यसकारण पढाइनुपर्छ सामाजिक शिक्षा !

सामाजिक दृष्टिकोणको अपरिहार्यता
सामाजिक शिक्षा भनौं वा सामाजिक सेरोफेरो, सामाजिक अध्ययन वा सामाजिक विज्ञान । यी सबैको सारतत्व उस्तै उस्तै हो। 

यो प्रस्तुति मुख्यतया सामाजिक शिक्षाको महत्व अर्थात् ‘सामाजिक शिक्षा किन पढ्नुपर्छ ?’ मा केन्द्रित छ। सामाजिक शिक्षाको महत्वलाई गम्भीर तवरले बोध गर्नु अथवा उपर्युक्त प्रश्नमाथि घोत्लिनु किन पनि आवश्यक छ भने सामाजिक शिक्षाको पठनपाठनलाई हल्का रूपले लिने चलन व्यापक छ । कोर्समा भएकोले पढ्नैपर्ने तर ‘यो पढेर के फाइदा हुन्छ त ?’ भन्ने प्रश्नको उत्तर सिला खोज्नुपर्ने स्थिति छ। सामाजिक शिक्षाको पाठ्यक्रम बनाउनेलाई, पाठ्यपुस्तक लेख्नेलाई, पढाउनेलाई र पढ्ने विद्यार्थी र उनीहरूका परिवारका सदस्यहरूलाई समेत यसबारे अन्योल रहेको पाइन्छ। अझ् स्कूलको माथिल्लो तहमा त; भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र आदि पढेर भविष्यमा फलानो फलानो पेशाकर्मी हुन सकिन्छ तर सामाजिक शास्त्र पढेर के बन्न सकिन्छ र ? भन्ने सोच र दिक्दारी व्याप्त छ । 

सामाजिक शिक्षा अन्तर्गत पठनपाठन हुने विषयवस्तुहरू प्रायशः घरपरिवार वरपरका र केही ‘टिपनटापन’ गर्दा भेटिएका विषय वा मुद्दा जस्ता प्रतीत हुन्छन् । अर्थात्, घरपरिवार र यस वरपरका सामाजिक संरचनाहरूबारे किन पढ्नुपर्छ भन्ने प्रश्नको उत्तर पाठ्यपुस्तकहरूमा भेटिंदैन। यी थरी–थरीका संरचनाहरू एकापसमा कसरी एउटै मालामा उनिएका छन् भन्ने आकलन र व्याख्या पनि त्यहाँ भेटिंदैन । सबैभन्दा खट्किने समस्या त, सामाजिक शिक्षा भनेको विश्व, प्रकृति, जन्म र मृत्यु, मान्छे-मान्छेका सम्बन्धहरू, हाम्रा वरिपरिका यावत् वस्तुहरू लगायत आफैंबारे उत्खनन् गर्न र गम्भीर तवरले बुझन सिकाउने एउटा अत्यन्त महत्वपूर्ण दृष्टिकोण हो भनेर लिइएको, पढाइएको र पढेको पाइँदैन । यस्तो दृष्टिकोण विकास गर्नु सामाजिक शिक्षाको पठनपाठनको सबैभन्दा महत्वपूर्ण काम हो ।


हाल कक्षा ११ र १२ मा राखिएका सामाजिक शिक्षाका पाठहरू क्रमशः ९ र १० मा अनि ९ र १० कक्षाका पाठहरू कक्षा ६, ७ र ८ तिर सार्नुपर्छ। आजका विद्यार्थी अहिलेको पठ्यपुस्तकले अनुमान गरेभन्दा निकै तीक्ष्ण छन्। माथिल्लो कक्षाका विद्यार्थी त जलवायु परिवर्तन, नेपाल–भारत अथवा नेपाल–चीन सम्बन्ध जस्ता विषय बुझ्न पनि सक्षम छन्।


एउटा उदाहरणबाट शुरू गरौं । आज हामी फेवातालको किनारमा छौं । यो ताल केले बनेको छ ? सतहमा हेर्दा पानीले भरिएको छ यो ताल । तर पानीले मात्र यो ताल बनेको हो त ? यो ताल समाज– अर्थात् विशिष्ट सामाजिक सम्बन्धहरूको जालोले पनि बने–बनाएको छ नि, हैन र ? बाँध, व्यापार राजनीति अर्थात् समाजले पनि यो ताल बनाएको र बिगारेको छ, छैन ? व्यापारी र राजनीतिज्ञ सप्रिंदा यो ताल अझ् भव्य बन्न सक्छ नि ! अहिले पनि केही हदमा स्थानीय जनता, नगरपालिका आदि मिलेर बनाएको नियमन गर्ने नीति र प्रणालीले यो ताललाई जोगाइरहेको छ। तर, के यो पर्याप्त छ त ? हालै सर्वोच्च अदालतले दिएको आदेशले यसलाई अझ् स्वच्छ र दिगो बनाउला त ? अर्कोतर्फ, व्यापारिक स्वार्थवश यो मिचिने क्रम बढ्दै जाने र कुनै दिन अस्तित्व नै हराउने पो हो कि ?

यी सबै दृष्टिकोणबाट हेर्दा सामाजिक शिक्षाको ज्ञानले युक्त (लैस) हुने हो भने यो तालमा केवल पानी मात्र देख्दैनौं । त्यसबाहेक राजनीति र व्यापार पनि देख्छौं । यसलाई अतिक्रमण गर्ने मानिसहरू, तिनलाई वैधानिक वा अवैधानिक रूपमा सघाउने सामाजिक संस्था, सम्बन्ध सबै देख्छौं । यी सबैले यो तालको आकारमा फेरबदल ल्याइरहेका छन् । त्यसैले यो ताल पानीले मात्र नभई सामाजिक रूपमा पनि बनेको छ । सामाजिक भनेको आर्थिक, राजनीतिक र सांस्कृतिक सबै हो । तर, हामीले प्रायः तालको निर्माणमा सामाजिक पाटो छुटाइरहेका हुन्छौं । किनभने हामी पहिलो दृष्टिमा त तालको सतहमा तरंगित भइरहेका पानीका लहर मात्र देख्छौं । सामाजिक पाटो आफैं सतहमा देखिंदैन । यो त कतै गहिराइमा हुन्छ, जसलाई खोतल्नुपर्छ । सामाजिक शिक्षाले हामीलाई त्यो गहिराइमा डुबुल्की मार्न र नाप्न सिकाउँछ । 

त्यस्तै मेरो हातको बलपेनलाई हेरौं । यो केले बनेको छ ? के यसभित्र हामीले मानिसहरू सलबलाएको देख्न सक्छौं ? यसभित्र कामदार, म्यानेजर, लगानीकर्ता, उपभोक्ता सबै छन् । उनीहरूबीचको विशिष्ट सामाजिक सम्बन्धले यो कलम बनाएको छ र त्यसको उत्पादनलाई निरन्तरता दिइरहेछ । यो कलमले धेरै घरपरिवारलाई काम, ज्याला र नाफा दिएको छ । अर्थात्, कलम पनि सामाजिक रूपमा निर्माण भएको छ । जसले अनेकौं मानिसबीचको सामाजिक सम्बन्ध निर्धारण पनि गरेको छ । 


यो लोकमा त्यस्तो केही छैन; जुन समाज, सामाजिक शिक्षा वा सामाजिक विज्ञानबाट अछुतो होस् र, समाजको प्रकृति एवं गतिबाट निर्मित र पुनर्निर्मित नहोस्। सामाजिक शिक्षाको मूल ध्येय यो सत्य बुझ्ने–बुझाउने नै हो। 


अब जीवन र मृत्युले समाजको प्रकृतिलाई कसरी प्रभाव पारिरहेको हुन्छ भन्ने चर्चा गरौं । जीवन र मृत्यु जीवशास्त्रसँग मात्रै सम्बन्धित हो वा सामाजिक शास्त्रसँग पनि हो ? ५० वर्षअघि नेपालमा एकजना आमाले ६ जना बच्चा जन्माउँथिन्। अहिले एकजना आमाले औसतमा दुई भन्दा कम बच्चा जन्माउँछिन् । यो ठूलो परिवर्तन आफसेआफ भयो कि ईश्वर वा धर्मको कारणले भयो वा प्रकृति वा भौतिक संसार वा मनोविज्ञानले गर्दा भयो वा समाजको परिवर्तनले गर्दा भयो ? पक्कै पनि समाजमा आएको परिवर्तनका कारण यो परिवर्तन आएको हो। यस सम्बन्धमा एकजना समाज वैज्ञानिक जोन कल्डवेल भन्छन्ः सन्तानले कम उमेरमै बा–आमाको भरथेग गर्न थाल्ने समाजमा बच्चा धेरै जन्माइन्छन्। उता सन्तानले उपभोग मात्र गर्ने समाजमा बच्चा जन्माउने दर कम हुन्छ । नेपालमा शिशु मृत्युदर सन् १९५० को दशकमा प्रतिहजार जन्ममा ४०० थियो । सन् १९७० को दशकमा आइपुग्दा घटेर प्रति हजार २५४ भयो । अहिले प्रति हजार २७ छ । यस्तो कसरी भयो ? आफसेआफ, प्राकृतिक रूपमा ? ईश्वरले गरिदिएर ? भौतिक जगतका कारण ? मनोविज्ञान परिवर्तन भएर ? वा समाजको विन्यास र सामाजिक सम्बन्धहरूमा परिवर्तन भएर ? यो अन्तिम प्रश्न नै यस्तो परिवर्तनको कारक हो। 

अर्थात् जीवन र मृत्यु जस्तो दैवी, प्राकृतिक, जैविक वा आफसेआफ हुने ठानिएको अत्यन्त महत्वपूर्ण परिघटना पनि मूलतः समाजको चरित्रले निर्धारण गर्छ । यसर्थ सामाजिक शिक्षा पढ्ने–पढाउनेले जीवन र मृत्युलाई बुझन–बुझउन समाजको चरित्रलाई केन्द्रमा राख्ने धारिलो दृष्टिकोण अपनाउनुपर्छ । अन्यथा सामाजिक शिक्षा वा सामाजिक विज्ञान पढेको–पढाएको छु भन्नु पटक्कै सार्थक हुँदैन । 
नारीको पहिचान पनि अवला नारी वा स्वास्नीमान्छेबाट बदलिएर आज आत्मनिर्भर, स्वतन्त्र महिला बनेको छ । यो कति ठूलो सामाजिक परिवर्तन हो भन्ने थाहा पाउन केही गर्नै पर्दैन– एक छात्राले हजुरआमा र आमासँग आफ्नो तुलना गरे पुग्छ । के यो परिवर्तन आफसेआफ भएको हो ? अथवा धर्म, ईश्वर, प्रकृति, भौतिक जगत वा मनोविज्ञानले गरेको हो ? वा यी सबैको साटो सामाजिक शक्तिहरूले गरेका हुन् ? पक्कै पनि यो पछिल्लो प्रश्न सही उत्तरको नजिक छ । सामान्यतः केटाहरूले केटीहरूले भन्दा कपाल छोटो राख्छन् । यस्तो किन हुन्छ ? प्राकृतिक रूपमै छोटो हुन्छ कि ? हर्मोन वा उनीहरूको शरीरको कारणले हो कि ? ईश्वर वा धर्म वा मनोविज्ञानका कारण हो कि अथवा सामाजिक मूल्य–मान्यताका कारणले ?

संयुक्त राज्य अमेरिकामा माध्यमिक विद्यालयको शिक्षकको वार्षिक तलब औसतमा ५७ हजार अमेरिकी डलर वा ७५ लाख रुपैयाँ हुन्छ । नेपालका शिक्षकहरूको किन त्योभन्दा निकै कम छ ? यस्तो किन हुन्छ ? आफसेआफ ? धर्म वा ईश्वरका कारण ? भौतिक जगत वा मनोविज्ञानका कारण ? वा असमान विकास र असमान अन्तर्राष्ट्रिय सम्बन्ध, जुन आफैंमा सामाजिक शक्ति हुन्, तिनका कारण ?
हाम्रो समाजमा रहेको जात व्यवस्थाको जग के हो ? रगत ? धर्म वा ईश्वर वा भौतिक जगत वा मनोविज्ञान ? कि हामीले निर्माण गरेको सामाजिक संस्थाहरूको प्रकृति ?

सिंगो विश्वको तापमान वृद्धि भइरहेको जलवायु परिवर्तन र यसले ल्याउने व्यापक र भयावह परिवर्तन आफसेआफ भएको हो कि ? कि ईश्वरले गरेका हुन् ? प्राकृतिक रूपमा भएको हो कि ? वा यसको सम्बन्ध पनि सामाजिक शक्तिहरूसँग जोडिएको छ ? छ नि ! समाजकै प्रकृतिमा आएको परिवर्तनको कारणले जलवायु परिवर्तन भइरहेको हो । त्यस्तै, क्षयरोग वा कोभिड–१९ जस्ता महामारीहरू आफसेआफ हुन्छन् कि भगवानले फैल्याउँछन् कि अथवा धर्म, प्रकृति, भौतिक जगतले गर्छ ? सामाजिक विन्यास र सम्बन्धहरू तथा तिनमा आएका परिवर्तनबाट नै धेरै हदमा महामारी शुरू हुन्छ । र; बहुधा त्यसै पनि अन्त्य पनि हुन्छ । 

माथिको छलफलबाट निम्न तीनवटा निष्कर्ष निकाल्न सकिन्छ ः 
पहिलो, यस जगतका हरेक वस्तु, ज्ञान, संवेदना, घटना, प्रक्रिया, गुण, सपना, कल्पना, आश, त्रास, दया, करुणा, समभाव, उत्पादन, वितरण, उपभोग, शक्ति, न्याय–अन्याय आदि सबै नै सामाजिक रूपले बनेका हुन्छन् । राज्य, वर्ग, लिंग, धर्म, जात, जाति र अन्य समूहहरू बीचको सामाजिक सम्बन्ध र सामाजिक संरचनाले हाम्रो र हामी वरिपरिको भौतिक, जैविक आदि समेतको निर्माणमा ठूलो भूमिका खेलेका हुन्छन् ।

अर्थात्, यो लोकमा त्यस्तो केही छैन; जुन समाज, सामाजिक शिक्षा वा सामाजिक विज्ञानबाट अछुतो होस् । र, समाजको प्रकृति र गतिबाट निर्मित र पुनर्निर्मित नहोस् । सामाजिक शिक्षाको मूल ध्येय यो सत्य बुझने–बुझउने नै हो । साथै प्रकृति, वातावरण, जीवन र समाजका अनेकन् पाटाहरूमा यो सत्यलाई कसरी मूर्त तुल्याउन सकिन्छ भनेर बुझने–बुझउने हो । हो, भौतिक र जीव वैज्ञानिक कारकहरूले पनि हामी र हामी वरिपरिको परिवेश निर्माणमा भूमिका खेल्छन् । तर, कुनै पनि चीज सामाजिक रूपमा पनि बनेको हुन्छ । त्यसैले सामाजिक शिक्षाका विद्यार्थीले आफैंलाई र आफू वरिपरिको जगतलाई यो कोणबाट हेर्ने क्षमता विकास गर्नुपर्छ । 

दोस्रो, हामी ईश्वर, धर्म, प्रकृतिदेखि विज्ञान सबैको निर्माण, परिवर्तन र निरन्तरतामा सामाजिक विज्ञान र सामाजिक संस्थाहरूले भूमिका खेलिरहेका हुन्छन् भन्छौं । ईश्वरको अस्तित्व छ, छैन हामीलाई थाहा छैन । तर, भौतिक जगत र जैविक जगतलाई सामाजिक संरचनाका विभिन्न पाटाले मध्यस्थता र नियमन गरिरहेका हुन्छन् । 

तेस्रो, समूह विना व्यक्तिको अस्तित्व सम्भव छैन । विकासक्रमसँगै समूहको चरित्र पनि बदलिंदै जान्छ । यो प्रक्रियामा व्यक्तिको चरित्र पनि फेरिन्छ । समाज परिवर्तन हुने तर त्यही समाजको एउटा सदस्य (व्यक्ति) को परिवर्तन नहुने हुँदैन । नयाँ समाज र नयाँ मान्छे सँगसँगै जन्मिन्छन् र हुर्किन्छन् । अर्कोतर्फ, व्यक्ति विना समूहको अस्तित्व पनि सम्भव छैन । त्यसैले सामाजिक शिक्षा पठनपाठन गर्दा सामाजिक सम्बन्धमा व्यक्तिको भूमिकाको महत्व पनि बढाउनुपर्छ किनभने हरेक विद्यार्थी आफैंमा सामाजिक व्यक्ति पनि हो । अर्को शब्दमा भन्दा सामाजिक शिक्षाको सार नै हरेक व्यक्तिलाई एकअर्कोसँग जोड्नु हो । त्यो जोडाइ अभिभावकसँग, परिवारसँग, साथीसँग, छिमेकीसँग आदि हुनसक्छ । वा वर्ग, जात र लिंगका आधारमा पनि हुनसक्छ । त्यसैगरी, सामाजिक शिक्षा भनेको विद्यार्थीलाई, नागरिकलाई समूहको महत्व बताउने शास्त्र पनि हो । हामी कसरी एउटा घरमा, स्थानीय तहमा, देशमा, संसारमा, ग्रहमा बस्छौं भन्ने वर्णन गर्ने पनि हो । र, एकअर्काबारे चासो र चिन्ता गर्न सिकाउने पनि हो । समभाव सिक्ने–सिकाउने थलो पनि हो । 

के हो शिक्षा ?
यी सबै छलफल गर्दा उठ्ने प्रश्न हो, वास्तवमा शिक्षा के हो त ? स्वयं (व्यक्ति), इतिहास र संसारको चरित्र र गतिलाई एकमुष्ट जोड्ने रसायन शिक्षा हो । एउटा ठाडो रेखालाई इतिहासको बहाव मान्ने र तेर्सो रेखालाई संसारको विविधता मान्ने हो भने ती दुवै रेखा काटिने विन्दु चाहिं ‘स्वयं’ हो । संसार भनेको राजनीतिक, आर्थिक र सांस्कृतिक जगत मात्र होइन । भौतिक, जैविक र पर्यावरणीय जगत पनि हो । त्यस्तै, इतिहासको अर्थ पनि राजनीतिक इतिहास मात्र होइन बरु हामी वरिपरि रहेका हरेक थोकको इतिहास हो । वास्तवमा संसार निकै ठूलो छ । र, शिक्षा र स्कूलले हामीलाई संसारका सबै पाटाहरू समेटेर बुझन सक्षम तुल्याउनुपर्छ । वास्तविक र बृहत् विश्वरूप बोध गर्न सक्ने बनाउनुपर्छ । मुख्य कुरा के हो भने; जीवनका भौतिक, जैविक र सामाजिक सबै पक्ष एकअर्कासँग जोडिएका छन् । शिक्षाले सो विश्वरूप बुझउने–बुझने सततः प्रयत्न गर्नुपर्छ । हरेक विद्यार्थीलाई यस्तो बुझइको हकदार ठान्नुपर्छ । 

शिक्षाले मूर्त र अमूर्त दुवै पक्ष लगायत यिनको सम्बन्ध उजागर गर्नुपर्छ । माध्यमिक र कलेजका शुरुआती वर्षहरूको चरणमा ज्ञानका सबै क्षेत्रबारे जानकार बन्नु आवश्यक छ । शिक्षा नीतिले विद्यालय तहमै विशिष्टीकरण गर्नुहुँदैन । संसारका उत्कृष्ट विश्वविद्यालयहरूले स्नातक तहको चार वर्षको अन्तिम दुई वर्षमा मात्रै विशिष्टीकृत शिक्षा दिन्छन् । हामीले ज्ञान, जीवन र समाजका सबै पाटा किन अध्ययन गर्नुपर्छ भने हामी हरेक व्यक्तिमा लामो इतिहास र बृहत् संसार दुवै सन्निहित छ । एक हिसाबले महाभारतका कृष्ण जस्तै हामी हरेक व्यक्ति विश्वरूप हौं । 

पुस्तक पठन निकै महत्वपूर्ण छ । त्यसो किनभने पुस्तकको माध्यमबाट हामीले संसार पढ्न सक्छौं । त्यससँगै अग्रज, साथी, शिक्षकहरू हाम्रा सूचनाका स्रोत हुन् । गुगल गुरु लगायत आधुनिक संसारमा सूचनाका अजस्र स्रोतहरू छन् । पढेर वा सुनेर मात्र पनि पुग्दैन । शिक्षित हुनका लागि आफूले पढेको, सुनेको, सुनाइएको, देखाइएको आदि सबैको आत्मावलोकन गर्न प्रेरित गर्नुपर्छ । पढाइमा आत्मसंलग्नता भएन भने सुगा बनिन्छ, ज्ञानी बनिंदैन ।

अनि शिक्षित हुनु भनेको के हो त ? सजिलो भाषमा भन्दा आफ्नै बलमा स्वतन्त्र भएर सोच्न र लेख्न सक्ने हुनु नै शिक्षित हुनु हो । सुगारटाइ गर्ने स्वभावबाट मुक्त हुनु शिक्षित बन्ने पहिलो चरण हो । हामीले पढेको वा हामीलाई अग्रज, शिक्षक, किताब, साथीभाइ, राजनीतिक दलका नेता लगायतले भनेका कुराबारे प्रश्न गर्ने, चिन्तन गर्ने प्रवृत्ति विकास गर्नु नै शिक्षित हुनु हो । उनीहरू सही हुन सक्छन् वा आंशिक रूपमा सही हुनसक्छन् वा पूर्णतः गलत पनि हुनसक्छन् । अथवा, उनीहरूको सोच्ने तरिकासँग तपाईं एकैजना भए पनि सहमत नहुन सक्नुहुन्छ । यस्ता प्रश्न किताब वा यी व्यक्तिहरूका भनाइका सम्बन्धमा मात्र सान्दर्भिक हुने होइनन् । तपाईंले व्यक्तिसँग मात्र नभई सामाजिक जीवनबारे पनि प्रश्न गर्नुपर्छ । म आफैंले १२ वर्षको उमेरदेखि केही फरक तरिकाले सोच्न थालेको थिएँ । १२ देखि १७ वर्षको अवधि मेरा लागि निकै महत्वपूर्ण समय रह्यो । त्यतिबेला मैले जसरी सोच्न र चिन्तन गर्न सिकें, त्यसले मेरो जीवनलाई नै निर्देशित ग¥यो । 

हेपिएको सामाजिक शिक्षा
सामाजिक शिक्षाको यति ठूलो महत्व हुँदाहुँदै पनि नेपालको शिक्षामा यसप्रति प्रणालीगत पूर्वाग्रह छ । सरकार र मन्त्रालयदेखि नै रहेको त्यो पूर्वाग्रह विद्यालय र अभिभावक हुँदै विद्यार्थीसम्म पुगेको छ । सामाजिक शिक्षालाई कम महत्वपूर्ण विषयका रूपमा लिइन्छ; जुन पूर्णतः अनुचित छ । 

कक्षा ११ र १२ मा सामाजिक शिक्षालाई ऐच्छिक विषय बनाउनु अकल्पनीय अल्पदृष्टि हो । विद्यार्थीलाई आफू अर्थतन्त्र, रोजगारी, समाज र शासनप्रणाली आदिबारे पढाउने विषयलाई महŒवहीन ठान्नु सरकारको मूर्खता हो । कमजोर सरकारले मात्रै निजी लगानीकर्ताहरूको संगठनको स्वार्थका लागि सामाजिक सम्बन्धको पठनपाठनलाई महŒवहीन ठान्छ । त्यस्तै, सामाजिक शिक्षा र गणितलाई एकअर्काको विपरीत विषयका रूपमा राखेर दुईमध्ये एक रोज्ने बनाउनु पनि उत्तिकै मूर्खता हो । गणित पढ्ने विद्यार्थी पनि समाजमै बस्छ र सामाजिक सम्बन्ध र देशको कानून तथा नीतिहरूले उसको जीवनलाई प्रभाव पार्छन् । उनीहरूले पनि आफू बाँचिरहेको समाज, देश र सिंगो संसारबारे जान्नुपर्छ । कोही पनि मानिस गणित मात्र भएको समाजमा बाँच्दैन । अर्कोतर्फ, गणितको ज्ञान सामाजिक शिक्षाका लागि आवश्यक छ । दुवै विषय उत्तिकै महŒवपूर्ण छन् र दुवैले एकअर्कोलाई सघाउँछन् । वास्तवमा गणित त भाषा हो, जसलाई प्रकृति, मानव शरीर, समाज आदि बुझ्न र विश्लेषण गर्न शक्तिशाली औजारका रूपमा प्रयोग गर्न सकिन्छ । सामाजिक सम्बन्धहरूको विश्लेषण गर्न गणितले मद्दत गर्छ । त्यसैले म यी दुई विषयमध्ये एक रोज्ने बनाउने निर्णय तुरुन्त फिर्ता गर्न सरकारलाई अनुरोध गर्छु । सामाजिक शिक्षालाई त्याज्य विषय बनाउनु साँच्चै नै मूर्खता हो । त्यस्तै सामाजिक शिक्षा पढाउन त्यसैमा वा समाज विज्ञानमा स्नातक÷स्नातकोत्तर गरेकै मानिस आवश्यक नदेख्ने नीति–व्यवहार पनि खेदजनक छ । 

पक्कै पनि, प्रदेश र स्थानीय सरकारले अहिले विद्यालय शिक्षामा नियन्त्रण गर्न सक्छन् र स्थानीय सन्दर्भ सुहाउँदो बनाउन विषयहरू परिवर्तन गर्न सक्छन् । त्यसो गर्नु अत्यावश्यक छ । त्यसैले म प्रदेश र स्थानीय तहका सरकारहरूले सामाजिक शिक्षालाई दोस्रो दर्जाको बनाउने निर्णयमा पुनर्विचार गर्नुपर्छ । त्यस्तै, सामाजिक शिक्षा अन्तर्गत ‘जीवनोपयोगी शिक्षा’ समावेश गर्नु पनि अनुचित छ । विद्यालय तहमा पढाइने सबै नै विषय विद्यार्थीका लागि जीवनोपयोगी हुनुपर्छ । आजीवन–अनुपयोगी शिक्षा कसैले किन पढाउँछ !

सामाजिक शिक्षाका सम्बन्धमा अरू पनि गलत धारणाहरू छन् । जस्तो, यो विद्यार्थीका लागि पढ्न सजिलो विषय हो भनिन्छ । कुनै पनि विषय आफैंमा सजिलो र अप्ठ्यारो हुँदैन । सजिलो वा अप्ठ्यारो रुचिमा निर्भर हुन्छ । अर्कोतर्फ, कक्षा १० र १२ मा सामाजिक शिक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या ठूलो छ । यो आँकडाले त सामाजिक शिक्षा अरू विषय भन्दा झ्नै कठिन रहेको देखाउँछ । सामाजिक शिक्षाको शिक्षण सम्बन्धमा सरकार र विद्यालयहरूले गरेको लापरवाही अनि अभिभावकले बेवास्ता गरेको विषय यो पनि हो कि– जुनसुकै विषय पढेको शिक्षक पनि सामाजिक शिक्षा पढाउन योग्य ठानिन्छ ! यो परिपाटी त्याज्य छ । समाज विज्ञान वा सामाजिक शिक्षा पढेको शिक्षकले मात्रै यो विषय राम्रोसँग पढाउन सक्ने सम्भावना रहन्छ । 

सामाजिक शिक्षा महत्वपूर्ण विषय हो भन्नुको अर्थ अरू विषय कम महत्वपूर्ण हुन् भन्ने कदापि होइन । तर, सामाजिक शिक्षा विना शिक्षा अपुरो हुन्छ । 

कर्मका रूपमा सामाजिक शिक्षा
सामाजिक शिक्षा केवल पढ्ने र परीक्षामा उत्तीर्ण गर्ने विषय होइन । यो त अभ्यास गर्ने ज्ञान, सीप र प्रवृत्ति पनि हो । सामाजिक शिक्षाको अभ्यासका लागि बेग्लै प्रयोगशाला चाहिंदैन । हाम्रो सामाजिक जीवन नै यसको प्रयोगशाला हो । हामी त्यसै प्रयोगशालाका अंग हौं । सामाजिक शिक्षाको अभ्यास आफैंमाथि, परिवारमा, छिमेकमा, स्थानीय तहमा, देशमा र सिंगो संसारको प्रयोगशालामा गर्न सकिन्छ । विद्यार्थीका निम्ति विद्यालय नै सामाजिक शिक्षा, अनुसन्धान र विश्लेषणको पहिलो थलो हो । त्यसैले विद्यार्थीले सूचना जम्मा गर्ने, त्यसबारे चिन्तन गर्ने, छलफल गर्ने र लेख्ने बानी बसाल्नुपर्छ । त्यस्तै सामाजिक परिदृश्यहरू कसरी परिवर्तन भइरहेछन् भनेर सूचना जम्मा गर्ने, त्यसबारे सोच्ने, छलफल गर्ने, विश्लेषण गर्ने र लेख्ने बानी बसाल्नुपर्छ । यी यावत् कर्महरू पाठ्यक्रमको भाग बन्नुपर्छ । शिक्षकको कर्तव्यको भाग बन्नुपर्छ । उपलब्ध भएजतिको पढ्ने, त्यसको कुन पक्ष चित्तबुझदो छ र कुन छैन भनेर समीक्षा गर्ने, आफूलाई चित्त नबुझ्ेको पक्षमा नयाँ सूचना खोज्ने, नयाँ सूचनाको विश्लेषण गर्ने र आफूले पत्ता लगाएका विषयको सार खिच्ने । यी काम विद्यार्थीले गरिरहनुपर्छ । यस्तो कर्म सिक्न र सिकाउन शिक्षक दत्तचित्त भइरहनुपर्छ । 

सामाजिक शिक्षाका किताब
अब विद्यालय तहका सामाजिक शिक्षाका किताबबारे चर्चा गरौं ।
कक्षा ११ र १२ को सामाजिक शिक्षाका पाठ्यपुस्तक पढ्दा मलाई ठिकठिकै लाग्यो । तर पर्याप्त लागेनन् । एक हिसाबले ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ जस्तो लाग्यो । यस्तो किन लाग्यो भने कक्षा ११ र १२ को सामाजिक शिक्षाको पाठ्यक्रम बनाउन केही वर्षअघि म सहित झ्न्डै २० जना साथीहरू जुटेका थियौं । मैले सो समूहको नेतृत्व गर्ने मौका पाएको थिएँ । तर ती साथीहरू यी पाठ्यपुस्तक लेखनमा सहभागी भने भएनन् । हामीले पाठ्यक्रमको रूपरेखा तयार पार्दा जीवनोपयोगी शिक्षा भन्ने अंश राखेका थिएनौं । हाल भने किताबमा सो राखिएको छ । कक्षा ११ र १२ मा पढ्ने वा पढाउने जो जति हुनुहुन्छ, उहाँहरूलाई पक्कै पनि थाहा होला, पुराना किताबभन्दा यी निकै फरक छन् । यी दुईवटा किताब लेख्ने सबै लेखकलाई म धन्यवाद दिन्छु । 

हामीले तयार पारेको पाठ्यपुस्तक योजनामा केही महत्वपूर्ण परिवर्तनहरू भएको मैले फेला पारें । कुनै पनि पाठ्यक्रम योजना सर्वोत्कृष्ट हुँदैन भन्नेमा म सचेत छु । तर, यी पाठ्यपुस्तकहरूमा केही गम्भीर समस्या छन् । मलाई आशा छ, तीनवटै तहका सरकारहरूका साथै शिक्षक र विद्यार्थीहरू निम्न ५ वटा विषयमा केन्द्रित भएर यी पाठ्यपुस्तकहरूको परिमार्जनमा लाग्नुहुनेछ । 

पहिलो, सामाजिक शिक्षाका सबै पाठ्यक्रमले विद्यार्थीलाई केन्द्रमा राख्नुपर्छ । हरेक विद्यार्थीको समाजसँगको सम्बन्धलाई खोतल्न जोड दिनुपर्छ । समाज भनेको विद्यार्थीको घरपरिवार, साथी, छिमेकी, स्थानीय र सबै तहका सरकार र सिंगो विश्व हो । हरेक विद्यार्थीले अरूहरूसँगको आफ्नो सम्बन्ध के–कस्तो छ भनेर पहिल्याउने काममा त्याग्नुपर्छ । समयक्रमसँगै विद्यार्थीले आफूलाई साथीभाइ, अभिभावक, नेता र अरूहरूले कसरी हेर्छन् भनेर विश्लेषण गर्न सक्ने बन्नुपर्छ । यस्तो अभ्यासले विद्यार्थीमा आलोचनात्मक चेत निर्माण गर्छ । एउटै ढर्राको चिन्तन र लेखन गर्नुभन्दा यसरी व्यक्तिगत आलोचनात्मक चिन्तन गर्ने बानी सिक्नु जरूरी छ । 

दोस्रो, अहिले तयार भएका पाठ्यपुस्तकले अभ्यासलाई अर्थात् पढ्ने मात्र होइन, गर्ने कामलाई कति जोड दिन्छन् भन्ने स्पष्ट छैन । अभ्यास गर्नुको अर्थ सामाजिक संरचना, परिवेश आदिमा संलग्न हुने र तिनको विश्लेषण गर्ने हो । त्यो सामाजिक संरचना वा परिवेश भनेको साथीसँगको वृत्त हुनसक्छ, छिमेकी, शिक्षक, परिवार आदिका वृत्त पनि हुनसक्छन् । सामाजिक शिक्षा पठनपाठनमा अभ्यासका लागि भनेर तोकेरै समय छुट्याउनुपर्छ । अभ्यास, रचना आदि गरे जस्तो गर्ने होइन, वास्तवमै सम्पन्न गर्ने परिपाटी बसाल्नुपर्छ । 

तेस्रो, हाम्रो मुलुक र समाज विविधतापूर्ण र असमान दुवै छन् । सबै मानिसहरू जन्मँदा स्वतन्त्र हुन्छन् भन्ने चिन्तनको जगतमा आधुनिक सामाजिक शिक्षा शुरू भएको हो । पक्कै पनि यो क्रान्तिकारी अवधारणा हो । यो अवधारणालाई हामी सबैले खासगरी संघीय, प्रादेशिक र स्थानीय सरकारहरूले सुनिश्चित तुल्याउँदै लैजानुपर्छ । उता यी पाठ्यपुस्तकहरूमा भने पुरुष र महिला, अनि अपांगतायुक्त व्यक्तिहरूको अवस्था बाहेक विविधता र असमानताका अरू पक्षहरूमा ध्यान नै नदिएको पाइन्छ । उदाहरणका लागि, दलित तथा दलित र गैरदलितको सम्बन्धबारे केही पनि राखिएको छैन । सांकेतिक रूपले भन्दा, नवराज विक र रुकुमको जघन्य घटना तथा यस्ता सयौं घटनाहरू हाम्रो पाठ्यपुस्तकमा समेटिएकै छैनन्, जुन सजिलोसँग अटाउन सक्थे । 

अहिले पनि समाजमा दलितकरण र जातीय भेदभावले क्षयग्रस्त लोकतन्त्र र लोकतन्त्रमा आधारित समाजवाद मात्र प्रतिबिम्बित गरेको छैन, बरु हामी सबैको कुरुप मुहारको चित्रण पनि गरेको छ । त्यसैगरी तथाकथित मध्यम र उच्च जात एवं विभिन्न ‘जनजाति समुदाय’ मा रहेको वैवाहिक, वंश लगायतका सम्बन्धबारे पनि केही लेखिएकै छैन । त्यस्तै, पहाडी–मधेशी बीचको भौगोलिक, राजनीतिक र सांस्कृतिक भिन्नता, पृथकता र पूर्वाग्रहबारे पनि निकै कम लेखिएको छ, मानौं तिनको यहाँ अस्तित्व नै छैन । यस्तै गरेर वर्गीय विभाजनबारे यो पुस्तक चुपचाप छ । मलाई थाहा छ, धेरै देशहरू सामाजिक अन्तरविरोध देखाउने यस्ता विषयहरू विद्यालयको पाठ्यपुस्तकमा राख्न तयार हुँदैनन् । तर एक लोकतान्त्रिक समाज भएकाले हामीले जन्मजात असमानतालाई कायम राख्ने प्रपञ्चलाई सहयोग गर्नुहुँदैन । विविधता र असमानताबारे मुखर बन्नु अत्यावश्यक छ । सबैजसो समाज विविधतापूर्ण र असमान हुने भए पनि नेपालको हकमा विविधता र असमानता दुवै निकै बढी छन् । सामाजिक शिक्षाका पाठ्यक्रमहरूले यो विविधता र असमानतालाई समेट्नुपर्छ । त्यसैले स्थानीय र प्रादेशिक विशिष्टता समेटेर एउटा उल्लेख्य हिस्सा परिमार्जन गर्ने छूट पनि दिनुपर्छ । उदाहरणका लागि जुम्लाका विद्यालयमा पढाइने सामाजिक शिक्षाको पाठ्यपुस्तक कञ्चनपुर, वीरगञ्ज, विराटनगर, भोजपुर र काठमाडौंमा पढाइने भन्दा केही फरक हुनुपर्छ । साँघुरो राष्ट्रवादी उद्देश्यका लागि महत्वपूर्ण प्रादेशिक, क्षेत्रीय र स्थानीय जीवनसँग सन्निकट विषयहरू त्याग्नुहुँदैन । 

चौथो, बाँकी विश्व जस्तै नेपाल पनि द्रुत गतिमा परिवर्तन भइरहेछ । केही पक्षहरूमा नेपाल अन्य देश र समाजभन्दा पनि छिटो परिवर्तन भइरहेछ । हामी एकदमै नयाँ समाज र नयाँ मान्छे हौं । अहिले विद्यालय तहमा पढिरहेका विद्यार्थी र तिनका बा–आमा र हजुरबा–हजुरआमामा तिनकै उमेरमा कस्ता थिए भनेर तुलना गरौं त ! हजुरबुबा–हजुरआमा र बाबु–आमाहरूले आफ्नो जीवनको लक्ष्य कस्तो राख्थे, कस्ता सपना देख्थे, कस्ता आकांक्षा र डर पाल्थे भनेर तुलना गरौं त ! अब हामीले धेरै परिवर्तन भएको पाउँछौं । विद्यालयको पाठ्यपुस्तकले यो परिवर्तनलाई आत्मसात् गर्नुपर्छ । साथै, आउने दशकहरूमा हुने परिवर्तनका लागि पनि विद्यार्थीलाई तयार पार्नुपर्छ । उसले उत्पादन, उपभोग र विनिमयका लागि समस्याहरूको सामना गर्न सक्ने तुल्याउनुपर्छ । हामीले अहिले साइबर अपराध, ड्रग्स, बालबालिकालाई विद्यालय र घरमा दिने सजाय लगायत अनेकौं समस्या सामना गरिरहेछौं । यी विषयलाई पनि अमूर्त र अरूको समस्याका रूपमा नभई विद्यार्थी र शिक्षकहरूले आफैंले हरेक दिन भोगिरहेको समस्याकै रूपमा पढाउनुपर्छ । स्थानीयस्तरमा जुन–जुन समस्या बढी वजनका छन्, तिनैलाई जोड दिएर पढाउनुपर्छ । विद्यार्थीलाई नै त्यस्ता समस्याको स्वेच्छिक रूपमा समाधान खोज्न उत्प्रेरित गर्नुपर्छ ।

पाँचौं, मैले यो पछिल्लो पाठ्यक्रम योजना र पाठ्यपुस्तक दुवैले समाजका अरू तहहरूमा आवश्यक भन्दा कम जोड दिएको र मुलुक वा देशको तहमा भने चाहिने भन्दा धेरै बढी केन्द्रित रहेको पाएँ । साथै, सिंगो मुलुक तहको विशेषताहरू चर्चा गर्दा सो विशेषताहरू छुट्टाछुट्टै चर्चा गरिएको तर ती बीचका आपसी सम्बन्धहरूबारे भने चर्चा नभएको पाएँ । हामीले हाम्रो जीवनको वैश्विक प्रकृतिलाई पनि जोड दिनुपर्छ । हामी दुनियाँबाट अलग्गिएर बसेको एक्लो टापुमा छैनौं । हामी समग्र विश्वका एउटा हिस्सा हौं । यो समग्र जगतले हामी के हो, कस्तो नयाँ र कस्तो हुन सक्छौं भन्ने समेत निकै हदमा निर्धारण गर्छ । त्यसैगरी हामीले पनि समग्र संसारको चरित्र बदल्न केही न केही भूमिका खेलिरहेका हुन्छौं, त्यो सानो नै किन नहोस् । पाठ्यपुस्तक पुनरावलोकन गर्दा सम्बन्धको यो पाटो पनि समेटिन जरूरी छ । मलाई आशा छ, केही वर्षमा तीनै तहका सरकार, शिक्षक र सम्बन्धित सबै जनाको अग्रसरतामा यी पाठ्यपुस्तक परिमार्जन हुनेछन् । हामी र समाज फेरिए जस्तै सामाजिक शिक्षाका पाठ्यपुस्तक पनि बदलिइरहनुपर्छ । 

जहाँसम्म कक्षा ६ देखि १० सम्मको सामाजिक शिक्षाको पाठ्यपुस्तकको सवाल छ, तिनमा विद्यार्थी स्वयंको व्यक्तिगत उपस्थिति महत्वपूर्ण रहन्छ । अर्थात्, हरेक विद्यार्थीले पाठ्यपुस्तकमा आफ्नो प्रतिबिम्ब भेट्नुपर्छ, व्यक्तिगत तवरमा उसले आफू उभिने ठाउँ फेला पार्नुपर्छ । शिक्षा भनेको विद्यार्थीको जीवनभन्दा बाहिरको विषय होइन । बरु, विद्यार्थीले आफू बाहिरी दुनियाँसँग कसरी जोडिएका रहेछौं भनेर बुझने कुरा हो । त्यो बाहिरी दुनियाँ भनेको अरू मानिस, सरकार, पृथ्वी, सूर्य, ब्रह्माण्ड सबै–सबै नै हो । बाह्य जगतलाई मात्र जोड दिएर विद्यार्थीलाई पाठक मात्र तुल्याइएको पाठ्यपुस्तक अमूर्त हुन्छ । त्यसले हुर्कंदै गरेका विद्यार्थीलाई सक्रियतापूर्वक संवाद गर्न र पढेका पाठहरू आत्मसात् गर्न अभिप्रेरित गर्दैन । विद्यार्थीसँग नजोडिएको शिक्षा रटन्ते हुन्छ । त्यस्तो शिक्षाले विद्यार्थीलाई कर्ता बन्नबाट रोक्छ । 
साथै, हाल कक्षा ११ र १२ मा पढाइरहेका सामाजिक शिक्षा का पाठहरू क्रमशः ९ र १० मा अनि ९ र १० कक्षाका पाठहरू कक्षा ६, ७ र ८ तिर सार्नुपर्छ । विद्यार्थीहरू अहिलेको पठ्यपुस्तकले अनुमान गरेभन्दा निकै तीक्ष्ण छन् । माथिल्लो कक्षाका विद्यार्थीहरू विश्व इतिहास, जलवायु परिवर्तन, स्वास्थ्य र महामारी, नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध जस्ता बृहत्तर विषय पढ्न र बुझन सक्छन् । साथै, माथिल्लो तहका विद्यार्थीलाई स्वतन्त्र अनुसन्धान, लेखन र प्रस्तुतिमा पनि सक्रिय गराउन जरूरी छ ।  

commercial commercial commercial commercial