डोकोभरि गृहकार्य !

दशैं, घरआँगनमै आइसक्यो । देश, परदेश गएकाहरू पनि आउने क्रम जारी छ । शहरतिर जागिर गर्नेहरू बिदापछि गाउँतिर पुग्छन् । विद्यार्थीले झेला बोकिसके गाउँ जान । गाउँतिर कमेरो र गेरुले घर लिप्न तरखर गर्दैछन् । घर, आँगन र टोलछिमेक सरसफाइका कार्यहरू अघि बढिसके । गाउँका क्लबहरूले कहाँनेर पीङ राख्ने हो सल्लाह गरिसके । मन्दिर, देवालयहरूमा धार्मिक कार्यक्रम गर्ने चाँजो मिलाउँदैछन् । 

बिदाका बेलालाई शिक्षकले डोकोभरिको गृहकार्य दिन थालिसके । विद्यार्थी दशैं, तिहारभन्दा पनि गृहकार्यको तनावले उन्मुक्त हाँसो हाँस्न पाउने छैनन् । टीको निधारमा थाप्न अबेर हुनेछ गृहकार्य दुरुस्त भ्याउन । साथीभाइसँग नारिन भ्याउने छैनन् । आफन्तीका घरमा टीका थाप्न पनि बाबा–आमालाई पठाएर आफू गुन्द्री बिछ्याएर गृहकार्यमा तल्लीन हुनुपर्ने बाध्यकारी अवस्था नआउला भन्न सकिन्न । म पनि यही अवस्थाबाट गुज्रेर आएको उहिलेको विद्यार्थी हुँ । घुँडा धसेर गृहकार्य भ्याउँदा ठूलो सास तान्थें । गृहकार्य नभ्याउँदा सबैका अघि हाँसोको पात्रो हुन्थें म । 

शिक्षक भएँ । मैले पनि विद्यार्थीलाई पर्वका बेला हुने बिदामा डोकोभरि नै गृहकार्य दिएर शिक्षकको कर्तव्य पालना गरें । गृहकार्य जाँचौं वा नजाँचौं तर विद्यार्थीका कर्मशीलता जाँच्ने कसी थियो गृहकार्य । 

अचेल म शिक्षक छैन । पुरानो विद्यार्थी र निवृत्त शिक्षक भएपछिका केही अनुभव साट्न आएको छु यतिबेला । पर्व बिदामा विद्यार्थीलाई डोकोभरिको गृहकार्य दिनु कति जायज थियो, र छ ? विमर्श गर्न मन लागिरहन्छ अचेल । उनीहरूलाई पर्व आउँदा सबैभन्दा खुशी लाग्छ र लाग्दो हो तर हाम्रा गृहकार्यले उनीहरूको बालमनोविज्ञानलाई कति असर र प्रभाव पारेका होलान् कहिल्यै मूल्यांकन गरेका छौं हामीले ? 

बरु हामीले त्यतिबेला आफूभन्दा ठूलाबडा मान्यजनहरूसँग बसेर वार्तालाप गरेर इतिहासका कुरा विद्यार्थीलाई सिकाउन सक्थ्यौं कि ? पर्वका परम्परागत विषयमाथि छलफल र अन्तरक्रिया गरेर वर्तमानमा केही निचोड निकाल्न सक्थ्यौं कि ? ज्येष्ठ नागरिकका भोगाइ र सिकाइलाई यतिबेला कसरी लिन सकिन्छ भन्ने कुरामा घोत्लिन सक्थ्यौं कि ? पर्वका सकारात्मक र सुधारात्मक पक्षका विषयमा तर्क, वितर्क गर्न सकेको भए आफ्ना विद्यार्थीले किताबी कुराभन्दा केही नयाँ कुरा सिक्न सक्थे कि ?

शायद हामीले गरेका वा दिएका कागजी गृहकार्यभन्दा यी छलफल, विमर्श र अन्तरक्रिया हजारौं गुणा प्रभावकारी हुनसक्थे कि ? हाम्रा ज्येष्ठ नागरिकहरूसँगका कुराकानीले विद्यार्थीमा आदर, सत्कार र संस्कार विकासमा केही योगदान पुग्थे कि ? बुढाबुढीलाई सुड्डो र सुड्डी भन्ने आधुनिक बोलीमा सुधार भएर हजुरबाबा, हजुरआमा आदरार्थी शब्दमा रूपान्तरण हुन्थे कि ? बुढाबुढी घर, समाजका घाँडो ठान्ने आधुनिक परम्परामा केही सकारात्मक परिवर्तन भई उनीहरू राज्यका सम्पत्ति हुन् भन्ने गतिलो सन्देश प्रवाह हुन सक्थ्यो कि ?
पर्वका बेला शहरमा बसेकाहरू गाउँ जान्छन् । गाउँमा बस्नेहरू पर्व मनाउन शहर जान सक्छन् । हिमालका तराईमा आउलान् । तराईमा बस्नेहरू पहाड वा हिमालमा पुग्लान् । त्यतिबेला नेपाली भूगोल, भावना र भाषाका बारेमा जानकारी दिन सकिन्छ कि ?  समुदाय, समाज, संस्कार, संस्कृति र सभ्यताका बारेमा व्यापक जानकारी दिन सम्भव नहोला र ? अभिभावकसँग आएका विद्यार्थीलाई हाम्रा घरदैला, घरपरिवार, पारिवारिक बनोट, आदरसत्कार, छरछिमेक, बस्तुभाउ, समाजको रहनसहन, रीतिथिति, परम्परा, संस्कारका बारेमा व्यापक छलफल गरी सिकाउन सम्भव हुनेछ । 

हाम्रा प्रकृति र संस्कृतिका बारे गाउँ, शहरका जान्ने मानिस र विद्यार्थीबीच प्रश्नोत्तर गराएमा हामीले दिएका गृहकार्यहरूभन्दा सयौं गुणा ज्ञानवद्र्धक कुराहरू उनीहरूले प्राप्त गर्नेछन् । पुस्तक त शिक्षकले पढाउँछन् । कक्षाकार्यहरू कक्षाकोठाभित्रै हुन्छन् । तर साँचो पढाइ त हाम्रै समाजमा हुन्छन् । असल शिक्षक त समाजका हरेक मान्छे बन्न सक्छन् । गाउँका पशुपालकसँग हाम्रा विद्यार्थीलाई पु¥याएर गाईभैंसीको दूध दुहुन लगाएर प्रयोगात्मक कक्षा सञ्चालन गरिएमा डेरीले दूध दिन्छ भन्ने कुराको छिनोफानो लाग्थ्यो कि ? मिलले चामल र तेल दिन्छ भन्ने विद्यार्थीलाई हाम्रा पहेंलपुर खेत र बारीका पाटाहरूमा पु¥याउन सके, उनीहरूले लहलह झ्ुलेका धान र पहेंलै फूलेका तोरी देखपछि के भन्लान् ? त्यस्ता गल्ती फेरि दोहो¥याउलान् र ? 
चार दिवारभित्रका शिक्षा शायद कोरा बनेका छन् । हामीले पुस्तक पढायौं तर पढ्न सिकाएनौं कि ? पढ्न सिकाएको भए विद्यार्थीले समाज, भूगोल, भावना, भाषा, संस्कार र संस्कृति पढ्न सक्थ्यो र विश्लेषण गर्न सम्भव थियो । तर आज हामीले उत्पादन गरेका विद्यार्थीले घरमा बल्ब खराब हुँदा फेर्न सकेन । आफ्नो सर्टको टाँक फुस्किंदा सियो र धागोको प्रयोग गरेर आफैंले राख्न सकेन ।

विद्यार्थीलाई गृहकार्य दिएर मात्र होइन कि असल अभ्यास गराएर पर्व मनाउन पनि सम्भव छ । आफन्ती चिनाऔं । उनीहरूका काम चिनाऔं । कर्म गर्नेहरूसँग भेटाऔं र कर्मशील बन्ने उत्प्रेरणा जगाऔं । वन, वातावरण, जैविक विविधताका बारेमा बताऔं । रैथाने उत्पादनका बारेमा जानकारी गराऔं । रैथाने वस्तु रित्तिंदै गएका कारण सोधौं । 

commercial commercial commercial commercial