सामाजिक अध्ययनको विशिष्टीकरण तालिका बुझौं, नतिजा सुधारौं

- केही प्रश्नहरू पाठभन्दा बाहिरबाट आएका थिए, त्यसैले...
- प्रश्नहरू धेरै गाह्रा थिए...
- प्रश्नहरू एकदमै सजिला थिए...
- मैले राम्रो तयारी गरेको एकाइ÷पाठबाट प्रश्न आएनन्...
- यस्तो प्रश्न सोध्नु हुँदैनथ्यो...
- मलाई समय नै पुगेन, मैले सबै प्रश्न हल गर्न सकिनँ...
परीक्षा सकिएपछि सामाजिक अध्ययन का विषयमा शिक्षक र विद्यार्थीबीच हुने चर्चामा माथिका जस्ता तर्क र कारणहरू उल्लेख गर्ने गरिन्छ। किन यस्तो हुन्छ त ?
यसको उत्तर हुन सक्छ- “शायद परीक्षा निर्माताहरूले प्रश्नपत्र निर्माण गर्दा विशिष्टीकरण तालिकालाई पालना गरेनन् वा विद्यार्थीले परीक्षाको तयारी गर्दा यसको ख्याल गरेनन्।” शिक्षक निर्मित परीक्षण सामग्री प्रयोग हुने हाम्रो देशको जस्तो परीक्षा प्रणालीका सन्दर्भमा एक शिक्षाविद् भन्छन्- ‘धेरैजसो शिक्षक निर्मित परीक्षण सामग्रीको वैधता कमजोर हुने सम्भावना हुन्छ।’ (Ooster, 2003)। त्यसकारण उक्त सम्भावित कमजोरीलाई सच्याउन विशिष्टीकरण तालिकाको निर्माण र प्रयोग गर्ने गरिन्छ। यस तालिकालाई हाम्रा कक्षा कोठामा हुने शिक्षण सिकाइ प्रक्रिया र परीक्षण प्रणालीसँग प्रभावकारी रूपमा जोड्न सकिएमा नतिजामा उल्लेखनीय सुधार आउने कुरा सबै सरोकारवाला पक्षहरूले बुझनु जरूरी हुन्छ।
विशिष्टीकरण तालिका के हो ?
औपचारिक विद्यालयीय सिकाइ प्रक्रियामा पाठ्यक्रमका निर्दिष्ट सक्षमता पूरा भए/भएनन् भन्ने कुराको लेखाजोखा गर्ने प्रक्रिया मूल्याङ्कन हो भने मूल्याङ्कन प्रक्रियालाई योजनाबद्ध तथा प्रभावकारी बनाउने महत्वपूर्ण साधनहरूमध्ये विशिष्टीकरण तालिका एक हो। नेपालमा सिकाइ प्रक्रियाको प्रभावकारिता मापन गर्ने एक महत्वपूर्ण औजारको रूपमा परीक्षा (Test) लाई लिइन्छ र परीक्षाहरू लिखित रूपमा सञ्चालन गर्ने प्रचलन छ। लिखित परीक्षालाई जीवन्तता प्रदान गर्न शिक्षक-निर्मित मापकको रूपमा प्रश्नपत्रको प्रयोग गर्ने प्रचलन सर्वाधिक छ तर प्रश्नपत्र निर्माणको काम भने निकै जटिल र सघन प्रक्रियामा आधारित हुन्छ। यो काम संवेदनशील र जिम्मेवारीपूर्ण पनि हुन्छ। अध्ययन र अनुभवहरूबाट के कुरा पत्ता लागेको छ भने विद्यार्थीको सिकाइ मूल्याङ्कनको नतिजा- परीक्षामा कस्ता प्रकारका प्रश्न सोधिएका थिए भन्ने कुराले पनि निर्धारण गर्दछ। प्रश्नपत्र निर्माण गर्ने क्रममा कुन एकाइ वा पाठबाट कुन/कस्तो प्रकारको प्रश्न सोध्ने, कुन उद्देश्यको मूल्याङ्कन गर्न कस्तो प्रश्न तयार गर्ने, कुन प्रश्नको अङ्क भार कति तोक्ने, कुन प्रश्नलाई कति समय निर्धारण गर्ने जस्ता कुराहरू विचार गरेर प्रश्नपत्र निर्माण गर्नु आवश्यक हुन्छ। परीक्षा सञ्चालन गर्नु अगाडि यिनै कुराहरू समावेश गरी तयार पारिने तालिकालाई नै विशिष्टीकरण तालिका भनिन्छ।
विशिष्टीकरण तालिकामा पाठ्यक्रमको उद्देश्य, विषयवस्तु, अङ्क भार, समय आदिलाई ख्याल गरी कुन एकाइबाट कस्ता र कति वटा प्रश्नहरू सोध्ने, कुन प्रश्न कति अङ्कको राख्ने, कुन प्रश्नलाई कति समय दिने, प्रश्नमा ज्ञान, सीप र उच्च दक्षतालाई कुन कुन प्रश्नबाट मूल्याङ्कन गर्ने जस्ता कुराहरू समावेश गरिने हुनाले शिक्षण-सिकाइ सहज तथा मूल्याङ्कन प्रक्रिया छर्लङ्ग हुन्छ। यसबाट परीक्षाको नतिजामा अपेक्षित सुधार पनि आउन सक्छ। नेपालमा विद्यालय तहको परीक्षा प्रणालीमा विशिष्टीकरण तालिकाको निर्माण र प्रयोग प्रचलित छ।
विशिष्टीकरण तालिकाको उपयोगिता
शिक्षण सिकाइ प्रक्रियामा पाठ्यक्रमको उद्देश्य अनुसार परीक्षा र मूल्याङ्कन प्रतिबिम्बित भएको हुन्छ। विशिष्टीकरण तालिकालाई बुझेर अध्ययन/अध्यापन गर्दा गराउँदा मूल्याङ्कन प्रक्रियालाई सहज र सरल बनाउने मात्र नभएर विद्यार्थीको सिकाइ दरमा पनि सुधार ल्याउन सक्छ र यसले शिक्षक-निर्मित परीक्षाहरूको वैधतामा पनि सुधार ल्याउँछ। विशिष्टीकरण तालिकाको प्रयोगले पाठ्यक्रम अनुसार लिइने परीक्षा विद्यार्थीका लागि सरल र सहज भई विद्यार्थीको सिकाइ उपलब्धि दर बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ (पा.वि.के., २०७८)। यसका अतिरिक्त हरेक प्रकारका शैक्षणिक योजना निर्माण गर्न पनि विशिष्टीकरण तालिकाले सहयोग पुर्याउँछ। तसर्थ, विशिष्टीकरण तालिकालाई बहुउपयोगी शैक्षिक औजारको रूपमा लिइन्छ। यो शिक्षण गर्ने शिक्षकहरू, सिकाइ गर्ने विद्यार्थी, परीक्षाको निम्ति सहायक सामग्रीका निर्माण पक्ष तथा उत्तरपुस्तिका परीक्षक सबैको लागि उपयोगी हुन्छ।
शिक्षक: शिक्षकले शिक्षण प्रक्रिया सञ्चालन गर्दा कुन विषयवस्तु, कसरी, कुन उद्देश्य प्राप्तिका लागि गर्ने भन्ने मार्गनिर्देश विशिष्टीकरण तालिकाले गर्दछ। त्यसैले यसले शिक्षकहरूलाई उनीहरूको शिक्षण उद्देश्य, निर्देशनको संज्ञानात्मक स्तर र प्रत्येक उद्देश्यको मूल्याङ्कन/परीक्षणको मात्रालाई जोड्न मद्दत गर्दछ (Nortar et al., 2004)। कुन पक्ष/शीर्षकमा कमजोरी भइरहेको छ भनेर पहिचान र निर्धारण गर्न तथा शिक्षकलाई सबैभन्दा उपयुक्त शिक्षण रणनीति छनोट गरी त्यसलाई सुधार गर्न पनि विशिष्टीकरण तालिकाले सहयोग गर्दछ।
विद्यार्थी: विशिष्टीकरण तालिका शिक्षकहरूलाई मात्र नभएर विद्यार्थीका लागि पनि उपयोगी हुन्छ। यसले पाठ्यक्रममा आधारित उद्देश्यमूलक सिकाइ अभिवृद्धि गर्न, विद्यार्थीले सिकेका कुराहरू प्रतिबिम्बित गर्न तथा विद्यार्थीले अनुभव गरेका शिक्षण गतिविधिको बारेमा जानकारी व्यवस्थित गर्नको लागि एक रूपरेखा प्रदान गर्दछ। विद्यार्थीलाई कुन एकाइबाट कति वटा प्रश्न, अङ्क भार कति, कुन तहका कस्ता प्रश्न, कति समय जस्ता आधारभूत जानकारी गराएर परीक्षाहरूको तयारीमा विद्यार्थीलाई सहयोग पुर्याएको हुन्छ।
तयारी सामग्री निर्माणकर्ताः विशिष्टीकरण तालिकाले परीक्षा र मूल्याङ्कनको तयारीमा पनि विशेष सहयोग पुर्याएको छ। नमूना प्रश्नपत्र निर्माण, उत्तर कुञ्जिका तथा अन्य परीक्षामा आधारित सहयोगी सामग्रीहरूको निर्माण गर्ने क्रममा त्यस्ता सामग्रीका निर्माणकर्ताहरूलाई पनि मार्गनिर्देश गर्दछ।
प्रश्नपत्र निर्माणकर्ता: नेपालमा शैक्षणिक कार्यक्रमको प्रभावकारिता मापन गर्ने प्रमुख आधार परीक्षा हो र परीक्षाका प्रमुख औजार प्रश्नपत्र हुन्। यसमा सिकाइका तह अनुरूप प्रश्नका निश्चित प्रकार र संख्या, अङ्कभार, समय आदि राखिने हुँदा प्रश्नपत्र निर्माण गर्न यसले मार्गदर्शन गर्छ। प्रश्नपत्र निर्माण गर्दा वस्तुगत वैधता निर्धारण गर्न, स्तरीकरण र एकरूपता कायम गर्न विशिष्टीकरण तालिकाको ज्ञान अपरिहार्य हुन्छ। यसको राम्रो ज्ञान भएको प्रश्नपत्र निर्माणकर्ताले मात्र संज्ञानात्मक सीपहरूको वाञ्छित दायरा पहिचान गरी समसामयिक विषयप्रति वैधता र विश्वसनीयताको सन्तुलन सुनिश्चित गर्न सक्दछ।
उत्तरपुस्तिका परीक्षक: विशिष्टीकरण तालिका उत्तरपुस्तिका परीक्षकको लागि एक प्रकारको निर्देशिका नै हो। विद्यार्थीका उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षण गर्ने परीक्षकहरूलाई विषयगत विशिष्टीकरण तालिकाको राम्रो ज्ञान हुनु जरूरी हुन्छ। विशिष्टीकरण तालिकाले निर्देश गरे बमोजिम प्रश्नको प्रकार र प्रकृति बुझेको परीक्षकले मात्र विद्यार्थीले लेखेका उत्तरहरूको अन्तर्य बुझदछ र विश्वसनीय रूपमा परीक्षण गर्न सक्दछ। उसलाई तत्सम्बन्धी राम्रो ज्ञान नभएमा उत्तरपुस्तिका परीक्षणमा हुने सम्भावित कमजोरीलाई नियन्त्रण गर्न सकिंदैन र अहिले सामाजिक अध्ययन विषयका जस्तै विद्यार्थीहरू अनुत्तीर्ण हुने वा न्यून ग्रेड आउने अथवा विश्वसनीय ग्रेड नआउने सम्भावना रहिरहन्छ।
सामाजिक अध्ययनको विशिष्टीकरण तालिका
चित्रमा उल्लिखित विशिष्टीकरण तालिका कक्षा-१० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा आधारित छ। यो एक निर्णयात्मक मूल्याङ्कन हो। माध्यमिक शिक्षा पाठ्यक्रम, २०६४ मा सामाजिक अध्ययन विषयमा विद्यालय तहमा विद्यार्थी उपलब्धि मूल्याङ्कनका लागि निरन्तर/निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख छ। जसमध्ये विशिष्टीकरण तालिकाको निर्माण र प्रयोग निर्णयात्मक मूल्याङ्कन प्रक्रियालाई सहजीकरण गर्नको लागि गरिन्छ। यसले अङ्कन प्रक्रियालाई स्थिरता र एकरूपता प्रदान गर्दछ।
सामाजिक अध्ययनको विशिष्टीकरण तालिकाले सिकाइका चार तहहरू पहिचान गरेको छः ज्ञान, बोध, उच्च क्षमता र पाठ्यक्रममा उल्लेख भए अनुसार व्यावहारिक अभ्यास (प्रयोग र सिर्जनशीलता)। यी चार तहका सिकाइको मापन सुनिश्चित गर्न निर्मित माध्यमिक शिक्षा परीक्षाको प्रश्नपत्रमा सम्मिलित प्रश्नहरूलाई विशिष्टीकरण तालिकाले ब्लूमको वर्गीकरण (Bloom’s Taxonomy) अनुसार विद्यार्थीका सिकाइका तीन क्षेत्रहरू; संज्ञानात्मक, भावनात्मक र मनोक्रियात्मक पक्षसँग मेल खाने गरी सामूहिकीकरण गर्ने प्रयास गरेको छ।
प्रश्नपत्र निर्माण गर्ने क्रममा कुन एकाइ वा पाठबाट कुन उद्देश्यको मूल्याङ्कन गर्न कस्तो प्रश्न तयार गर्ने जस्ता कुराहरू विचार गर्नु आवश्यक हुन्छ। परीक्षा सञ्चालन गर्नु अगाडि यस्ता कुराहरू समावेश गरी तयार पारिने तालिकालाई नै विशिष्टीकरण तालिका भनिन्छ।
ज्ञान र बोध संज्ञानात्मक पक्ष (Cognitive Domain) सँग सम्बन्धित रहेकोले कक्षा-१० र ८ मा एउटै समूहबाट सन्तुलित हिसाबले प्रश्न सोध्ने गरिएको छ भने कक्षा-१२ को हकमा ज्ञान र बोधलाई पनि छुट्याइएको छ र छुट्टाछुट्टै तहका प्रश्नहरू सोध्ने गरिएको छ। यस समूहको लागि कक्षा-१० को मूल्याङ्कनमा ३७ प्रतिशत अङ्कभार (२८ अङ्क) छुट्याइएको छ भने यस अन्तर्गत एकाइ १, एकाइ ४, एकाइ ७, ८ र ९ बाट १/१ प्रश्नका दरले ५ वटा अति संक्षिप्त उत्तर आउने प्रश्नहरू, एकाइ २, ५, ६ र १० बाट १/१ प्रश्नका दरले ४ वटा छोटो उत्तर आउने प्रश्नहरू र एकाइ ७ बाट १ लामो उत्तर आउने प्रश्न सोधिने छ। यो अङ्कभार कक्षा-८ को हकमा ४६ प्रतिशत रहेको छ र कक्षा-१२ को हकमा भने ज्ञान तहमा २० प्रतिशत तथा बोध तहमा २७ प्रतिशत गरी जम्मा ४७ प्रतिशत रहेको छ। यस तह अन्तर्गत पाठमा भएका कुराहरूलाई सम्झ्एिर हुबहु लेख्ने अथवा आफ्नो बुझाइ लेख्नुपर्ने प्रश्नहरू पर्दछन्। यी तहका प्रश्नहरूको उत्तर लेख्दा सीधा उत्तर लेखे पुग्छ; विश्लेषण गरिरहनुपर्दैन। यस तहका प्रश्नहरूमा ‘.... भनेको के हो ?’, ‘परिभाषा दिनुहोस्’, ‘नाम लेख्नुहोस्’, ‘सूची बनाउनुहोस्’, ‘उदाहरण दिनुहोस्’, ‘पुष्टि गर्नुहोस्’, ‘तुलना गर्नुहोस्’ जस्ता क्रियापदहरूको प्रयोग गरिन्छ।
यसैगरी प्रयोग र सिर्जनात्मक सीप समूहबाट कक्षा-१० को परीक्षामा ३३ प्रतिशत अङ्कभार (२५ अङ्क) सहित ७ वटा प्रश्न सोधिनेछ, जसमा एकाइ ४, ८ र १० बाट १/१ वटा अति छोटो उत्तर आउने प्रश्नहरू, एकाइ ३ र ९ बाट १/१ वटा छोटो उत्तर आउने प्रश्न तथा एकाइ ६ र ८ बाट १/१ वटा लामो उत्तर आउने प्रश्नहरू सोधिनेछ। यो अङ्कभार कक्षा-८ र कक्षा-१२ को हकमा समान, २८ प्रतिशत रहेको छ। यस तह अन्तर्गतका प्रश्नहरू विद्यार्थीले कक्षाकोठामा सिकेका कुराहरूलाई वास्तविक जीवन/परिस्थितिमा तुलना गर्न वा लागू गर्न सक्ने सीप/क्षमता जाँच गर्ने तथा नयाँ कुरा निर्माण गर्ने विषयसँग सम्बन्धित हुन्छन्। यस तहका प्रश्नहरूमा ‘निर्माण गर्नुहोस्’, ‘गीत, कविता, कथा लेख्नुहोस्’, ‘संवाद लेख्नुहोस्’, ‘नमूना बनाउनुहोस्’, ‘योजना बनाउनुहोस्’, ‘समाधान गर्नुहोुस्’ आदि जस्ता क्रियापदहरूको प्रयोग गरिन्छ।
उच्च दक्षता समूहबाट कक्षा-१० को अन्तिम परीक्षामा ३० प्रतिशत अङ्कभार (२२ अङ्क) रहने गरी जम्मा ७ वटा प्रश्न सोध्ने व्यवस्था छ। जसमध्ये एकाइ २, ७ र ९ बाट अति छोटो उत्तर आउने १÷१ वटा प्रश्न, एकाइ १, ३ र ४ बाट १÷१ वटा छोटो उत्तर आउने प्रश्न र एकाइ ५ बाट एउटा १ लामो उत्तर आउने प्रश्न रहने व्यवस्था छ । यो अङ्कभार कक्षा-८ को हकमा २६ प्रतिशत रहेको छ भने कक्षा-१२ को हकमा २५ प्रतिशत रहेको छ। यस समूह अन्तर्गत विश्लेषण, समालोचनात्मक चिन्तन, मूल्य र अभिवृत्तिसँग सम्बन्धित प्रश्नहरू रहने छन् । यस तहका प्रश्नहरूमा ‘विश्लेषण गर्नुहोस्’, ‘निष्कर्ष निकाल्नुहोस्’, ‘सम्बन्ध देखाउनुहोस्’, ‘तर्क दिनुहोस्’, ‘समीक्षा गर्नुहोस्’, ‘प्रमाणित गर्नुहोस्’, ‘सहमति वा असहमति जनाउनुहोस्’, पुष्टि गर्नुहोस्’, ‘कारण दिनुहोस्’ आदि जस्ता क्रियापदहरूको प्रयोग गरिन्छ।
भौगोलिक अध्ययनमा नक्शा कार्यको सन्दर्भमा कक्षा-१० र ८ मा व्यावहारिक क्षमतासँग सम्बन्धित एउटा लामो प्रश्न सोधिन्छ, जुन मनोक्रियात्मक क्षेत्र (Psychomotor domain) अन्तर्गत रहन्छ। अन्य प्रश्नहरू उच्च तहको संज्ञानात्मक क्षमता (Higher-level cognitive performance) वा भावनात्मक पक्ष (affective domain) अन्तर्गत पर्छन्। यसरी सामाजिक अध्ययनको विशिष्टीकरण तालिकाले ब्लूमको वर्गीकरणको परिमार्जित संस्करण अनुसार प्रत्येक क्षेत्रलाई समेट्ने प्रयास गरेको छ ।
अन्त्यमा
विद्यालय तहमा विद्यार्थी उपलब्धि मूल्याङ्कनका लागि निर्माणात्मक मूल्याङ्कन प्रक्रिया अवलम्बन गरी सिकाइ सुधारका लागि निरन्तर पृष्ठपोषण प्रदान गर्नुका साथै निर्णयात्मक मूल्याङ्कन प्रक्रिया अवलम्बन गरी विद्यार्थीको सिकाइस्तर निर्धारण गरिनुपर्दछ। अतः उचित शैक्षणिक योजना निर्माण, प्रभावकारी शिक्षण, उपयुक्त प्रश्नपत्र र तयारी सामग्रीहरूको निर्माण र प्रयोग, उद्देश्य केन्द्रित सिकाइ प्रक्रियाको सुनिश्चितता मार्फत समग्र मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्दै यस तालिकाले सिकाइका कुन-कुन तहहरूलाई मापन गर्ने र हरेक तहका सिकाइलाई कति भार दिने भन्ने जस्ता कुराहरू सामेल गरिएको हुन्छ। तसर्थ विद्यार्थीको सिकाइ अभिवृद्धि गर्न पाठ्यक्रमको उद्देश्य, शिक्षण, सिकाइ र मूल्याङ्कन प्रक्रियामा उचित तालमेल हुनु आवश्यक हुन्छ; जुन विशिष्टीकरण तालिकाले गर्दछ।
(बूढानीलकण्ठ स्कूल, काठमाडौं)
शिक्षक मासिक, २०८१ मंसीर अंकमा प्रकाशित ।