शिक्षक मासिक पत्रिकालाई फर्केर हेर्ने प्रयास

लगधमुनिको वेदाङ्ग ज्योतिषमा भनिएको गणित सम्बद्ध तलको वाक्यांश स्मरण गर्दै र शैक्षिक क्षेत्रको विकास र प्रवर्धनलाई अगाडि बढाउन तल्लीन शिक्षक मासिकको महत्वलाई मानस पटलको स्मरणमा आधारित रहेर यो सानो प्रयासको कलम अगाडि बढाउन पाठक समक्ष अनुमति माग्दछु।
यथा शिखा मयूराणां, नागानां मणयो यथा ।
तद्वद् वेदांगशास्त्राणां गणितं मूर्धनि स्थितम् ।।
मलाई तिथि मिति त ठ्याक्क थाह भएन वि.सं.२०६५ साल पुस महीनामा शिक्ष मासिक पत्रिकामा मेरा आदरणीय गुरु प्रा.डा. शंकरराज पन्तको अन्तरवार्तामा “गणित गाह्रो होइन अवधारणा गलत भयो” भन्ने लेख र डा. टंकनाथ धमला सरको “खाँचो छ सही शिक्षण विधिको” भन्ने लेखले मेरो ध्यान तान्यो र त्यसपछिका शिक्षक मासिक पत्रिकाका केही अंक किनें पनि र नियमित पाठक बन्न खोजें। त्यसपछि सन्दर्भ परिवर्तन भयो वा के भयो केले असर पर्न गर्यो, कि केले मलाई अलमल पार्यो बिर्सें। निरन्तरता टुट्यो। त्यसो हुनुमा २०७२ सालको भूकम्प पनि यसको कारक बन्न सकेको हुन सक्छ। यो सन्दर्भ जोड्ने कडीको रूपमा फेरि २०७५ को फागुन अङ्कमा ‘म्याथ आर्ट नियाल्दा’ भन्ने शीर्षकमा प्रयोगात्मक गणितलाई आत्मसात् गरी सधैं लेखनमा लाग्ने हरिनारायण उपाध्याय सरका कक्षा-४ देखि १० सम्मको गणित पाठ्यक्रमका विषयवस्तुमा आधारित भई लेखिएका किताबको समीक्षा (शिक्षक मासिक, पृ.४९) मा लेखेर सो पत्रिकासँग जोडिएर निरन्तरता दिन कोसिस गरेको थिएँ। तथापि, मेरो कार्य व्यस्तता र केही प्रशासनिक कामको जिम्मेवारीमा रहन पर्ने अवस्थाले पछि परें। कोरोनाको असर पर्यो कि के भयो फेरि टुट्यो।

अहिले फेरि शिक्षक मासिक पत्रिकालाई फर्केर हेर्दै छु र सो पत्रिकासँग जोडिन प्रयास गर्दै छु। मेरै सङ्ग्रहबाट केही स्मरण गर्नका लागि २०६५ देखि २०८२ मा प्रकाशित शिक्षक मासिक पत्रिकाका केही तस्बिर माथिको फोटो मार्फत यहाँ प्रस्तुत गरेको छु।
गणित पठनपाठन र सिकाइ आवश्यकता, रुचि विषयगत माया हो। २०८२ साउन २३ मा शिक्षक मासिकका सम्पादकबाट आयोजित अभिप्रेरित गणितप्रतिको माया र सद्भावले भरिएका संवाद प्रस्तुतिमा जोडिन पाएबाट मेरो मनमा सो संवाद कार्यक्रममा सहभागी साथीहरूले उठाउनु भएका धेरै कुराहरूमध्ये मैले स्मरणमा राख्न सकेका कुराहरू मात्र उल्लेख गर्न सकेको छु। सबैका भनाई मेरो मानस पटलमा नरहेकोले धेरै छुटेका छन्। तथापि, स्मरणमा बसेका कुराको सङ्कलनले पनि केही सहयोगी भूमिका खेल्ने अभिप्रायले यहाँ उल्लेख गरी आफूलाई शिक्षक मासिक पत्रिका र गणितका साथीहरूसँग जोड्ने प्रयास गरेको हुँ। तसर्थ सबै विद्यावान् साथीहरूप्रति हार्दिक नमन तथा आभार व्यक्त गर्दछु।
यो शैक्षिक पत्रिका शिक्षक मासिकसँग जोडिने सत्प्रयासको सन्दर्भ २०८२ साउन २१ गते कृष्ण मल्लले फोन गर्नुभएको थियो। फोनमा उहाँले २०८२ साउन २३ गते शुक्रवार यलमाया केन्द्र पाटनढोका, ललितपुरमा ‘गणितको वर्तमान अवस्था, समस्या र समाधान’ संवाद कार्यक्रममा आउन अनुरोध गर्नुभयो। त्यस्ता विषयवस्तुमा बहस गरी गणितलाई समय सापेक्ष बनाउन र कमाउँदै पढ्दैको अवधारणा अनुसार कामयाबी शिक्षामा मेरो रुचि रहेकोले सहमति जनाउँदै सो संवादमा सहभागिता जनाएँ। धेरै जना साथीहरूसँग साक्षात्कार गर्ने अवसर पनि मिल्यो। आदरणीय व्यक्तित्व राजेन्द्र दाहालले सो कार्यक्रमको संयोजन र सञ्चालन गर्नुभएको थियो। उक्त संवाद कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा लगायतका गणित सम्बद्ध धेरै अनुभवी र लगनशील साथीहरूसँग सहभागी हुन पाएकोमा खुसी लाग्यो । यो सहभागिताको समायोजनमा नेपाल गणित समाजका सभापति डा. श्रीराम खड्काको प्रयास रहेकोले उहाँप्रति पनि आभार व्यक्त गर्दछु। सो शिक्षक मासिक पत्रिकाका सम्पादक राजेन्द्र दाहाल भएको कुरा त विगतदेखि थाह नै थियो। तर उहाँसँग साक्षात्कार हुन मौका मिलेको थिएन। यस संवाद कार्यक्रममा प्रमुख भूमिका राजेन्द्र दाहालकै रहेको छ। उहाँप्रति आभार सहित अन्य विषय सहित गणित विषयवस्तुको पठनपाठन तथा गुणस्तरमा सुधारका लागि गरिरहनु भएको यस्तो पुण्य कार्यको लागि उहाँलाई हार्दिक नमन गर्दै धन्यवाद दिनै पर्दछ।
सो संवादमा खास गरी गणित विषयको वर्तमान अवस्था, समस्या र समाधानलाई केन्द्रमा राखेर पठनपाठन, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शिक्षण सामग्री, शिक्षक तालिम र त्यसको प्रयोग, परीक्षा र नतिजा, आन्तरिक परीक्षा र बाह्य परीक्षाको नतिजामा भिन्नता, तल्लो कक्षा र माथिल्लो कक्षाको नतिजामा अन्तर, नैतिक इमानदारी, गणितको महत्त्व र त्यसको गाम्भिर्य, सनातनी विधि प्रविधि, गणितको दैनिक जीवनमा समायोजन, त्यसको सहजता, विषयगत शिक्षकको पर्याप्तता लगायतका धेरै विषयमा चर्चा गर्दै संवाद अगाडि बढेको थियो। कार्यक्रमलाई बीच-बीचमा राजेन्द्र दाहालले पृष्ठपोषण गर्दै सहभागीलाई आफ्ना विचार र दृष्टिकोणलाई समाधान सहित राख्न आग्रह गर्नु भएको थियो।
सो संवादमा तालिम केन्द्र देखि विद्यालय तथा विश्वविद्यालयसम्मका गणित विषयसँग सम्बद्ध साथीहरूको सहभागिता रहेकोले संवाद फलदायी र उपलब्धिमूलक मान्नु पर्दछ। सिन्धुलीको गौमती मावि माढी बजारका शिक्षक बलराम खड्काले विद्यालयमा विद्यार्थी शिक्षक मिलेर गणित प्रयोगशाला, शिक्षण सामग्री निर्माण तथा वितरणको समेत वातावरण बनाउनु भएको र केही सामग्री त्यहाँ समेत ल्याएर देखाउनु भएको थियो। उहाँले पठनपाठनमा शिक्षकको दायित्व बढी हुने भएकोले शिक्षण सामग्री सहित कक्षाकोठामा पस्नु पर्ने बताउनु भएको थियो। विद्यालय तथा कक्षाकोठामा सिकाइको वातावरण तयार गर्नु पर्ने उल्लेख गर्दै शिक्षण सामग्री र साधन स्रोतको व्यवस्थापन गर्नु पर्ने बताउँदै खेलको माध्यमाबाट पनि गणितको नतिजामा धेरै सुधार र प्रगति गर्न सकिने भएकोले खेल खेलाउँदै गणित पढाऔँ भनी सबै सहभागीलाई अभिप्रेरित गर्नु भएको थियो। शिक्षकको अङ्ग्रेजी शब्द टिचरका सबै अङ्ग्रेजी अक्षरको पूरा रूपको अर्थ अनुसार शिक्षक चलायमान हुनु पर्ने उहाँको प्रेरणादायी तर्क थियो। उहाँकै सक्रियतामा उहाँको विद्यालयमा मन्टेश्वरी किट बक्स, पजल बक्स, जुनियर म्याथ किट बक्स र कक्षा-६ देखि १२ लाई लक्षित गरी ५९ वटा सामग्री समावेश गरी सिनियर किट बक्स निर्माण गरी खेलको माध्यमबाट विद्यार्थीलाई इङ्गेजमेन्ट गराई शिक्षण गर्ने गरेकोले विद्यार्थी रमाएर पढ्ने र गणितको नतिजा पनि निरन्तर जसो राम्रो आएको आफ्नो सक्रियता र शैक्षिक क्रियाकलापको स्मरण गर्दै सबैलाई प्रेरणा दिनु भएको थियो।
त्यस्तै अनुपमा शर्माले तालिम र पठनपाठनको तादम्यता नमिलेको स्थिति रहेको बताउनु भएको थियो । राजेन्द्र दाहाले गणित साहित्यको प्रयोगलाई औँल्याउनु भएको थियो । सो संवाद अवधिभर सहभागी मित्रहरूका गहकिला भनाई सुन्दै गर्दा मेरो ध्यान २०८२ को शिक्षक मासिकको साउन अङ्कको पृष्ठ ५२ मा रहेको “मोहम्मद उमर” को “भाषा, गणित र परिदेशीय अनुभव”ले तानिरहेको थियो। सो लेखमा रहेको गणित सम्बद्ध धारणा निकै मन पर्यो । गणित भाषा हो र ग्यालिलियोले भनेका छन्- ब्रह्माण्डको वा ग्यालेक्सीको भाषा नै गणित हो। मलाई सो लेख नै सो अङ्कको मुख्य आकर्षण रहेको लाग्यो । किनकी मेरो पनि गणितप्रति सोही धारणा रहेको छ। मलाई लाग्छ गणित चिन्तनको चौतारी हो । यसले विचार विमर्श गर्न र हरेक तथ्यलाई विश्लेषण गर्न विधि विधान र भाषासहित तार्किक क्षमता प्रदान गर्दछ ।
त्यस्तै सहभागी शिक्षक मित्र राजकुमार, रिता लामा, विनिता गेलाल लगायतका साथीहरूले वास्तविक जीवनमा प्रभाव पार्ने कुराहरूसँग गणितको संयोजन गर्दै प्रयोगात्मक गणितमा ध्यान दिनु पर्ने चर्चा गर्नु भएको थियो । साथै शिक्षण सामग्रीको प्रयोग, बालकलाई सिक्न बालमैत्री वातावरण कायम गर्नुपर्ने र दैनिक जीवनमा उपयोगी हुने खालका विषयवस्तु समावेश गरी पाठ्यक्रममा सुधार गर्दै विद्यार्थीमा स्वतन्त्र सिक्ने वातावरण कायम गर्नु पर्ने राय व्यक्त गर्नु भएको थियो। त्यस्तै आयाम आचार्यले पनि सिकाइ पूर्ण पठनपाठन गर्न विद्यार्थीका लागि सहयोगी र सहृदयी बन्नु पर्ने उल्लेख गर्नु भएको थियो।
सो कार्यक्रममा डा.विनोद पन्तले विगतका केही वर्षको एसईईको परीक्षाको गणितको नतिजालाई छोटकरीमा विश्लेषण गर्दै पाठ्यक्रम, तालिम र शिक्षक तयारी, शिक्षक छनौट प्रक्रिया, नासाले गरेको परीक्षाको नतिजाको विश्लेषण र सरकार, विद्यार्थी, अभिभावकको भूमिका गरी विभिन्न पाँच वटा ईश्युको चर्चा गर्नु भएको थियो । सो नै विषय प्रवेशको आधार बनेको थियो।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले गणित सम्बन्धी आफ्नो लामो अनुभव स्मरण गर्दै गणितप्रति रुचि बढाउन र यसको प्रयोग तथा विस्तारमा सकारात्मक धारणा हुनुपर्ने र यस्तो धारणाले प्रेरणा प्रदान गर्ने बताउँदै सोलोडोलो विश्लेषण नगरी व्यक्तिगत उपलब्धिलाई पनि विश्लेषण गर्नु पर्ने बताउनु भएको थियो। गणितमा कतिपय जिल्ला, प्रदेश, विद्यालय, विद्यार्थीले धेरै राम्रो पनि त गरेका छन्। त्यस्ता कुरामा पनि चर्चा हुनु पर्ने बताउनु भएको थियो। हो, यस्ता सकारात्मक चर्चाले गणितमा सकारात्मक प्रभाव पार्दछ । गणितको पाठ्यक्रममा धेरै शिक्षकको अध्ययन नपुगेकाले पठनपाठन र उपलब्धिमा असर परेको बताउनु भएको थियो। हो, वास्तवमा पाठ्यक्रमको अध्ययन विनाको अध्यापन तथा पठनपाठनले उद्देश्य पुरा गर्न सक्दैन र मूल्याङ्कन तथा नतिजा पनि परिणाममुखी हुँदैन। वहाँले तल्लो तहमा विषयगत शिक्षक दिन नसकिएको बताउँदै गणितको विषयगत ज्ञान नभएका शिक्षकबाट पनि पठनपाठन गराउनु परेकोले विषयगत उपलब्धि र नतिजामा प्रभाव परेको बताउनु भयो। आन्तरिक मूल्याङ्कनमा दिइने अङ्क र बाह्य मूल्याङ्कनमा ठूलो अन्तर देखिएकोले त्यसमा शिक्षकले इमानदारितासाथ विचार पुर्याएर मूल्याङ्कन गर्नु पर्ने औँल्याउनु भएको थियो।
डा.महाश्रम शर्मा, अध्यक्ष राष्ट्रिय परीक्षा बोर्ड
डा. शर्माले तल्लो तहमा कक्षा उकास्ने कारणले पनि गणित लगायतका विषयमा पनि माथिसम्म पुग्दा नतिजा खस्केको देखिन्छ। तसर्थ, आन्तरिक मूल्याङ्कनमा दिइने अङ्क र बाह्य मूल्याङ्कनमा समन्वय र सुधार गरी स्थिरता कायम हुनु पर्ने देखिन्छ। तालिम केन्द्रहरू थोरै रहेकोले पर्याप्त तालिम दिन नसकिएकोले तालिम केन्द्रको सङ्ख्या बढाउन पर्ने आवश्यकता औँल्याउनु भएको थियो। यद्यपि, राष्ट्रिय परीक्षा बोर्ड र विभिन्न पालिकाको समन्वयमा १ हजार ३०० जना शिक्षकलाई तालिम दिन सफल भएको जनाउनु भएको थियो। त्यस्तै नासाको नतिजा विश्लेषणबाट आएका सुझावको अवलम्बन गर्न पर्ने चर्चा पनि गर्नु भएको थियो। समस्याको रूपमा शिक्षकहरूको उत्तर पुस्तिका परीक्षणको अङ्कनमा ठूलो फरक पर्ने गरेको बताउनु भएको थियो। एउटै उत्तर पुस्तिकामा फरक फरक शिक्षकलाई हेर्न दिँदा २० अङ्कसम्म फरक पर्ने गरेको स्थिति पनि देखिने स्थिति रहेको चर्चा भएको थियो । तथापि यसमा सुधारका लागि निरन्तर एकरूपता कायम गर्न प्रयास गरिएको बताउनु भएको थियो। गणितको रुचि, पठनपाठन, परीक्षा र मूल्याङ्कन, तालिम लगायत धेरै विषयमा देखिएका समस्या र त्यसमा सुधारका लागि निरन्तर रूपमा गरिएका प्रयास र सकारात्मक सोचाइको अभिवृद्धिका लागि भइरहेका प्रयातको विस्तारपूर्वक चर्चा गरेर सबैमा गणितप्रति सकारात्मक चिन्तन राख्न अभिप्रेरित गर्नु पर्ने औँल्याउनु भएको थियो।
नेपाल गणित समाजका सभापति डा.श्रीराम खड्काले छद्म मूल्याङ्कन (Pseudo evaluation) परीक्षामुखी शिक्षण तथा पठनपाठन, मानवीयताको धारणाको अभाव, सुषुप्त स्मरणमा आधारित पढाइ, प्रश्न पत्रको तयारीमा भएका कमजोरी औँल्याउँदै सक्रिय स्मरण पठनपाठन, समयको पर्याप्तता, विद्यार्थी केन्द्रित शिक्षण, पाठ्यांश वा परिच्छेद तथा च्याप्टरको गहिरो अन्तरसम्बन्ध र विषयगत प्रवाहसँगै वास्तविक जीवनसँग मेल खाने अवस्थाको सादृश्ययता सहित पाठ्यक्रम तथा पाठ्यपुस्तक र पठनपाठनले गणितको विषयगत धारणाको विकास गर्न सकेमा मात्र गणितको पठनपाठन र स्तर उन्नतिमा सहजता आउने उल्लेख गर्नु भएको थियो। गणित सजिलो विषय हुँदाहुँदै गाह्रो छ भन्ने भाष्य व्याप्त भएकोले त्यसलाई चिर्नु पर्ने धारणा राख्नु भएको थियो।
सहभागी मित्र सन्देश बस्नेतले हामीले तल्लो तहको मूल्याङ्कन नगरी एसईईको मात्र मूल्याङ्कनमा जोड दिएर नपुग्ने बताउँदै चुरो कुरोमा ध्यान दिनु पर्ने बताउनु भएको थियो। हामीले हाम्रो प्राथमिकता नै खुट्याउन सकेनौँ कि ! शिक्षण तथा पठनपाठनमा गणितीय समस्याको समाधानको प्रक्रिया प्रमुख हो कि नतिजा प्रमुख हो ? भन्ने चर्चा गर्नु भएको थियो। राम्रो पठनपाठन भए त नतिजा सहजै सुध्रन्छ भन्ने उहाँको सन्देशमूलक धारणा रहेको थियो। परीक्षाको परिणामलाई विज्ञापनमुखी र नतिजामुखी मात्र नबनाई सिकाइ र उपलब्धिमुखी बनाउनु पर्ने विचार राख्नु भएको थियो उहाँले । विद्यार्थीको सोचाइ र स्वतन्त्र अभ्यास, सिकाइ तथा गणितमा आफ्ना विचार राख्न सक्ने वातावरण बनाउनु पर्ने बताउँदै विद्यार्थीले गल्ती गर्ने छुट नपाएकोले आफ्ना मौलिक धारणा राख्न नसक्ने अवस्था विद्यालयमा रहेको चर्चा गर्नुभएको थियो । पाठ्यक्रममा सुधार गर्दै हरेक जसो कक्षामा दोहरिएका विषयवस्तु हटाई नयाँ नयाँ विषयवस्तु पढाउनु पर्ने बताउँदै स्थानीय सरकारको भूमिका, विद्यार्थी पोर्टफोलियो, कक्षागत मूल्याङ्कन, मूर्त विषयवस्तुबाट पठनपाठनको उठान, प्रविधिलाई शिक्षण कला पेडा गोजीको रूपमा प्रयोग हुनु पर्ने, शिक्षकलाई विद्यार्थी लक्षित तालिम र विद्यार्थीमा कोसिस गर्ने मौका सहितको शिक्षण सिकाइ हुनु पर्ने धारणा र सुझाव राख्नु भएको थियो।
शिक्षण तथा पठनपाठनमा गणितीय समस्याको समाधानको प्रक्रिया प्रमुख हो कि नतिजा प्रमुख हो ? भन्ने चर्चा गर्नु भएको थियो। राम्रो पठनपाठन भए त नतिजा सहजै सुध्रन्छ भन्ने उहाँको सन्देशमूलक धारणा रहेको थियो। परीक्षाको परिणामलाई विज्ञापनमुखी र नतिजामुखी मात्र नबनाई सिकाइ र उपलब्धिमुखी बनाउनु पर्ने विचार राख्नु भएको थियो ।
मैले उपरोक्त तथा तल उल्लेख भएका भनाई र तर्कमा सहमत हुँदै अगाडि केही थप चर्चा गर्न चाहन्छु। मलाई गणित पठनपाठन गर्दा हाम्रो पाठ्यक्रम तथा पाठ्यपुस्तक र शिक्षण बढी सैद्धान्तिक भएको महसूस भइरहेकोले यसलाई प्रयोगात्मक तथा व्यावहारिक बनाउनु पर्ने र गणितप्रति सकारात्मक सोच बनाउन घरघरमा प्रयोग भएका काम तथा गतिविधिमा गणितको प्रयोगलाई चर्चा गर्नुपर्ने जस्तो लाग्छ। गणित सजिलो र सबै क्रियाकलापमा बिहान उठेदेखि साँझ नसुतेसम्म र जन्मदेखि मृत्यु पर्यन्त पनि गणितको प्रयोग भएकोले यो जीवनका हरेक क्रियाकलापमा नङ र मासुको जस्तो सम्बन्ध रहेको कुरा बालबच्चा र सबै जनामा जानकारी दिँदै भान्सा कोठा, चर्पी, आँगन, आफ्नो कोठा, बाटोघाटो, बगैँचा, करेसाबारी, कुलो, नहर, पुल पुलेसा सबैतिर गणित प्रयोग भएको देखाउनु पर्दछ । ताकि गणितको महत्त्व बुझ्दै यस विषयप्रति माया र सद्भाव अनि यसको महत्त्व दर्साउनु पर्दछ भन्ने लाग्छ । यसबाट सकारात्मक धारणाको विकास हुन्छ । यस्ता चर्चाले गणित सजिलो र सबैतिर प्रयोग भएको रहेछ भन्ने वास्तविकता उजागर हुन्छ । समाजमा पनि बालबालिकासँग गणितको चर्चा गरी गणित संस्कृतिको विकास गर्न सक्नु पर्दछ भन्ने लाग्छ।
शिक्षकलाई दिइने तालिम विद्यार्थीसँग सम्बन्धित बनाएर सञ्चालन गर्नु पर्दछ। शिक्षकलाई पठनपाठनमा उपयोग हुने उत्पादनमुखी तालिम दिनु पर्दछ । मूल्याङ्कन गर्दा प्रक्रियामा महत्त्व दिनु पर्दछ कि उत्तर केन्द्रित। स्थानीय तथा रैथाने गणितमा ध्यान दिँदै ऐतिहासिक विकास क्रम तथा पारिवारिक र सामाजिक व्यवहारमा पनि गणित रहेको औँल्याउँदै गणितमा आकर्षण बढाउने र अहिलेको परिवर्तित परिवेशमा प्रविधिमैत्री रूपमा बालमैत्री पाठ्यक्रम, पाठ्यपुस्तक तथा पठनपाठन र सिकाइ वातावरण कायम गर्नु पर्दछ। साथै गणितलाई कामसँगै जोड्न सक्नु पर्दछ। इमानदारी र उच्च नैतिकता कायम गरी मूल्याङ्कनमा विश्वसनीयता कायम गर्नु पर्दछ। केवल एसईईको नतिजामा मात्र केन्द्रित नभई तल्लो तहको पठनपाठन र मूल्याङ्कनमा पनि सुधार गर्दै जानु पर्दछ । विषयगत शिक्षकको व्यवस्था तल्लो तह देखि नै हुनु जरुरी छ।
त्यस्तै अर्का सहभागी मित्र सुशील खनालले सञ्चार मिडियाले पनि सकारात्मक पक्षलाई महत्त्व दिई जनमानसमा चर्चा गर्नु पर्ने, सरकारका विभिन्न निकायमा समन्वयकारी भूमिकाले गणितमा सुधार गर्न सकिने धारणा राख्दै प्रश्न पत्र निर्माण गर्दा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी बनाउनु पर्ने न की केन्द्रमुखी भनी केही अनुभव प्रस्तुत गर्नु भएको थियो। त्यस्तै उहाँले विद्यार्थीलाई शिक्षण होइन सहजीकरण गर्न सकेमा गणितमा सिकाइ उपलब्धिमूलक हुने आफ्नो धारणा राख्नु भएको थियो। पठनपाठन बालबालिकाले अनुभव गर्न सक्ने वा अनुभूति गर्न सक्ने हुनु पर्ने बताउनु भएको थियो। शिक्षकलाई तालिम दिँदा कक्षा-४ र कक्षा-५का शिक्षकलाई लक्षित गरिदिनु पर्ने र विषयगत शिक्षकले नै पठनपाठन गर्नुपर्ने औँल्याउनु भएको थियो। गणित सिक्न समालोचनात्मक सोचाई, सृजनशीलता, सकारात्मकता, विषयगत धारणाको विकासको जरुरी हुने धारणा राख्नु भएको थियो।
शिक्षकलाई तालिम दिँदा कक्षा-४ र कक्षा-५का शिक्षकलाई लक्षित गरिदिनु पर्ने र विषयगत शिक्षकले नै पठनपाठन गर्नुपर्ने औँल्याउनु भएको थियो।
गणित पठनपाठनमा सैद्धान्तिक र व्यवहारिक भिन्नता रहेकोले व्यवहारिक र प्रयोगात्मक गणितमा ध्यान दिनु पर्ने बताउनु भएको थियो। त्यस्तै, जिपिए धेरै ल्याउनेको चर्चा गरे जस्तै कमजोरलाई उकास्न के कस्ता शैक्षिक तौरतरिका अवलम्बन गरी सुधार्न सकिन्छ सो मा पनि ध्यान दिनु पर्ने उल्लेख र चर्चा भएको थियो।
डा.वेद ढकालले गणितको उपलब्धि प्रोग्रेसिभ रहेको चर्चा गर्दै प्रयोगात्मक र भाषिक रूपमा विकसित प्रविधिमैत्री शिक्षणले गणितमा सकारात्मक उपलब्धि हुने बताउनु भएको थियो। शिक्षण गर्दा “पाई इन् द स्काइ” जस्तो अवधारणा राखेर अगाडि बढ्नु पर्ने व्याख्या गर्नु भएको थियो। उहाँले वि.सं.२०२८ साल र वि.सं.२०८२ सालको पाठ्यक्रम, पाठ्यपुस्तक र पठनपाठनमा तुलना गर्दै उति बेलाको गणित बढी व्यवहारिक विषयवस्तु र परिवेश ऋयलतभहत मा आधारित थियो तर अहिले सूत्रबाट सुरु भएको छ भन्दै इन्द्रनाथ अर्यालले सञ्चालन गर्नु भएको प्रयोगात्मक PRIME ((Program for Revision and Improvement in Mathematics Education) कार्यक्रमको चर्चा गर्नु भएको थियो।
यो पङ्तिकार म आफैंले इन्द्रनाथ अर्यालका गणितीय कार्यबारे विभिन्न पत्रपत्रिकामा चर्चा परिचर्चा गरी केही लेखहरू प्रकाशन गरिसकेको छु। सो यहाँ स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु। सो संवादमा डा.ढकालले प्रकृया निर्देशित शिक्षण गर्नाले नतिजा सुध्रने चर्चा गर्दै प्रविधिको प्रयोगले पठनपाठनमा सहयोग भएकोले पनि यस पटकको एसईईमा गणितको नतिजा सुध्रेको बताउनु भएको थियो। कक्षाकोठामा विद्यार्थीको लागि रमाउने वातावरण र बाल मनोविज्ञानमा आधारित शिक्षण हुनु पर्ने बताउँदै विद्यार्थी, शिक्षक, विद्यालय, शैक्षिक निकाय, विश्वविद्यालय बीचमा समन्वय र सहकार्य गर्दै अगाडि बढेको खण्डमा गणित जस्ता विषयको नतिजामा सुधार हुने तथ्य उहाँले उल्लेख गर्नु भएको थियो।
सो संवाद कार्यक्रममा सहभागिबाट गणितको नतिजामा शिक्षकको प्रमुख भूमिका रहेको बताउँदै शिक्षक लगायत सरोकारवाला सबै इमानदार भएर शैक्षिक कार्यक्रम सञ्चालन र पठनपाठन गर्नुपर्ने चर्चा सबैतिरबाट उठेको थियो। सहभागी मित्र डा.रमेश अवस्थीले हाम्रो पाठ्यक्रम विश्वकै उत्कृष्ट रहेको चर्चा गर्दै परीक्षाका प्रश्न पत्रको स्तरियता, परीक्षा प्रणाली र मूल्याङ्कन सुधार्नुका साथै शिक्षक विद्यार्थी अनुपात पनि न्याय सङ्गत तरीकाले कायम गरेमा गणितमा राम्रो गर्न सकिने बताउनु भएको थियो । पाठ्यक्रमको राम्रो अध्ययन र प्रयोगको अभाव रहेको बताउँदै गणितीय जागरण तथा सचेतना जगाएर गणितमा सुधार गर्न सकिने राय प्रस्तुत भएको थियो।

सो संवाद कार्यक्रममा भएको चर्चाको प्रतिविम्ब वा मूल्याङ्कन गरी प्रा.डा.विनय कुसियैत सरले सो संवादले निकै राम्रो र फलदायी उपलब्धि हुने बताउँदै गणितले नै अरू विषयमा समेत सहयोग र सुधार गर्ने भएकोले यो रसायन जस्तो प्रक्रिया केन्द्रित सहअस्तित्व भएको समन्वयकारी विषय रहेको उल्लेख गर्नु भएको थियो। गणित त प्रक्रियागत शिक्षणको एक आइकन नै हो भन्दै इन्पुट राम्रो भएमा आउट पुट राम्रो हुने बताउनु भएको थियो। गणितमा राम्रो सुधार र प्रगति गर्न सुधारात्मक अर्थात् फर्मेटिभ मूल्याङ्कनमा जोड दिनु पर्ने वहाँले राय दिनु भएको थियो।
अन्त्यमा यो संवादको कार्यक्रमका लागि पुनः शिक्षक मासिक पत्रिका र सहभागी विद्वान् मित्रहरूसँग साक्षरकार भई गणितको स्तर उन्नतिको लागि गर्नुपर्ने र गर्न सकिने कामको सारगर्भित चर्चा, व्याख्या र राय सुझाव आपसमा शेयर गर्ने मौका प्राप्त भयो र धेरै विचार र विमर्श सुन्न पाउनुका साथै आफ्ना केही विचार पनि व्यक्त गर्ने वातावरण मिलेकोमा आयोजक राजेन्द्र दाहाल, राष्ट्रिय परीक्षा बोर्डका डा.अध्यक्ष महाश्रम शर्मा, संयोजनमा भूमिका खेल्ने डा.श्रीराम खड्का सर, सहभागी विद्वान् साथीहरू र शिक्षक मासिक पत्रिका परिवारसँग आबद्ध सबै प्रियजनमा हार्दिक धन्यवाद तथा हार्दिक आभार व्यक्त गर्दछु। स्तुत्यपुर्ण संवाद कार्यक्रम सधैँ स्मरणमा रहने छ। यसरी पुनः शिक्षक मासिक पत्रिकालाई फर्केर हेर्ने प्रयास गरेको छु। जय शिक्षक मासिक, जय गणित-जय विज्ञान र जय मानव तथा जिव संसार।



