डिजिटल सुरक्षाका काइदा !

केही वर्ष अघिसम्म हामी 'कक्षाकोठा'को कुरा गर्नासाथ डस्टर, कालो बोर्ड अनि किताब-कापीमा झुकेका टाउकाको कल्पना गर्थ्यौं। तर अहिलेको कक्षा त्यस्तो 'कोठा'मा मात्र सीमित छैन। आजभोलि अधिकांश विद्यार्थीको ध्यान कक्षाकोठाको बोर्डमा भन्दा बढी मोबाइल, ट्याब्लेट वा ल्यापटपका स्क्रिनमा हुन्छन्। अलिकति सम्पन्न र अग्रगामी नेतृत्व भएका विद्यालयका कक्षाहरूमा त काला, सेता पाटीको ठाउँ स्मार्ट डिजिटल बोर्डले नै लिइसकेका छन्।

आजभोलि धेरै शिक्षक वा अभिभावकले आफ्ना केटाकेटी पाठमा होइन, मोबाइलमा 'टाउको गाडेर' बसेको गुनासो गर्छन्। कोही रातभर गेम खेलेर आँखा रातोपिरो बनाएर स्कूल आउँछन् भने कोही सामाजिक सञ्जालमा आफ्ना पोस्टमा आएका कमेन्ट वा लाइक/डिसलाइकबाट तनावमा छन्। विद्यार्थी वा छोराछोरी कक्षाकोठा, विद्यालयका चउर वा घरका आँगनमा भन्दा बढी स्क्रिनमा रमाउनु आजभोलिको यथार्थ हो। तर यसरी स्क्रिनमा नियमित 'इन्गेज' भइरहँदा व्यक्तिमा समस्या पैदा हुन सक्छन्।

बालबालिका के हेर्छन्, के भोग्छन् ?

इन्टरनेट अब बालबालिकाको अतिरिक्त समय बिताउने माध्यम मात्रै होइन, उनीहरूको सामाजिक जीवन, मनोरञ्जन र जानकारीको मुख्य स्रोत पनि बन्न पुगेको छ। युट्युब, टिकटक, इन्स्टाग्राम, फ्रि फायर र पब्जी जस्ता एप उनीहरूको दिनचर्याका अंग बनिसकेका छन्। यिनले बालबालिका/विद्यार्थीको सिकाइ र व्यक्तित्व विकासमा पार्ने सकारात्मक पक्षको जगेर्ना गर्दै उनीहरूको मानसिक र सामाजिक स्वास्थ्यमा पार्ने प्रतिकूल असर भने हरेक शिक्षक र अभिभावकले ध्यान दिनुपर्ने विषय हो। हानिरहित देखिने कतिपय रमाइला कुरामा पनि केही असरहरू लुकेका हुन सक्छन्; जस्तै, डिजिटल लत, साइबर बुलिङ र गोपनीयताको हनन्। यी सबै अवस्थाले बालबालिकाको आत्मसम्मान, आत्मविश्वास र मानसिक सन्तुलनमा गहिरो असर पार्न सक्छन्। कतिपय अवस्थामा उनीहरू आफैं पनि यी अनुभवको अर्थ बुझ्दैनन्। त्यसैले, अभिभावक/शिक्षकले केवल 'मोबाइल धेरै नहेर' भन्ने मात्र होइन, 'के हेरेका छौ ?' भनी संवाद शुरु गर्नु राम्रो हुन्छ।

हाम्रा अगाडि बालबालिकाले किन समस्या भन्दैनन् ?

बालबालिका आफ्ना अनलाइन समस्याहरूबारे शिक्षक-अभिभावकसँग कुरा गर्न धक मान्छन्- किनभने उनीहरू फोन खोसिन्छ कि, गाली खाइन्छ कि भनेर डराउँछन्। त्यसै भएर उनीहरू आफूले भोगिरहेको साइबर बुलिङ, अश्लील सन्देश, ब्ल्याकमेलिङ जस्ता संवेदनशील कुराहरू पनि लुकाएर राख्छन्। कतिपयले त आफूले भोगेको कुरा असुरक्षित हो भनेर समेत बुझ्दैनन्, किनभने उनीहरूलाई कसैले यसबारे 'खुलेर बोल्नुपर्छ' भनेर कहिल्यै सिकाएको हुँदैन। योसँगै, विश्वासको अभाव दोस्रो ठूलो कारण हो। शिक्षक अथवा अभिभावकसँग डिजिटल प्लेटफर्महरूको बारेमा ज्ञानको अभाव छ भने बच्चाहरू उनीहरूले आफ्ना समस्या बुझ्दैनन् भन्ने ठान्दछन्। त्यसैले यदि हामी बालबालिकाले खुलेर आफ्नो अनुभव बाँडून् भन्ने चाहन्छौं भने हामीले शुरुमा उनीहरू बोल्न सक्ने वातावरण बनाउनुपर्छ। 'कसरी यस्तो गर्यौ?' भन्दा पनि 'के भयो ?' भन्ने शैलीबाट संवाद शुरू गर्नुपर्छ।

टिकटक जस्ता प्लेटफर्महरूले अपरिपक्व उमेरका दर्शक तथा बालबालिकालाई सघाउने गरी सहयोगी टुलहरू प्रदान पनि गर्न थालेका छन्। जस्तै, टिकटकको फ्यामिली पेयरिङ फिचर ले १५ भन्दा बढी सुरक्षा, गोपनीयता र वेल बिइङ्ग जस्ता कस्टमाइजेबल टुलहरू प्रदान गर्दछ। यस्ता टुलले अन्ततः किशोरकिशोरीहरूलाई अभिभावकीय नियन्त्रण र पारदर्शिता सहित स्वस्थ डिजिटल बानीहरू निर्माण गर्न मद्दत गर्दछन्। बालबालिका तथा किशोर-किशोरीका खाताहरू लिङ्क गरेर, आमाबाबु वा अभिभावकले दैनिक स्क्रिन टाइमको सीमा सेट गर्ने, अन्तरक्रियाहरूलाई व्यवस्थापन गर्ने र उमेर-उपयुक्त कन्टेन्ट मात्र सुनिश्चित गर्ने लगायत अन्य सुरक्षा सुविधा सहित 'कस्टमाइज' गर्न मिल्ने नियन्त्रण प्रणालीमा पहुँच राख्न सक्छन्। टिकटकले फ्यामिली पेयरिङ मा ध्यान केन्द्रित गर्नुको उद्देश्य हरेक परिवारले खुला रूपमा डिजिटल वेल बिइंगको बारेमा छलफल गर्न सक्ने वातावरण सिर्जना गर्नु हो, जसले आमाबाबुलाई आफ्ना किशोरकिशोरीहरूलाई सुरक्षित र थप सन्तुलित अनलाइन अनुभवतर्फ गाइड गर्न सघाओस्।

शिक्षक र अभिभावकको बदलिंदो भूमिका

इन्टरनेटको प्रयोग बढेसँगै बालबालिकाको दुनियाँ पनि फराकिलो बनेको छ, तर त्यो दुनियाँ सधैं सुरक्षित हुन्छ भन्ने छैन। आज अभिभावकको काम बच्चालाई सिकाउने र अह्राउने मात्र नभई सुन्ने र सहयोग गर्ने पनि हुनुपर्दछ। त्यस्तै शिक्षकहरूले किताबका अलावा अनलाइन व्यवहारका बारेमा पनि कक्षाकोठामा छलफल गर्नु आवश्यक छ। विद्यार्थीको डिजिटल व्यवहार बुझ्ने, त्यसमा छलफल गर्ने र आवश्यक मार्गदर्शन गर्न सक्ने वातावरण बनाउनु आजको आवश्यकता हो । त्यस्तै, अभिभावकहरू पनि ‘कथित नियन्त्रक’ भन्दा ‘सहकारी’ मा बदलिनु जरूरी छ। मोबाइल खोस्ने वा एक्लै टोलाएर बसे भनेर गाली गर्ने शैलीले बालबालिकाको आत्मविश्वास घटाउँछ। त्यसको सट्टा उनीहरूसँगै बसेर भिडियो हेर्ने, प्रयोग गरिरहेका एपहरूबारे बुझ्ने प्रयास गरियो भने उनीहरू खुल्न थाल्छन्।

यी सबैका लागि शिक्षक र अभिभावक दुवैमा एउटा साझा तत्व हुनुपर्छ: संवेदनशीलता। बालबालिका के भोगिरहेका छन् भन्ने कुरा सतही रूपमा थाहा पाउन सकिंदैन। त्यसका लागि समय, ध्यान र संवाद, तीनै कुरा आवश्यक हुन्छ।

इन्टरनेट अब केवल जोखिम होइन, सम्भावनाको संसार पनि हो। तर त्यस बाटोमा बालबालिका एक्लै हुनुहुँदैन। इन्टरनेट आजको पाठशाला हो भने शिक्षक र अभिभावक त्यसका सहयात्री। उनीहरू नियम बनाउने होइन, बाटो देखाउने पथप्रदर्शक बन्नुपर्छ।

अवस्था रूपान्तरण: शिक्षक र अभिभावकका लागि ५ सजिला अभ्यास

बालबालिकाको डिजिटल सुरक्षा सुनिश्चित गर्न ठूला योजना वा प्रविधि आवश्यक पर्छ भन्ने सोच हामीसँग हुन सक्छ। तर कहिलेकाहीं साना अभ्यासहरू नै दीर्घकालीन परिवर्तनका थालनी बन्न सक्छन्। यहाँ दिइएका पाँच वटा अभ्यास शिक्षक र अभिभावक दुवैले आफ्ना कक्षाकोठा वा घरमा सहजै लागू गर्न सक्ने उपाय हुन्:

१. हप्तामा एकपटक डिजिटल अनुभवबारे कुराकानी

विद्यार्थी वा आफ्ना छोराछोरीसँग साप्ताहिक रूपमा १०-१५ मिनेट अनलाइन अनुभवबारे कुराकानी गरौं। “यस साता इन्टरनेटमा के रमाइलो कुरा देख्यौ ?” वा “कुन कुरा असजिलो लाग्यो ?” जस्ता प्रश्न सोधेर यस्तो संवाद शुरू गर्न सकिन्छ।

२. ‘डिजिटल भित्तेपत्र’ वा ‘अनलाइन रिफ्लेक्सन नोट’

विद्यालयमा शिक्षकले वा घरमा अभिभावकले एउटा साझा ठाउँ (जस्तै चार्ट पेपर, नोटबुक वा भित्तामा संवाद नोट) राख्न सक्छन्, जहाँ बालबालिकाले अनलाइनमा देखेका वा भोगेका अनुभव छोटकरीमा लेख्न सक्छन्- जस्तै “आज मैले के नयाँ कुरा देखें ?”, “यो कुरा किन चित्त बुझेन ?”

३. 'साइबर बुलिङ'बारे संवादात्मक गतिविधि

साइबर बुलिङबारे सानो नाटक, खेल वा चित्रको माध्यमबाट छलफल गरौं। “के गर्‍यौ भने के हुन्छ ?” भन्ने शैलीमा छलफल गरेर, चुप लागेर बस्नुहुँदैन भन्ने सन्देश दिन सकिन्छ।

४. ‘मलाई सजग बनाउ’ अभ्यास

छोराछोरी वा विद्यार्थीलाई आफ्नो मोबाइलको गोपनीयता सेटिङ, एप अनुमतिहरू र पासवर्ड बलियो बनाउन सिकाऔं। अभिभावक वा शिक्षक आफैंले पनि यो अभ्यास गरेर ‘मोडेल’ बन्न सक्नुहुन्छ।

५. ‘स्क्रिन टाइम ब्रेक’ अभियान

घर वा विद्यालयमा 'नो फोन फ्राइडे' वा '७ बजेपछि डिजिटल विश्राम' जस्ता अभ्यास शुरु गर्न सकिन्छ। यस्तो अभ्यासले आँखालाई होइन, सम्बन्ध र मनलाई पनि विश्राम दिन्छ। यसबाहेक, टिकटक जस्ता प्लेटफर्महरूले फ्यामिली पेयरिङ जस्ता सुविधाहरू प्रदान गर्दछ जसले आमाबाबु र अभिभावकहरूलाई आफ्ना किशोरकिशोरीसँग आफ्नो खाता लिङ्क गर्न दिन्छ। यसो गर्दा उनीहरूलाई आफ्ना किशोरकिशोरीहरूको लागि स्क्रिन समयसीमा सेट गर्न एक्सेस प्राप्त हुन्छ। यो फिचरले आमाबाबुलाई हप्ताको विभिन्न दिनहरूको लागि अनुकूलन योग्य सीमाहरू उपलब्ध गराएर, आफ्ना बच्चाहरूले टिकटकमा प्रत्येक दिन कति समय बिताउँछन् भनेर निर्णय गर्न मद्दत गर्दछ। सीमा नाघेको खण्डमा अभिभावकहरूलाई एक पटक सूचना कोड पठाइन्छ। यसका साथै प्रयोगकर्ताहरूले आफ्ना किशोरकिशोरीहरूको लागि सुत्ने समयको रिमाइन्डर सेट गर्न सक्छन्, जुन समयमा एपले नै उनीहरूलाई लग आउट गर्न प्रेरित गर्नेछ। यी कुनै महँगो उपकरण वा अतिरिक्त तालिम नचाहिने, तर ध्यान, निरन्तरता र संवाद आवश्यक हुने अभ्यास हुन्। सानैदेखि यस्ता अभ्यासमा सहभागी भएका बालबालिकाहरूले भविष्यमा सजग र सुरक्षित डिजिटल-नागरिक बन्ने सम्भावना बढ्छ।

निष्कर्ष: आजैबाट शुरू गरौं

पूर्ण प्रतिबन्ध लगाएर होइन, सुरक्षित र स्मार्ट तरिकाले इन्टरनेट प्रयोग गर्न सिकाउनु अहिलेको आवश्यकता हो। शिक्षक र अभिभावकहरूले किशोरकिशोरीका लागि डिजिटल मार्गदर्शक बन्नुपर्छ, उनीहरूसँग विश्वास निर्माण र आपसमा खुला संवादलाई प्रोत्साहन गर्नुपर्छ। "तिमीले के हेर्‍यौ ?” जस्तो साधारण प्रश्नले नै उपयोगी संवादको ढोका खोल्न सक्छ। इन्टरनेट जीवनशैली नै बनिसकेको हुँदा हाम्रा बच्चाहरूले यसमा एक्सप्लोर गर्दा हामी पनि उनीहरू सँगसँगै अगाडि बढौं।

शिक्षक र अभिभावकका साना तर संवेदनशील कदमहरूले नै डिजिटल दुनियाँमा बालबालिकाको यात्रालाई सुरक्षित, समझदारीपूर्ण र उज्यालो बनाउन सक्छ- तर यसको सुरुवात आजैबाट गर्‍यौं भने मात्र।

commercial commercial commercial commercial