सम्झनामा बाँचिरहेका भूपी
पुस्तक विमोचनको कार्यक्रम भए तापनि यसको अन्तरवस्तुले गर्दा मलाई लाग्यो, यो भूपी दिवस पनि हो। र, हामी भूपी महोत्सव मनाइरहेका छौं।
भूपीसँगको मेरो पहिलो भेट २०३६ साल वैशाख २ गते नेपाल (राजकीय) प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ सदस्य वहालीको बेला भएको थियो। त्यो दिन हिजो जस्तै मात्र लाग्छ। कवि रमेश श्रेष्ठले भने झैं ‘समयहरू बित्दै जाँदा वर्षहरू पल भएर सम्झ्नामा बाँचिरहन्छन्।’ त्यो दिन पाका प्राज्ञहरूका माझ् हामी दुई काँचा ज्यानका थियौं । हामी नेपाली भाषा, कला, साहित्य, संस्कृति, ज्ञान र विज्ञानका ६ वटा विभिन्न मोहडाबाट उक्लेर एउटा भञ्ज्याङको साझ चौतारीमा पुगेका थियौं। कलाकार लैनसिंह वाङ्देल, कविवर माधवप्रसाद घिमिरे, साहित्यकार विजय मल्ल, इतिहासकार पं. नयराज पन्त, समाजशास्त्रका प्राध्यापक ढुण्डीराज भण्डारी, भाषाशास्त्री बालकृष्ण पोखरेल, कवि भूपी शेरचन र म। म भने विज्ञानतर्फको सदस्य थिएँ। नौ जनाको त्यो प्राज्ञ–परिषद्मा भूपी लगायत मेरा आठ जना सहकर्मीहरू दिवंगत भइसकेका छन्। ती सबै दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।
भूपी र म २०३६ देखि २०४५ सालसम्म १० वर्ष प्रतिष्ठानमा सँगै बस्यौं। २०३६ साल पहिले भूपीको बेग्लै अवतार थियो। त्यो भनेको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ को अवतार। कविता शेरचनले ती कुराको चित्रण यो पुस्तकमा छर्लंग पारिदिनुभएको छ। पुस्तकको पहिलो खण्डमा व्यक्तित्व र दोस्रो खण्डमा कृतित्वको लामो तानमा आफ्नो र आफ्नी आमा कान्ति तथा भाइ भूपेशको सुख–दुःखका कथा र व्यथालाई चौडाइतिरबाट गज बुन्दै छोरी कविताले यो कृति हामीमाझ् ल्याइदिनुभएको छ। लाग्छ, एउटा राम्रो ढाकाटोपी अथवा सुन्दर ढाकाको खास्टो पुस्तकको रूपमा तयार छ।
पुस्तकमा कविताजीले एकातिर छोरी हुनुको पारिवारिक आनन्द र कर्तव्य बोधको सुन्दर सुखद पक्ष सविस्तार पहिल्याउनुभएको छ भने अर्कोतिर विद्यमान सामाजिक विभेदका नारी पीडालाई उजागर गर्न भुल्नुभएको छैन। सामान्य तरिकाले आफ्नो पैसा बैंकमा जम्मा गर्न पनि लोग्नेतर्फको तीनपुस्ते विवरण पेश गर्नुपर्ने अवस्थाको उदाहरण हामी यो पुस्तकमा पढ्न पाउँछौं। अन्तरजातीय विवाहका व्यथाहरू कसरी बल्झ्न्छिन् भन्ने स्पष्ट बयान पनि यसमा भेटिन्छ। वस्तुतः ‘मैनबत्तीको शिखा’ शीर्षकको कविताले प्रकाश पार्ने नारी ज्यानको वास्तविकता कसरी भोग्नु प¥यो भन्ने खुलासा गर्न पनि सफल छन् लेखक कविता शेरचन।
कविताजीलाई उहाँको जन्मको कारणले र मलाई कर्मको कारणले भूपीको दोस्रो अवतारसँग साक्षात् हुने अवसर मिलेको हो। त्यसो हुँदा दोस्रो अवतारको भूपी–जीवन अत्यन्तै खुलस्त र जीवन्त रूपमा प्रकट भएको छ किताबमा। भूपीका पछिल्ला दिनहरूमा रोग-व्याधि र स्वास्थ्यसँगको संग्राम कस्तो थियो भन्ने साक्षात् वर्णनहरू ज्यादै मार्मिक छन्। अंग्रेजीमा लेखिएका किताबका लवजहरूको रूपान्तर गर्दा यस्तो बुझ्न्छि, “अस्पतालतिर कुदाएर लैजानु हाम्रो नियमित क्रियाकलाप जस्तै थियो। यस्तो अवस्था यति धेरै आयो कि हाम्रो लागि त्यो प्रायः सामान्य भइसकेको थियो।” मलाई लाग्यो, मानौं मिर्जा गालिव भन्दैछन्– ‘मुश्किलें इतनी बढ गई की हर मुश्किल आसान होने लगी।’
प्रसङ्ग फेरि २०३६ सालको प्रज्ञा-प्रतिष्ठानतिरै मोडौं। पहिलो दिनमा कर्मचारीहरूबाट फूल-गुच्छाको स्वागत निकै भव्य रह्यो। हामी आ-आफ्नो कार्यकक्षमा पुग्यौं। भूपीको कोठा र मेरो कोठा नजिकै पर्यो। केही बेरपछि भूपीको कोठामा गएँ र कुरा शुरू गरें हाम्रो स्वागतबाट। म दंग परेको थिएँ। भूपीले त्यतिकैमा भनिहाले, “कर्मचारीको धर्मै हो नि– आउनेलाई ताली र जानेलाई गाली !” त्यो तीरले मलाई पनि घोच्यो। म पनि कर्मचारी थिएँ श्री ५ को सरकारको। अरू के के गर्छन् त कर्मचारीले भनेर सोधें। तुरुन्तै थपिहाले, “ठूलाबडाका सलामी र तिनका मलामीमा हाजिर हुने। अनि गुलामी गर्ने।” त्यसपछि म स्वयं पनि प्रतिष्ठानको सरकारी कर्मचारी हैन भन्ने हेक्का मनमा पाल्न थालें तर कर्मचारीप्रतिको मेरो भावना स्वभावतः बेग्लै रह्यो।
प्रज्ञा-प्रतिष्ठानमा भूपीको प्रवेशलाई लिएर यो पुस्तकले एक परिच्छेदकै शीर्षक कायम गरेको छ ‘बिकेका ?’ अर्थात् सेल-आउट (Sell-out ?) । परिच्छेदको यो शीर्षकले मेरो मुटुमा अर्को छेदन गर्यो। के भूपी बिकेर प्रज्ञा-प्रतिष्ठानमा आएका थिए ? के राजाबाट नियुक्ति पाएका हामी सबै सदस्य बिकुवा हौं ? हल्लै हल्लाको देशमा यो बिकुवाको बिल्ला पनि हल्लै थिएन र ? उक्त परिच्छेदमा प्रश्नचिह्न पनि रहेको छ। त्यसले गर्दा शंकाका घेराहरू झनै तरंगित छन्। पाठक वर्गले आफ्नो निचोड आफैं निकालून्।
भूपीसँगको संगतमा मेरो पनि धारणा थियो- पञ्चायती व्यवस्थाका राजा वीरेन्द्रलाई ढाल्न भन्दा गाल्न सजिलो हुन्छ। भूपीले क्रमभंगताको कथित क्रान्ति (Revolution) को बाटो त्यागेर क्रमबद्ध विकास (Evolution) को बाटोमा लाग्ने निर्णय गर्नुभयो भन्ने मलाई लाग्छ। किनभने हामी नेपालको अस्तित्व र अस्मिताको रक्षालाई पहिलो प्राथमिकतामा राख्दथ्यौं । त्यसबेलाको भूराजनैतिक अवस्थाको माग त्यही थियो। रूस भ्रमणबाट फर्केर नेपाल आएका भूपीमा त्यो परिवर्तन आउन थालेको कुरा छोरी कविताले पनि संकेत गरेकी छन्। राजा वीरेन्द्रको शान्ति क्षेत्र (Zone of Peace) प्रस्तावका समर्थक थिए भूपी शेरचन।
म एक प्राविधिक कर्मचारी भएकोले राजनीतिमा दक्खल छैन। एक दिन भूपीसँग राजनीति के हो र कसरी गरिन्छ भनेर सोध्दा जवाफ दिनुभएको थियो– “मरेका नेतालाई जिन्दावाद र बाँचेकालाई मूर्दावाद भनेर राजनीति गरिन्छ ।” मैले बल्ल बुझें। भूपीको त्यो सटिक वाणी पनि पुस्तकले उल्लेख गरेको रहेछ ।
साहित्य र सिर्जनासँग बेलाबखत चुरोट र रक्सी जोडिन पुग्छन्। प्रज्ञा–प्रतिष्ठानमा विजय मल्ल र भूपी भेट भयो कि आपसमा चुरोट माग्न छोड्दैनथे । दुवै चुरोटका अम्मली थिए तर भूपीको चुरोट ‘क्राभेन’ मार्काको हुँदा प्राथमिकतामा क्राभेन चुरोट पर्ने नै भयो। म स्वयं कहिल्यै चुरोट नखाएको वा नपिएको वा नसर्काएको मान्छे परेकोले एकदिन सोधें “भूपीजी ! लेख्नलाई चुरोट खानै पर्छ र ?” चोर औंला र माझी औंलाको बीचमा चुरोट च्यापेर भूपी भन्न थाले– “यी दुई औंलाको बीचको चुरोट फ्याँकिदिएँ भने औंलाहरू पनि हराउँछन्। विना औंला कसरी कलम चल्छ ?” क्या तर्क ! अनि चुप लागें।
नक्सालको घरमा बोलाएर हामीलाई मार्फा ब्रान्डी ख्वाएको सम्झ्ना छ। तर प्रज्ञा प्रतिष्ठानमा भूपीको दोस्रो कार्यकालमा रक्सी सेवन धेरै कम थियो । पिएकोमा उहाँलाई टोक्न कसैले बाँकी राख्दैनथ्यो। एकपल्ट इलामतिर साहित्यिक यात्राको कार्यक्रम बन्यो। नपिउने शर्तमा उहाँलाई राजी गरायौं । तर, पनि हेटौंडाबाटै शर्त तोड्नुभएछ बियरको गिलासले। भ्रमण सम्पन्न गरी फर्केपछि सबैले भ्रमण प्रतिवेदन दिने चलन थियो। सदस्यसचिवको नाताले मैले प्रतिवेदन माग्न थालें। दिन बित्दै गए। प्रतिवेदन आएन। धेरै करबल गरेपछि ‘ल मेरो प्रतिवेदन लेख्नुस्’ भन्दै एक वाक्य ओकले “बाँकी ७४ रै जिल्लामा अलि अलि इलाम छरिदिऊँ जस्तो मन लाग्यो।” एकातिर म अवाक् भएँ, अर्कातिर सम्झें क्या गहिरो फिलोसोफी (दर्शन)। ‘यो त कविता भयो’ भन्दाभन्दै केही दिनपछि पूरै कवितै आयो–
आफ्नो वरिपरि
भीर, पाखा र कान्लाभरि
थुम्का थुम्का चिया, र
झुम्का–झुम्का अलैंची उमारेर
सन्तोषले एक्कासी स्मित उठेझैं
हरियो भरियो इलामलाई देख्दा मलाई
नेपालभरि अलि अलि इलाम छर्न मन लाग्यो ।
‘आमा टोकुवा’ को प्रसंग
भूपी बारेको यो पुस्तकको चर्चा गर्दा, यसको पहिलो परिच्छेद
‘आमा टोकुवा’ को प्रसंगबाट प्रारम्भ हुन्छ। त्यो प्रसंग अरू सबै परिच्छेदहरूमा पनि छरपस्ट छ। जन्मँदा मुलमा परेको छोरोले कुललाई नै विनाश गर्छ भन्ने अन्धविश्वासको घेराभित्र हुर्कंदै पाँच वर्षको बालक हुँदा आमाको परलोक भएबाट भूपी ‘आमा टोकुवा’ को धब्बाले डामेको घाउ लिएर बाँचिरहेका थिए।
यसैबीच, प्रज्ञा–प्रतिष्ठानमा म ‘बाल विज्ञान’ विषयक पुस्तकका लागि प्रश्नहरू बटुल्दै थिएँ। दश वर्षमुनिका बालबालिकाले आमा–बुबासँग कस्ता प्रश्न तेस्र्याउँछन् भन्ने प्रश्न जम्मा पार्नु थियो। साथीभाइ, इष्टमित्र धेरैसँग प्रश्नहरू बटुल्दै थिएँ। मेरा जस्तै भूपीका पनि दश वर्ष भन्दा साना छोरी र छोरा थिए। भूपीसँग पनि दश वटा प्रश्न मागेको थिएँ।
सय वटा प्रश्नहरू छानेर बाल–विज्ञान प्रश्नोत्तर नामक पुस्तक २०४० सालमा प्रकाशित पनि भयो। तर, त्यसमा भूपीबाट प्राप्त एउटा प्रश्नको उत्तर दिन सकिन। उत्तर दिन पनि चाहिनँ । भूपीको त्यो प्रश्न यस्तो थियो ‘माकुराका बच्चाले आफ्नै आमालाई मारेर मासु खान्छन् भन्ने सही हो ?’
करिब ४० वर्षपछि म त्यो प्रश्नको उत्तर दिन खोज्दैछु। अहिले मलाई गुगल गुरुले सहयोग दिंदैछ। त्यसबेला त्यो सुविधा थिएन । भूपीको ‘आमा टोकुवा’ को घाउ बल्झ्न्छ भनेर पनि मैले त्यतिबेला यो प्रश्न टार्न खोजेको थिएँ।
केही माकुरा प्रजातिले आफ्नो वंशनाश नहोस् भनेर वंशको रक्षा गर्न आफ्नो गर्भका बच्चाहरू अण्डाका रूपमा जन्माएपछि आफू स्वयं अन्तरध्यानमा जान्छन् अथवा सुषुप्त हुन्छन् र तिनको निश्चल शरीरका भित्री मांसपेशी गल्न थाल्छन्। ती गलेर–पग्लेर तरल बन्छन्, आमाको दूध झै। अण्डाबाट बाहिर निस्केका माकुराका बच्चाले आमालाई भेट्टाउँछन् पौष्टिक खुराकको रूपमा। त्यसैलाई चुसेर जीवन रक्षा गर्छन्। आमाको त्यो बलिदान प्रकृतिको अनुपम उदाहरणका रूपमा स्थापित छ।
यो माकुरोको कुरो हो; मान्छेको हैन। तर मैले यो कुरा भूपीलाई भन्न पाइनँ । छोरी कविताले लेखेको यो पुस्तकमा पनि भूपीले बोकी हिंडेको ‘आमा टोकुवा’ को आलो घाउ आलो रूपमा नै प्रस्तुत छ । वस्तुतः एक अन्धविश्वास कति घातक हुन्छ भन्ने उदाहरण भूपीको जीवनमा पढ्न पाउँछौं।
हाम्रो समाजमा अझै पनि लच्छिन र अलच्छिन, छूत र अछूत, साइत र बेसाइत, भूत–प्रेत र ख्याक, देवी–देवताका दोष वा कुण्डलीका दशाका कुरा गरेर बालमनोविज्ञानलाई खलबलाउने प्रथा निर्मूल भएको छैन। त्यसमा अभिभावक एवं शिक्षकहरू विशेष संवेदनशील हुनुपर्छ।
दश वर्षभन्दा कम उमेरका बालबालिकाको मन र मस्तिष्क कमलो मात्र हैन विशेष संवेदनशील अर्थात् ‘सेन्सेटिभ’ पनि हुन्छ । त्यतिबेला भोगेका कुरा वा लागेका चोट लगायत हरेक जसो कुरा झ्ल्झ्ल्ती सम्झ्न्छौं। त्यो उमेरको भोगाइ मन र मस्तिष्कमा खेपिएको हुन्छ। जीवनभर मेटिंदैन। त्यसैले, बालबालिकालाई अन्धविश्वासले सिर्जेका अनेक दोष र दशाका वाणीले चोट पुर्याउनुहुँदैन भन्ने ज्वलन्त उदाहरण भूपीको जीवनमा प्रत्यक्ष छ। कतिसम्म भने ४५/४६ वर्षको उमेरमा पनि प्रज्ञा-प्रतिष्ठानको कुर्सीमा बसेर बाल्यावस्थाको टुकुचे (मुस्ताङ) को जीवन सम्झ्ँदै भूपी धुरुधुरु रोएको दृश्य मेरो स्मृतिपटलमा ताजै छ। घरपरिवार र समाजले ‘मुल्याहा’ एवं ‘आमा टोकुवा’ जस्ता आरोप भनेर टोक्ने गरेको त्यो पीडाको वर्णन यो पुस्तकमा ज्यादै मार्मिक छ।
हाम्रो समाजमा अझै पनि लच्छिन र अलच्छिन, छूत र अछूत, साइत र बेसाइत, भूत–प्रेत र ख्याक, देवी–देवताका दोष वा कुण्डलीका दशाका कुरा गरेर बालमनोविज्ञानलाई खलबलाउने प्रथा निर्मूल भएको छैन । त्यसमा अभिभावक एवं शिक्षकहरू विशेष संवेदनशील हुनुपर्छ। यो वैज्ञानिक युग हो । समानताको युग हो। वसुधैवकुटुम्बकम्को युग हो । बाल मनोविज्ञानप्रति संवेदनशील नबनेर अन्धविश्वासको शिकार बन्नुहुँदैन भन्ने प्रष्ट सन्देश यो पुस्तकमा छ।
आमा नहुनुको पीडा बेग्लै हुन्छ। मेरी आमा १०३ वर्ष बाँच्नुभयो तर मेरी आमाकी आमा भने उहाँ ७ वर्षको हुँदा परलोक हुनुभएको रहेछ। उहाँलाई पनि आमा अभाव जीवनभर खट्किबस्यो। सय वर्षको उमेरसम्म पनि आमा एउटा हिन्दी भजन आफूले गाउनुहुन्थ्यो र मलाई पनि गाउन लगाउनुहुन्थ्यो–
जिसके घर में माँ नहीं बा बा करेना प्यार
ऐसे दीन अनाथौं का रामनाम आधार
मुखबोले राम की वाणी, तू राम भजनकर प्राणी...
त्यही कुरा कविताजीले पनि आफ्नो पुस्तकमा लेख्नुभएको छ, जसको नेपाली अनुवाद यस्तो हुन्छ–
“सानै उमेरमा आमालाई गुमाउनु पर्दाको पीडा बुबामा सधैं बसिनै रह्यो र त्यो रिक्तता, त्यो शून्यता कहिल्यै भरिएन ।”
आमाको प्रसंगमा हामीले बिर्सन हुँदैन कि सिद्धार्थ गौतमको नियति पनि त्यस्तै थियो । सिद्धार्थ जन्मेको ७ दिनमा माता मायादेवी परलोक भएकी थिइन् । तब के बुद्ध पनि आमा टोकुवा भए त ?
भूपीका कविताहरू पढ्दा वा गीतहरू सुन्दा रूख, बिरुवा, फलफूल, कीरा–फट्याङ्ग्रा र जुनकिरीका बारे कति गहिरो र गहकिलो ज्ञान प्राप्त हुन्छ भन्ने एउटा सानो उदारण पेश गर्दछु।
कविवर माधवप्रसाद घिमिरेले लेखे–
“गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली...”
भूपीले लेखे–
“जुनकिरी झैं ज्योति बाली, अन्धकारमा चम्किन्छ...”
जुनकिरीको ज्योति भन्नु त्यस ज्यानको आफ्नै मौलिक ज्योति हो । सूर्यको ज्योतिमा चम्केको जुन जस्तो हैन। बिजुलीको शक्तिमा चम्केको बिजुली बत्ती पनि हैन। ब्याट्रीको शक्तिले बल्ने टर्चलाइट पनि हैन। तेल र मट्टीतेलको इन्धनले बल्ने अरू बत्तीको जस्तो ज्योति पनि हैन। जुनकिरीको ज्योति आफैंभित्र निहित जैविक शक्तिमा चम्कने ज्योति हो। जुनकिरी झैं ज्योति बालेर अन्धकारमा लम्कने नेपालीको विशेषता भूपीले चित्रण गरेका छन् । जुनकिरी झैं भूपी पनि आफ्नै ज्योतिले चम्किन्थे।
भूपीको कृतित्व मूल्यांकन गर्ने मेरो औकात छैन। उहाँका हरेक कविता कालजयी लाग्छन्। २०१७ सालमा रूपरेखा मासिकमा प्रकाशित भूपीको ‘हामी’ शीर्षकको कविताले आजका हामीलाई शायद अझ् बढी उजागर गर्छ:
हामी
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाई दिनुपर्ने,
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्याई दिनुपर्ने,
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिंडाउनुपर्ने,
हामी रंग–रोगन छुटेका,
टुटेका, फुटेका ।
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मनोरञ्जक खेलका सामग्री,
एउटा खेलाडी माथि आश्रित,
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’द्वारा संचालित
हो, हामी मानिस कम र बढ्ता गोटी हौं !
अन्त्यमा, आज २०८० साल साउन २३ गते (‘भूपी दिवस’) को अपराह्न पनि माथिका कविता पढ्दा कसले भन्छ कि भूपी हामीमाझ् बाँचेका छैनन् भनेर ? अस्तु ।