रुग्ण स्कूलको सञ्जीवनी सही र सक्षम नेतृत्व

विद्यार्थी संख्या कम भएको कारण देखाउँदै देशभरि नै स्थानीय तहले आधारभूत तहका विद्यालयलाई एकअर्कोमा गाभ्ने (मर्ज) वा तह घटुवा गर्ने गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिकाले पनि कक्षा-५ सम्म चलेको देवी आधारभूत विद्यालयको २०७८ सालमा तह घटुवा गर्‍यो। वडा नं. १०, चित्तपोलस्थित यो विद्यालयमा कक्षा-३ सम्म मात्र पढाउने गरी कक्षा कटौती गरिएको थियो।  

शिक्षक निशा राई २०७६ सालमा सूर्यविनायक नगरपालिकाकै शान्ति भैरव आविबाट देवी आविमा आएकी थिइन्। उनका अनुसार, त्यतिबेला ईसीडीदेखि कक्षा-५ सम्म २५/३० जना विद्यार्थी थिए। प्रअ, उनी र अर्की एक शिक्षक समेत तीन जना शिक्षक थिए। एक बाल विकास सहजकर्ता पनि थिइन्। शिक्षक राई भन्छिन्, ‘प्रअ र एक शिक्षकले अवकाश पाएपछि मलाई निमित्त प्रअ दिइयो। करारमा अर्को शिक्षक पठाइयो। कोभिडपछि विद्यार्थी अझ् घटे। अन्ततः पालिकाले कक्षा १-३ को तहमा झर्‍यो ।’ 

निशाको बुझाइमा संस्थागत विद्यालयप्रति अभिभावकको आकर्षण, विद्यालयमा भौतिक पूर्वाधार र राम्रो पढाइ नहुनु अनि नेतृत्वले रफ्तारमा विद्यालयलाई अगाडि लैजान नसक्दा विद्यार्थी घटेका हुन्।   

सूर्यविनायक नगरपालिकाले गरेको खुल्ला प्रतिस्पर्धा मार्फत प्रधानाध्यापक छानिएर तिलकदास श्रेष्ठ २०८० साल वैशाखदेखि देवी आविमा प्रधानाध्यापकका रूपमा कार्यरत छन्।

प्रअ भएर यहाँ आएपछि उनी खुशी हुनुभन्दा चुनौतीको भारले थिचे झै‌ं महसूस गर्न थाले। ‘म विद्यालय पुगेको दिन शिशु कक्षामा २६ जना, कक्षा १ मा दुई, दुईमा १ र तीनमा एक गरी तीस जना विद्यार्थी थिए। मर्ज गर्ने अवस्थामा पुगेको विद्यालय थियो’, उनले भने। उनका अनुसार शिशुकक्षाका बालबालिकाका लागि बस्नलाई चकटी थिएन। फोम ओछ्याइएको थियो। विद्यालयमा घेरबार थिएन। जो जतिखेर पनि विद्यालयमा छिर्न सक्थे । शिशुकक्षामा विद्यार्थी थिए। तर ती केटाकेटी ठूला भएपछि अभिभावकले अन्यत्र लगिहाल्थे। 

आर्थिक अवस्था कमजोर भएका केटाकेटीसँग किताब बोक्ने झेला पनि थिएन। कापी थिएन। ‘सबै विषयका कापी लिएर आउनू भनेपछि दुई दिनसम्म विद्यार्थी स्कूल नै आउँदैनथे’, प्रअ श्रेष्ठ सम्झ्न्छन्। उनी सहित तीन जना दरबन्दीका शिक्षक, एक जना बाल विकास सहजकर्ता र एक जना कार्यालय सहयोगी थिए । कहाँबाट शुरू गर्ने ? केही दिन उनी अलमलमा परे। 

अभिभावकसँग सम्बन्ध विस्तार 
प्रअ श्रेष्ठले सम्बन्ध विस्तारका लागि अभिभावक र विद्यालयबीचको सञ्चारलाई पहिलो प्राथमिकतामा राखे । उनी अभिभावकलाई भेट्न घर–घर पुग्न थाले । शिक्षकहरूसँग मिलेर घरदैलो गरे। प्रअ श्रेष्ठ भन्छन्, ‘कति अभिभावकले गाह्रो भइकन पनि निजी विद्यालयमा पढाइरहेका थिए । हामी राम्रो गर्छौं, शिक्षक राख्छौं, हाम्रो विद्यालयमा केटाकेटी पठाउनुस्, मासिक रु.३०० सहयोग गर्नुस् भनेर अनुरोध गर्‍यौं।’ 

निजी विद्यालयमा पढाइरहेका केही अभिभावक आफ्ना केटाकेटी ल्याउन राजी भए। त्यही विद्यालयमा केटाकेटी पठाइरहेका अभिभावकहरू पनि पढाइ राम्रो हुनुपर्ने शर्तमा मासिक सहयोग गर्न तयार भए। विमला भण्डारीले आफ्नो नाति निजी विद्यालयबाट झ्किेर यहाँ पढाउन थालिन्। उनका नाति कक्षा ४ मा पढ्दैछन्। उनी भन्छिन्, ‘तिलक सर भेट्न आउनुभयो। हामी राम्रो गर्छौं भन्नुभयो। पढाइ राम्रो हुनुपर्छ भन्ने शर्त थियो। म अहिले सन्तुष्ट छु । बच्चा पनि खुशी छ।’ उनका नाति पहिले यही विद्यालयमा पढ्थे। पछि यहाँबाट झिकेर नजिकैको निजी विद्यालयमा लैजानुपरेको कारण उनले सुनाइन्, ‘पहिले १५/२० जना विद्यार्थी मात्र थिए । शिक्षकहरू गफ गरेर बस्नुहुन्थ्यो। विद्यार्थी थोरै भएर शिक्षकलाई पनि अल्छी लाग्थ्यो होला !’ 

तिलकदास श्रेष्ठ, प्रअ, देवी आवि, भक्तपुर

अर्की अभिभावक भवानी बुढाथोकीका दुई जना छोरा पनि यही विद्यालयमा पढ्दैछन्। उनको घर रामेछाप हो। तीन वर्षदेखि उनी चित्तपोलमा बस्छिन्। उनी भन्छिन्, ‘पहिले केटाकेटीको विद्यालयमा त्यति वास्ता हुँदैनथ्यो। अहिलेको सर राम्रो हुनुहुन्छ। अभिभावक लिन नआई केटाकेटी पठाउनुहुन्न। बच्चा सुरक्षित भएको लागेको छ। बच्चाहरू घरमा के गर्छन्, कस्तो गर्छन् भनेर सोधिरहनुहुन्छ। अभिभावकलाई विद्यालयमा जम्मा हुन पत्र पठाउनुहुन्छ।’ उनले अहिले फरक महसूस गरेकी छन्। उनले ‘हाम्रो सबभन्दा ठूलो चाहना भनेको बच्चा राम्ररी पढुन् भन्ने छ। पहिले पढाइ राम्रो हुँदैनथ्यो। अहिले राम्रो छ। त्यसैले महिनाको ३०० तिर्न तयार भएकी हुँ’, भनिन्। 

अहिले देवी आविमा, कुनै विद्यार्थी अनुपस्थित हुनेबित्तिकै अभिभावकलाई फोन गरिन्छ। बेलाबेला अभिभावक भेला हुन्छ। त्यस्ता भेलामा, निजीबाट झ्किेर केटाकेटी यहाँ ल्याउने अभिभावकले यो विद्यालयको वातावरण मन परेको बताएका छन्। कोही अभिभावकको गुनासो भए सुन्ने र सुनुवाइ गर्ने प्रयास पनि विद्यालयले गर्ने गरेको छ। 

अभिभावकलाई विद्यालयमा बोलाउने, उनीहरूका कुरा सुन्ने र विद्यालयको योजना अनि समस्या उनीहरूलाई सुनाउने गर्दा विद्यालय र अभिभावकबीच नजिकको सम्बन्ध बन्यो। अभिभावकले प्रअका साथै विद्यालयको समग्र मूल्याङ्कन गर्न थाले। यसरी देवी आविले स्थानीय अभिभावकको विश्वास जित्दै र साथ पनि पाउँदै गयो । 

मनकारीको खोजी 
प्रअ तिलकदास श्रेष्ठका लागि विद्यालयमा स्रोतसाधन जुटाउनु अर्को चुनौती थियो। उनी मनकारी, सहयोगी खोज्न थाले। पूर्व विद्यार्थी, समाजसेवीदेखि संघ–संस्थासँग सम्पर्क गर्न थाले। उनी भन्छन्, ‘हाम्रो विद्यालयलाई शून्यबाट उठाउन खोजेका छौं, स्रोतसाधन छैन भनेर सहयोग माग्थें। सामाजिक सञ्जालमा कुनै संस्थाले विद्यालयलाई सहयोग गरेको देखे नम्बर खोजेर सम्पर्क गर्थे। मनकारी व्यक्ति को हुन सक्छन् भनेर शिक्षकहरूले भन्नुहुन्थ्यो।

चिनाइदिनुहुन्थ्यो।’ उनको भनाइमा विद्यालय सुधार गर्ने प्रयास गरेको देखेर कतिले आफूले आर्थिक सहयोग गरे। अरूलाई समेत सहयोगका लागि फोन गरिदिए। 

यसरी जुटेको सहयोगबाट बालबालिकाका लागि पीङ, झेला, कापी, ट्रयाक सुट लगायतका पोशाक, जुत्ता, कार्पेट, चकटी, अभिभावकका लागि केटाकेटी लिन आउँदा बस्ने प्रतीक्षालय बन्यो । यसैगरी कसैले शिशुकक्षाका लागि पुरानो टीभी दिए । कसैले कार्यालयका लागि नयाँ कुर्सी दिए । कसैले खेलकुदका सामग्री दिए। व्यवस्थापन समितिको बैठक बस्दा सबै सदस्यलाई पुग्ने गरी कुर्सी थिएन। केहीले अपुग कुर्सी उपलब्ध गराइदिए। 

‘विद्यालय भवन वरिपरि घेरबार लगाउन नगरपालिकाबाट केही बजेट दिइएको थियो। घेरबार लगाइदिने जिम्मा पाएका समेतले योगदान गरे । परिणामस्वरुप ६३ मिटर क्षेत्रफलका लागि घेरबार लगाउन आएको बजेटले ९३ मिटर लगाउन सक्यौं’, उनले भने। 

एक संघीय सांसदलाई सहयोगका लागि आग्रह गर्दा ती सांसदबाट ‘तपाइँको तलब पाकिहाल्छ, किन दुःख गर्नुपर्‍यो !’ भन्ने जवाफ पाएको प्रअ श्रेष्ठ सम्झ्न्छन्। यस्तो जवाफ सुनेर उनी निराश पनि भएका थिए। तर शून्यबाट माथि उठ्न खोजेको विद्यालयलाई स्रोतसाधन जुटाउन पूर्व विद्यार्थी, मनकारी दाताहरूले खुला हृदयबाट गरेकोे सहयोगले ऊर्जा र आशा थपिएको अनुभव पनि उनले गर्न पाएका छन्।  

सिकाइमा जोड
२०६३ मा स्थायी शिक्षक भएका प्रअ तिलक श्रेष्ठसँग शिक्षण पेशामा तीन दशक लामो अनुभव छ । उनी दिनमा चार पिरियड नेपाली पढाउँछन् । उनी भन्छन्, ‘खेलाएर सिकाउँछौं। हाजिरीजवाफ, चित्रकला, नृत्य, खेलकुद लगायत अतिरिक्त क्रियाकलाप गराउँछौं । केही सार्वजनिक हिउँदे बर्खे बिदा पनि कटौती गरेका छौं। शैक्षिक भ्रमण गराउँछौं। न्यून लागतका शैक्षिक सामग्री निर्माण गर्छौं र बालबालिकाको सिकाइमा जोड दिन्छौं।’

सिकाइलाई विद्यार्थीको दैनिक जीवनमा प्रयोग हुने सामग्रीसँग जोड्न सकिन्छ भन्ने अभ्यास यो विद्यालयमा गरिएको पाइन्छ। जस्तो, दिवाखाजाका लागि ल्याइएका फलफूल विद्यार्थीलाई दिनुअघि फरक-फरक कक्षाका विद्यार्थीका लागि शैक्षिक सामग्रीको रूपमा प्रयोग गरिन्छ। आँप, केरा, स्याउ, खरबुजा, अंगुर लगायत फलफूल विद्यार्थीका अगाडि राखिन्छ। विद्यार्थीलाई फलफूल चिन्न, नाम अनि ती हरेक फलफूलका फाइदा र विशेषताका बारेमा भन्न लगाउने अभ्यास गराइन्छ। 

रिपोर्टिङका क्रममा यो विद्यालय पुग्दा विद्यार्थीहरू हँसिला देखिन्थे। शिशुकक्षाका विद्यार्थी ‘म गाउने, म गाउने’ भन्दै हात उठाउँदै थिए। कक्षा-१ का विद्यार्थीहरू प्रअ श्रेष्ठको अगाडि आफूलाई मन पर्ने विषयका बारेमा बताउँदै थिए। कक्षा-२ का विद्यार्थी नेपालीमा संवाद गर्न सिक्दै थिए। कक्षा-३ का विद्यार्थी अगाडि आएर पालैसँग आफूले बुझ्ेका कुरा सुनाउँदै थिए। 

पहिले निमित्त प्रअ रहिसकेकी शिक्षक निशा राई भन्छिन्, ‘प्रअ सरले पढाइ सिकाइलाई धेरै महत्व दिनुभएको छ । कक्षाकोठा अवलोकन गरेर हामीलाई शिक्षण विधि सिकाउनुहुन्छ। बालबालिकाको व्यावहारिक जीवनसँग जोडेर सिकायो भने सिकाइ राम्रो हुन्छ, उनीहरूले सम्झ्न्छन् सिक्छन् भन्नुहुन्छ। अतिरिक्त क्रियाकलाप उहाँकै योजना हो । हामीले जाँचेको गृहकार्य उहाँले पनि जाँच्नुहुन्छ र सुझव दिनुहुन्छ। उहाँले सिकाइदेखि दाता खोज्नेसम्मको काममा धेरै मिहिनेत गर्नुभएको छ। अहिले विद्यार्थी संख्या बढेको छ। हामी सबै शिक्षक सक्रिय भएका छौं। आफ्नो विद्यालय अहिले हामी आफैंलाई राम्रो लाग्न थालेको छ।’

प्रअ श्रेष्ठका अनुसार देवी आविमा अहिले शिशु कक्षामा ७२, कक्षा १ मा ११, कक्षा २ मा १०, कक्षा ३ मा १२ र कक्षा ४ मा १५ जना समेत जम्मा १२० जना विद्यार्थी छन्। खुल्ला प्रतिस्पर्धाबाट प्रअ भएर आएपछि आफ्नो नेतृत्वमा आफ्नो कार्यकालमा केही गर्नैपर्छ भन्ने हुटहुटी श्रेष्ठमा देखिएको छ। उनी आएको १५ महिनामा नै विद्यालयमा उल्लेख्य रूपमा विद्यार्थी संख्या बढेको छ। नगरपालिकाका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटुवाल भन्छन्, ‘मर्ज हुन लागेको विद्यालयले नयाँ जीवन पाएको छ।’ 

मर्ज गर्ने कि भन्ने स्थितिमा पुगेको विद्यालय ब्युँतिन सक्छ भन्ने एउटा उदाहरण हो देवी आधारभूत विद्यालय। अस्तित्व नै मेटिन आँटेको एउटा सानो सामुदायिक विद्यालय पुनर्जागृत हुनु भनेको त्यहाँका बालबालिकाले पढ्ने सिक्ने अवसर पाउनु हो। त्यहाँका शिक्षक, समुदाय, स्थानीय तह र अन्य पालिकाका लागि सिक्ने उदाहरण पनि हो। प्रअ श्रेष्ठलाई कहिलेकाहीं त दुःख पनि कति गर्नु जस्तो लाग्थ्यो। कहिले बन्द भएका विद्यालयबाट पुराना डेस्क बेन्च लिन पुग्थे उनी। कहिले नर्सरीका लागि अरूले दिएको पुरानो टिभि लिन कुद्थे। उनी भन्छन्, ‘प्रअ भएर आएको केही समयमा तीन किलो घटें । तर विद्यालयलाई उठाउनैपर्छ भन्ने ठानेको थिएँ। निशा राई लगायत सबै शिक्षक अनि कार्यालय सहयोगीको साथ सहयोग, वडा अध्यक्षको नैतिक समर्थन, अभिभावकको विश्वास र पूर्व विद्यार्थी तथा मनकारी दाताको सहयोगमा यहाँसम्म आएका छौं।’ 

सरकारबाट अपेक्षा
निजी तथा अन्य सामुदायिक विद्यालयबाट विद्यार्थी आउने क्रम बढ्न थालेपछि वडासँगको समन्वयमा निजी स्रोतमा शिक्षक राख्ने निर्णय भयो । सूर्यविनायक नगरपालिकाको शिक्षा ऐन २०७५ अनुसार वडा अध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने व्यवस्था छ। विद्यालयमा हाल पाँच जना निजी स्रोतमा शिक्षक राखिएको छ। वडाले शिक्षक व्यवस्थापनका लागि भनेर रु.२ लाख दिएको छ। ‘नगरपालिकाबाट कक्षा ४ सञ्चालनका लागि अनुमति पायौं। थप एक जना शिक्षक पनि पठाइयो । हाल दरबन्दीमा पाँच जना शिक्षक छौं’, प्रअ श्रेष्ठले बताए।

स्थानीय तहबाट शिक्षक दरबन्दी थप, घेरबार, बगैंचा निर्माण, निजी स्रोतका शिक्षक व्यवस्थापनका लागि सहयोग भए पनि पर्याप्त सहयोग पाउन नसकेको उनको गुनासो छ । शिक्षा प्रमुख कटुवालले शिक्षा विकास र भौतिक पूर्वाधारका लागि बजेट छुट्याइएको बताए पनि पालिकाले विद्यालयको आवश्यकता अध्ययन नगरेको देखिन्छ । पालिकाले शिक्षा सुधारका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रअ त छनोट गर्‍यो तर यसबाट मात्र सुधारको सुनिश्चितता भने हुन सक्दैन। विद्यालयभित्र अरू के कस्ता समस्या छन् भनेर अनुगमन गरी आवश्यक सहयोग गर्नुपर्ने देखिन्छ।

प्रअ श्रेष्ठ भन्छन्, ‘कक्षा-४ मा विज्ञान तथा प्रविधि र कम्प्युटर विषय छ। कार्यालय प्रयोजनका लागि एउटा कम्प्युटर छ। १५ जना विद्यार्थी छन्। कम्प्युटर कक्षा व्यवस्थापनका लागि नगरसँग कम्प्युटर माग गरेका छौं। ईसीडीमा ७२ जना विद्यार्थी छन्। तर एक जना मात्र सहजकर्ता दिइएको छ। निजी स्रोतमा शिक्षक राख्नुपरेको छ । उहाँहरूको सेवासुविधा कम छ।’ 

देवी आधारभूत विद्यालय वडा कार्यालयसँगै छ। विद्यालय प्रवेश गर्ने बाटोमा खाल्डाखुल्डी छन्। साना केटाकेटी लड्न सक्छन् । प्रअ श्रेष्ठका अनुसार विद्यालयको क्षेत्रफल चार रोपनी छ। विद्यालयको नाममा पुर्जा नभए पनि वडाले चिठी दिएको छ । उनी भन्छन्, ‘दरबार जस्तो वडा कार्यालय छ। जनप्रतिनिधिहरू विद्यालय आउनुभएको छ। तर साना केटाकेटी हिंड्ने यो बाटो प्राथमिकतामा परेको छैन।’

‘शून्यबाट माथि उठ्न खोज्दैछौं सहयोग गर्नुस्, राम्रो बनाउँछौं भन्दा प्रदेश सरकारले सहयोग नगरेको उनको दुःखेसो छ। तीनै तहका सरकारले आवश्यकता आधारमा सहयोग नगर्ने हो भने आधारभूत विद्यालय सकिने उनको निष्कर्ष छ, ‘बाल विकास व्यवस्थापनका लागि बागमती प्रदेशमा प्रस्तावना हालेका थियौं। हेटौंडामा सूचना अधिकारीलाई फोन गरें। राम्रा विद्यालयलाई राम्रो बनाउने हो भन्ने पो जवाफ पाएँ। विद्यार्थी संख्या धेरै भएका विद्यालयले धेरै नम्बर पाउने रहेछन्। यस्तो व्यवस्थाले कसरी साना स्कूल माथि जान्छन् ? साना स्कूललाई जताततै हेपिंदो रहेछ। सरकारको बेवास्ताका कारण आधारभूत स्कूल सकिन्छन् ।’

राम्रो पठनपाठन नभएर अनि गतिलो नेतृत्व नपाएर पनि कतिपय साना विद्यालय मर्ज गर्नुपर्ने अवस्थामा पुगेका छन्। तर स्रोतसाधन र भौतिक पूर्वाधार नहुँदा पनि साना विद्यालय चलाउन सहज स्थिति छैन। विद्यार्थी संख्याका आधारमा धेरै विद्यार्थी भएका माध्यमिक विद्यालयमाथि मात्रै सरकारले स्रोतसाधन थुपार्ने गरेकोमा साना विद्यालयलाई पनि प्राथमिकता दिनु आवश्यक छ। शिक्षाको जग आधारभूत विद्यालय हो। 

प्रअ तिलकदासको लक्ष्य देवी आविलाई आफ्नो कार्यकालमा कक्षा-८ सम्म चल्ने विद्यालय बनाउने छ। उनी भन्छन्, ‘आउने वर्ष कक्षा-५ सञ्चालन गर्ने योजना छ। तर कक्षाकोठा छैन। यही समुदायका कम्तीमा २५० विद्यार्थी पढ्ने गरी १-८ सञ्चालन गर्ने योजना छ। एउटा व्यक्तिले लगानी गरेको वरपरका निजी विद्यालयमा ५०० विद्यार्थी हुन्छन्। हाम्रोमा नहुने भन्ने हुँदैन। सरकारले सहयोग र लगानी गरे सम्भव छ। भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनमा सहयोग गनुपर्छ। शिक्षा सुधार हामी गर्छौं।’ 

शिक्षक  मासिक, २०८१ भदौ अंकमा प्रकाशित। 


commercial commercial commercial commercial