बालविकास कार्यक्रमको प्रभावकारिताका लागि अभिभावक शिक्षा

आठ वर्षसम्मको उमेर बालबालिकाको विकास, सिकाइ र समग्र व्यक्तित्व विकासकै दृष्टिले महत्वपूर्ण मानिन्छ। यो उमेरमा सिकेका र अनुभव गरेका आधारभूत ज्ञान, सीप, व्यवहार र बानीहरू नै भावी जीवनको आधारशिलाका रूपमा स्थापित हुने गर्दछन् । व्यक्तित्व विकासको समग्र स्वरूप नै यस समयमा निर्धारण हुने भएकोले यस समयमा गरिने लगानी र पु¥याइने हेरविचार मानव जीवनको लागि महत्वपूर्ण तथा यसको प्रतिफल उच्च र लाभ दीर्घकालीन हुने कुरा प्रमाणित छ। 

बालबालिकाको सर्वाङ्गीण विकासका लागि जन्मपूर्व र जन्मपश्चात्का हरेक समय उत्तिकै महŒवपूर्ण हुन्छन् । गर्भवती आमाको स्वास्थ्य, पोषण र मनोवैज्ञानिक अवस्थाको गर्भमा रहेको शिशुमा प्रत्यक्ष प्रभाव पर्ने भएको हुँदा गर्भावस्थामा पोषिलो खाना, यथेष्ट आराम, बेला–बेला गर्भ जाँच र खोप, हौसला र आत्मबल वृद्धि हुने किसिमको व्यवहार र मानसिक तनावबाट पूर्णतया मुक्तिको सुनिश्चितता अपरिहार्य हुन्छ । शिशु जन्मिएपछि सालनाल ठिक ढंगले काट्नेदेखि आमाको बिगौती दूध खान दिने, सही ढंगले दूध खुवाउने जस्ता सूक्ष्म कुराहरू र सुत्केरी आमालाई पर्याप्त पोषिलो खाना दिने एवम् नवजात शिशुको सरसफाइ, खोप, हेरचाह आदि कुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ। 

जब शिशु ठूलो हुँदै जान्छ उसका लागि सिर्जनात्मक र सकारात्मक सोचको विकास तथा मनोरञ्जनात्मक क्रियाकलापको माध्यमबाट शारीरिक तथा भावनात्मक पक्ष एवं सामाजिक सीपको विकासमा प्रत्यक्ष उपयोगी हुने खालका खेलौना र खेल सामग्रीको व्यवस्था गरिदिने गर्नुपर्दछ । यस बेलादेखि नै उसको शारीरिक, बौद्धिक, सामाजिक, भाषिक, सांस्कृतिक र संवेगात्मक पक्षको विकासलाई सन्तुलित रूपमा सँगसँगै लैजानुपर्ने हुन्छ । चार वर्ष पूरा भएपछि बालविकास केन्द्र÷पूर्व प्राथमिक कक्षामा भर्ना गराउनुपर्दछ । घरमा हेरविचार, विकास र सिकाइ सम्बन्धी उपयुक्त प्रबन्ध गर्न नसकिने अवस्थामा भएमा चार वर्ष मुनिका बालबालिकालाई शिशु विकास केन्द्रमा पनि राख्न सकिन्छ।

बालबालिकाको विकास र सिकाइका दृष्टिले घर पहिलो विद्यालय र अभिभावक पहिलो गुरु हुन्। जसरी विद्यालयमा दक्ष शिक्षकको आवश्यकता पर्दछ, त्यसैगरी घरका अभिभावक रूपी गुरुहरूमा बालबालिकाको सर्वाङ्गीण विकास बारेको आधारभूत जानकारी र निभाउनुपर्ने भूमिकाका बारेमा सचेतना आवश्यक हुन्छ।

विशेषगरी शिशु विकास वा पूर्व प्राथमिक उमेरका बालबालिकाको लागि हाल सञ्चालन हुँदै आएका मन्टेसरी, प्लेग्रुप, नर्सरी, एलकेजी, युकेजी र प्रारम्भिक बालविकास कक्षामा पढाइ होइन, बालबालिकाको विकास र सिकाइका क्रियाकलाप सञ्चालन गर्नुपर्ने हो। यसमा बालबालिकाको सर्वाङ्गीण विकासमा प्रत्यक्ष सहयोग पुग्ने विभिन्न खेल तथा सिकाइ सामग्रीको व्यवस्था र ती सामग्री प्रयोग गरेर मनोरञ्जनात्मक तथा उत्प्रेरणामूलक तरीकाबाट बालबालिकाको विकास तथा सिकाइका क्रियाकलाप गर्नुपर्ने हो। तर अभिभावकमा यस सम्बन्धी सही जानकारीको अभावले शिशु कक्षामै पढाइ, लेखाइ घोकाइ र घरमा पनि पढ्ने लेख्ने प्रकृतिकै पर्याप्त गृहकार्यको अपेक्षा र माग गर्ने गरेको पाइन्छ। यसले बालबालिकालाई सिर्जनात्मक, जिज्ञासु र समस्या समाधान गर्न सक्षम तुल्याउनुको सट्टा निश्चित विषयवस्तुमा केन्द्रित, एकोहोरो र यान्त्रिक प्रकृतिको बनाउँछ। बालबालिकाको सिर्जनात्मकता, अन्तरनिहित प्रतिभा र व्यक्तित्व विकासको सम्भावना कुण्ठित पनि हुन पुग्दछ।

प्रारम्भिक बालविकास बहुआयामिक र अन्तरसम्बन्धित विषय हो । गर्भावस्थाको स्याहार, जन्मपछि पोषण, स्वास्थ्य र सरसफाइ, सुरक्षा, सिकाइ र सर्वाङ्गीण विकास सम्बन्धी समष्टिगत विषयवस्तु समावेश गरी एकीकृत रूपमा अभिभावक शिक्षा कार्यक्रमका नामबाट गाउँटोलमा नै कक्षा सञ्चालन गर्ने कार्यक्रम तत्कालीन शिक्षा विभागबाट शुरू भएको हो । हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस सम्बन्धी तालिम तथा सन्दर्भ सामग्री विकास, प्रदेश तथा स्थानीय तहका कर्मचारीको क्षमता विकासका लागि विभिन्न प्रशिक्षण सञ्चालन र आवश्यक समन्वय तथा सहजीकरणको कार्य गरिरहेको छ । प्रदेश सरकारका सम्बन्धित निकायहरूबाट यस सम्बन्धी प्रशिक्षण तथा स्थानीय तहले पनि समुदायमा अभिभावक शिक्षाको थालनी गरेका छन् । 

विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने सबल र सक्षम जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता हो । यसका लागि प्रारम्भिक बाल्यावस्थाका हरेक विकासात्मक चरणमा विशेष ध्यान दिनुपर्दछ । यसनिम्ति घरपरिवार र अभिभावकको महŒवपूर्ण भूमिका रहने भएकोले अभिभावक शिक्षालाई व्यापक र निरन्तर रूपमा सञ्चालन गर्नुपर्दछ। यसका लागि सर्वप्रथम प्रारम्भिक बालविकास राष्ट्रिय रणनीतिले परिकल्पना गरेका कानूनी एवं संरचनागत व्यवस्था प्रभावकारी बनाउनुपर्दछ । यसमा स्थानीय तहको भूमिका नै अग्रणी हुने भएकाले प्रत्येक स्थानीय तहले अभिभावक शिक्षा कार्यक्रमका लागि नियमित रूपमा निश्चित बजेटको व्यवस्था गर्नुपर्दछ । स्थानीय तहका विभिन्न महाशाखा÷शाखाबाट सञ्चालन हुने अभिभावक शिक्षासँग प्रत्यक्ष र परोक्ष रूपमा सम्बन्धित कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन, अनुगमन र नियमनको व्यवस्था गर्नुपर्दछ । यस सम्बन्धी विषयमा स्वदेशी विश्वविद्यालयहरूलाई पर्याप्त अध्ययन र अनुसन्धान गर्न आवश्यक साधनस्रोत सहित प्रोत्साहन गर्नुपर्दछ।   

त्यस्तै सञ्चारमाध्यम, सहकारी र निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व अन्तर्गत अभिभावक शिक्षाको लागि केही साधन, स्रोत, जनशक्ति र प्रविधिको उपयोग गर्न प्रोत्साहन गर्ने, माध्यमिक तह तथा उच्च शिक्षामा बालविकास, शिक्षा र स्वास्थ्य शारीरिक ऐच्छिक विषय लिई अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक कार्यका रूपमा अभिभावक शिक्षा कार्यक्रमको निश्चित अवधिको कक्षा सञ्चालनमा लगाउने, स्थानीयस्तरमा सञ्चालन भएका पुस्तकालय, वाचनालय र सामुदायिक सिकाइ केन्द्र मार्फत अभिभावक शिक्षाका सामग्रीहरू सर्वसाधारणको पहुँचमा पुर्‍याउने, सामाजिक सञ्जाल मार्फत यस सम्बन्धी विषयवस्तु र विभिन्न सन्देश लक्षित समूहसम्म पु¥याउने आदि कार्य गरेर अभिभावक शिक्षालाई व्यापक रूपमा सञ्चालन गर्न सकिन्छ। 

(शाखा अधिकृत, शिक्षा तथा मानव स्रोत विकास केन्द्र)

commercial commercial commercial commercial