विद्यालयमा हरित संस्कारको अभ्यास

फराकिलो क्षेत्रमा हरिया रूख र बिरुवा। बीच-बीचमा भवन। नाम चलेको कुनै ‘टुरिष्ट रिसोर्ट’ भन्दा फरक देखिंदैन। तर यहाँ पर्यटक होइन, झ्न्डै दुई हजार बालबालिका पढ्ने र सिक्ने गर्दछन्। पाल्पाको रामपुरमा रहेको रामतुलसी माध्यमिक विद्यालय क्षेत्रको प्राकृतिक वातावरण साँच्चिकै लोभलाग्दो छ। यो विद्यालयमा विकास गरिएको हरित-अभ्यास हेर्न मात्रै होइन, अरूका लागि अनुकरण गर्न पनि लायक छ। 

पूर्वी पाल्पाको कालीगण्डकी उपत्यकाको गर्मी हुने स्थानमा रहेको यो रामतुलसी माविको ११४ रोपनी जग्गामध्ये करीब ४५ रोपनीमा विद्यालय भवन सहित शैक्षिक गतिविधि सञ्चालन हुन्छ। विद्यालयको करीब २८ रोपनी जग्गा कृषि फर्मको रूपमा उपयोगमा छ भने करीब ४१ रोपनीमा खेल मैदान र रूख-बुट्यान छन्। यहाँ हरियाली निर्माण गर्न विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका सराहनीय पाइन्छ। त्यसको अगुवाई चाहिं विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले गरिरहेका छन्। प्रअ लम्साल भन्छन्, “परिसरमा रहेका रैथाने बिरुवा जोगाउँदै बिरुवा थप्दै जाँदा विद्यालयमा हरियालीयुक्त वातावरण बनेको हो।” उनका अनुसार विद्यालयको हरियाली प्रवद्र्धनमा विद्यार्थी, शिक्षक मात्रै होइन अभिभावकले पनि साथ दिने गरेका छन्। विद्यालयमा विभिन्न विषयगत रूपमा बाल क्लब र समिति गठन भई सक्रिय छन्। कक्षा व्यवस्थापन, अतिरिक्त क्रियाकलाप र प्रतिभा प्रस्फुटन गर्नमा मात्रै होइन ती क्लब र समितिहरू विद्यालयको हरियाली प्रवद्र्धनमा पनि सहयोगी बनिरहेका छन्। 

विद्यालय ज्ञान लिने मात्रै नभएर सीप र अभ्यास प्रदर्शन गर्ने थलो पनि भएको हुँदा विद्यालयको वातावरणीय पक्षबाट पनि बालबालिका र समुदायलाई सिकाइ बाँड्ने गरिएको छ। विद्यालयमा प्रदूषण र कार्बन उत्सर्जनको विषयमा ज्ञान दिइन्छ। त्यस विषयमा छलफल गराउँदा विद्यालयको हरियाली सिकाइ-क्रियाकलापका लागि सहयोगी हुने गरेको छ। वर्तमान विकासको शैली र मानवीय क्रियाकलापले जैविक विविधतामा परेको असर न्यूनीकरण गर्दै पारिस्थितिक प्रणालीमा सन्तुलन कायम गर्न, स्वच्छ एवं हरित वातावरण कायम राख्नमा सहयोग पुगेको विद्यालयको बुझाइ छ। 

यस क्षेत्रमा ‘हरियालीयुक्त’ विद्यालयको रूपमा स्थापित रामतुलसी माविका बालबालिका कक्षाकोठामा मात्रै होइन विद्यालयको चउर र आसपासमा पनि फोहोर गर्दैनन्। परिसरमा पात, कागजका टुक्रा टिपेर राख्नका लागि बाँस र ड्रमको डस्टबिन राखिएको छ। फूल टिप्ने र बोटबिरुवा मास्नु नहुने ज्ञान उनीहरूले सानो कक्षामै सिकिसकेका हुन्छन्। कतिपय बालबालिकाले त आफ्नो जन्मदिनमा गमला, डस्टबिन, बिरुवा विद्यालयलाई उपहार दिन्छन्। यसरी फूल रोप्न, बगैंचा र करेसाबारी बनाउन विद्यार्थीको योगदान उल्लेख्य छ। विद्यालय परिसरमा वर, पीपल, समी, सिसौ, निम, बकाइनो, आँप, रुद्राक्ष, पाखुरी, काभ्रो, रबर, बोल्ड अमला, अशोका, कपुर, दालचिनी, साल, चिलाउने जस्ता काठ तथा गैरकाठ प्रजातिका बिरुवा हुर्काइएका छन्। त्यसैगरी अमला, एभोकाडो, व्यास गुल-मोहोर, बयर, श्रीखण्ड जस्ता फल र शृङ्गारिक वृक्षहरू पनि लगाइएका छन्। 

बालबालिकाले अनेकन् जातका फूलका बिरुवा विद्यार्थी आफै‌ले खोजेर ल्याएर रोप्ने, आफ्नो जन्मोत्सवमा एउटा गमलामा फूलका बिरुवा सहित उपहार दिने, विद्यालयमा गठन भएका सदनले क्यारी बनाई बिरुवा रोप्ने, प्रत्येक भवनका कक्षाकोठा अगाडि फूलका गमला राखेर सजाउने, आफैं गोडमेल गर्ने, फूलको अवधि सकिएपछि आफैं ल्याएर पुनः रोपण गर्ने कार्य नियमित रूपमा हुने गरेको छ। 

दिगो विकास लक्ष्य हासिल गर्नका निम्ति विद्यालय तथा शैक्षिक संस्थाको परिसर र सेवा क्षेत्रमा व्यापक हरियाली प्रवद्र्धन गर्न शिक्षा मन्त्रालयले ‘एक विद्यालय एक बगैंचा तथा बृहत् हरित क्षेत्र निर्माण’ कार्यको लागि ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ बनाएको छ। रामतुलसी माविमा पुग्दा उक्त निर्देशिकाको धेरै पक्ष कार्यान्वयन भइसकेको पाइन्छ। यो निर्देशिका मार्फत नेपाल सरकारले शैक्षिक संस्थाहरू र वरपरको क्षेत्रमा व्यापक हरियाली विकास मार्फत पृथ्वीको बहन क्षमता अभिवृद्धि गर्न, वातावरण प्रदूषण कम गर्न, स्वच्छ एवं हरित पृथ्वी भावी पुस्तालाई हस्तान्तरण गर्न, शिक्षाका माध्यमबाट विद्यार्थी र आम जनसमुदायमा वातावरणमैत्री व्यवहार विकास गर्ने अपेक्षा राखेको छ। 

विद्यालयको स्वर्णजयन्त्री स्मारक ।

आफ्नो विद्यालय ‘ग्रीन, क्लिन एण्ड सेभ स्कूल’ अवधारणामा अघि बढिरहेको र त्यसलाई निरन्तरता दिनमा आफूहरू लागिरहेको प्रअ लम्साल बताउँछन्। कक्षा ६ का विद्यार्थी अभिशेष पोखरेलले आफ्नो विद्यालयमा धेरै विद्यार्थी र धेरै वटा भवन मात्रै नभई बोटबिरुवा पनि धेरै भएको बताउँछन्। “हाम्रो बाल क्लब विद्यालयको वातावरण स्वच्छ, सफा र हरियाली बनाउनमा सक्रिय छ”, पोखरेलले भने। उनका अनुसार शुक्रवारीय कार्यक्रम अन्तर्गत पनि बिरुवा रोप्ने र स्याहार्ने क्रियाकलाप उनीहरूले गर्ने गरेका छन्। त्यसै कारण विद्यालयमा प्रवेश गर्ने वित्तिकै जसले पनि हरियाली देख्न सक्ने उनको भनाइ छ। पोखरेल भन्छन्, “गर्मीको समयमा यहाँ निकै शीतल हुन्छ। हामी रूखको छहारीमा बसेर हाफ छुट्टीमा खाजा खाने, पढ्ने गर्दछौं। बोटबिरुवाबाट स्वच्छ हावा पनि पाएका छौं।”

बाल मञ्च परिचालनको जिम्मेवारीमा रहेका शिक्षक छविलाल न्यौपानेका अनुसार यो विद्यालयमा रामतुलसी बाल मञ्च (कक्षा १–१०), रामतुलसी विद्यार्थी मञ्च (कक्षा ११ र १२), बालभित्ते पत्रिका क्लब, इको क्लब, सांस्कृतिक समूह, रामतुलसी वातावरण संरक्षण तथा प्रवद्र्धन समिति, विज्ञान प्रदर्शनी समिति, लैङ्गिक समता तथा सशक्तीकरण समिति, जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कल, बौद्धिक तथा सामाजिक अध्ययन समिति, स्काउट आदि अनेक समिति मार्फत विद्यार्थी र शिक्षकहरू परिचालित हुने गरेका छन् । यी क्लब र समितिलाई तोकिएका शिक्षकले समन्वय र सहजीकरण गर्ने गर्दछन्।

विद्यालय र यहाँको समुदाय मिलेर नै विद्यालयको वातावरण बनेको विद्यालयका सूचना अधिकारी लेखनाथ मरासिनी बताउँछन्। मरासिनीका अनुसार, विद्यालयले तहगत र कक्षागत अभिभावक भेलाहरू गर्ने गर्दछ। उक्त भेलामा बालबालिकाको सिकाइ सुधारका साथै अभिभावकले विद्यालयलाई गर्न सक्ने सहयोग र विद्यालयबाट आशा गरिएको विषयमा छलफल गरी त्यसको कार्यान्वयन गर्ने गरिएको छ। अन्तरक्रियाबाट सहयोगको आदानप्रदान हुने र त्यसमा हरियाली प्रवद्र्धन र संरक्षणका कुरा पनि पर्ने गर्दछन्। मरासिनी भन्छन्, “हाम्रो विद्यालय परिवार मात्रै होइन अभिभावकको पनि उत्तिकै सहयोग छ । उहाँहरूको संलग्नताले नै विद्यालयको वातावरणलाई हरियालीयुक्त बनाउन सकिरहेका छौं । हाम्रो विद्यालय प्रकृतिमैत्री बनेको छ।”

विद्यालयको बालमञ्चकी अध्यक्ष सुप्रिया पराजुलीले सो मञ्चले मासिक रूपमा बाल भित्ते पत्रिका प्रकाशन गर्ने गरेको र भित्ते पत्रिकामा वातावरण संरक्षणको विषयलाई पनि समेट्ने गरेको बताइन्। उनले बालमञ्च ले विद्यार्थीको प्रतिभा देखाउने मौका दिने गरेको र त्यसले कसको कुन क्षेत्रमा प्रतिभा छ भन्ने पत्ता लगाउनमा सजिलो हुने गरेको जानकारी दिइन्। उनले कक्षा ६ माथिका विद्यार्थीबाट मासिक ५ रुपैयाँ उठाउने र त्यसबाट अतिरिक्त क्रियाकलाप र हरियाली प्रवद्र्धनमा समेत काम गर्ने गरेको पनि बताइन्। 

बालबालिकाको क्लब र समितिले हरियाली प्रवद्र्धन सम्बन्धी गर्ने गरेका प्रमुख कार्यः 

  • बालमञ्चको सक्रियतामा जुनियर रेडक्रस, स्काउट र कक्षागत समूह परिचालन गरी विद्यालयमा प्रत्येक वर्ष विभिन्न जातका बोटबिरुवा (आँप, कटहर, निम, बकाइनो, दालचिनी, केरा, अमला लगायत अन्य रूख हुने जातका बोटबिरुवा) रोप्ने गरिन्छ।
  • विद्यालय परिसरको सौन्दर्य बढाउने खालका फूलका बिरुवाहरू विद्यार्थी आफैंले ल्याई रोप्ने र फूलबारी निर्माण गर्ने गर्दछन्।
  • जन्मदिनको अवसरमा विद्यार्थीले विद्यालयको लागि उपहार स्वरूप गमला दिने संस्कार छ। 
  • प्रत्येक कक्षा अगाडि फूलका बिरुवा सहितको गमला राखी कक्षालाई रमणीय तुल्याउने गरिएको छ। 
  •  विद्यालयमा रोपिएका बोटबिरुवा, फूल बिरुवाहरूको गोडमेल, मलजल गरी हुर्काउने र संरक्षण गर्ने गरिएको छ। 
  • जमीनमा हरियाली बढाउन विभिन्न भागमा दुबो आदि रोप्ने गरिएको छ। 
  • बालमञ्चले वर्षभरिमा अतिरिक्त क्रियाकलाप, विभिन्न समयमा कहाँ कहाँ गएर केके काम गर्ने, समुदायमा गएर कसरी सहभागिता जनाउने, वातावरण संरक्षण र प्रवद्र्धनका लागि कसरी काम गर्ने भन्ने विषयमा समेत योजना बनाउँछन्।
  • विद्यालयले बनाएका वार्षिक योजनाका आधारमा विद्यालय वातावरण सफा राख्न, वृक्षरोपण गरी संरक्षण प्रवद्र्धन र हरियाली बढाउने सम्बन्धीका कार्यहरूमा सहयोग गर्ने गर्दछन्।
  • स्थानीय तह सरकारका निकायमा समेत पुगेर जलवायु परिवर्तनको सन्दर्भमा समेत छलफल, अन्तरक्रिया कार्यक्रम आयोजना गर्दछन् 
  • स्थानीय तह सरकारले राखेको हरियाली प्रवद्र्धन गर्ने कार्य योजना अन्तर्गत समुदायमा सचेतना जगाउने कार्यक्रमका लागि सचेतनामूलक कार्यक्रमहरू जस्तै नाटक, निबन्ध, चित्रकला, प्ले कार्ड प्रदर्शनी लगायत कार्यहरू गर्दछन्।

विद्यालयका सहायक प्रधानाध्यापक पूर्णचन्द्र घिमिरे विषयगत समितिका शिक्षकको सहभागितामा विद्यालयको वार्षिक योजना निर्माण हुने र त्यसमा विद्यालयको वातावरणको विषय पनि समावेश गरिने गरेको बताउँछन्। उनका अनुसार विद्यालयमा योजना अनुसार शैक्षणिक, अतिरिक्त र शिक्षकको पेशागत विकासको तालिम हुन्छ । ती कार्यक्रमको मासिक रूपमा छलफल र समीक्षा हुन्छ। त्यसका साथै विद्यालयमा अनुभव आदानप्रदान गरी साना र ठूला कक्षामा पढाउने शिक्षक बीच सिक्ने र सिकाउने अवसर प्रदान गर्ने गरिएको छ। 

विद्यालय परिसर घुमेर हेर्दा रमणीय र शीतल वातावरण पाइने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषकान्त भट्टराई बताउछन्। “हाम्रो गर्मी ठाउँ हो, बोटबिरुवाले कक्षाकोठा, परिसर शीतल बनाएका छन्, बालबच्चाले रूखको छहारीमा बसेर पढेको, खाजा खाएको देख्दा आनन्द आउँछ”, उनले भने । उनले व्यवस्थापन समितिका सदस्यहरूले समेत एक एक वटा बिरुवा रोपेर हरियाली प्रवद्र्धनमा सघाएको बताए। वि.सं. २०१५ मा स्थापित यो विद्यालयमा २०६६ सालतिर ३५० विद्यार्थी थिए। अहिले त्यो संख्या बढेर २८०० पुगेको छ। विद्यालयमा शिक्षक-कर्मचारीको संख्या ११० छ। 

शिक्षक मासिक, २०८१ मंसीर अंकमा प्रकाशित । 

 

commercial commercial commercial commercial