शिक्षक-गीता

अङ्ग्रेजी साप्ताहिक दि रिपोर्टर को नियमित स्तम्भको लागि सामग्री संयोजन र लेखन शुरू गर्नुथियो तर मेरा आँखा अघिल्लो दिन ल्याएको दिवास्वप्न मा परे। आवरण सामान्य लाग्यो; तर पछाडिको गातामा छापिएको हेरें । बाल प्रश्नले हुरुक्क बनायो। म आफ्नै, आफ्ना छोराछोरीको अनि विद्यालयको कार्यकालका हजारौं बालबालिकाको बाल्यकालमा पुगें; एक किसिमको उकुसमुकुसको अनुभव भयो। 

पढ्न थालेपछि बीचमा छोड्नै सकिनँ; एकै बसाइमा पढेर सकेँ। पुस्तकले समयको हिसाब पनि गर्न दिएन । एकजना शिक्षकको अनुभव यति जीवन्त, सशक्त, मार्मिक, प्रेरक र विचारोत्तेजक हुनसक्छ; मैले अनुमान पनि गरेको थिइनँ। एउटा सानो किताबले यति ठूलो तृप्ति र सन्तोष दिन सक्छ, सामान्य समझ्मा आउँदैन। आचार्य विनोबा भावेको ‘गीता प्रवचन’ पढेपछि मैले गीता पढेको हुँ। गीता प्रवचन र स्वयम् श्रीमद्भागवत गीतालाई मैले जसरी बुझें, एउटा शिक्षकको लागि दिवास्वप्न लाई त्यसरी नै बुझें।

गीता कुनै धार्मिक ग्रन्थ होइन; बरु अत्यन्त व्यावहारिक जीवन दर्शन हो। त्यसले सफल जीवन बुझन र बाँच्न सिकाउँछ, त्यो सङ्क्षिप्त ग्रन्थ आफैँमा महाग्रन्थ हो। दिवास्वप्न पनि महाग्रन्थ हो। यो पुस्तक पढेपछि मलाई गिजुभाई गान्धी जत्तिकै महान् लागे। आफूलाई विद्यार्थीप्रति सम्पूर्ण रूपमा समर्पण गरेर, आफूलाई बिर्सिएर आफ्नो सारा अस्तित्वलाई लक्ष्यसँग एकाकार पारेर कसैले लेख्यो भने दिवास्वप्न लेखिंदो रहेछ। 

दिवास्वप्न कुनै शिक्षकको कथा होइन। यो त कलिला बालबालिकाको शिक्षा, संस्कृति, हित, मर्यादा, सुरक्षा र सम्मानको एक महान् कीर्तिस्तम्भ हो। योग्य, सिर्जनशील, लक्ष्यप्रति सङ्कल्पबद्ध, उत्साहित र स्वप्रेरित शिक्षकका लागि संसारमा सफलता र सम्मान आफैं निवेदक बनेर आउँदो रहेछ । दिवास्वप्न ले यही भन्छ।

यो उत्साहित शिक्षा प्रशासकहरूको दायित्व चेतना, नियम, कानुनका बन्धनभित्रका उनीहरूका उहापोह र नवीनता, सिर्जनशीलतासँग सम्भावित असफलताका भार र त्रासहरूको सुन्दर आलेख पनि हो। अनि उत्साहहीन, लक्ष्यहीन, आत्मसम्मान र गौरव चेतना रहित तथा समवेदना शून्य शिक्षक र प्रधानाध्यापकहरूको शुद्ध जागिरे र चाकर-वृत्तिको यथार्थ वृत्तान्त पनि हो।

अझ् महत्वको कुरा; दिवास्वप्न पढ्दै जाँदा म आफैं बारम्बार तिनै शिक्षक र प्रधानाध्यापकहरूको रूपमा र उनीहरूको वारेस भएर कठघरामा उभिरहेको हुन्छु । कहिले आफैं गिजुभाईको पीडा, समवेदना, साहस र समर्पणलाई थोरै भने पनि प्रतिनिधित्व गरिरहेको हुन्छु। कहिले गिजुभाईलाई सताउने, खिसीटिउरी र हतोत्साहित गर्ने शिक्षक र प्रधानाध्यापकको भूमिका बोकिरहेको हुन्छु। म कृतिहरूको समीक्षक त होइन तर पाठकलाई पुस्तकका हरेक पात्रले आफैंलाई प्रतिनिधित्व गरेको छ भत्रै पर्ने गरी लेख्न सक्नु लेखकको महान् सफलता हो, जुन गिजुभाईले गरेका छन्। 

दिवास्वप्न को प्रकाशनले शिक्षक मासिकलाई थप परिचयसँगै सम्भवतः एउटा नयाँ गन्तव्य पनि दिएको छ। आफ्नो उपस्थितिको अर्थ, औचित्य, गौरव र मर्म प्रदान गरेको छ । यसले आफ्नो दृष्टि र दर्शनलाई सगर्व नेपाली समाजसामु प्रस्तुत गरेको छ।

दिवास्वप्न पढ्न पाउनु एउटा महान् सौभाग्य हो जुन शिक्षक मासिकले मलाई उपलब्ध गरायो। तर मेरो मनमा एउटा गहिरो पीडा जरा गाडेर बस्ने भयो । म जन्मनुभन्दा डेढ दशकअघि नै स्वर्गीय भइसक्नुभएका गिजुभाईद्वारा लिखित पुस्तक यदि मैले शिक्षकको रूपमा स्कूलमा प्रवेश गर्नुपूर्व पढ्न पाएको भए एउटा शिक्षक, प्रधानाध्यापक र क्याम्पस प्रमुखको रूपमा मेरो भूमिका र योगदानलाई धेरै उत्रत र प्रभावकारी बनाउन सक्ने थिएँ कि ! म शिक्षकहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गठनहरूको नेतृत्वमा जानुपूर्व पनि यो पुस्तक पढ्न पाएको भए ती सङ्गठनहरूलाई शिक्षाको यो पाटोमा बढी केन्द्रित गर्न सक्ने थिएँ भत्रे चाहिँ मनमा सधैं रहिरहने भयो । त्यसैले मैले नयाँ पुस्ताका शिक्षकहरूको ईष्र्या गर्नै परेको छ।

असल मानिसको सङ्गत र अमूल्य एवं महान् ग्रन्थ पढ्न पाउनु आफैंमा महान् सौभाग्य हो। त्यो सितिमिति पाइँदैन। यसको लागि परमेश्वरकै अनुकम्पा चाहिन्छ। मसँग दुनियाँका श्रेष्ठतम लेखकका उत्कृष्ट पुस्तकहरूको राम्रै सङ्ग्रह छ। तर गिजुभाईको दिवास्वप्न विना मेरा पुस्तकहरूको सङ्ग्रह धेरै सानो रहेछ भत्रे बोध भयो । यो सानो पुस्तकले मेरो अध्ययन कक्षलाई सम्मानित तुल्याइदिएको छ। विस्तार गरेको छ। म धन्य भएको छु। शिक्षक मासिकलाई दिने धन्यवादको लागि त मेरो शब्दभण्डार नै सानो भएको छ। 

(भट्टराई नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष हुन् ।)

शिक्षक  मासिक माघ २०६८ बाट ।


commercial commercial commercial commercial