पलाँसः चिन्न र बुझन सक्ने होऊँ
रूप यौवन सम्पन्नाः विशाल कुल सम्भवाः ।
विद्याहीनाः न शोभन्ते निर्गन्धाः इव किंशुकाः ।।
विद्यार्थी जीवनमा गुरु/शिक्षकले दिएको शिक्षा-दीक्षा ढुंगामा कुँदिएका अक्षर झैं, पछिसम्म नमेटिने गरी स्मृतिपटलमा बसिरहन्छ। कलिलो उमेरको स्मृतिपटल ढुंगाभन्दा साह्रो हुन्छ। वि.सं. २००७/०८ तिर दरबार हाईस्कूलमा ७/८ क्लासमा पढ्दथें। संस्कृत अनिवार्य विषय थियो। संस्कृतको पाठ पार्थमणि गुरुले पढाउनुहुन्थ्यो। अरू विषयका शिक्षकलाई मास्टर भन्दथ्यौं, गुरु हैन। पार्थ गुरुले घोकाएका श्लोकहरूमध्ये उपर्युक्त श्लोक आजभोलि पनि पलाँसको फूल झैं झयाप्पै फुल्ने गर्छ मेरो स्मृतिपटलमा। अनि विद्याको महिमा पनि मनमा महकिन थाल्छ।
माथिको श्लोकको अर्थ/आशय- ‘रूप र यौवनले सम्पन्न तथा ठूलो कुलमा जन्मिएको भए तापनि यदि विद्या आर्जन गरेको छैन भने त्यस्तो विद्याहीन व्यक्तिले समाजमा शोभा दिंदैन। हेर्दा/देख्दा ज्यादै सुन्दर देखिने तर वासना नभएको पलाँसको फूलसरी हुन्छ, त्यस्तो व्यक्ति । समाजमा शोभायमान बन्न विद्या आर्जन गर्नुपर्छ। अर्थात् रूप, यौवन र कुलभन्दा विद्याको महत्व धेरै हुन्छ’ भन्ने नै हो ।
सृष्टिको यो फूलबारे अरू पनि चर्चा गुर्नछ, विद्या आर्जनकै सिलसिलामा। किंशुक भनेको पलाँस (संस्कृतमा पलाश) को फूल हो भनेर गुरुले व्याख्या गर्नुभएको थियो। तर त्यो फूल धेरै वर्षपछि मात्र देख्न पाइयो, त्यो पनि वनस्पति विभागको जागिरमा वनजंगल घुम्ने काम पाएपछि। पलाँसलाई संस्कृत भाषमा किंशुक किन भनियो भन्ने पनि बल्लबल्ल बुझदैछु। सुगा-चरालाई संस्कृतमा शुक भनिने कुरा लेखनाथको ‘पिंजडाको सुगा’ नामक कवितामा ‘द्विज शुकनामा’ भनेर उल्लेख गरिएको छ। त्यही हरियो सुगाको घुम्रिएको गाढा सुन्तले रंगको मोटो चुच्चोसँग मिल्दोजुल्दो बान्कीको फूल फुल्ने हुनाले पलाँसलाई किंशुक पुष्प भनिएको रहेछ । उसको बान्की अनुसारको नाम।
पलाँस (संस्कृतमा ‘पलाश’) एक अतिउपयोगी वृक्ष हो। यसको रूख १५ मिटरसम्म अग्लो हुन्छ र वसन्तको आगमनसँगै फागुन-चैततिर फुल्न थाल्छ। त्यसबेला रूखका प्रायः सबै पात झ्रिसकेका हुन्छन्। पलाँस वनै ढाकेर फुल्छ र वनमा आगोको लपेटा सल्के झैं देखिन्छ। तसर्थ अंग्रेजी भाषीहरू यसलाई ‘फ्लेम अफ द फरेष्ट’ अर्थात् ‘वनको ज्वाला’ पनि भन्दछन्। पलाँसका प्रत्येक फूल ४/५ सेन्टिमिटर लामो सुगाचुच्चे आकृतिमा फुल्दछन्। नियालेर हेर्यौं भने यो फूलको आकृति केराउ, सिमी, बोडी आदि कोसेबालीका पुष्पाकृतिसँग मिल्छ। वनस्पति शास्त्रले पनि पलाँसलाई कोसेबाली परिवार ‘फविसी’ (Fabaceae) भित्र समावेश गरेको छ। यो बिरुवाको कोसा लाग्दा प्रत्येक कोसाभित्र एउटै मात्र बीउ हुन्छ। पलाँसको यो आफ्नै विशेषता हो। तसर्थ, वैज्ञानिकहरूले यसलाई ‘बुटिया मोनोस्पर्मा’ Butea monosperma) भन्ने नाम दिएका छन्। बुटिया जातिका सयौं बिरुवामध्ये एक्लो बिजन भएको (मोनोस्पर्मा) भन्ने शब्दावलीले पलाँसलाई सम्बोधन गरिन्छ।
पलाँससँगको मेरो साक्षात्कार फूल हैन, त्यसको कोसा अर्थात् फलबाट प्रारम्भ भएको हो। प्रत्येक वर्ष, चैत–वैशाख महीनामा परिवारका सबै केटाकेटीलाई पलाँस बीजको जन्तर बाँधिदिने चलन थियो, हाम्रो महाबौद्धको घरमा। असन बजारको वैद्य पसलबाट पलाँसका कोसा बुबाले किनेर ल्याउनुहुन्थ्यो। पहिला कोसा छोडाएर त्यसको बीउ पिंधेर वा घोटेर चिनी वा महसँग हामीलाई ख्वाउनुहुन्थ्यो भने अर्को सग्लो कोसाको चेप्टो भागमा प्वाल पारेर बलियो धागोमा उनेर जन्तर झुन्ड्याइदिनुहुन्थ्यो। संयुक्त परिवारमा क-कसले औषधि खाइसकेका छन् भन्ने थाहा पाउने अचूक उपाय थियो त्यो जन्तर । यति गरेपछि औषधि दोहोरो पर्ला भन्ने डर पनि रहँदैनथ्यो। आयुर्वेदमा पलाँस बीजलाई क्रिमी (पेटका जुका, चुर्ना आदि) झर्ने औषधिको रूपमा वर्णन गरिन्छ।
कुनै पनि बोटबिरुवामा फल लाग्नका लागि त्यसमा परागसेचन हुनु आवश्यक हुन्छ। अरू सामान्य फूल–बिरुवामा झैं पलाँसको परागसेचन गर्ने काम माहुरी, पुतली, भँवरा वा अरू कीटपतंगबाट हुन सक्तैन। पलाँसको फूलभित्रको मधुमय रसस्वाद लिन सक्ने एउटा सानो फिस्टे जस्तै देखिने वैजनी रंगमा चम्कने कालो बुंगे चरा हुन्छ। त्यसलाई ‘पर्पल सन वर्ड’ (Purple sunbird) भनिन्छ। मूलतः यही चराले गर्छ पलाँसको परागसेचन । अर्को प्राणी सानो तीनधर्के लोखर्के (Three striped squirrel) पनि पलाँसमा परागसेचन गर्ने क्षमता राख्दछ। प्रकृतिको रहस्य बुझिसक्नु हुँदैन।
फूलहरूको रूप, यौवन, सुवास र सौन्दर्य- तिनको परागसेचनसँग सम्बन्धित हुन्छ। परागसेचन गर्ने प्राणीहरू रूप, रंग र आकृतिप्रति आकर्षित हुन्छन्। दिउँसो फक्रने र चम्किलो फूल हुने वनस्पतिमा सुवास अधिक हुँदैन। साँझ्, बेलुकी र रातमा फुल्ने फूलहरू बढी वासनादार हुन्छन् । ती बहुरंगी पनि हुँदैनन्। पारिजात, रजनीगन्धा, बेली, चमेली लगायत कडा वासना आउने फूलहरू आफ्नो सुवासले विभिन्न कीटपतंग प्राणीलाई लोभ्याउने काम गर्दछन्। रूप र रंगबाट लोभ्याउने फूलमा चाहिं पलाँसको आफ्नै विशेषता छ।
शोभायमान फूल फुल्ने वृक्ष भए तापनि बाग, बगैंचा, बारी वा सडक छेउतिर पलाँसको वृक्ष उत्तिको भेटिंदैन। यसको प्राकृतिक वासस्थान तराई, भावर, चुरे र मधेश क्षेत्रको पतझ्ड वन नै हो। मेरो सम्झ्नामा- फुल्ने पलाँस भने पश्चिम नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको हो। काठमाडौं उपत्यकामा त यो दुर्लभ नै छ। बालाजु, नागार्जुन तथा काँठका केही भागमा एक दुई बोट भेट्न सकिन्छ। काठमाडौं भन्दा उच्च पहाडी भेकमा यो वृक्ष फस्टाउन सक्तैन। नेपालभन्दा पूर्वी क्षेत्रमा पनि यो फस्टाउँदैन। पश्चिमतिर पाकिस्तानसम्मै यसको प्राकृत क्षेत्र फैलिएको छ।
तस्वीर सौजन्य: टोनी हागन, नेपाल
केही दिन पहिले वनस्पतिविद् दीपक लामिछानेको ‘फेसबुक पोस्टिङ’ मा पलाँसको वृक्ष काठमाडौंमा ढकमक्क फुलेको देखियो। उहाँको साथमा लागेर राणाजी खलकको कुलदेवस्थल थापाथलीको पाञ्चायनी परिसरमा पलाँस हेर्न गएँ। त्यो बिरुवा हिमालयशमशेर जबराले धनगढीतिरबाट ल्याई रोपेको भन्ने बताइयो। प्रशस्त फूल फुलेको उक्त वृक्षमा फल भने लाग्ने गरेको रहेनछ। परागसेचनको सेवाप्रदायक प्राणी काठमाडौं या त्यस स्थानमा उपलब्ध नभएर होला भन्ने लाग्यो। प्रत्येक वर्ष फुल्ने उक्त फूलको लेप बनाएर त्यहाँका देवी-देवतालाई टीका लगाइदिने चलन बसेको रहेछ । वैशाखपूर्णिमाको दिन राणा परिवारहरूको ठूलो घुइँचोलाई पलाँसको त्यस एकल वृक्षले स्वागत गर्ने गरेको बुझ्यिो।
काठमाडौंमा दुर्लभ भए तापनि पलाँस नेपालका अरू ठाउँमा लोकप्रिय नै हुँदो हो भन्ने कुरा नारायणगोपालको स्वरमा दीपक जंगमको यो रचनाले संकेत गर्छ–
यति धेरै माया दिई मनभरि दुःख नदेऊ
बाटो वरपर फुल्ने पलाँस टिपी शिरमा नलाऊ...
मेरो स्मृतिको पलाँसले जुका झर्ने कुरा माथि उल्लेख भइसक्यो। आयुर्वेद विज्ञानले यो बिरुवाको बीजका अतिरिक्त नयाँ पालुवा, फूल, जरा एवं खोटो पनि विभिन्न रोग-व्याधमा प्रयोग हुने वनौषधिको रूपमा उल्लेख कोषनाथ देवकोटाद्वारा सम्पादित ‘नेपाली निघण्टु’ (२०२५) मा पढ्न पाउँछौं। पलाँसको सर्वाधिक उपयोगिता भने लाहा उद्यमसँग जोडिएको छ। लाहा एसियाली देशहरूमा मात्र पाइन्छ। नेपालको पनि उत्पादन हो भन्ने प्रमाण माष्टर मित्रसेनको गानाले पुष्टि गर्छः ‘खस्यौलीको बजारमा लाहा छ कि छैन ... ।' हामीले सिलबन्दी/खामबन्दी गर्दा लगाउने लाहाछाप सबैलाई थाहा छ। हँसिया, खुकुरी, खुर्पा आदिका बींड ठोक्न अथवा गहनामा सुन अड्याउनका निम्ति हाम्रा गाउँघरमा समेत लाहाको प्रयोग नियमित रूपमा हुने गरेको छ । तर लाहाको उपादेयता चीन, जापान, कोरियाका कलाकृति एवं काष्ठ उद्योगसँग पनि सम्बन्धित छ भन्ने कुरा भुल्नुहुँदैन। त्यसो त महाभारत को कथामा लाहाको दरबार ‘लाक्षागृह’ को प्रसंग पनि हामीले बारम्बार सुनेका छौं ।
लाहा कसरी उत्पादन हुन्छ भनी जान्न चाह्यौं भने त्यहाँ पलाँसको अपरिहार्यता झल्कन्छ। पलाँसको बोटमा लाग्ने एक निर्दिष्ट कीरोले लाहा बनाउँछ । यस कीरोले आफ्ना लार्भा हाँगा हाँगामा फैलाइदिन्छ। ती लार्भाले पलाँसको बोट चुस्ने क्रममा लाहा उत्पादन हुन्छ। हाँगा हाँगामा, डाँठ डाँठमा लाहाका कीराले थुप्य्राएको लाहा टिपेर जम्मा गरिन्छ। यसरी लाहा उत्पादनको प्रमुख स्रोतको रूपमा पलाँसलाई बुझनुपर्छ।
बेलपत्ता जस्तै पलाँसको पातमा तीनवटा छुट्टाछुट्टै उपपत्र हुन्छन् । तीमध्ये बीचको पत्रलाई विष्णु, दाहिनेको महेश्वर र देब्रेकोलाई ब्रह्माको प्रतीक मानिन्छ। धार्मिक वनस्पति विषयक पुस्तक ‘पत्रम् पुष्पम्’ (२०२५) का लेखक पुष्कलप्रसाद रेग्मी लेख्छन्, “ब्राह्मण जातको व्रतबन्ध हुँदा वटुकले पलाँसको लट्ठी टेक्नुपर्छ र सो दिन पलाँसकै पातमा खानुपर्छ भन्ने विधि समेत छ।” यस प्रकार हिन्दू धर्मावलम्बीहरूको निम्ति पलाँस पूजनीय पनि छ । पलाँसको फूल विष्णु भगवानलाई विशेष रूपमा प्रिय लाग्ने भक्तहरूको विश्वास पाइन्छ ।
पलाँसको फूलको रूप, रंग र सौन्दर्यलाई सर्वोत्कृष्ट रूपमा चित्रण गर्न समर्थ व्यक्तिको रूपमा स्वीस नागरिक टोनी हागनलाई अगाडि सार्न चाहन्छु। उहाँको ‘नेपाल’ नामक प्रख्यात सचित्र पुस्तकमा पूरै पृष्ठ ढाकिने गरी पलाँसको फूलको तस्वीर मुद्रित छ। आजभन्दा ६३ वर्ष पहिले छापिएको उक्त पुस्तकले भन्दछ- यो तस्वीर ३०० मिटरको उचाइमा अवस्थित चमेली (Tsamali) भन्ने ठाउँतिर जनवरी महीनामा खिचिएको हो । अग्नि ज्वाला जस्तो पहेंलोमा रातो रंग चढेको यो फूल ६ सेन्टिमिटर लामो छ।
अन्त्यमा,
पलाँसको फूल सुन्दर छ। पलाँसको वृक्ष गुनिलो छ। तर विद्यार्थी भाइबहिनीले यसको सौन्दर्य र गुणलाई पनि जित्ने गरी विद्या आर्जन गर्नुपर्छ । किनभने; विद्या विना हामीले पलाँस चिन्न, बुझन सक्तैनौं। नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सबै विद्यार्थी भाइबहिनीहरू विद्या आर्जनमा सफल होऊन् भन्ने शुभकामना व्यक्त गर्दछु।
शिक्षक मासिक, २०८१ वैशाख अंकमा प्रकाशित।