बोझिला विषयवस्तुको भार पट्यारलाग्दा किताब

कक्षा-६ को सामाजिक अध्ययन को पाठ्यपुस्तकमा एकाइ-५ अन्तर्गत हाम्रो विगत शीर्षकको पाठ पढेपछि विद्यार्थीले हासिल गर्नुपर्ने सिकाइ उपलब्धि यसप्रकार तोकिएका छन्ः
- नेपाल एकीकरणमा भएका प्रयास उल्लेख गर्न
- नेपाल-अंग्रेज युद्ध, सुगौली सन्धि एवं त्यसपछिको राजनीतिक अवस्थाको विश्लेषण गर्न
- राणाकालीन राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाको व्याख्या र विश्लेषण गर्न
- वि.सं. २००७ देखि हालसम्मको प्रमुख राजनीतिक घटनाक्रम र सामाजिक तथा आर्थिक उपलब्धिको पहिचान गर्न
- मिथिला सभ्यता र यसले जनजीवनमा पारेको प्रभाव बताउन
हाम्रो विगत एकाइ अन्तर्गत सातवटा पाठ छन्। नेपालको एकीकरणः जनसहभागिता शीर्षकमा पाठ १ छ। अर्को पाठ ५ मा वि.सं. २००७ देखि हालसम्मका राजनीतिक घटनाक्रम रहेको छ। यो पाठमा मिति र घटनाक्रमको सूची छ।
यसै पाठमा रहेको अभ्यासमा सोधिएका प्रश्न यस्ता छन्ः ‘नेपालमा राणाशासनको अन्त्य कहिले भयो ? पहिलो जननिर्वाचित प्रधानमन्त्रीको नाम लेख्नुहोस् ! पञ्चायती शासनलाई किन एकदलीय शासन भनिएको हो ? कारण उल्लेख गर्नुहोस्।’
पाठ ६ को शीर्षक छ, सामाजिक तथा आर्थिक उपलब्धि: वि.सं २००७ देखि हालसम्म। यसमा सोधिएका प्रश्न यस्ता छन्, ‘नेपाल राष्ट्र बैंकको स्थापना कहिले भयो ? विकास योजनाको परिचय दिनुहोस्।’
१०/११ वर्ष उमेर समूहका बालबालिकाका लागि यी विषयवस्तु र यस्ता प्रश्न कति सान्दर्भिक एवं स्वाभाविक छन् ? यी पाठ र यस्ता अभ्यासबाट उनीहरूले आफ्नो जीवनमा प्रयोग हुने के कुरा सिक्छन् र कहाँ उपयोग हुन सक्छ ? उनीहरूको व्यवहारमा के कस्तो सकारात्मक परिवर्तन आउँछ ? यी विषयवस्तु बुझछन् कि नबुझी रट्न बाध्य हुन्छन् ?
आफूले नबुझने र आफूसँग सम्बन्धित नभएको कुरामा बालबालिकालाई के, कसैलाई पनि रुचि लाग्दैन। विद्यार्थीको पूर्व ज्ञान वा अनुभव, उमेर, पाठ्यक्रम र पाठ्यपुस्तकका विषयवस्तु बीच तालमेल नमिल्दा सिकाइ अर्थपूर्ण र रुचिपूर्ण हुन सक्दैन। अहिले सामाजिक अध्ययन विषय विद्यार्थीले अल्छी र गाह्रो मान्न थालेको एउटा प्रमुख कारण यही हो।
कक्षाऔ६ मा जस्तै क्रमैसँग माथिल्लो कक्षाहरूमा हाम्रो विगत एकाइ छन्। कक्षा-१० मा हाम्रो विगत एकाइमा विभिन्न कालखण्डका राजनीतिक घटनाक्रमको बारेमा पाठहरू छन् । २००७ सालको क्रान्ति र दिल्ली सम्झैतादेखि २०७९ सालसम्मका राजनीतिक घटनाक्रम लगायत १० वटा पाठ कक्षामा छन्।
२०१७ देखि २०४६ सालसम्मका राजनीतिक घटनाहरू सम्बन्धी एउटा पाठमा जनकपुर बम काण्ड, भूमिसुधार ऐन र गाउँफर्क राष्ट्रिय अभियान, झापा विद्रोह र सुखानी हत्याकाण्ड, विमान अपहरण र सिंहदरबार आगलागी, टिम्बुरबोटे काण्ड र रत्नकुमार बान्तवा हत्याकाण्ड, पिस्कर काण्ड आदिका बारेमा पढ्नुपर्छ। प्रथम र दोस्रो विश्वयुद्धका कारण, घटनाक्रम, परिणामका बारेमा पनि पाठहरू छन्। धेरै घटनाक्रमले भरिएका यी पाठ यति बोझिला छन् कि किताब लेख्नेले पनि कसैको निर्देशन पालना गरिदिए जस्तो झरा टार्ने किसिमले लेखेका छन्। जटिल र बोझ्लिा यस्ता पाठले ती घटना बारे सकारात्मक धारणा बनाउन मुश्किल र कठिन देखिन्छ।
सामाजिक अध्ययन विषयप्रति विद्यार्थीको रुचि कम भएको र यसलाई विद्यार्थीले अति नै बोझ्लिो विषयका रूपमा लिएको शिक्षकहरूको ठम्याइ छ। लिटिल एन्जल्स स्कूल, ललितपुरका सामाजिक अध्ययन विषयका शिक्षक मातृकाप्रसाद लम्साल भन्छन्, ‘कतिपय विषयवस्तु धेरै जटिल छन्। ती विषयवस्तु विद्यार्थीको व्यवहारमा दैनिक जीवनमा कसरी सन्दर्भ जोड्न सकिन्छ र उमेर अनुसार कसरी समावेश गर्ने भन्ने कुरालाई महत्व दिइएन। जस्तो इतिहासको बारेमा जान्नुपर्छ। तर कुन कालखण्ड र कुन पाठबाट कुन उमेर समूहलाई के-कति सिकाउनु जरूरी छ ? त्यसअनुसार विषयवस्तु राखिएको छैन। घटना, मिति, कहिले कुन व्यक्ति, को प्रधानमन्त्री बने भनेर कण्ठ गराएर काम छैन।’
विद्यार्थीहरू पनि हाम्रो विगत पाठ अति जटिल भएको बताउँछन्। माछापुच्छे« मावि, कास्कीमा कक्षा-१० की छात्रा तृष्णा गुरुङलाई हाम्रो विगत एकाइका प्रायः सबै पाठ गाह्रो लाग्छन्। त्यहींका अर्का विद्यार्थी आशिष बाँस्तोला भन्छन्, ‘मलाई हाम्रो विगतको विशेषगरी प्रथम विश्व युद्ध र दोस्रो युद्ध सम्बन्धी पाठहरू जटिल र अव्यावहारिक लाग्छ ।’ यसैगरी नागरिक चेतना, अन्तर्राष्ट्रिय सम्बन्ध, हाम्रो पृथ्वी एकाइ पनि निकै गाह्रो र कपिपय पाठ अनुपयोगी भएको विद्यार्थीको भनाइ छ । ‘हाम्रो पृथ्वी एकाइमा विश्वको हावापानीका प्रकार पढ्नुपर्छ। तर मलाई यो पाठ उपयोगी लाग्दैन। अन्तर्राष्ट्रिय सम्बन्धमा संयुक्त राष्ट्रसंघका विशिष्टीकृत संस्था पढ्न, बुझन र मिति सम्झ्न गाह्रो लाग्छ’, कक्षा-१० का विद्यार्थी सन्तोष लम्सालले भने।
सामाजिक अध्ययनमा समाज, इतिहास, भूगोल, अर्थशास्त्र, राजनीति, जनसंख्या, अन्तर्राष्ट्रिय सम्बन्ध, दर्शनसँग सम्बन्धित विषयवस्तु छन् । तल्लो कक्षादेखि माथिल्लो कक्षासम्म कतिपय विषयवस्तु थोपरिएका छन्। अरू विषयमा समेटिएका विषयवस्तु पनि राखिएका छन्। जस्तो सूचना तथा सञ्चारप्रविधि । यो विषयवस्तु विज्ञान तथा प्रविधि विषयमा पनि छ। ट्राफिक नियम, वित्तीय शिक्षा, बचत र बीमा, वित्तीय उपकरण, राजस्व, सहकारी जस्ता विषयवस्तु पाठ्यक्रम तथा पुस्तकमा नराखी सिकाउन सकिने खालका छन्।
शिक्षक लम्साल भन्छन्, “सामाजिक अध्ययनमा कति विषयवस्तु समेट्ने ? कुनै सीमा नै भएन। प्रविधि, योग, जीवनोपयोगी शिक्षा, कानून, इतिहास भूगोल सबै समेट्न खोज्दा यो विषय विद्यार्थीलाई गाह्रो भएको छ । यसैकारण पनि यो विषयप्रति विद्यार्थीमा वितृष्णा र अरुचि छ।”
परिमार्जनको तरखर
पाठ्यक्रम विकास केन्द्रले कक्षा ४-१२ को पाठ्यक्रम परिमार्जन गर्ने तयारी शुरू गरेको छ। यसको थालनी कक्षा–१० को सामाजिक विषयको पाठ्यक्रमबाट गरिएको छ। २०८२ सालदेखि सामाजिक अध्ययनको परिमार्जित पाठ्यक्रम तथा यस विषयको नयाँ पाठ्यपुस्तक कक्षा-१० मा लागू गर्ने योजना बनाइएको छ । गत असोज १३ गते केन्द्रले गरेको सामाजिक अध्ययनको पाठ्यक्रम परिमार्जन सम्बन्धी छलफलमा पनि थुप्रै शिक्षकले विषयवस्तु धेरै र कतिपय विषयवस्तु उमेर अनुसार जटिल भएको विचार व्यक्त गरेका थिए।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भन्छन्, “हामीले शिक्षकबाट सुझव लिइरहेका छौं । विषयवस्तुको भार धेरै भयो । यसको असर विद्यार्थीमा परेको छ भन्ने कुरा आएको छ। विद्यार्थीसँग पनि पृष्ठपोषण लिएका छौं। उनीहरूले पनि बुझन गाह्रो भयो भनेका छन्।”
सामाजिक अध्ययनमा धेरै विषयवस्तु हुँदा शिक्षकलाई पढाउन पनि गाह्रो भइरहेको छ । किताब मोटा छन्। धेरै पाठ हुँदा कोर्स सिध्याउन र क्रियाकलाप गराउन समय नभ्याउने शिक्षकहरू बताउँछन्।
एकातिर धेरै विषयवस्तु भए। अर्कोतिर सामाजिक विज्ञानको कुनै एक विषय पढेकाले प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाप्रति पनि कतिपय शिक्षकको गुनासो छ। आफूले पढेको विषयमा (जस्तो, भूगोल पढेको शिक्षक भए भूगोलका विषयवस्तु) राम्ररी पढाए पनि अरू विधाका विषय बुझउन गाह्रो हुने र सिकाइ प्रभावकारी नहुने उनीहरूको भनाइ छ। शान्ति नमूना माध्यमिक विद्यालय, रूपन्देहीकी शिक्षक सीता गौतम भन्छिन्, “इतिहास, भूगोल, अर्थशास्त्र, जनसंख्या, राजनीति धेरै विषयवस्तु छन्। माथिल्लो कक्षामा जटिल विषयवस्तु पनि छन्।
क्याम्पसमा पढाइ हुने खालका छन्। विद्यार्थीहरू यो विषय भनेपछि बोझ् मान्छन्। शिक्षकलाई पनि सबै विषयवस्तुमा पूर्ण ज्ञान हुँदैन। त्यसैले हामी एकअर्का शिक्षकबाट सहयोग लिन्छौं।” शिक्षकहरूकै भनाइमा उनीहरूलाई सामाजिक पढाउन स्वअध्ययन गर्नुपर्ने अवस्था हुन्छ। आफूले सिकेर विद्यार्थीलाई सिकाउनुपर्छ। कतिपय ठाउँमा त नेपाली, अंग्रेजी विषयका शिक्षकले पनि पढाइरहेको अवस्था छ।
लिटिल एन्जल्स स्कूलका शिक्षक लम्साल भन्छन्, “शिक्षक एउटा विषयमा मास्टर्स गरेको हुन्छ। आफूले नपढेका विषयसँग सम्बन्धित केही पाठहरू शिक्षकले नै दोहो¥याइ–तेहे¥याइ पढ्नुपर्छ। विभिन्न विषयवस्तु पढाउनुपर्दा ऊ अल्छी गर्न सक्छ । स्वअध्ययन नगर्न सक्छ। यसकारण शिक्षकबाट राम्रो डेलिभरी हुँदैन र यसको मार विद्यार्थीमा पर्छ।”
शिक्षक सेवा आयोगको मापदण्ड अनुसार सामाजिक विज्ञानको कुनै एउटा विषय अध्ययन गरेपछि सामाजिक अध्ययनका शिक्षक हुन प्रतिस्पर्धा गर्न पाइन्छ। यसै विषयका लागि शिक्षक उत्पादन गरिएको छैन। सरस्वती मावि, ललितपुरका प्रअ तथा सामाजिक विषय शिक्षक महेन्द्र विष्ट भन्छन्, “सामाजिक विज्ञानभित्रका एक वा दुई विषय पढेर गएकाले समाजशास्त्र, राजनीतिशास्त्र, दर्शनशास्त्र, इतिहास, भूगोल, दर्शन सबै पढाउनुपर्ने अवस्था छ। कतिले स्वअध्ययन गरेर पनि सिकाइरहेका छन्। सरकारले सामाजिक अध्ययन पढाउने शिक्षक यस्तो हुनुपर्छ भनेर एउटा तालिम प्याकेज ल्याउनुपर्छ। यस्तो तालिम भए सामाजिक विषयको शिक्षण र सिकाइ प्रभावकारी हुन्छ।”
सामाजिक अध्ययनको पुस्तक लेखनमा पनि समस्या छ। पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पुस्तक नमूना वा उदाहरणीय हुनुपर्ने हो। तर केन्द्रकै किताब पढूँ-पढूँ लाग्ने खालका छैनन्, सैद्धान्तिक विवरण र सूचनाले भरिएका छन। उमेर अनुसार कथा, उपन्यास के शैली रोचक हुन सक्छन् तर त्यसमा पटक्कै ध्यान दिइएको छैन। कक्षा-६ को नेपालको एकीकरणः जनसहभागिता शीर्षकको पाठ, ‘जनता मावि रातमाटाका कक्षा-६ का विद्यार्थीले पृथ्वीनारायण शाहको एकीकरण अभियान र जनसहभागिता सम्बन्धमा तयार पारेको अध्ययन प्रतिवेदन यसप्रकार छ’ भनेर शुरू गरिएको छ। यस्तो नीरस प्रस्तुति भएको पुस्तक १०/११ वर्षका केटाकेटीलाई कसरी पढ्न शुरू गर्न मन लाग्छ ? यो उमेर पठन संस्कृति विकासका लागि महत्वपूर्ण हो। साना विद्यार्थी मात्र होइन, कक्षा-१० मा पुगेका विद्यार्थीलाई पाठ वा विषयवस्तु बुझाउन प्रयोग गरिएको संवाद शैली अल्छी लाग्दा छन्।
विद्यालय तहको पुस्तक लेखन निकै महत्वपूर्ण कुरा हो। तर प्रयोगमा आएका पुस्तक हतार-हतार र झरा टार्ने ढंगले तयार गरिएका पट्यार लाग्दा छन्। विषयवस्तुलाई रोचक र व्यावहारिक बनाएर कसरी पुस्तक लेखन गर्नुपर्छ भनेर लेखकलाई पहिले तालिम वा अभिमुखीकरण दिनुपर्ने समेत देखिन्छ। पाठ्यक्रम विकास केन्द्रले नै विषयवस्तुको प्रस्तुति, भाषिक शुद्धता, कागज र छपाइका हिसाबले स्तरीय या हेर्न लायक किताब तयार पार्न सकेको देखिंदैन। पाठ्यक्रम-परिमार्जन र पुस्तक लेखनको सन्दर्भमा यो पक्षमा ध्यान दिनु जरूरी छ।
किताबको छपाइ र कागजको स्तर त लज्जाजनक नै छ। कति किताबका पानामा अक्षर पढ्नै नसक्ने गरी कालो पोतिएको, दोहोरो छपाइ भएको र पिन हल्लिएको पाइन्छ। पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पुस्तकमा तथ्यगत र भाषिक अशुद्धता पनि उत्तिकै भेटिन्छन्। जस्तो कक्षा-१२ को सामाजिक अध्ययनमा हाल नेपालमा सञ्चालित भारतीय सहायताका केही परियोजनाहरू शीर्षक अन्तर्गत बुटवल-नारायणगढ सडकको विस्तार परियोजना राखिएको छ। तर, यथार्थ के हो भने पूर्व-पश्चिम राजमार्गको त्यो खण्डमा भारतले कहिल्यै सघाएको छैन। अहिले भइरहेको सडक-विस्तारको काम नेपाल सरकारले एडीबीबाट ऋण लिएर चिनियाँ ठेकेदार मार्फत गराइरहेको छ। शुरूमा महेन्द्र राजमार्गको यो खण्डको निर्माण बेलायतको अनुदान सहायतामा भएको थियो।
कतिपय पाठमा विषयवस्तुको धारणा दिन तस्वीर राखिएका छन्। तर ती चित्र नै स्पष्ट छैनन्।
पाठ्यपुस्तक हेर्दा लेखकको छनोट र क्षमता मात्र होइन, पाठ्यपुस्तक लेखन र तयारीलाई कति हल्का तरिकाले लिइएको छ भनेर पाठ्यक्रम विकास केन्द्रको प्रभावकारितामा नै प्रश्नचिह्न उठ्छ। शिक्षक मासिकको असोज अंकमा जापानी शिक्षक खायोको सावादासँग कुराकानी गरिएको थियो। उनले जापानमा विद्यार्थीका लागि विभिन्न विषयका पुस्तक लेखनलाई धेरै महत्व दिइने गरेको बताएकी थिइन्। सम्बन्धित निकायले विश्वविद्यालयका प्राध्यापक, राम्रा शिक्षकहरूबीच गहन छलफल भएपछि मात्र पुस्तक तयार हुने र पुस्तक प्रकाशनका लागि गुणस्तरीय कागज प्रयोग हुने बताएकी थिइन् ।
शिक्षक लम्साल पनि पाठ्यपुस्तक व्यापक छलफल गरेर र सुझाव लिएर मात्र बजारमा ल्याइनुपर्ने बताउँछन्। सरस्वती माध्यमिक विद्यालयका प्रअ विष्ट भन्छन्, “एउटा किताब निकाल्न लेखकलाई कम्तीमा पनि एक वर्षको समय दिनुपर्छ। हतारमा लेखेको किताब गुणस्तरीय हुँदैन।”
परिमार्जित पाठ्यक्रममा कुन विषयवस्तु राख्ने, कसरी समावेश गर्ने, त्यसबाट विद्यार्थीको सिकाइ र व्यवहारमा सकारात्मक परिवर्तन आउन सकोस् भनेर गहन छलफल र अध्ययन आवश्यक पर्छ। त्यस्तै गुणस्तरीय पुस्तकका लागि पनि राम्रो तयारी चाहिन्छ। तर केन्द्रले पाठ्यक्रम परिमार्जन र पुस्तकको तयारी हतारहतार गरेको देखिन्छ। गत भदौबाट छलफल शुरू गरिएको हो। परिमार्जित पाठ्यक्रम आउने मंसीरमा तयार हुने महानिर्देशक श्रेष्ठले बताएका छन्। यस्तोमा परिमार्जित पाठ्यक्रम र पाठ्यपुस्तक कसरी गुणस्तरीय हुन सक्ला भन्ने प्रश्न उठ्छ। तर तयारी राम्ररी भइरहेको केन्द्रका महानिर्देशक श्रेष्ठको भनाइ छ।
महानिर्देशक श्रेष्ठ भन्छन्, “विषयवस्तु धेरै दियो र किताब मोटो भयो भने राम्रो भन्ने भयो। त्यसैले लेक्चरमा आधारित शिक्षण भयो। अब हामी कन्टेन्ट घटाउँछौं। घोकाइ होइन, सिकाइलाई जोड दिन्छौं। पाठ्यक्रम प्रबोधीकरण, शिक्षक निर्देशिका, ग्रिड परिवर्तन तयारी पनि गर्दैछौं। कक्षा शिक्षण, विद्यार्थीको व्यवहार र सिकाइमा परिवर्तन ल्याउने गरी काम गर्दैछौं।”
शिक्षक मासिक, २०८१ कात्तिक अंकमा प्रकाशित ।