जहाँ विद्यार्थीले शिक्षकको हाजिरी लगाउँछन्

रोल्पाको गंगादेव गाउँपालिकामा रहेको सिद्धार्थ नमूना मावि घोप्टेवडारमा विद्यार्थीले शिक्षकको हाजिरी लिने गरेका छन्। शिक्षकले विद्यार्थीको र अभिभावकले शिक्षकको अनुगमन गर्ने परम्परागत प्रणालीबाट खासै शैक्षिक सुधार हुन नसकेपछि शैक्षिक क्रियाकलापको अनुगमनमा त्रिपक्षीय सहभागिता जुटाउन विद्यालयले यस्तो प्रणालीको शुरुआत गरेको हो। शिक्षकको तर्फबाट एकपक्षीय अनुगमन मात्र हुँदा विद्यार्थीहरू जिम्मेवार नबन्ने बरु अराजक बन्ने समस्या पहिचान गरिएपछि यस्तो पद्धति अँगालेको विद्यालयको दाबी छ। 

हिजोआज, बिहान विद्यालयको प्रवेशद्वार नजिकै एक जना विद्यार्थी शिक्षकको हाजिरी रजिष्ट्रर लिएर बसेका हुन्छन्। त्यसमा शिक्षकले आफ्नो हाजिर गर्नुपर्छ। विगतमा कतिपय शिक्षकहरू बिहान १० बजे उपस्थित नहुने र बेलुका पनि ४ नबज्दै फर्कने गर्दा दैनिक पठनपाठन प्रभावित भएको कारण विद्यालय व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो। ‘शिक्षकको हाजिरी विद्यार्थीले गर्ने काम सुहाएन’ भन्ने गुनासाहरू आए पनि छलफलका माध्यमबाट ती गुनासाहरू हल गरिएको विद्यालयको भनाइ छ । सबै शिक्षकहरू सहमत भएपछि विद्यालयले यो अभ्यास गरिरहेको बताइएको छ। शुरूमा विद्यार्थीहरूलाई पालो लगाएर शिक्षकको हाजिरी लिइन्थ्यो तर सो कार्य व्यावहारिक नलागेपछि अहिले कक्षाका ‘क्याप्टेन’ र सहायक क्याप्टेन विद्यार्थीले पालैपालो हाजिरी लिने व्यवस्था मिलाइएको छ। 

प्रधानाध्यापक वीरबहादुर घर्तीमगरका अनुसार यो अभ्यासले शिक्षकको दैनिक उपस्थितिमा अपेक्षा अनुरूपको नतिजा दिइरहेको छ। ‘शिक्षक सरह विद्यालयका अन्य पक्षहरूको पनि अनुगमन गरिंदै आएको र शिक्षक र विद्यार्थी समयमै उपस्थित हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी भएको’ प्रधानाध्यापक घर्तीमगरको कथन छ। 

कक्षा-९ का ‘क्याप्टेन’ विद्यार्थी घमण्ड घर्तीमगर भन्छन्- “हामीले यो नमूना अभ्यास थालेपछि विद्यालयमा सकारात्मक परिवर्तन देखिन थालेको छ। शिक्षकहरू समयमै उपस्थित हुने र नियमित कक्षा सञ्चालन हुन गरेको छ।” 

विद्यार्थीले हाजिर लिने भएपछि शिक्षकको विद्यालयमा टिक्ने दरमा उल्लेख्य सुधार भए पनि शिक्षकको कक्षामा टिक्ने दर भने कमै रहेपछि विद्यालयले ‘कक्षामा शिक्षक टिकाउ’ प्रणालीको समेत शुरुआत गरेको छ। शिक्षकहरू घण्टी लागेको लामो समयपछि कक्षामा जाने र घण्टी नलाग्दै कक्षाबाट बाहिरिने समस्या हल गर्न ‘शिक्षक टिकाउ हाजिरी’को अलग व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुलबहादुर गुरुङको भनाइ छ। यो व्यवस्था अनुसार हरेक कक्षाका क्याप्टेन र सहायक क्याप्टेन विद्यार्थीले शिक्षक कक्षामा आएको र गएको समय जनाएर हाजिरी राख्ने गर्दछन्। विद्यार्थीले राखेको सो हाजिरीमाथि हरेक महीनाको शुरूमा विश्लेषण गरिन्छ। कुनै शिक्षकमा कमजोरी देखिए प्रधानाध्यापकबाट सुझव दिने गरिन्छ, जसले गर्दा त्यस्तो कार्य फेरि नदोहोरियोस्। शिक्षक वाईबी घर्तीमगरका अनुसार विद्यार्थीले हरेक घण्टीमा शिक्षक कक्षामा आएको र गएको समय जनाएर हाजिरी गर्छन्। 

विद्यार्थी र शिक्षक मात्र हैन अभिभावकहरूले समेत विद्यालयका शैक्षिक क्रियाकलापको नियमित अनुगमन गर्दै आएका छन् । यहाँ हरेक दिन अभिभावकहरू पालैपालो विद्यालय जान्छन्, शिक्षक र विद्यार्थीका गतिविधिको निगरानी गर्छन् र त्यसको रिपोर्ट विव्यस अध्यक्षलाई दिने गर्दछन् । यसरी अभिभावक परिचालन गरेर नै विद्यालयलाई नमूना बनाइएको व्यवस्थापन समितिका अध्यक्ष गुरुङको भनाइ छ। 

शैक्षिक सुधारमा अनुगमनको महत्वपूर्ण भूमिका हुने हुँदा विद्यालयमा दोहोरो अनुगमन प्रणाली लागू गरिएको छ। दोहोरो अनुगमन प्रणालीमा विद्यार्थी पनि सहभागी हुने गर्दछन्। जसले गर्दा विद्यार्थीहरू स्वयम् जिम्मेवार बन्ने विद्यालयको बुझइ छ। यस्तो पद्धतिले अभिभावक, शिक्षक र विद्यार्थी सबै पक्ष जिम्मेवार बन्ने व्यवस्थापन समितिका अध्यक्ष गुरुङको विश्वास छ। 

विद्यार्थीले शिक्षकको हाजिरी लिने कार्यको थालनी शैक्षिक सत्र-२०७९ देखि शुरू गरिएको हो। नयाँ अभ्यासको शुरुआतसँगै केही शिक्षकले विरोधको आवाज उठाएका थिए। विद्यालयलाई सहायक र घरको कामलाई मुख्य ठान्ने शिक्षकहरूबाट नै यस्तो कामको विरोध भएको थियो । तर छलफल गरेर नै सो समस्या हल गरिएको विद्यालयको भनाइ छ। 

सिद्धार्थ नमूना माविमा हाल नर्सरीदेखि १२ कक्षासम्म करीब ५०० जति विद्यार्थी अध्ययनरत छन्। विभिन्न दाताहरूको सहयोगमा यहाँ भवन, पुस्तकालय लगायत विद्यार्थीलाई आवश्यक सबै पूर्वाधार रहेका छन्। विद्यार्थी र अभिभावकलाई सक्रिय बनाएर विद्यालयले अनुगमनको पाटोलाई समेत व्यवस्थित बनाउँदै लगेको छ । अभिभावक र विद्यार्थीले शिक्षकको निगरानी राख्ने र शिक्षकले विद्यार्थीको निगरानी राख्ने दोहोरो अभ्यासबाट विद्यालयमा शैक्षिक वातावरण सुधार हुँदै गएको छ। 

शिक्षक  मासिक, २०८१ वैशाख अंकमा प्रकाशित । 

 

commercial commercial commercial commercial