बालबालिकाको सन्दर्भमा संस्कार र आचरणका कुरा

मानिस संस्कारी प्राणी हो। जीवनको यात्रामा बाल्यावस्थादेखि वृद्धावस्थासम्म- हामी जे गर्छौं, जो गर्छौं, ती काम वा कर्म कसरी गर्छौं, कुन तरिकाले गर्छौं, कुन रीतले वा कस्तो लयमा गर्छौं भन्ने कुरा आ-आफ्नो संस्कारले निर्धारण गरेको हुन्छ। निर्देशित गरेको हुन्छ। संस्कार विनाको बानी-व्यहोरा छाडा हुन सक्छ जुन मानवीय चरित्रको हुँदैन। बिहानी निद्राबाट बिउँझेदेखि रातमा ओछ्यान पस्दासम्म पनि मानिसले आफ्नो संस्कारलाई छोड्ने गर्दैन। संस्कारी चरित्रको निर्माण बाल्यावस्थाबाटै प्रारम्भ हुन्छ। आफ्नो संस्कार र संस्कृति अनुरूपको आचरण आफ्ना सन्ततिलाई सिकाउन सकिएन भने हाम्रा बालबालिका छाडापनको शिकार बन्न पुग्छन्। अनि, हिन्दी चलचित्रको यो गीतले चित्रण गरे झैं ‘दुनियाँ ने हम को दिया क्या ? दुनियाँ से हम ने लिया क्या ? हम किसी की परवाह करे क्यों ? कोई हमारा करे क्या ?’ भन्दै नशामा झुम्ने पुस्ता निर्माण हुन पुग्छ।

वर्तमान नेपाली समाजमा हाम्रा बालबालिका एवं किशोर-किशोरीहरू आफ्नो संस्कारलाई त्यागेर विदेशी चालचलन, पोशाक र पहिरन, खाना र खुराक तथा भाषा र बोलीचालीतिर तल्लीन हुन थालेको अनुभव हुँदो छ। हामी नेपालीको आफ्नो जातीय र राष्ट्रिय संस्कार के हो भन्ने कुराको बोध गर्न र गराउन सकिएन भने छाडापनतिर अभिमुख हुन पुग्छन् हाम्रा आउँदा सन्ततिहरू । पारिवारिक लालनपालन र विद्यालय-शिक्षादीक्षाले यसप्रति चिन्ता र चासो देखाउन अब ढिला गर्नुहुँदैन। आजभोलिको पुस्तान्तरण एकै दशकमा कहालीलाग्दो ढंगले बदलिएको छ। पुस्तान्तरको खाडल हजुरबुबा-हजुरआमा र नाति-नातिनी बीचमा मात्र हैन दिदी र बहिनी वा दाजु र भाइका बीचमा समेत फराकिलो देखिन थालेको छ। दाइ छापा, अखबार खोज्ने र भाइ ‘अनलाइन’ मात्रै पढ्ने अवस्था भइसक्यो।

के आफ्नो समुदाय र परिवारभित्र आफ्नै मातृभाषा बोल्न र आफ्नै कुलको संस्कारी बन्न अनि बाहिरी समाजमा राष्ट्रिय भाषा बोल्न र राष्ट्रिय संस्कार प्रवद्र्धन गर्न तथा अन्तर्राष्ट्रिय परिवेशमा अन्तर्राष्ट्रिय (अंग्रेजी आदि) भाषा बोल्न तथा सम्बन्धित राष्ट्रको संस्कारको मर्यादा गर्ने बानी-व्यहोरा बसाउन सम्भव हुँदैन र ? हामी दूधे बालबालिकालाई पनि मम्मी-ड्याडी भनाउने, जन्मोत्सवको साटो ‘बर्थ डे’ मा केक काट्न लगाउने, किशोर-किशोरी हुन नभ्याउँदै ‘भ्यालेन्टाइन डे’ (Valentine Day) मा जोडी साथी खोज्न प्रोत्साहित गर्ने र ‘क्रिसमस क्यारोल’ (Christmas Carole) मा रमेर नशेली रात बिताउने तर दशैंको टीका नथाप्ने संस्कारी सन्तति त तयार गर्दै छैनौं भन्ने चिन्ता मनभित्र पलाउन थालेको छ।


एकातिर सन्ततिलाई जन्मोत्सवको साटो ‘बर्थ डे’ केक काट्न लगाउनु, ‘क्रिसमस क्यारोल’ मा नशेली रात बिताउन प्रोत्साहित गर्नु अनि अर्कोतिर दशैंको टीका थाप्ने संस्कार नसिकाउनु, नबुझााउनु अभिभावकको पनि कमजोरी हो।

शहरी जीवनमा व्यस्त अधिकांश परिवारका बालबालिकालाई तीन वर्ष पुग्दानपुग्दै स्कूल बसमा चढाएर एकाबिहानै बाल-शिक्षालयमा धकेल्दछौं। सम्भ्रान्त परिवारको स्वाङमा हुर्कन थालेका कलिला कोपिलाहरूले रातो चिन्दैनन् ‘रेड’ (Red) चिन्छन्। हरियो चिन्दैनन् ‘ग्रीन’ (Green) चिन्छन्। आयातित महँगा खेलौना र पुतलीसँग अभ्यस्त भएर ‘एलकेजी’ र ‘युकेजी’ बाट उत्तीर्ण भएपछि कक्षा-१ को निम्ति तयार हुन्छन् हाम्रा बालबालिका। त्यस अवस्थासम्म मातापिता र परिवारसँग विकास हुने आत्मीय स्वभाव र आचरणहरू, प्रेमोभावका संवेदनशील आदत र अदवहरूबाट टाढिन पुगिसकेका हुन्छन्। स्कूल बसमा छोड्न आएका आमा वा बुबाहरू पनि ‘बाई...बाई...’ भनी बिदा हुन्छन्। मातृभाषा वा स्थानीय भाषा पनि बोल्दैनन्। हाम्रा पारिवारिक बाल-संस्कारहरू हामीबाट यस प्रकारले झन् झन् टाढा हुँदै जाँदा छन्। यसबाट हाम्रो पारिवारिक मायाको परम्परागत गाँठो खुकुलो भइरहेको हुनुपर्छ।

विश्व परिवेशको सामाजिक परिवर्तनबाट हामी अछुतो छैनौं। तर हाम्रो संस्कारले स्थापित गरेको आचार-विचार, मान-मर्यादा, सद्भाव र स्नेहका बन्धनलाई नजरअन्दाज गर्ने परिपाटी बसाल्नुहुँदैन। बाल्यावस्थाबाटै संस्कारी स्वभावको विकास गर्नुपर्छ। त्यसका लागि परिवार, शिक्षालय र समाज चनाखो भएर आफ्ना सन्ततिको शिष्टाचार विकासमा अग्रसर हुनुपर्छ।

शिष्टाचारको सन्दर्भमा, मेरो बेलायत यात्रालाई स्मरण गर्न चाहन्छु। पहिलो दिनको भेटमा नै बेलायती शिष्टाचारका तीन शब्दीय सूत्र मलाई सिकाइयो। पहिलो शब्द ‘एक्सक्यूज मि’ दोस्रो ‘प्लिज’ र तेस्रो ‘थ्यांक यू’ थियो। नचिनेका, नजानेका कोहीसित पनि केही सोधिमाग्न पर्‍यो भने ‘एक्सक्यूज मि’ भनेर उसको ध्यानाकर्षण गर्ने। त्यसपछि केही गरिमाग्न परेमा ‘प्लिज’ भन्ने र काम सम्पन्न भयो भने ‘थ्यांक यू’ भन्ने। त्यो बेलायती संस्कार भयो। हाम्रो संस्कारमा कसैसँग केही गरिमाग्न पर्‍यो भने त्यसको सम्बोधनमा हामी नाता नै जोड्छौं। उमेरको कदर गर्दै ए ! दाइ, ए ! भाइ, ए ! दिदी, ए ! बहिनी भन्छौं र जेठो-बाठोलाई बुबा, मुमा, बाजे, बज्यै, काका, काकी भनेर सम्बोधन गर्छौं। अनि आफ्नो कुरा राख्छौं। बाटो सोध्नु छ कि बास माग्नु छ वा गह्रुँगो भारी नै धकेल्नु छ केही फरक पर्दैन। मलाई लाग्छ, सबैजसो नेपाली भाषाभाषीमा यसरी नै अपरिचितसँग बोलीको वाक्यमा नाता जोड्ने हाम्रो नेपाली संस्कार हो।

बेलायतकै प्रसंगमा भान्छा र भोजनको संस्कार अनुसार शरीरमा पूरा औपचारिक पोशाक लगाएर मात्र बिहानीको ‘ब्रेक फास्ट’ टेबलमा बस्नु पर्दोरहेछ। सुत्दा लगाएको बस्त्र वा अरू लिवाजमा बस्न वर्जित रहेछ। खाना मुखमा हाल्दा देब्रे हातको काँटा प्रयोग गर्ने र दाहिने हातको चक्कुले काटकुट मात्र गर्ने रहेछ। चुठ्ने चलन रहेनछ। हात चाट्नु र डकार्नु त ‘असभ्य’ कार्य हुँदोरहेछ। नेपालमा भने देब्रे हातले खान घिन मानिन्छ। हात चाट्दाको स्पर्शानन्द बेग्लै हुन्छ। डकार्नु तृप्तताको द्योतक मानिन्छ। आत्मीयताको सूचक पनि।


नेपाली भान्छा र भोजनको संस्कार जातजाति अनुसार बेग्लाबेग्लै होला तर प्रारम्भमा हातगोडा धुने र अन्त्यमा मुख चुठ्ने साझा नेपाली चलनै हो। आजभोलि होटल र रेस्टुराँको प्रभावले यस्ता संस्कार विस्तारै हैन, शीघ्र लोप हुँदै गएका छन्। 

नेपाली भान्छा र भोजनको संस्कार जातजाति अनुसार बेग्लाबेग्लै होला तर प्रारम्भमा हातगोडा धुने र अन्त्यमा मुख चुठ्ने साझ नेपाली चलनै हो। आजभोलि होटल र रेस्टुराँ तथा पर्यटन विकासको प्रभावले यस्ता नेपाली संस्कार विस्तारै हैन शीघ्र लोप हुँदै गएका छन्। विभिन्न भोजभतेर तथा होटल, रेस्टुराँमा हाम्रा युवा–युवतीको आचरण र व्यवहारमा आमूल परिवर्तन तथा विकृतिहरू समेत देखिन थालेको अनुभव हुन्छ। शिष्टाचारका सामाजिक चालचलनतिर शिक्षादीक्षाको कमि हुन गयो कि भनेर चिन्ता लिनुपर्ने अवस्था खडा छ। 

मानिसको जीवनमा भोजनको बेला स्थापना हुने संस्कारले ठूलो महत्व राख्छ। राष्ट्रिय, अन्तर्राष्ट्रिय, सामाजिक वा पारिवारिक भोजनको औपचारिकताले स्थापित गरेका विभिन्न आचरण सिकाइका महत्वपूर्ण अंग बन्न सक्छन्। आधुनिकताको नाममा पारिवारिक भोजनका दैनिक आचरणबाट विचलित हुन थाल्यौं भने हाम्रो सुखी परिवारका बन्धनहरू टुक्रिने खतरा हुन्छ। 

पहिलेका संयुक्त परिवारमा १०/२० जना वा सोभन्दा अधिक सदस्यहरू पनि सबै एकै समयमा भेला हुने, आ-आफ्ना मर्यादा क्रममा लहरै पलेंटी कसेर हातगोडा धोइवरी खाना खान बस्दथ्यौं। भान्छामा महिलाकै राज हुन्थ्यो। आमा, कान्छीआमा, दिदी, भाउजूहरूबाट भात, दाल, तरकारी र अचार क्रमबद्ध भएर बाँड्ने चलन थियो। क्रमबद्ध भएरै भान्छा छोड्ने र चुठ्न जाने चलन थियो। आजभोलि एउटा परिवारमा ३/४ जना मात्र भए पनि सबै एकै समयमा संयुक्त भोजन गर्ने चलन टुट्न थालेको छ। विद्यालय, कार्यालय एवं विभिन्न कामकाजले परिवारका विभिन्न सदस्य बिहानी वा दिनको भोजनमा एकै समय भेला हुने अवस्था भत्कँदो छ। तसर्थ, कमसेकम बेलुकीको भोजनमा सँगै बस्ने अवसर जुटाउनु वाञ्छनीय हुन्छ। पारिवारिक आचरणमा सँगै बसेर खाने र खाने बेलामा मोबाइल वा ल्यापटप अर्थात् टेलिभिजन पर्दाबाट ध्यान अलग गर्ने अनुशासन सबै सदस्यले पालन गर्न सक्दा पारिवारिक स्नेह र सद्भाव बिथोलिन पाउँदैन। यो अनुशासन कायम राख्न धौ-धौ परेका उदाहरण धेरै परिवारमा देखिन थालेको छ। नेपालीहरूको संस्कार अनुसार, थालको भात राम्ररी हात-खुट्टा धोएर हातैले खाने अनि ओठ-मुखले हातको स्पर्शान्दन लिने बानी बसालियो भने पनि केही आधुनिक विकृतिहरू हटाउन सकिन्छ। 

पाठशाला जाने उमेरका बालबालिकाहरू अति संवेदनशील मन, मस्तिष्क र शरीरका साथ बढ्ने-हुर्कने क्रममा हुन्छन् र तिनको ग्रहणशक्ति पनि उच्च हुन्छ। ‘नानीदेखि लागेको बानी’ हतपत हराउँदैन। जाँदैन। तसर्थ, मानवोचित शील–स्वभाव, बानी-व्यहोरा र आफ्नो संस्कारसम्मत आदत र अदवका तौरतरिका सिकाउने सही उमेर यही हो । यसप्रति घरपरिवार र पाठशाला सचेत हुनु जरूरी छ। आजभोलि स-साना बालबालिकालाई पनि ‘बाई...बाई...’ भनेर बिदा हुने चलन बसेको छ। हात हल्लाएर बिदा हुने संकेत दिने बानी बसेको छ। यो हाम्रो संस्कारभित्रको कुरा नभए पनि निकै सराहनीय शिष्टाचार हो। यसै गरेर ‘हेलो’ (Hello) ले पनि राम्रो स्थान ओगटेको छ। तर भेटैपिच्छे गला लगाउने, गाला जोड्ने र हात मिलाउने संस्कार कतिको वैज्ञानिक वा स्वस्थ चाला हो भन्ने प्रश्न ‘कोभिड-१९’ ले बलियोसँग उठाएको हो। हामीले नमस्कारको नमनलाई विस्थापित हुन दिनुहुँदैन। मेरा स्कूले बाल्यावस्थामा गुरु वा शिक्षकलाई सलाम गर्ने चलन थियो। फारसी वा इस्लामिक संस्कारलाई नमस्कारले विस्थापित गर्‍यो। त्यसलाई कायम राख्नु नेपालीपनको द्योतक हुन्छ। 

शिष्टाचारको कुरा गर्दा बानी-व्यहोरा, बोली-चाली, हाउ-भाउ आदि विभिन्न पक्षका साथै लिवाज र पहिरनको विषयलाई पनि महत्व दिनु आवश्यक हुन्छ। कुन बेला, कुन ठाउँमा कस्तो पोशाक लगाउने भन्ने कुरामा चुक्न मिल्दैन । हाम्रा जातीय लिवाज र पहिरनलाई विदेशी फेशनले विस्थापित गर्दैछ। त्यसको फलस्वरूप लिवाज र लाज, शरीर र शरमका पावन्दीहरू परिवारभित्र पनि खुकुला र खुल्ला हुन थालेको अवस्था छ। आदर र अदवलाई पहिरनले पार्ने प्रभावप्रति चनाखो हुन आवश्यक हुन्छ। शरीरमा कपडा, लुगाले अंग ढाक्ने प्राणी मानिस मात्र हो। मानिसको संस्कारलाई मानिसले नै कायम राख्न सक्नुपर्छ। 

नेपाली संस्कारमा विभिन्न जनजातिका आ-आफ्नै ढोग-भेट, मान-मर्दन र काया-मायाका काइदा र चलनहरू हुन्छन्। मुस्ताङको ल्हो-मान्थाङमा मैले देखें- त्यहाँका राजालाई दर्शन गर्दा जिब्रो काढेर (बाहिर निकालेर) गर्दन हातले रेटेको अभिनयका साथ भेट्ने चलन रहेछ। कञ्चनपुर र बर्दियातिर सुनें कि राना थारूका महिलाहरू आफ्ना पतिलाई पस्केको भातको थाल खुट्टाले अघि सारेर खाना दिंदा रहेछन्। राणा, ठकुरी एवं क्षेत्रीहरूमा ‘दर्शन’ गर्ने चलन अझ्ै कायम छ। त्यस्तै ब्राह्मणहरू खुट्टै ढोक्छन्- जेठाबाठा र गुरुहरूलाई। स्कूले जीवनमा मैले मास्टर साहेबलाई ‘सलाम’ मात्रै गरें। सेना र प्रहरीमा सलाम ठोक्ने चलन नै हुन्छ। आजभोलि बिहानीको बेला सबैले सबैलाई ‘गुडमर्निङ’ भन्ने चलन बसिरहेको छ। युवा-युवतीहरू ‘हाई र हेल्लो’ मा ढल्किसकेका छन्। घरपरिवारतिर भने युवा पुस्ता मोबाइल र ल्यापटपमा व्यस्त भएर ढोग-भेटप्रति अज्ञानता प्रकट गर्न थालेको अवस्था छ। 

विविध संस्कृति र विविध संस्कारलाई ओझेलमा पार्दै अन्तरमुखी ‘डिजिटल’ स्वभावतिर अभिमुख हुन थालेको वर्तमान पुस्तालाई आफ्नो स्वत्वको पहिचान दिने चुनौती हाम्रोसामु खडा छ। नेपाली संस्कारबारे न्यूनतम शिक्षाको खाँचो महसूस गर्ने बेला आएको छ। 

समय बलवान् हुन्छ र बदलिरहन्छ। समयको साथमा हामीले पनि बदलिनुपर्छ । त्यस क्रममा हाम्रा बालबालिकालाई हुर्काउँदा कसरी मानवोचित एवं संस्कारी ढंगले हुर्कने वातावरण दिने भन्ने विषयलाई गहन रूपले सोच्ने बेला आएको छ। वर्तमान विश्वको आधुनिकीकरणको प्रवाहबाट हामी अछुतो छैनौं। सामाजिक, आर्थिक एवं प्राविधिक विश्वव्यापीकरणको प्रवाहमा हामी पनि होमिएका छौं। कृत्रिम मगज (Artificial Intelligence) को प्रकोपले हामीलाई पनि छोप्दै छ। यस परिप्रेक्ष्यमा नेपाली संस्कार, नेपाली संस्कृति र नेपाली स्वत्व बहन गर्न सक्षम-पुस्ता कसरी निर्माण गर्ने भन्ने चुनौतीको सामना गर्नुपर्ने बेला आएको छ। 

शिक्षक  मासिक, २०८१ माघ अंकमा प्रकाशित। 


commercial commercial commercial commercial