सबै विद्यालय बन्नुपर्छ नमूना

नमूना विद्यालय सञ्चालन निर्देशिका, २०७४ (पहिलो संशोधन २०७५) मा, ‘प्रत्येक स्थानीय तहमा क्रमिक रूपमा एक नमूना विद्यालय सञ्चालन हुने’ कुरा उल्लिखित छ। यस्ता विद्यालय सञ्चालनका लागि केही आधारहरू तोकिएका छन्; जस्तो कि शैक्षिक पूर्वाधार अन्तर्गत- माध्यमिक तहका विद्यालय हुनुपर्ने, विद्यालय सुरक्षित स्थानमा रहेको हुनुपर्ने, लिखित प्रतिबद्धता र सिफारिश पेश गर्नुपर्ने, विद्यार्थी सङ्ख्या शिक्षा नियमावलीले तोकेबमोजिमको हुनुपर्ने। त्यस्तै, भौतिक पूर्वाधार अन्तर्गत शिक्षण भवन तथा कक्षाकोठा, प्रशासनिक आवासीय सुविधा, पुस्तकालय, प्रयोगशाला, विद्यालय सङ्ग्रहालय, प्राथमिक उपचार तथा परामर्श कक्ष, व्यावसायिक कार्यशाला कक्ष, खानेपानी सरसफाइ स्वच्छता सुविधा, चमेना गृह, अडिटोरियम हल, घेराबार तथा बगैंचा, खेलमैदान, वैकल्पिक विद्युतीय व्यवस्था आदि हुनुपर्ने भन्ने छ। विद्यालयको आवश्यक सुशासनका पक्ष लगायत अन्य कुराहरू पनि तोकिएका छन्। 

नमूना विद्यालय सञ्चालनका लागि तोकिएका यी आधार तथा शर्त पक्कै पनि सही छन् । तर सरकारको दृष्टिमा सबै नागरिक बराबर हुन्छन्; त्यसैले तिनीहरूले पाउने अधिकार पनि समान छ । हाम्रो संविधानमै ‘...समतामूलक समाजको निर्माण गर्ने ...’, ‘...माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने..’ जस्ता पदावली राखिएकाले गुणस्तरीय शिक्षा प्राप्त गर्नु सबैको अधिकार हुँदै हो। त्यसैले पनि, सबै विद्यार्थीले नमूना विद्यालयमा पढ्न पाउनुपर्ने हुन्छ । यसनिम्ति ‘प्रत्येक स्थानीय तहमा क्रमिक रूपमा एउटा नमूना विद्यालय सञ्चालन हुने’ होइन, ‘सबै स्थानीय तहमा क्रमिक रूपमा सबै विद्यालयलाई नमूना विद्यालय बनाउने’ निर्देशिका चाहिं बनाएर लागू गर्नुपर्छ। 

हामीले देखेका नमूना विद्यालय एउटै किसिमका छैनन्। कतिपय विद्यालय इमानदार, कर्मठ तथा शिक्षाप्रेमी नागरिक समाजको सक्रियता, सम्बन्धित विद्यालयका शिक्षकको कर्तव्यपरायण गुण र व्यवस्थापन समितिको असल नेतृत्वबाट स्वतः नमूना विद्यालयका रूपमा लोकप्रिय भएका छन्। नमूना विद्यालय सञ्चालन निर्देशिकाबाट निर्देशित नभई सामुदायिक भावनाबाट बनेका वास्तविक नमूना विद्यालय भनेका तिनै हुन्। तर कतिपयलाई चाहिं कागजात मिलाएर, नेताको स्वार्थपूर्ण पहल र विदेशी अनुदानका माध्यमबाट ‘नमूना विद्यालय’ बनाउने प्रयास गरिएको छ। हुँदाछँदाका पक्की भवन भत्काएर नयाँ भवन बनाउनु, रेडिमेड फर्निचर किनेर थुपार्नु तथा सजावटमा मात्रै ध्यान दिनु- ‘नमूना विद्यालय बनाउनु’ हुनसक्दैन।

हो, नमूना विद्यालय बन्नका लागि भौतिक सम्पन्नता पनि आवश्यक पर्छ । यस अर्थमा कुनै पनि विद्यालय नमूना बन्नका लागि ‘नमूना विद्यालय सञ्चालन निर्देशिका’ले यकिन गरेका आवश्यक शैक्षिक आधार र आधुनिक भौतिक सुविधाका कुराहरू अवश्य पनि आवश्यक हुन्। तर नमूना विद्यालय बन्नका लागि ती आधार मात्रै काफी हुन सक्दैनन्। कुनै पनि विद्यालयमा सिकाइ, अनुशासन, नियमितता आदि त हुनै पर्‍यो । यसबाहेक, जुन विद्यालयमा विद्यार्थी खुशी हुनसक्छन् ती विद्यालय मात्र नमूना विद्यालय बन्न सक्छन्। कतिपय नमूना विद्यालयहरू शिक्षा नियमावलीले तोकेभन्दा बढी दिन खोल्न रुचाउँछन्। बारम्बार परीक्षा लिन्छन्। यसबाट शिक्षक विद्यार्थी व्यस्त त अवश्य रहलान् तर ‘भोलि बिदा छ है !’ भन्दा विद्यार्थीले खुशी भएर ताली पड्काउने विद्यालय नमूना विद्यालय हुन सक्दैनन्। विद्यार्थीको खुशी–शिक्षकको खुशी, दक्षता र मायालु व्यवहारसँग सम्बन्धित हुन्छ। यसमा अभिभावकको खुशी पनि मिसिएको हुनुपर्छ। वास्तवमा विद्यालय भन्नु सीमित भौतिक भवन मात्र होइन, त्यो भनेको शिक्षक, विद्यार्थी र अभिभावकको भावनात्मक समष्टि रूप हो। 

नमूना विद्यालयमा उदार, पारदर्शी र खुल्ला पारिवारिक वातावरणको अनुभव गर्न पाउनुपर्छ। पाठ्यपुस्तक त तोकिएकै छन्, नमूना विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिएर विद्यार्थीका हरेक प्रतिभालाई कदर गर्न सक्नुपर्छ । स्वदेशी भाषा, स्वदेशी संस्कार र स्वदेशी संस्कृतिका भावनात्मक कुराहरू अनुभव गर्न सिकाउनुपर्छ। स्वाभिमान, अग्रजप्रति सम्मान, राष्ट्रभक्ति, इमानदारी, सहयोगी भावना, श्रमप्रति लगाव जस्ता कुराहरू सिकाइने विद्यालय भएमा मात्रै विद्यार्थीहरू असल भएर निस्कन्छन्। यस्ता कुरा सिकाउने सबै विद्यालयहरू भावनात्मक रूपमा नमूना विद्यालय बन्न सक्छन्। 

तर; नमूना विद्यालयको वर्तमान अवधारणाले देशमा एकप्रकारको शैक्षिक असमानता उत्पन्न गर्ने देखिएको छ। कुनै पनि चिज राम्रो छनोट गर्नु मानिसको चाहना नै हो । सरकारी नीतिअनुसार नै सुविधासम्पन्न नमूना विद्यालय कतैकतै मात्र हुने भएपछि विद्यार्थीहरू त्यही विद्यालयमा मात्र झुम्मिने हुन्छन्। यस हिसाबले राम्रा शिक्षक र राम्रा विद्यार्थी पनि त्यही विद्यालयमा ओइरिन सक्छन्। सँगैका अन्य विद्यालयमा विद्यार्थी कम हुन थाल्छन्। यसै पनि सुविधाको खोजीमा बसाइँसराइ भइरहेको छ र बसाइँसराइकै कारण धेरै विद्यालयहरू अर्कोमा गाभ्नुपर्ने स्थिति पैदा भएको छ। यस्तो स्थितिले सन्तुलित विकासमा बाधा पु¥याइरहेको बेलामा झन् नमूना विद्यालय भएपछि गुणस्तरीय शिक्षा प्राप्त हुने कुरामा पनि भेदभाव हुनेभयो। त्यसैले पनि, ‘सबै विद्यालय’लाई नमूना विद्यालय बनाउनु जरूरी देखिन्छ।

प्रायः नमूना विद्यालयले धेरथोर शुल्क लिएका छन्। अभिभावकलाई विद्यालयप्रति अपनत्वको भाव जगाउन र विद्यालयमा भौतिक बन्दोबस्त जुटाउन यो आवश्यक पनि छ। तर संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेको छ। यो अवस्थामा, कि त सबै विद्यालयले ‘शुल्क लिएर नमूना बन्न’ सक्नुप¥यो, कि त ‘शुल्क नलिइकन नमूना विद्यालय बन्न’ सक्नुपर्‍यो। ‘विद्यालय एक, व्यवस्था अनेक’ को अवस्था सधैं रहिरहनुहुँदैन।

कतिपय नमूना विद्यालयले पढाइलाई बढ्तै जोड दिएको देखिन्छ। परीक्षा नजिकिंदै गर्दा यसको डिग्री झ्नै बढ्छ। बिहानदेखि बेलुकासम्म शिक्षक तथा विद्यार्थी दुवै व्यस्त। राति घर पुगेको शिक्षक लखतरान। विद्यार्थी गृहकार्यको बोझ्ले गर्दा तनावग्रस्त। लिखित परीक्षाको माध्यमबाट विद्यार्थीको योग्यता जाँच्ने शैक्षिक परिपाटी भएको हुँदा, परीक्षामा राम्रो ग्रेड ल्याउने बनाउनका लागि अपनाइने तरिका पढाउने/सिकाउने नै हो। (कतिपय अभिभावकहरूले ‘होम ट्युसन’को व्यवस्था पनि गराएका हुन्छन् ।) तर विद्यार्थीलाई आफैं पढ्न, आफैं सोच्न र आफैं अभ्यास गर्ने समय नै नदिई त्यसरी एकोहोरो पढाएको पढायै गर्नु उचित हुँदैन। ‘शिक्षक तथा विद्यार्थीलाई आराम पनि चाहिन्छ’ भन्ने कुरा बिर्सेको यस्तो अवस्थाले, साँचो अर्थमा नमूना विद्यालय बन्नमा बाधा पुर्‍याउँछ। आफ्नो विद्यालय सम्झ्नासाथ शिक्षक तथा विद्यार्थी झ्स्किन्छन्, उत्साहित हुँदैनन् भने, त्यो कसरी नमूना विद्यालय हुन्छ ?

नमूना विद्यालयहरू- तिनका भवन र गतिविधिले होइन, गुणले चिनिनुपर्छ । एउटा सीमित वृत्तमा कुदाउने तर कहीं पनि नपुर्‍याउने पाराले कुनै पनि क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउन सक्दैन। विद्यालयको सन्दर्भमा पनि, विद्यार्थीले के कतिवटा विषय कति समयसम्म पढ्यो भन्दा पनि उसले पढेका विषयबाट ऊ कत्तिको खुशी छ, उसको व्यवहारमा के–कति सकारात्मक परिवर्तन आयो भन्ने कुरा महत्वपूर्ण हुन्छ। सानैदेखि किताबको भारी बोकाएर रुवाउँदै भरसक महँगा विद्यालयमा पढ्न पठाउनुलाई ‘भव्य सिकाइ’ मान्ने मानसिकताबाट अब हामी सबै मुक्त हुनु जरूरी छ। जानकारीमा आए अनुसार, विश्वमा औसत आयु र बौद्धिक क्षमता बढी भएका देशहरूमा कक्षा ४ सम्म कुनै पनि परीक्षा लिइँदैन, त्यहाँ विद्यालयमा बालबालिकाहरूलाई विभिन्न बाजामा रमाउन दिएर आफैं गरेर सिक्ने वातावरण तयार गरिन्छ; अरूप्रति उचित र नम्र व्यवहार तथा टिम बनेर काम गर्ने बानी सिकाइन्छ। सरसफाइ गर्न र वातावरणीय महत्वका कुराको पनि अनुभव गराइन्छ। वास्तवमा सानैदेखि यस्ता कुराहरू सिक्ने विद्यार्थी नै नमूना विद्यार्थी बन्न सक्छन्। सानैदेखि विद्यार्थी नमूना बनेपछि सबै विद्यालय नमूना बन्न सक्छन्। परिणामतः देशै नमूना बन्छ। 

सिकाइ पुस्तक र कक्षाकोठामा मात्र सीमित हुँदैन। त्यसैले विद्यार्थीहरूलाई कहिलेकाहीं अध्ययन भ्रमणमा पनि लैजाने गरिन्छ। सिकाइले सामाजिकीकरण हुन सिकाउनुपर्छ। अनुभूति, सहयोग, सहकार्यको सिकाइ- किताबमा पढेर होइन, प्रत्यक्ष रूपमा देखेर, भोगेर र आफैंले गरेर सिकिने कुरा हो। विद्यालयले यस्ता कुरामा पनि विशेष ध्यान दिनुपर्छ।  

(वागीश्वरी मावि, च्याह्मासिंह, भक्तपुर ।)

शिक्षक मासिक, २०८१ वैशाख अंकमा प्रकाशित । 

commercial commercial commercial commercial