बालबालिकाको बौद्घिक पोषणका निम्ति कथा
अत्यन्त परिवर्तनशील र अनिश्चयले भरिपूर्ण वर्तमान विश्वमा सुखद् र सफल जीवनका निम्ति सही उपायहरूको छनोट अनिवार्य भएको छ। सुन्दा अचम्म लाग्न सक्छ, त्यस्ता धेरै उपाय हाम्रा प्रचलित कथाहरूमा सजिलोसँग पाइन सक्छन्। त्यसो त सबैजसो संस्कृतिमा ज्ञान बाँड्ने माध्यमका रूपमा कथावाचन जीवनकै हिस्सा बनिआएको छ। तथापि यताका दिनमा सिकाइको यस्तो आधारभूत तरिकालाई पाठ्यक्रमको बोझ्ले विस्तारै पाखा लगाइदिएको छ। कथावाचनको संस्कृतिसँग अलग्गिएकैले सिकाइमा परेको खाडल फराकिलो भएको छ।
शिक्षामा कथावाचनलाई निरन्तरता दिने हो भने यो त्यति चुनौतीपूर्ण छैन। कथावाचनका अल्पकालीन, मध्यम र दीर्घकालीन फाइदाहरू छन्। र, अल्पकालीन लाभले नै मध्यम र दीर्घकालीन फाइदाका ढोका खोलिदिन सक्छन्।
कथाले आत्मीयता बढाउँछ
कथाबारे कुरा गर्दा, लोककथाको सान्दर्भिकतालाई बेवास्ता गर्न सकिंदैन। हिजोका मानिसले कथाको महत्व बुझेका थिए त्यसैले नै लोककथा, मिथक र किंवदन्तीहरू मार्फत एक पुस्ताबाट अर्को पुस्तामा ज्ञान हस्तान्तरण भइरह्यो। यस्तो अभ्यासले भिन्न पुस्ता र संस्कृतिबीच आत्मीयता बढाउँछ। साथसाथै एक-अर्काको संस्कृतिको सम्मान, आदानप्रदान र समानता तथा फरकहरूबारे बुझइ बढाउँछ।
बच्चाहरू आफू परिचित भएको वातावरण र भूगोलसँग जोडिएका कथाबाट बढी प्रभावित हुन्छन्। लोककथाले सामान्यतः स्थानीय भूगोल, मानिस, भेषभुषा, चालचलन, विश्वास र संवेदनाको कथा कहन्छन्। आफ्नै भूगोलका लोककथा सुन्दा त्यसप्रतिको लगाव बढ्छ जसले त्यससँग जोडिएको पहिचानलाई बलियो बनाउँछ। लोककथाले यस्तो धुरी खाँबो बनाउँछ जसले गर्दा जतिसुकै प्रगति हासिल गरे पनि मानिस लट्टाईबाट छुटेको चंगा जस्तो हावामा हराउँदैन। अरू ठाउँका लोककथा सुन्ने वा पढ्ने काम चाहिं अर्को संस्कृतिलाई झयालबाट चियाए सरह हो। त्यो ठाउँको परम्परा र आस्था बताउँदै गर्दा लोककथाले ‘संसारका मानिसहरूमा विविधता छ’ भन्ने आधारभूत पाठ पनि सिकाउँछ। त्यसैले लोककथा सुनेर हुर्केको बच्चाले एउटै प्रजाति भए पनि विभिन्न ठाउँका मानिस फरक हुन्छन् भन्ने स्वीकार्न सिक्छ। कथा पढ्ने र सुन्ने अभ्यासले विविधतालाई स्वीकार्ने मात्र होइन त्यसलाई सम्मान गर्ने र त्यसैमा रमाउने बानीको विकास समेत गराउँछ। कथा सुन्ने-सुनाउने प्रक्रियामा सहभागीहरूमा विविधताप्रतिको सहनशीलता भन्दा बढी समभावको विकास हुन्छ।
बुद्धिमत्ता र सामान्य समझदारीका कथा
दक्षिणएशिया लोककथाहरूको अथाह सागर नै हो। यहाँका लोककथाहरूमा पशुपक्षी, कीराऔमाकुरा, रूखबिरुवा, पहाडऔपर्वतदेखि साधारण मानिस र राजासम्मले अनुभवजन्य ज्ञान आकर्षक रूपमा सम्प्रेषण गर्छन्। तल प्रस्तुत गरिएको लोककथा– एउटा छोटो र सरल कथामा पनि कसरी गहन ज्ञान लुकेको हुन्छ भन्ने कुराको उदाहरण हो। यसले लोककथाहरू कसरी सधैं प्रासंगिक हुन्छन् भन्ने पनि बताउँछ।
एक मूर्ख राजा
एउटा राजाले एक दिन बगैंचामा डुल्ने क्रममा एउटा साह्रै सुन्दर चरा समाते। त्यो सानो चराले आफूलाई छोडिदिए तीन वटा मूल्यवान् ज्ञान दिने प्रस्ताव राजासामु राख्यो । राजाले उसको प्रस्ताव माने । चराले निम्न ज्ञान दियो:
१. भइसकेका कुरामा पछुतो नमान।
२. आफ्नो बुता भन्दा बाहिरका कुराको लोभ नगर।
३. असम्भव कुरामा विश्वास नगर।
चराले दिएको ज्ञान राजालाई गज्जब लाग्यो। उनले चरालाई छोडिदिए। राजाको पञ्जाबाट मुक्त हुनासाथ चरो फुर्र उडेर रूखको हाँगामा बस्यो र राजातिर फर्केर हाँस्न थाल्यो।
“म त निकै सजिलोसँग उम्किएँ। मेरो पेटमा तिम्रो मुठ्ठीजत्रो हीरा छ”, चराले भन्यो।
चराको कुरा सुनेर राजालाई लोभ लागिहाल्यो। उनले चरालाई शाही सम्मानका साथ राख्ने वाचा गर्दै फेरि आफ्नो पञ्जामा पार्ने कोशिश गर्यो।
राजाको कुरा सुनेर चराले उनलाई घृणापूर्वक हेरेर भन्यो, “तिमी त सारै मूर्ख रहेछौ राजा ! तिमीले मैले दिएका तीन वटा ज्ञान तुरुन्तै बिर्सियौ। तिमीले मलाई गुमाएकोमा पछुतो मान्यौ। तिमीबाट म टाढा भइसकेपछि पनि समाउन खोज्यौ। अनि मजत्रो सानो चराले तिम्रो मुठ्ठीजत्रो हिरा निलेर पनि जिउँदैछु भन्ने विश्वास तिमीले कसरी गर्न सक्यौ ?”
यति भनेर चरा राजाले देख्न नसक्ने गरी टाढा गयो।
यो सानो कथाले निम्न विषय उजागर गरेको छः
– स्वतन्त्रताको मूल्य।
– निकै अप्ठ्यारो पर्दा पनि नअत्तालिइकन चराले देखाएको चलाखी र बुद्धिमत्ता।
– आकार ठूलो हुँदैमा वा धन र शक्ति धेरै हुँदैमा बुद्धि पनि धेरै हुन्छ भन्ने हुँदैन भन्ने तथ्य।
– हुँदै नभएको हीराको प्रसंगले यो कथा सुन्ने हरेकलाई त्यो ठूलो हीराले राजालाई अझ् धनी बनाउँछ कि चराले दिएका ती ज्ञान आत्मसात् गर्नाले भन्ने सोच्न बाध्य गराउँछ।
साथै अरू विषय पनि मनमा खेल्छन्– पशुपक्षीप्रतिको निर्दयता, प्रकृतिको सम्मान र शक्ति समीकरण । एउटा कथामा घोत्लिंदा पनि अनेकथरी सिकाइ हुन्छ । र, सबैभन्दा रोचक त यो एउटा सानो चराको छोटो कथा मात्रै हो । कथाबाहेक अरू कुनै पनि सामग्रीले यति सानो संरचनामा यति महŒवपूर्ण ज्ञान दिन्छ त ?
कथा सुन्दा र पढ्दा त्यसका पात्र मार्फत बालबालिकाले असल गुण, परिहास, बुद्धिमत्ता, साहस र सौन्दर्यको सम्मान गर्न थाल्छन्। आफ्नो वास्तविक दुनियाँमा ती गुण फेला पार्नुभन्दा धेरै अगाडि उनीहरूले कथा मार्फत तीबारे थाहा पाउँछन्। त्यसैले नै कथाले बालबालिकाको जीवनको शुरूमै सामाजिक मूल्यहरू सिकाउँछ र असल गुणको बलियो जग बसालिदिन्छ। यी गुण पाठ्यपुस्तक मार्फत सिकाउन सकिंदैन। कथा मार्फत भने सजिलोसँग सिकाउन सकिन्छ किनभने कथामा पात्रहरूले अप्ठ्यारो क्षणमा पनि यी गुण प्रदर्शन गरेका हुन्छन्। कथाले मौलिक तरिकाले बालबालिकामा यी गुण विकास गरिदिन्छ।
सुन्न सिकाउँछ
एक जना सानी बच्चीको कथा निकै चर्चित छ। स्कूल जाने पहिलो दिन उनी निकै उत्साही हुन्छिन्। नयाँ झेला र टिफिन बक्स बोकेर स्कूलको बस चढेर खुशी हुँदै जान्छिन्। तर, फर्किंदा उनमा बिहानको उत्साहको एकछेउ पनि हुँदैन। घरमा आउनासाथ आमालाई अँगालो हालेर उनी रुन्छिन् र भन्छिन्, “म स्कूल जान्नँ आमा !” चिन्तित हुँदै आमाले सोध्छिन्, “किन छोरी ?” आँसुले भरिएका आँखाले आमालाई हेर्दै ती सानी बच्चीले भन्छिन्, “मलाई लेख्न, पढ्न आउँदैन अनि त्यहाँ बोल्नै दिन्नन् ।”
ती सानी बालिकाको जवाफले हामी कक्षामा बालबालिकालाई के गर्न दिन्छौं र के गर्न दिंदैनौं भन्ने कुरा सहज रूपमा उजागर गरिदिएको छ । भन्न त हामीले सिकाइ चार वटा सीपमा केन्द्रित हुन्छ भन्छौं– सुनाइ, बोलाइ, पढाइ र लेखाइ। तर, प्रायःजसो हामी– सुन्ने र बोल्ने सीपलाई चटक्कै बिर्सन्छौं । अनि लेख्न सिकाउनै हतारिन्छौं । कक्षाकोठामा विद्यार्थी चुइँक्क बोल्यो भने अनुशासनको उल्लंघन गरेको मानिन्छ । हामी बालबालिकालाई चुप लागेर बस्न लगाउँछौं। त्यसो त बालबालिकालाई ‘चुप लागेर सुन्न’ र ‘ध्यान दिन’ प्रोत्साहित गर्ने शिक्षक आफैंमा कुशल श्रोता हुनुपर्छ। हामी भने बालबालिकाले केबारे कुरा गर्न चाहन्छन् भन्ने सुन्नै चाहन्नौं र उनीहरू चाहिं हाम्रो कुरा सुनुन् भन्ने ठान्छौं । बालबालिकामा सुन्ने सीप विकास नगराई उनीहरू असल श्रोता बनुन् भनेर कामना नै कसरी गर्न सकिन्छ ?
बालबालिकालाई सुन्न सिकाउने एउटा प्रभावकारी तरिका हो, कक्षाकोठामा कथावाचन । कथा सुन्दा प्राकृतिक र मौलिक तरिकाले नै सुन्ने सीप विकास हुन्छ। अरू सीपसँगै कथा श्रवणले ध्यान केन्द्रित गर्न, विषय बुझन र आफ्ना विचार अभिव्यक्त गर्न सिकाउँछ। साथै, अन्य विषयमा पनि विद्यार्थीलाई अब्बल बनाउन सघाउँछ। श्रवण आफैंमा समानताको प्रस्तुति पनि हो। कक्षामा कमजोर मानिएको विद्यार्थीले पनि आफूलाई अरूभन्दा नजान्ने नठानिकनै कथा सुन्न सक्छ। कथावाचन लगत्तै पढाउँदा विद्यार्थीले तुरुन्तै टिप्छन् भन्ने त वैज्ञानिक अध्ययनबाटै पुष्टि भएको छ। पाठ पढाउन थाल्नुअघि दुई मिनेट मात्रै भए पनि कथा सुनाइयो भने विद्यार्थीको ध्यान केन्द्रित हुन्छ र पढाइएको विषयमा उनीहरूले चाख मान्छन्। कक्षा तीनमा पढाउने एक शिक्षकले मलाई यस्तो अभ्यासको अनुभव सुनाएकी थिइन्। पढाउन थाल्नुअघि कथा सुनाउने गरेको दुई हप्तामै विद्यार्थी उनी कतिबेला कक्षामा आउलिन् भनेर कुर्ने भइसकेका थिए।
सुन्ने सीप विकास हुँदै गएपछि यसका अरू फाइदा पनि देखिन थाल्छन्। आफू मात्रै बोल्ने बानी छोडेर अरूको कुरा सुन्ने भइन्छ। वाक्यहरूमाझ् लुकेर बसेका अर्थ पहिल्याउने भइन्छ। र, अरूको विचारको सम्मान गर्न सिकिन्छ। यी सबै कलाले समभाव जस्ता असल गुणहरू विकास गर्छ। अरू कुनै पनि पाठ्यपुस्तक मार्फत यस्तो बानी र गुण सिकाउन सकिंदैन। कक्षाकोठामा कथावाचन र यसबारेको छलफलले विद्यार्थीमा सामाजिक सीपहरू विकास गरिदिन्छ जसले उनीहरूलाई दीर्घकालसम्म व्यक्तिगत र व्यावसायिक सम्बन्ध बनाउन सिकाउँछ। मेरो विचारमा त भिन्दाभिन्दै समुदाय, धर्म र देशका मानिसले एकअर्कालाई नसुनेकाले नै संसारका ठूला समस्याहरू सिर्जना भएका हुन्। त्यसैले नै समस्या झन् जटिल भएका छन्। मानव जातिले यो सुन्दर संसारको आवाज नसुन्दा नै हामी जलवायु संकटको चेपुवामा परेका छौं।
कथा श्रवणले मस्तिष्कमा पार्ने प्रभाव
एकपछि अर्को घटना उजागर हुँदै जाने कथाको संरचनाले सिकाइमा किन यत्रो प्रभाव पार्छ त ? शिक्षकले पढाएको वा पावर-प्वाइन्टको स्लाइड देखाएर व्याख्या गरेको सुन्दा हाम्रो मस्तिष्कको भाषासँग सम्बन्धित क्षेत्र मात्र सक्रिय भएको हुन्छ। हामीले शब्दको अर्थ लगाउने भन्दा बढी काम गरेका हुँदैनौं ।
तर, कथा सुन्दा भने मस्तिष्कको भाषासँग सम्बन्धित क्षेत्र मात्र सक्रिय हुँदैन। कथामा सुनाइएका घटना वास्तविक जीवनमा अनुभव गर्दा मस्तिष्कका जुन–जुन भाग सक्रिय हुन्छन्, कथा सुन्दा पनि तिनै पाटाहरू सक्रिय हुन्छन्। कसैले स्वादिष्ट खानाको चर्चा गर्यो भने, हाम्रो ‘सेन्सरी कर्टेक्स’ ९अभलकयचथ अयचतभह० जागृत हुन्छ। कसैले हिंड्ने, कुद्ने प्रसंग ल्यायो भने हाम्रो मोटर कर्टेक्स सक्रिय हुन्छ। कुनै साथीले बिदामा पहाडी क्षेत्र घुमेको बताउँदा हामीले पनि आफूले पहाडमा बिताएका दिनहरूसम्झन्छौं।
प्रिन्स्टन विश्वविद्यालयका मनोविज्ञान र न्यूरोसाइन्सका प्राध्यापक उरी ह्यासन भन्छन्, “कथा सुनाइरहेको र सुनिरहेका व्यक्तिहरूको मस्तिष्कबीच सामञ्जस्यता उत्पन्न हुन्छ।” यस्तो हुँदा दुई वटा फाइदा हुन्छन्। पहिलो, कथा सुन्दा मस्तिष्कका विभिन्न भागहरू सक्रिय हुन्छन् र यसले अनुभवको दायरा बढाउँछ । दोस्रो, यसले कथावाचक र श्रोताबीच बलियो सम्बन्ध बनाउँछ । कथा सकिइसकेपछि पनि त्यो सम्बन्ध कायम नै रहन्छ। शिक्षक र विद्यार्थीबीच सम्बन्ध मजबुत बनाउने गज्जबको काइदा होइन त यो ?
भन्न त हामीले सिकाइ चारवटा सीपमा केन्द्रित हुन्छ भन्छौं– सुनाइ, बोलाइ, पढाइ र लेखाइ । तर, प्रायःजसो हामी– सुन्ने र बोल्ने सीपलाई चटक्कै बिर्सन्छौं। अनि लेख्न सिकाउनै हतारिन्छौं। कक्षाकोठामा विद्यार्थी चुइँक्क बोल्यो भने अनुशासनको उल्लंघन गरेको मानिन्छ। हामी बालबालिकालाई चुप लागेर बस्न लगाउँछौं।
कथाको अर्को अद्भुत विशेषता पनि छ। यसले चिन्तन गर्न उत्प्रेरित गर्छ । सही, नियमसंगत हुनुपर्ने जस्ता बन्धनहरूमा नफसिकन स्वतन्त्र चिन्तनका लागि कथाले सघाउँछ। यसले मस्तिष्कलाई खुला आकाशमा विचरण गर्ने मौका दिन्छ। यो विचरणले स्व–सिकाइको मञ्च उपलब्ध गराइदिन्छ। नियमितजसो कथा सुन्ने, सुनाउने प्रक्रियामा सहभागी हुँदा बालबालिका जटिल संज्ञानात्मक प्रक्रियामा सहभागी हुन्छन् जसले गर्दा उनीहरूले स्वस्फूर्त रूपमा नयाँ-नयाँ सीप सिक्दै जान्छन्। त्यसपछि कक्षाकोठा किताब कापी जस्ता परम्परागत सामग्रीको सहयोगमा परीक्षा उत्तीर्ण गर्ने साँघुरो उद्देश्यमा मात्रै सीमित हुँदैन। कथावाचनको अभ्यासले कक्षाकोठाको परिवेश नै फराकिलो बनाउँछ। र, सिकाइ प्रक्रियामा वास्तविक दुनियाँको अनुभव पनि समेटिंदै जान्छ। विद्यार्थी निरन्तर सिकाइको पथमा अग्रसर हुन्छन्। उनीहरू जीवनपर्यन्त सिक्न सिपालु बन्छन्। आम मान्छेमा हुनैपर्ने आधारभूत सीप र संवेदनाको विकास गर्दै जान्छन्। एउटा शिक्षकले आफ्ना विद्यार्थीलाई दिने योभन्दा ठूलो उपहार अरू के हुनसक्छ र ?
कथा कहाँ फेला पार्ने त ?
धेरै शिक्षक राम्रा कथा कहाँ फेला पार्ने भनेर सोध्छन्। तर म भन्छु, हामी कथैकथाले नै घेरिएका छौं।
सधैं लामा कथा सुनाउनुपर्छ भन्ने छैन। तपाईं आफैंले पनि कथा सिर्जना गर्न सक्नुहुन्छ। कथा त जेबारे पनि हुनसक्छ । कक्षाकोठातिर जाँदै गर्दा स्कूलको भित्ताले के भन्यो ? दुई वटा चराहरू के गफ गरिरहेथे ? लोखर्केहरूको कुराकानी के थियो ? किन पहेंलिएको पातले रूखबाट खस्ने निर्णय ग¥यो ? कथा त जे पनि हुनसक्छ। अनि आफैंले कथा बनाउँदा तपाईंको मस्तिष्कमा सिर्जनाका रसायनहरू सक्रिय हुन्छन्। दिक्क लाग्दा पाठ्यपुस्तकबाट बाहिर निस्केर कथा सुनाएर रमाइलो गर्ने हुँदा तपाईं विद्यार्थीको प्रिय शिक्षक पनि बन्नुहुन्छ। हरेक मानिस कथा सुन्न र जिज्ञासु बन्न मन पराउँछ । सचेत र उत्सुक भएको अवस्थामा मात्रै प्रभावकारी सिकाइ सम्भव हुन्छ। कथाले त्यो अवस्था सिर्जना गर्छ।
शिक्षकले आफ्नै गाउँठाउँका कथा सुनाउनु उचित हुन्छ। उसले आफ्ना विद्यार्थीलाई आमाबुबा वा घरका बुढापाकासँग आफ्नो गाउँठाउँका कथा सुन्न लगाउन पनि सक्छ। कथावाचनको हाम्रो परम्परालाई सम्मान र प्रोत्साहित गर्नु जरूरी छ। नभए ती हराइजानेछन्। विडम्बना, राम्रा साहित्यको अभावमा बनेको खाडललाई टिभी र फोनबाट निरन्तर आउने सूचना र समाचारहरूले भरिदिएका छन्।
दक्षिणएशियाका विभिन्न क्षेत्रका लोककथाहरू बालबालिकालाई पढाउनैपर्छ, सुनाउनैपर्छ। नेशनल बुक ट्रष्टले विभिन्न भाषामा प्रकाशन गरेका लोककथाहरूको पुस्तक त्यसको गतिलो स्रोत हुनसक्छ जसमध्ये ए. के. रामानुजनको ‘फोकटेल्स फ्रम इन्डिया’ (भारतका लोककथाहरू) उत्तम पुस्तक हो। प्रथम बुक्सले सञ्चालन गरेको वेबसाइट कतयचथधभबखभच।यचन।ष्ल मा ३३७ वटा भाषामा पचास हजारभन्दा बढी कथाहरू अनलाइन उपलब्ध छन्। ती कथाहरू चार तहका पाठकका लागि भनेर वर्गीकरण समेत गरिएको छ। त्यस्तै एकलव्य पब्लिकेशनले प्रकाशन गरेका पुस्तकहरू पनि बालबालिकाका लागि निकै रोचक र रमाइला छन्। (बोधविक्रम अधिकारीको ‘नेपाली दन्त्यकथा संग्रह’, तुलसी दिवसको सम्पादनमा ‘नेपाली लोककथा’ र साझ प्रकाशनले प्रकाशन गरेका ‘एशियाली लोककथा संग्रह’को शृंखला लगायत प्रशस्त लोककथा र बालसाहित्यका पुस्तक नेपालीमा पनि उपलब्ध छन् ।)
सम्भावनाको द्वार
कथाहरूले अथाह सम्भावनाको ढोका खोलिदिन्छन्। हामीले नदेखेको ब्रह्माण्डसँग परिचित गराइदिन्छन्। सुन्दर बगैंचामा घुमाउँछन्। अनि आफूले कहिल्यै नदेखेका र कल्पना नै नगरेको काम गर्ने मानिसप्रति समानुभूति जागृत गराउँछन्। एउटा चरणमा पुगेपछि, कथाले जीवनमा आइपर्ने अकल्पनीय घटनासँग जुध्न सिकाउँछन्। साथै, अप्ठ्यारो परिस्थितिमा पनि सम्भावनाहरू खोज्न सिकाउँछन्। र, सबैभन्दा सुन्दर त अरू मानिसहरूमा लुकेको सम्भावना पनि खोतल्ने क्षमता विकास गरिदिन्छ। शिक्षकका लागि आफ्ना विद्यार्थीलाई अहिले जे छन्, त्यही रूपमा मात्र नभई भविष्यमा ती के बन्न सक्छन् भन्ने देख्न सक्नु निकै महत्वपूर्ण खुबी हो। विद्यार्थीमा लुकेको सम्भावना चिन्न सक्ने शिक्षकले मात्र उनीहरूलाई सही गोरेटोमा डोर्याउन सक्छ। कथाहरूसँग जोडिएपछि अनेकन् धारणा पनि निर्माण हुन थाल्छन्। कथाले हामीलाई साँघुरो चिन्तनबाट माथि उठाउँछ । हाम्रो दृष्टिकोण, धारणा र आत्मालाई नै फराकिलो बनाउँछ।
हरेक कथाको अन्त्य अरू थुप्रै कथाको शुरुआत हो। हरेक अन्त्यले जिज्ञासु बन्न र अरू कथाको कल्पना गर्न प्रेरित गर्छ। ‘कथाको बुढो मान्छेलाई के भयो होला ?’ ‘त्यो यात्रु फेरि अर्को यात्रामा निस्केला त ?’ ‘अनि के ड्रागन अहिले पनि उडिरहेछ ?’ हरेक कथाको अन्त्यसँगै यस्ता थुप्रै प्रश्न र कल्पनाहरू जागृत हुन्छन्।
भ्यालेन्टिना त्रिवेदी लेखक, कलाकार र प्रशिक्षक हुन्। उनका सिर्जनात्मक कार्य अभिनय, स्क्रिप्ट लेखन, सर्ट फिल्म निर्देशन, सम्पादन, अनुवाद र कथावाचन जस्ता अनेकौं माध्यमबाट व्यक्त भएका छन्। (अजिम प्रेमजी विश्वविद्यालयको प्रकाशन-‘लर्निङ कर्म’ को अगष्ट २०२३ को अंकबाट साभार)
अनुवादः लक्ष्मण श्रेष्ठ