बोटबिरुवासँग बालबालिका
एकदशक भन्दा बढी भयो, युकेजीका विद्यार्थीलाई मैले वनस्पति र बोटबिरुवाको पाठ पढाउने वेला कौसीखेतीको अवलोकन गराउँदै सिकाउन थालेको। साताको पहिलो दिन अर्थात् आइतवार खाजापछिको घण्टीमा आधा घण्टाजति कौसीमा रोपेका विभिन्न तरकारी र फलफूलका बोटबिरुवा देखाउँदै उनीहरूको नाम भन्न सिकाउनु मेरा लागि मात्र नभई विद्यार्थीका लागि पनि रमाइलो र फलदायी हुँदै आएको छ। यसरी कौसी खेतीको सिकाइसँगै हरेक शुक्रवार बोटबिरुवा सम्बन्धी परियोजना कार्य दिने गरेकी छु। ठूलाभन्दा पनि साना बोटबिरुवा- जस्तैः पुदिना, घाँस र धनियाँका बिरुवा कार्डबोर्डमा टाँसेर तिनको नाम लेखेर कक्षा कोठामा झुन्ड्याउने पनि गरेकी छु, ताकि उनीहरूले दिनहुँ देखेर सम्झ्रिहुन् । त्यति मात्र हैन कहिलेकाहीं गृहकार्यको रूपमा विद्यार्थीलाई यस्तै कार्डबोर्डमा परियोजना कार्य दिने गरेको छु।
युकेजीका लागि भनेर तयार पारिएका विज्ञान तथा सामाजिक विषयका पाठ एउटै पुस्तकमा समाविष्ट गरिएको भए तापनि हामी शिक्षकले मिलाएर पढाउने गरेका छौं। बोटबिरुवा, तरकारी र फलफूलका बारेमा पढाउँदा कौसी खेतीको अवलोकनले विद्यार्थीलाई सहज मात्र भएको छैन, यस्तो व्यावहारिक तथा जीवन्त शिक्षण सिकाइले विज्ञान विषय रुचिकर बनाउन समेत मद्दत गरेको छ। पाठ्यपुस्तकमा चाहिं झन्झट लाग्ने गरी सबै बोट-वनस्पति- जस्तैः पुदिना, घाँस तथा धनियाँ र साना तथा मझैला बिरुवा- गोलभेंडा, भान्टा, खुर्सानी, काँक्रो, सिमी, भिन्डी लगायत ठूल्ठूला रूखका तस्बिर एउटै पाना र एउटै पाठमा मिसमास गरेर दिइएको छ। यस्तो पाठ शिक्षकलाई मात्र हैन विद्यार्थीलाई समेत सहज र रुचिकर नलाग्नु स्वाभाविक हुन्छ।
बालबालिकालाई साना तथा झौला किसिमका तरकारीका बोटबिरुवा कौसीमा अवलोकन गराउँछौं भने आँप, नीम र अशोक जस्ता ठूला बोट विद्यालयको परिसरमै उनीहरूले देख्न-चिह्न सक्छन्। कौसी र करेसाबारीमा फलेका फलफूलहरू विद्यार्थीलाई पनि चाख्न र खान दिने गरिएको छ। अहिले हाम्रो कौसीमा काँक्रो र ठूलो प्लास्टिकको भाँडोमा आँप लटरम्म फलेको छ। फलफूल खान पाइने भएकोले पनि कौसी र करेसाबारी अवलोकन गराउने दिन विद्यार्थी साह्रै खुशी हुने गरेका छन्।
विभिन्न प्रकारका बोटबिरुवा देखाएर पढाउँदा हुने जीवन्त सिकाइले विद्यार्थीमा सकारात्मक प्रभाव पर्नुका साथसाथै तरकारी र फलफूलको उत्पादनबारे पनि तिनले आधारभूत ज्ञान पाउँछन्।
यसरी विभिन्न प्रकारका बोटबिरुवा देखाएर पढाउँदा हुने जीवन्त सिकाइले विद्यार्थीमा सकारात्मक प्रभाव पर्नुका साथसाथै मानव जीवनलाई नभई नहुने तरकारी र फलफूल बोटबिरुवाबाट प्राप्त हुने आधारभूत ज्ञान पनि विद्यार्थीले सानै उमेरमा पाउँछन्। कतिपय साना विद्यार्थी तरकारी खान मन पराउँदैनन् र अधिकांशले त तरकारी कसरी फल्छ भनेर देखेका पनि हुँदैनन्। मेरै छोराछोरीले पनि सानो छँदा सबैखाले तरकारीहरू खाँदैनथे। उच्च शिक्षा हासिल गर्दाताका काठमाडौं बसाइँको क्रममा उनीहरूले ‘ममी, लसुन र प्याजको पात कसरी छुट्याउने ?’ भनेर फोनमा सोध्ने गर्थे। यी र यस्तै कुराहरूलाई मध्यनजर गरी मैले विज्ञान विषय अन्तर्गत पर्ने वनस्पति विज्ञानको व्यावहारिक शिक्षण–सिकाइ शुरू गर्नका लागि कौसीखेती शुरू गरेकी हुँ।
मैले कौसीमा मौसमी तरकारी जस्तै धनियाँ, पुदिना, लट्टेको साग, रायो साग, गाँजर, मूला, खुर्सानी, लसुन, गोलभेंडा, भान्टा, लहरे सिमी, काँक्रा, कागती र फलफूलमा आँप, मुन्तला र दुई किसिमको ड्रागन फ्रुट (सिउँडी फल) रोप्ने गरेकी छु। यसै गरी यसपालि बगरमा फल्ने खरबुजा पहिलो पटक मेरो कौसीमा फलेको छ भने गएको हिउँदमा फल्न थालेको गोलभेंडा र बाह्रैमास फल्ने खुर्सानीले मेरो भान्साको खर्च मात्र घटाएको छैन, विषादीमुक्त तरकारीले कौसी हराभरा पनि बनाएको छ । यस्तै कहिलेकाहीं विद्यार्थीलाई अभिभावकहरूको रोहबरमा यी तरकारी र फलफूलका बेर्ना-बिरुवा समेत वितरण गर्दै आएकी छु। गृहकार्यको रूपमा विद्यार्थीलाई आफ्नो घरबाट यस्ता मौसमी तरकारीहरू ल्याउन पनि लगाउँछु।
यसका साथै, बोटबिरुवालाई चाहिने जैविक मल भान्साबाट निस्कने काँचो र पाकेको फोहोरबाट प्राप्त हुने व्यावहारिक ज्ञान अभिभावकहरू माझ् बाँड्दै आएकी छु। जसले गर्दा एकातिर कुहिने फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापनका कुराहरू अभिभावकले पनि थाहा पाएर त्यसलाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएका छन्। रमाइलो कुरा त, विद्यालयले बनाएको सामाजिक सञ्जालको समूहमा जोडिएका कतिपय अभिभावकले, छोराछोरीले बारीमा तरकारीको बिरुवा रोप्दै गरेको लगायत पानी हाल्दै गरेका श्रव्यदृश्य समेत पठाउने गरेका छन्। त्यसो त, अहिलेका मात्र हैन हाम्रा कतिपय पूर्वअभिभावक तथा सहकर्मी शिक्षक र कर्मचारीहरू समेतले कौसीखेती गर्न थालेका छन्।
यसरी विद्यालयमा थालेको वनस्पति विज्ञानको व्यावहारिक शिक्षण सिकाइले एकातिर विद्यार्थी र शिक्षकलाई पाठ बुझन–बुझाउन सहज भएको छ अर्कातिर परिवर्तनका संवाहक मानिने विद्यार्थी र अभिभावकका घरघरमा पनि कौसीखेतीप्रति आकर्षण बढेको छ । खासमा पूर्वप्राथमिक तहदेखि नै विज्ञान विषय अन्तर्गत पर्ने वनस्पति विज्ञानको व्यावहारिक ज्ञान हासिल गर्न/गराउन विद्यालयहरूले विद्यालयमा करेसाबारी नभए कौसीमा भए पनि तरकारी तथा फलफूलको बिरुवा उमार्नु जरूरी छ। जसले गर्दा विद्यार्थीले सानै उमेरमा विषादीमुक्त तरकारी लगायत फलफूल उत्पादनबारे थाहा पाउँछन् अनि ती बोटबिरुवा मार्फत उनीहरू प्रकृतिसँग घुलमिल गर्ने वातावरण तयार हुँदै जान्छ । त्यति मात्र हैन, बोटबिरुवाबाट प्राप्त हुने प्राणवायु अर्थात् अक्सिजनले मानवजीवनलाई बचाउन अहम् भूमिका निर्वाह गर्छ भन्ने आधारभूत कुरा समेत विद्यार्थीले थाहा पाउँछन्।
विशेषगरी, विज्ञान विषय अन्तर्गत पर्ने वनस्पति विज्ञानको व्यावहारिक शिक्षण सिकाइलाई विद्यालय व्यवस्थापन तथा शिक्षकहरूले महत्व दिई जीवन्त शिक्षण सिकाइ गर्न सके यसले विद्यार्थीलाई प्रकृतिप्रेमी मात्र बनाउँदैन विद्यार्थीलाई वृक्षरोपण जस्ता पुनित कार्य गर्न अभिप्रेरित समेत गर्छ।
हामीकहाँ पनि सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरूलाई हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले ‘एक विद्यालय एक बगैंचा’ तथा ‘बृहत् हरित क्षेत्र निर्माण’ गर्ने गरी हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ जारी गरेको आधा दशक बितिसक्दा पनि बहुसंख्यक विद्यालयहरूको प्राथमिकतामा यी र यस्ता विषयहरू पर्न सकेका छैनन् । यस्तै, पर्याप्त जग्गा हुने विद्यालयहरूको प्राथमिकतामा समेत बगैंचा अथवा करेसाबारी निर्माणभन्दा भौतिक संरचना निर्माणतिर नै चासो-चिन्ता रहेको देखिन्छ। यसो हुँदा पनि विद्यालयहरूले विद्यालय परिसरमा हरियाली प्रवद्र्धन गर्न बगैंचा निर्माण गर्न सकेका छैनन्।
काठमाडौं महानगरभित्र पर्ने दरबार हाईस्कूलले विद्यालय परिसरमा बगैंचासँगै मौसमी तरकारी खेती गर्न विद्यार्थीलाई प्रोत्साहित गर्दै आएको छ। ‘बुक फ्री फ्राइडे’का दिन मैले त्यहाँका विद्यार्थीहरूसँग विद्यालय परिसरमा तरकारी गोडमेल गर्दै गर्दा भलाकुसारी गरेकी छु। यसरी विद्यालयहरूले बगैंचामा विभिन्न थरीका फूलसँगै करेसाबारीमा तरकारी तथा फलपूmलका बिरुवा रोप्ने हो भने बोटबिरुवा सम्बन्धी व्यावहारिक ज्ञानसँगै आधारभूत तथा मावि तहका विद्यार्थीलाई कृषिमा आधारित उद्यमशीलता सम्बन्धी सीप सिकाउन सकिन्छ।
यसपालिको बजेट भाषणमा सरकारले उद्यमशीलतामैत्री शिक्षामा जोड दिने बताएको छ। त्यस्तो घोषणा सार्थक पार्न विगतका दिनमा विद्यालय तथा शैक्षिक संस्थाहरूमा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले ल्याएको ‘एक विद्यालय एक बगैंचा’ को नारालाई कार्यान्वयन गर्ने/गराउने र भोलिका दिनमा ‘एक विद्यालय एक करेसाबारी अथवा कौसीखेती’ कार्यक्रम शुरू गर्नु जरूरी छ। किनभने स्कूले जीवनमा विद्यालय परिसरको बगैंचामा विभिन्न थरीका फूल तथा करेसाबारी वा कौसीमा विभिन्न थरीका तरकारी लगायत फलफूल गोडमेल गर्दै हुर्केका विद्यार्थी नै भोलिका राष्ट्रिय जनशक्ति हुन् भनेर शिक्षकले उनीहरूको सीप र सिर्जनालाई मलजल गर्नु जरूरी छ। वर्तमान शिक्षालाई जागिरमुखी हैन, उत्पादनमुखी बनाउन पनि शिक्षक सहकर्मीहरूले विद्यार्थीलाई चिकित्सक र प्राविधिक मात्र नभई सामाजिक उद्यमी बन्न अभिप्रेरित गर्नु जरूरी छ।
(प्रिन्सिपल, सरिता-इन्द्र पूर्व प्रावि, विराटनगर-११ ।)
शिक्षक मासिक, २०८२ असार अंकमा प्रकाशित।



