परीक्षाको गुत्थी र सफलताको सूत्र

हाम्रो शैक्षिक प्रणालीमा तीनघन्टे लिखित परीक्षा मूल्याङ्कनको प्रमुख अङ्गको रूपमा स्थापित छ। यस्ता परीक्षामा ठूलो मात्रामा परीक्षार्थी असफल हुने गरेको प्रसङ्ग हरेक वर्ष प्रवेशिका परीक्षाको परिणामको बेला बढी उठ्ने गर्छ। तर क्रमशः त्यत्तिकै सेलाउँछ। 

परीक्षामा परीक्षार्थी असफल हुनुमा थुप्रै तत्वहरूको भूमिका हुन्छ । तर पनि हामी भन्न सक्छौं, लिखित परीक्षामा सफल हुनको लागि विषयवस्तुको ज्ञानको साथसाथै प्रस्तुतीकरणको सीप पनि आवश्यक पर्दछ। 

यो लेख विद्यार्थीलाई परीक्षाको निम्ति तयार पार्दा ध्यान दिनुपर्ने पक्षहरू उजागर गर्ने उद्देश्यले तयार पारिएको छ। 
केही वर्षअघि एक छात्रा हस्याङफस्याङ गर्दै क्याम्पसमा आइन् र आफ्नो समस्या राखिन्। अघिल्लो दिन उनले १०० पूर्णाङ्कको परीक्षामा ७० अङ्कको प्रश्न मात्र हल गरेको बताइन्। किन पूरा प्रश्नको जवाफ नलेखेको त भनेर सोध्दा उनले आफ्नो प्रश्नपत्र एकापट्टि मात्र प्रिन्ट भएको, परीक्षा हलबाट फर्कंदा बाटोमा मात्र अरू साथीहरूको प्रश्न दुवैपट्टि प्रिन्ट भएको थाहा पाएको र आफू केन्द्रको लापरबाहीले समस्यामा परेको बताइन् । यस्ता अरू पनि प्रसङ्गहरू छन्, जसमा पुरानो पाठ्यक्रमको प्रश्नको जवाफ लेखेको, तीनवटा मात्र प्रश्न हल गर्नुपर्नेमा सबै गरेको, लामो उत्तरका प्रश्नमा कुनै एक भाग छुटेको, परीक्षाको वास्तविक अवधि थाहा नपाएको, प्रश्न र उत्तरको सिलसिला नम्बर नमिलेको, समानता लेख्नुपर्नेमा भिन्नता लेखेको, प्रश्नले खोजेको भन्दा फरक विषयवस्तु तथा प्रस्तुतीकरण भएको आदि। आफूले नेपालीमा पढेको तर प्रश्नपत्र अंग्रेजी माध्यममा भएकाले प्रश्न नबुझेर गलत उत्तर दिएको जस्ता समस्या पनि आउँछन्। 

परीक्षार्थीका उत्तरपुस्तिका परीक्षणको क्रममा सामान्यतया निम्न समस्याहरू भेटिन्छन्ः 
१.    प्रष्टसंँग सिम्बोल नं नलेख्नु, अंग्रेजी विषयमा पनि नेपालीमा नै सिम्बोल नं लेख्नु,
२.    धेरै गुजुमुज्ज पारेर लेख्नु, उत्तरपुस्तिकामा तोकिएको मार्जिन नछोड्नु, कापीको पछाडि खाली छोडेर अगाडिको पानामा बढी मात्रामा खाँदेर लेख्नु,
३.    उत्तरमा रेखाङ्कन नगर्नु जसले उत्तर छुट्याउन गाह्रो हुनु,
४.    उत्तरको स्थानमा प्रश्न मात्रै सार्नु, आवश्यक ठाउँमा प्रश्न नसारी उत्तर मात्र लेख्नु ।
५.    कुनै प्रश्नको उत्तर एकभन्दा बढी स्थानमा लेख्नु र पहिले लेखेको उत्तर रद्द नगरी अर्को ठाउँमा लेख्नु,
६.    कुनै उत्तर पहिलो पृष्ठमा एक अनुच्छेद तथा बाँकी अनुच्छेद तेस्रो पेजमा पाइनु,
७.    प्रश्न नं र उत्तरको क्रम नम्बर नमिल्नु,
८.    परीक्षार्थीले नै परीक्षकको स्थानमा हस्ताक्षर गर्नु, नाम, ठेगाना लेख्नु,
९.    कुनै प्रश्नको उत्तरमा अर्को प्रश्न वा अनुच्छेद सार्नु,
१०.    अंग्रेजी विषयमा रोमनमा नेपाली वाक्यहरू लेख्नु,
११.    प्रश्नपत्रले मागेको भन्दा आफूले जानेको कुरा लेख्नु,
१२.    विषयवस्तुको क्षेत्र छुट्याउन नसक्नु, वास्तविक विषयवस्तुभन्दा पनि त्योसँग मिल्दोजुल्दो विषयमा लेख्नु,
१३.    उस्ता उस्तै शब्दमा झुक्किनु, जस्तैः Liberty (स्वतन्त्रता) छ भनेLibrary (पुस्तकालय) को विषयमा लेख्नु,
१४.    उत्तरहरूमा मौलिकता नपाइनु,
१५.    निबन्ध लेख्दा शीर्षक उल्लेख नगर्नु,
१६.    उत्तर लेख्दा विषयको वजन र गहिराइलाई बेवास्ता गर्नु; ज्यादै लामो वा ज्यादै छोटो उत्तर दिनु,
१७.    नयाँ तथा पुरानो दुवै पाठ्यक्रमबाट उत्तर दिएको,
१८.    बहुवैकल्पिक प्रश्नमा उत्तर दिंदा एकभन्दा बढी विकल्पमा चिह्न लगाउने, चिनो लगाउँदा दुईवटा विकल्पको बीचमा लगाएको,
१९.    उत्तरमा प्रश्नलाई अनावश्यक रूपमा दोहोर्‍याउने गरिएको,
२०.    जुनसुकै शीर्षकको निबन्ध भए पनि, नेपाल एक प्राकृतिक रूपले सुन्दर देश हो, जस्ता असम्बन्धित वाक्यबाट शुरू गर्नु। जस्तैः मोबाइलका फाइदाबारे लेख्नुपर्दा पनि यस्तै वाक्यबाट शुरू गर्नु,
२१.    प्रश्नपत्रको अङ्क विभाजनलाई ख्याल नगर्नु; यसले गर्दा उत्तरमा भागहरू जस्तैः थालनी, मध्य तथा अन्त्य सन्तुलन नमिल्नु,
२२.    उत्तरमा आफ्नो परिचय खुलाउने प्रयास गर्नु,
२३.    परीक्षकसँग आफूलाई उत्तीर्ण गराउन अनुरोध गर्नु,
२४.    वैकल्पिक प्रश्नमा दुवैको उत्तर दिनु,
२५.    अक्षर नबुझिने, केरमेट हुने, सिसाकलमले लेख्ने गर्नु आदि,
२६.    व्याख्या, वर्णन, छलफल तर्क जस्ता शब्दले खोजेको उत्तर नबुझ्किन लेख्नु।

माथि देखिएका जस्ता समस्याले हाम्रा विद्यार्थीलाई विषयवस्तुका अतिरिक्त जवाफ या उत्तर लेख्ने वा प्रस्तुत गर्ने सीप आर्जन गर्न सहयोग गर्नु अति जरूरी देखिन्छ। प्रस्तुतीकरणको महत्वका विषयमा कुरा गर्दा शिक्षक सेवा आयोगले लिने शिक्षण अनुमतिपत्र– परीक्षाको नतिजा हेर्नु सान्दर्भिक हुन्छ । उक्त परीक्षामा विश्वविद्यालयमा राम्रो अङ्क ल्याएका विद्यार्थी पनि न्यून सङ्ख्यामा मात्र उत्तीर्ण हुन्छन्। मेरो विचारमा, उम्मेदवारहरू विषयगत ज्ञानको अभावभन्दा पनि परीक्षामा सोधिएका प्रश्नको उत्तर उपयुक्त ढाँचामा लेख्न नसक्दा असफल हुने गरेका हुन्। प्रायः विश्वविद्यालयका परीक्षामा ज्ञानात्मक प्रश्न सोधिन्छन्। तर आयोगका प्रश्नले प्रयोगात्मक पाटोलाई पनि समेट्ने गरेका हुन्छन्। 

अर्थात्; विद्यालय तहमा मात्रै होइन, उच्च शिक्षाका परीक्षार्थीहरूलाई समेत विषयगत ज्ञानका साथसाथै परीक्षामा कसरी स्पष्ट र प्रभावकारी ढङ्गबाट प्रश्नको जवाफ लेख्ने भन्ने सीप सिकाउनु पनि आवश्यक छ। यस्ता अभिमुखीकरण कार्यक्रममा प्रश्नहरूको विश्लेषण गरी अपेक्षा गरिएको उत्तरको ढाँचा सिकाउन सकिन्छ। 

परीक्षाको निम्ति तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम वा कार्यशालामा विद्यार्थीलाई निम्न आधारमा प्रश्नपत्रको विश्लेषण गर्न सिकाउन सकिन्छः 

१. पृष्ठभूमि  
कुनै कुनै प्रश्नमा भूमिका समेत जोडिएको हुन्छ; जस्तै– ‘नेपालमा विगत वर्षहरूमा जलस्रोत विकासमा लगानी बढ्दै गएको पाइन्छ। यसरी आन्तरिक रूपमा जलस्रोतमा लगानी बढ्दा देशलाई कस्ता फाइदा पुग्दछन् उल्लेख गर्नुहोस्।’ यस प्रश्नमा पहिलो वाक्य भूमिका हो। यस्तो सूचना प्रायःजसो मूल प्रश्नभन्दा अगाडि आउँछ।

२. शीर्षक
प्रश्नको शीर्षकले उत्तरको विषयवस्तुलाई सङ्केत गर्दछ। जस्तो, माथिको वाक्यमा ‘जलस्रोतमा लगानी’ शीर्षकका रूपमा आएको छ। कतिपय अवस्थामा परीक्षार्थीले ‘लगानी’ शब्द ख्याल नगरी जलस्रोतको फाइदा लेख्ने गर्दछन्। यस सन्दर्भमा; शीर्षक नबुझदा हुने समस्याबारे राम्ररी प्रष्ट पार्नुपर्छ।

३. निर्देशनात्मक शब्द
हरेक प्रश्नमा परीक्षार्थीको लागि निर्देशनात्मक वाक्य हुन्छन्। ती वाक्यमा प्रयोग भएका शब्दले उत्तर लेखनको ढाँचा निर्धारण गर्दछन्ः जस्तै; उल्लेख गर्नु, तुलना गर्नु, भिन्नता देखाउनु, संश्लेषण गर्नु, फरक छुट्याउनु, तर्क गर्नु, वर्णन गर्नु, छलफल गर्नु, व्याख्या गर्नु, प्रस्ताव गर्नु, सूचीकृत गर्नु आदि। प्रायः विद्यार्थीले यस्ता शब्दको अर्थ नबुझी आफूले जानेको कुरा आफ्नै ढंगले लेख्ने गरेको पाइन्छ। यहाँनेर शीर्षकको ‘वर्णन गर्नु’ र ‘छलफल गर्नु’को अर्थ-भेद अनुसार उत्तर लेख्ने फरक शैली सिकाउनु आवश्यक हुन्छ। प्रश्नले अपेक्षा गरेको र परीक्षार्थीले लेखेको उत्तरबीच तालमेल नमिल्दा परीक्षार्थीले अपेक्षित प्रतिफल पाउन सक्दैनन्। यसका लागि पुराना प्रश्नपत्र संकलन गरी मुख्य शब्दहरूको शब्दार्थ र उक्त शब्द अनुसार लेखन ढाँचाको विकासमा छलफल गर्न सकिन्छ।

४. क्षेत्र वा सीमा
प्रश्नपत्र तयार गर्ने क्रममा उत्तरलाई निश्चित पक्षमा केन्द्रित गर्नको लागि विषयवस्तुको क्षेत्र वा सीमा तोकिएको हुन्छ। जस्तैः ‘आन्तरिक पर्यटनले देशको सामाजिक क्षेत्रमा पर्ने असरहरू उल्लेख गर्नुहोस्।’ यस प्रश्नको उत्तर लेख्दा पर्यटनको आर्थिक पक्षमा जोड दिनुपर्दैन, किनकि प्रश्नको जोड ‘सामाजिक क्षेत्र’मा सीमित गरिएको छ। यस्ता प्रश्नमा तोकिएको सीमा जनाउने शब्दमा राम्ररी ध्यान दिएमा परीक्षार्थीको उत्तर सटिक हुनसक्छ। यसबाट अनावश्यक प्रसङ्ग र लम्बाइको नियन्त्रण त भइनै हाल्छ।

५. लक्षित पाठक
परीक्षाका उत्तरहरू सामान्यतः विज्ञ अथवा शिक्षकहरूलाई लक्षित गरेर लेख्नुपर्ने हुन्छ। तर कुनै प्रश्नको उत्तर खास पाठक जस्तै, आमाबाबु, सरकारी कर्मचारी, पत्रिकाका सम्पादक जस्तालाई ध्यानमा राखेर लेख्नुपर्ने हुन्छ। यस्ता उत्तरमा पाठकको पृष्ठभूमि अनुसार शब्दचयन, प्रस्तुति, विषयगत ज्ञान आदि कुरामा ध्यान दिनुपर्ने हुन्छ।

६. परीक्षार्थीको भूमिका
उत्तर लेखनको क्रममा परीक्षार्थीले आफ्ना विभिन्न भूमिकालाई आधार मानेर लेख्नुपर्ने हुन्छ, जस्तै; कुनै जागिरको आवेदकको रूपमा या ग्राहकको रूपमा आदि।

७. उद्देश्य
कतिपय प्रश्नमा उत्तर– सूचना प्रवाह गर्ने, अनुभव साट्ने, कसैलाई मनाउने, व्याख्या गर्ने उद्देश्यले तयार गर्नुपर्ने हुन्छ। प्रश्नको जवाफ लेख्दा त्यस्ता उद्देश्य अनुरूप क्रियापदहरूको चयन, विषयवस्तुको विस्तार, क्रमबद्धता निर्धारण गर्नुपर्दछ।

८. लम्बाइ
प्रश्नपत्रमा अपेक्षित उत्तरको लम्बाइ- सङ्केत उल्लेख गरिएको हुन्छ । प्रश्नमा एकभन्दा बढी प्रश्न जोडिएको छ भने प्रश्नका विभिन्न भागलाई अङ्क छुट्याइएको हुन्छ। प्रश्नपत्रमा देखाइने अङ्क विभाजन, जस्तै २+३+२ ले प्रश्नको पहिलो भागलाई २, बीचको भागलाई ३ र बाँकी भागलाई २ अङ्क भन्ने बुझिन्छ। यस्ता प्रश्नको हल गर्दा अङ्क विभाजन अनुसार उत्तर पनि सन्तुलित ढङ्गले प्रस्तुत गर्नुपर्ने हुन्छ। अपेक्षा गरिएको उत्तरको लम्बाइलाई सङ्क्षिप्त छोटो उत्तर, लामो उत्तर, एक वाक्य, एक शब्द, आधा घन्टासम्म लेखिने जस्ता सङ्केत गरिएको हुन्छ।

९. ढाँचा
परीक्षार्थीले उत्तर लेखन गर्दा प्रस्तुतीकरणको ढाँचा बारेमा ध्यान पुर्‍याउनुपर्दछ। यस अन्तर्गत मार्जिन मिलाउने, अनुच्छेद बीचको दूरी मिलाउने, तालिका तयार पार्ने, लेखाचित्र तयार पार्ने, अक्षरहरूको आकार जस्ता कुराहरू पर्दछन्।

१०. परीक्षाको समय
परीक्षार्थीले परीक्षा शुरू हुने र अन्त्य हुने समय, एकै दिन दुई पत्रको परीक्षा छ भने पत्र अनुसार समय विभाजन, वस्तुगत प्रश्नपत्र बुझउनुपर्ने समय जस्ता कुराहरू पनि ख्याल गर्नुपर्दछ। हल गर्नुपर्ने प्रश्नहरूलाई समय विभाजन गरी हरेक प्रश्नको जवाफ निर्धारित समयमा लेखिसक्ने अभ्यास गरेमा ‘समय अभावका कारण प्रश्न छुट्ने’ समस्याको समाधान हुनसक्छ। 

यसका अतिरिक्त, परीक्षामा चाहिने सामग्रीको सूची तयार गरी परीक्षाको समय अगाडि नै रुजु गर्ने बानी बसाल्नु राम्रो हुन्छ । त्यसबाट प्रवेशपत्र नै छुट्ने जस्ता तनावलाई व्यवस्थापन गर्न सकिन्छ । परीक्षामा प्रभावकारी ढङ्गबाट उत्तर लेखनको लागि प्रश्नपत्रको विश्लेषण गरिसकेपछि उत्तर लेख्नु भन्दा अगाडि केही समय उत्तरको संरचनाको बारेमा सोची खेस्रा गरेर त्यसपछि मात्र सिलसिलाबद्ध ढङ्गले प्रस्तुत गर्नुपर्दछ । सामान्यतया एउटा शब्दमा वा वाक्यमा लेख्ने उत्तरको लागि संरचनाको समस्या नहुन सक्छ । तर लामो उत्तर वा एकभन्दा बढी अनुच्छेद लेख्नुपर्दा भने कुन अनुच्छेदमा के विषयवस्तु समेट्ने तयारी गर्नुपर्दछ। 

सामान्यतया एउटा लामो उत्तर लेख्दा त्यसमा समेटिनुपर्ने तीन भाग हुन्छन्। तिनीहरूको परिचय यसप्रकार छः
क. विषय प्रवेश
यस खण्ड अन्तर्गत विषयवस्तुको सङ्क्षिप्त परिचय दिनुपर्छ। जस्तो, ‘जलस्रोतमा लगानीको फाइदा’ उल्लेख गर्दा पहिलो अनुच्छेदमा जलस्रोतमा लगानी भन्नाले के जनाउँदछ भन्ने छोटो परिचय दिने । यसो गर्दा उत्तरको मूल भागलाई सान्दर्भिक बनाउन सहयोग पुग्दछ।
ख. विस्तार
यो उत्तरको मूल भाव हो। यसलाई विषयवस्तुको गहिराइ अनुसार आवश्यक अनुच्छेदमा विभाजन गर्न सकिन्छ। यस भागमा उत्तर लेख्दा प्रश्नको भाग अनुसार बुँदा र व्याख्यालाई सन्तुलित ढङ्गले प्रस्तुत गर्नुपर्दछ। जस्तो कुनै तीनवटा फाइदा उल्लेख गरी व्याख्यातिर जाने हो कि त्योभन्दा बढी फाइदाहरूको सूची मात्र तयार पार्ने हो । मुख्य विषयवस्तु/तर्कहरूलाई कसरी क्रमबद्ध पार्ने, जस्तो; महŒवका आधार, कारण र असर, कालक्रमिक, स्थान विशेष जस्ता आधार छुट्याएर जवाफ प्रस्तुत गर्नुपर्दछ।

ग. समापन
उत्तरको मूल भाव समापनपछि आफ्नो निष्कर्षसँगै उत्तरको समापन गर्नुपर्दछ । यसले गर्दा उत्तरले पूर्णता प्राप्त गर्दछ । परीक्षार्थीहरूले प्रश्नको वास्तविक लेखन ढाँचा प्रश्नले अपेक्षा गरेको उत्तरमा भर पर्दछ, जस्तै; निबन्धात्मक प्रश्नमा शीर्षक, परिचय, मुख्य भाग, निष्कर्ष हुन सक्दछ तर प्रतिवेदन र शोधपत्रका आफ्नै ढाँचा हुन्छन्।

निष्कर्ष
परीक्षाको तयारीको सन्दर्भमा प्रायः परीक्षार्थी र शिक्षकहरूले विषयवस्तुको तयारीलाई मात्र बढी जोड दिने चलन छ। हो; परीक्षामा सफल हुनको लागि विषयवस्तुको ज्ञान अपरिहार्य हुन्छ। तर त्यो सँगसँगै विषयवस्तुको प्रभावकारी प्रस्तुति पनि परीक्षाको सफलतासँग जोडिन्छ। त्यसैले, परीक्षार्थीहरू परीक्षाको तयारी गर्दा विषयवस्तुसँगै प्रश्नपत्रको विश्लेषण गर्ने सीप तथा अपेक्षाकृत उत्तरको लेखन ढाँचाको बारेमा पनि सुसूचित हुनु आवश्यक छ। विद्यार्थीले प्रश्नपत्र विश्लेषण गर्न जानेमा पक्कै पनि बढी सान्दर्भिक उत्तर लेख्न सक्नेछन्। यसले गर्दा परीक्षार्थी तथा परीक्षक दुवैलाई परीक्षाको लेखन सहज लाग्न सक्छ। 

(सहप्राध्यापक, द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखा)

शिक्षक मासिक, २०८० चैत अंकमा प्रकाशित । 

commercial commercial commercial commercial