अवस्थामा पनि विद्यालयको वातावरण हरियालीयुक्त बनाउन यो अभ्यास गरिएको हो। शिक्षकले गमला र बिरुवा रोप्ने मात्र नभई आ-आफ्नो गमलाको रेखदेख गर्ने कार्य समेत गर्ने गर्दछन् । यसले विद्यार्थीलाई पनि यी र यस्तैखाले गतिविधि गर्न अभिप्रेरित गरेको छ।

२. चार सदन-चार भित्तेपत्रिका 
चार-चार महिनाको अन्तरालमा वर्षको तीन पटक प्रकाशित हुने भित्ते पत्रिकालाई विद्यालयमा विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गरी प्रदर्शन गर्ने डबलीका रूपमा विकास गरिएको छ। यसको संयोजन, व्यवस्थापन र प्रकाशनको सम्पूर्ण अभिभारा चार वटा सदन; अझ सदन शिक्षकको निर्देशनमा हाउस क्याप्टेन र उसको समूहले लिन्छ। विगत चार वर्षदेखि यसो गर्दै गर्दा विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास भएको छ । प्रत्येक भित्रे पत्रिकाको शिक्षक मार्फत छुट्टाछुट्टै मूल्याङ्कन गरी चारमध्ये एकलाई उत्कृष्ट घोषणा गरेर पुरस्कार दिइन्छ। 

३. शिक्षण योजना 
शिक्षकहरूले विषयगत रूपमा वर्षभरिलाई समेट्ने गरी शिक्षण योजना बनाउने गरेका छन्। यसमा वर्षभरि शिक्षण गर्ने पाठहरूको क्रमबद्ध प्रस्तुतिसँगै शैक्षणिक क्रियाकलाप, पाठ्य घण्टी, शिक्षण सामग्री, परियोजनात्मक÷प्रयोगात्मक कार्यको फेहरिस्त तयार पारिन्छ । यसैका आधारमा दैनिक पाठयोजना निर्माण गरी शिक्षण गरिन्छ। यो लक्ष्य प्राप्तिको बिन्दुमा पुग्ने सुगम मार्ग हो । यसको तयारीका लागि विषय शिक्षकले पाठ्यक्रम, ग्रिड, शिक्षण निर्देशिका आदिको गहन अध्ययन गर्नुपर्छ । यसबाट शिक्षकमा थप पेशागत क्षमता विकास भई विद्यार्थीमा प्रभावकारी शिक्षण सिकाइ हुने अवस्था निर्माण भएको छ।

४. विद्यार्थी र शिक्षकको लक्ष्य निर्धारण
हामीकहाँ विद्यालयले शिक्षकलाई, शिक्षकले विद्यार्थीलाई सिकाइ उपलब्धिको लक्ष्य निर्धारण गर्न लगाउने अभ्यास छ। प्रथम परीक्षा, द्वितीय परीक्षा र अन्तिम परीक्षाको ठिक एक वा डेढ महिना अगाडि विद्यालयद्वारा विकास गरिएको फारम मार्फत लक्ष्य निर्धारण हुन्छ। परीक्षापश्चात् लक्ष्य र उपलब्धि बीच तुलना गरिकन नतिजाको विश्लेषण र समीक्षा समेत गरिन्छ। सम्बन्धित शिक्षकद्वारा विद्यार्थीलाई पनि यही प्रक्रिया सम्पन्न गराउने गरिएको छ। यसबाट नतिजामुखी शिक्षण र सिकाइमा लाग्नैपर्ने परिस्थिति शिक्षक र विद्यार्थी दुवै पक्षमा पैदा भएको छ।

५. अभिभावकऔशिक्षक–विद्यार्थीको सम्बन्ध विस्तार
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अन्य विभिन्न उपसमितिका पदाधिकारीहरूको समेत उपस्थितिमा अभिभावक-शिक्षक र विद्यार्थी बीचमा बेलाबेलामा बृहत् छलफल र अन्तरक्रिया आयोजना गर्ने गरिन्छ। अन्तरक्रिया कार्यक्रममा विद्यार्थीको नतिजा, उसको अनुशासन, उपस्थिति, कार्यक्रममा सहभागिता लगायत अतिरिक्त गतिविधिको बारेमा थप छलफल गरिन्छ। 

६. सिर्जनशील बिहानी प्रार्थना 
प्रार्थना सभासँगै सिकाइलाई जोड्ने गरी थप गतिविधि आयोजना गर्ने गरिएको छ। यस समयमा जन्मदिनको कार्ड दिने, सदनगत वा कक्षागत प्रस्तुतिहरू प्रदर्शन गराउने, विभिन्न सूचना सम्प्रेषण गर्न लगाउने, स्वास्थ्य र सरसफाइका टिप्सहरू दिने, व्यक्तिगत अवस्था पहिचान गर्ने, पिटी गराउने, कक्षागत हाजिरी उठाउने लगायत कामहरू विद्यार्थी मार्फत नै सम्पन्न गराउने गरेका छौं। 

७. सांस्कृतिक प्रदर्शनी
वर्षभरि पर्ने विभिन्न दिवस, उत्सव, चाडपर्व आदिको सुअवसरमा विद्यालयले विभिन्न कार्यक्रम आयोजना गर्ने गर्दछ। सामाजिक र सांस्कृतिक विविधतालाई आत्मसात् गर्दै साझ विद्यालय र सबैको विद्यालय भन्ने भावनालाई आम जनमानसमा सम्प्रेषित गर्दै आइएको छ। विद्यालयलाई सूक्ष्म समाजका रूपमा स्वीकार गरी बहुआयामिक सामाजिक अभ्यासहरू गरिरहेका छौं। 

८. स्कूलको कार्ययोजना 
वर्षभरि सञ्चालन हुने सम्पूर्ण गतिविधिको समष्टि नै कार्ययोजना हो । यसैलाई मूल योजना अर्थात् गुरुयोजना मानेर वर्षभरिका गतिविधि सम्पन्न गरिन्छन्। वैशाखको पहिलो हप्ता शिक्षकहरूको बैठक बसी सोही बैठकबाट समग्र कार्यक्रम पारित गरी छपाइ गरिन्छ। तत्पश्चात् अभिभावक बोलाई जानकारी गराउने प्रचलन छ। सारतः एक वर्षमा कति दिन विद्यालय खुल्छ ? कति दिन पठनपाठन हुन्छ ? शनिबार र अन्य सार्वजनिक बिदाहरू कति दिन पर्दछ ? वर्षभरिमा कति वटा परीक्षाहरू कहिले–कहिले सम्पन्न हुन्छन् आदि सन्दर्भहरू यसभित्र समाविष्ट गराइन्छन्।

९. विज्ञान र बालमेला
विद्यालयमा समयानुकूल विज्ञान प्रदर्शनी र बालमेला आयोजना गरिन्छ। वर्षको एकपटक विद्यालयले विज्ञान प्रदर्शनी र बालमेलाको आयोजना गर्ने गरेको छ। विषयगत समिति अन्तर्गत विज्ञान विषय समितिले यसको संयोजन र व्यवस्थापन गर्ने गर्दछ। विज्ञान विषयलाई थप प्रायोगिक र जीवनोपयोगी बनाउन तथा सैद्धान्तिक सिकाइलाई सरलीकृत गर्न यस प्रदर्शनीको महत्वपूर्ण योगदान रहेको प्रतीत हुन्छ।

बालमेलामा चाहिं विद्यार्थीलाई ज्ञान, सूचना, मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखिएको हुन्छ। खासमा विद्यार्थीकै नेतृत्व, उनीहरूकै सक्रियता र उनीहरूलाई नै अपनत्व ग्रहण गराई कार्यक्रम सम्पन्न गरिन्छ। यसरी कार्यक्रम गर्दैगर्दा विद्यार्थीमा थप जिम्मेवारी बोध हुने, अनुशासन कायम हुने साथै विद्यार्थीहरू थप व्यावहारिक, उत्तरदायी र समन्वयकारी बन्न कोशिश गरेको अवस्था पाइएको छ।

१०. विद्यार्थी शिक्षकको एउटै दिवाखाजा 
शिशु कक्षादेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई संघीय सरकारद्वारा उपलब्ध १५ रुपैयाँ मार्फत व्यवस्थापन गरिएको दिवाखाजा कार्यक्रमसँगै शिक्षकहरूलाई पनि एउटै खाजाको मेनु तयार पारिएको छ। शिक्षक र विद्यार्थीलाई एउटै किचेनमा एकै प्रकारको खाजा उपलब्ध हुन्छ । हरेक शिक्षकबाट प्रतिदिन रु.५० खाजा बापतको रकम कट्टा गरिन्छ। शिक्षक र विद्यार्थीका बीच हामी एउटै र एकै हौं भन्ने भावनालाई अन्तरमनबाट विकास गराउन यसखाले कार्यक्रमले सहयोग गरेको छ। विगत चार वर्षदेखि यो अभ्यास अवलम्बन गर्दै आइएको छ। यसकै परिणामस्वरूप दुई वर्ष अगाडि गाउँपालिकाले आफ्नै भान्छा मार्फत शिक्षक र विद्यार्थीलाई एकद्वार प्रक्रिया अवलम्बन गरी खाजा व्यवस्थापन गरेबापत रु.२ लाख नगद पुरस्कारले सम्मान समेत गरेको थियो। 

(प्रअ, श्री शिवालय मावि, ककनी-२, ओखरपौवा, नुवाकोट)

शिक्षक  मासिक, २०८२ भदौ अंकमा प्रकाशित।  

commercial commercial commercial commercial