महानगरले एक वर्ष नपुग्दै हटायो स्वयंसेवक शिक्षक

अंग्रेजी माध्यमबाट पठनपाठनका लागि आफैं ‘स्वयंसेवक शिक्षक’ भर्ना गरेको वीरगञ्ज महानगरपालिकाले ती शिक्षकहरूलाई सेवाबाट हटाएको छ। ‘स्वयंसेवक शिक्षकहरूबाट अपेक्षाकृत नतिजा नआएको’ भन्दै महानगरपालिकाले ७४ जना स्वयंसेवक शिक्षकहरूलाई गएको पुस १ गतेबाट लागू हुने गरी हटाउने निर्णय गरेको हो। 

यो निर्णयसँगै, वीरगञ्ज महानगरपालिकाले अंगे्रजी माध्यमका लागि स्वयंसेवक शिक्षक राख्ने आफ्नो नीति पनि फिर्ता लिएको छ। अब शिक्षक व्यवस्थापन गर्न विद्यालयलाई नै जिम्मेवारी दिइएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताएका छन्। पालिकासँग पर्याप्त आर्थिक स्रोत नभएकाले पनि शिक्षक व्यवस्थापनमा कठिनाइ भएको उनको भनाइ छ।

केही विद्यालयले तिनै स्वयंसेवक शिक्षकमध्येबाट छानेर कक्षालाई निरन्तरता दिएका छन्। नृसिंह माविका सहायक प्रधानाध्यापक सन्तोषकुमार साह भन्छन्, ‘सबै स्वयंसेवक शिक्षक अक्षम छैनन्। हामी अहिले पनि पहिलेका स्वयंसेवक शिक्षकहरूमध्येबाटै पठनपाठन गराइरहेका छौं।’
अंग्रेजी माध्यममा निजी स्रोतका शिक्षक राख्न सामुदायिक विद्यालयहरूले अभिभावकबाट सहयोग रकमका नाउँमा शुल्क उठाएको भनेर महानगरपालिकाले स्वयंसेवक शिक्षक राख्ने नीति लिएको थियो । तर उसको यो कदम एक वर्ष नपुग्दै असफल भएको छ।

त्रिजुद्ध रघुवीर राम मावि, माईस्थान मावि, नृसिंह मावि र सिद्धार्थ माविमा वीरगञ्ज महानगरपालिकाले शिक्षक उपलब्ध गराएको थियो। 
यी विद्यालयमा पहिले अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने गरेको थियो । पालिकाले यी विद्यालयबाट नेपाली माध्यम हटाएर अंग्रेजी माध्यमबाट मात्र पठनपाठन गराउने निर्णय गरेको थियो। ती विद्यालयका प्रधानाध्यापकहरूले महानगरपालिकाको नीति नराम्रो नभएको तर शिक्षक व्यवस्थापनमा कमजोरी देखिएको टिप्पणी गरेका छन्।  

commercial commercial commercial commercial