शिक्षक-स्वमूल्याङ्कन फारम भरेपछि मेरो अनुभव र सिकाइ

पढ्ने तथा पढाउने विषयमा नयाँ ज्ञान, सीप तथा प्रविधिको आवश्यकता छ/छैन ? सो सीप सिक्नका लागि मोबाइल, ल्यापटप, कम्प्युटर, पुस्तकालयको प्रयोग भए/नभएको अवस्था के छ ? शिक्षक, विद्यार्थी, अभिभावक, विव्यस तथा जनप्रतिनिधिहरूसँग संवादको अवस्था के छ ? स्रोेतव्यक्तिहरूसँगको सल्लाह/सुझाव कस्तो छ ? आफ्नो औपचारिक शिक्षा पर्याप्त या उपयुक्त छ वा छैन ? सम्बन्धित विषयको विज्ञता छ वा छैन ? 

प्रा. विद्यानाथ सर लगायतद्वारा विकास गरिएको ‘शिक्षकऔस्वमूल्याङ्कन फारम’ भर्ने क्रममा त्यसमा सोधिएका विभिन्न १० वटा प्रश्नहरूको उत्तर दिइरहँदा अनेकन् सोचहरू ममा आए। जस्तो, हामी शिक्षक आफू कति अद्यावधिक (अपडेटेड) छौं ? आफूले पढाउने विषयमा आफ्नो विज्ञता पर्याप्त छ/छैन ? नयाँ-नयाँ प्रविधिसँग आफूलाई कसरी जोडिंदै लगिरहेका छौं?, आवश्यक तालिम, सेमिनार र विज्ञहरूसँग छलफल, सुझव लिएका छौं, छैनौं ? मलाई यस्ता सवालमा आफूले के गर्नुपर्ने रहेछ भन्ने दायित्व बोध गरायो यो फारमले । यो दायित्व बोधले मलाई तलका प्रश्नहरूको उत्तर खोज्न अभिप्रेरित गर्‍यो।

१)    शिक्षकहरूलाई कस्तो किसिमको तालिमको जरूरी पर्ने रहेछ ?
२)    किन शिक्षकसँग ल्यापटप हुनैपर्ने रहेछ ?
३)    सम्बन्धित निकायको अनुगमन नभए पनि शिक्षकले के-के गर्न सक्ने रहेछ ? 

बालबालिकाको मनोविज्ञान र बानी-व्यवहार बुझन अभिभावकसँग किन संवाद जरूरी छ ? कुन विद्यार्थीले कसरी सिक्न सक्छ ? लघु अनुसन्धान कसरी गर्न सकिन्छ ? हिंसारहित पठनपाठन गर्ने उपाय के-के हुनसक्छन् ? विद्यार्थीलाई तिनको क्षमता अनुसार ग्रेडिङ गरी सिकाउँदा के हुने रहेछ ? शिक्षण गर्दा पाठ्यक्रमले निर्देश गरे बमोजिम अतिरिक्त क्रियाकलापलाई कसरी समेट्न सकिने रहेछ ? विद्यार्थीले गरेको राम्रो कामको प्रशंसा गरे के हुने रहेछ ? समूहकार्य दिंदा सहकार्य कसरी बढ्ने रहेछ ? कसरी विद्यार्थीकेन्द्रित शिक्षणमा जोड दिनुपर्ने रहेछ ? भन्ने जस्ता अनेक कुरामा आफूलाई धेरै जानकारी भयो। परिणामतः विद्यार्थीहरूको व्यक्तिगत जानकारी लिई आफ्नो शिक्षणकला आफैंले परिमार्जन गरी शिक्षण गर्न सकिने रहेछ भन्ने आत्मविश्वास अरू दह्रो भयो।

यही क्रममा राम्रो गर्ने विद्यार्थीलाई प्रशंसा वा पुरस्कारको व्यवस्था गर्नाले विद्यार्थीमा सकारात्मक परिवर्तन आउने रहेछ । समूहकार्यमा लगाउनाले तथा जान्ने/नजान्ने विद्यार्थीलाई मिलाएर राख्नाले आपसी सहयोगको भावना जगाउने रहेछ। पाठ्यक्रमले निर्दिष्ट गरेको शिक्षण सिकाइमा अतिरिक्त क्रियाकलाप सहित समावेश गरी शिक्षण गर्ने गरेमा प्रभावकारी सिकाइ हुने रहेछ भन्ने कुरा पनि प्रष्ट भयो । यो खण्ड भरेपछि मैले तपसिलका कुरा महसूस गरें:

१)    शिक्षकले विद्यार्थी-परामर्श तालिम लिएको हुनुपर्ने रहेछ।
२)    विद्यार्थीकेन्द्रित शिक्षणमा जोड दिने काम पनि सहज रहेछ।
३)    कमजोर विद्यार्थीको लागि शिक्षक स्वयंले सहज ढंगमा अतिरिक्त कक्षाको व्यवस्था गर्न सक्ने रहेछ।

बहुभाषिकताको अभ्यास खण्डमा मैले केही जटिलता पाएँ किनकि पहिलो भाषालाई माध्यम बनाउन सकिएको रहेनछ। जस्तो, बहुसंख्यक विद्यार्थीको मातृभाषालाई बेवास्ता गरी काठमाडौं महानगरपालिकाले नेवार भाषालाई विषयको रूपमा पढाउने व्यवस्था गरेको रहेछ। विद्यार्थीमा मातृभाषाको विकास तथा विस्तारका लागि लिपि सिकाउनुपर्ने रहेछ। शब्दकोश बनाउने, बहुभाषी पाठ्यसामग्री बनाउने जस्ता काम शिक्षक स्वयंले गर्न सक्ने रहेछौं। हरेक भाषा स्वयंमा एउटा चिन्तन र ज्ञान प्रणाली रहेछ। भाषाको लोपसँगै ज्ञान र चिन्तन पनि लोप हुने रहेछ भन्ने कुराको बुझाइ भयो। त्यसैले, भाषामा जति राम्रो दख्खल भयो त्यति नै विषयवस्तु राम्रोसँग सम्प्रेषण गर्न सकिन्छ र यसलाई अवसरको रूपमा लिन सकेमा राम्रो हुने रहेछ भन्ने जानकारी भयो। भाषालाई बोझ्को रूपमा लिने बानी भएकाहरूलाई मात्र भाषा सिक्न सिकाउन कठिनाइ हुने रहेछ भन्ने महसूस भयो। यस खण्डको अभ्यासबाट मैले निम्न कुरा जरूरी ठानें: 
- मातृभाषालाई माध्यमको रूपमा शिक्षण सिकाइ गर्ने/गराउने काम सबै शिक्षकले गर्न सक्ने रहेछौं।
- भाषालाई विषयको रूपमा सिकाउँदा इच्छाधीन बनाउनुपर्ने रहेछ।
- विद्यार्थीलाई एकअर्काको भाषा सिक्ने वातावरण तयार गरिदिए हुने रहेछ। 

शिक्षणकलाको प्रयोग खण्डमा म सबल देखिएकी छु। विभिन्न स्रोत र अनुभवबाट सिकी, रैथाने तथा आधुनिक सीप, ज्ञान, विज्ञान वा प्रविधिको प्रयोग, विज्ञसँग सहकार्य र परम्परागत तथा आधुनिक प्रविधिको प्रयोग, शोध अनुसन्धान, पोर्टफोलियो निर्माण, नतिजा विश्लेषण, पृष्ठपोषण, विद्यार्थीकेन्द्रित शिक्षण, परियोजना कार्य, सिर्जनात्मक कार्य, विद्यार्थीहरूको रुचि र क्षमता विद्यालय बाहिर कस्तो छ र के गर्दै रहेछु भन्ने कुरा आफैंले नियाल्न सकें। स्थानीय तहमा उपलब्ध स्रोत-साधनको प्रयोग, पठन संस्कृति विकासको लागि अतिरिक्त किताब पढ्नुपर्ने व्यवस्था आदि जस्ता कार्यहरू हामीले गरिरहेका रहेछौं भन्ने कुराको महसूस गरें । यसमा अझै थप गर्न सकिने क्षेत्रहरूको पनि पहिचान गरें। ती हुन्ः
- सम्बन्धित ठाउँको अवलोकन।
- विद्यार्थीलाई कक्षाकोठामा सक्रिय सहभागिता गराउने।
- पाठ्यक्रमसँग जोडी परियोजना कार्य निर्माण गर्न लगाउने।

सिकाइ व्यवस्थापन खण्डमा सिकेका कुरा कक्षाकोठामा लागू गर्ने; शैक्षिक, आर्थिक, राजनैतिक, धार्मिक गतिविधिले वातावरण विथोलिन नदिने, विद्यार्थीलाई समुदायमा गई सिक्न लगाउने, अनुसन्धान, परियोजना गर्न लगाउने, सामजिक भावनाको विकास गराउने, शैक्षिक सामग्री, विद्यार्थीको प्रोफाइल, अभिभावक भेला विद्यार्थीको चाहना अनुरूपको शिक्षण, स्थानीय तह, सम्बन्धित निकायबाट अनुगमन, सबैसँग सिक्ने वातावरण तयार गर्ने र सिद्धान्तलाई व्यवहारमा उतार्ने जस्ता पक्षहरू छन्। यो खण्डमा– म सबल देखिएँ । यसमा मेरो सिकाइ के रह्यो भने बाहिरी वातावरणले विद्यालय भित्र हानि हुन नदिनुपर्ने रहेछ । एकअर्कासँग आपसी सहयोग र सद्भावले सिकाइलाई पूर्णता दिन सकिने रहेछ । यो क्रममा मैले देहायका कुरा महसूस गरेंः 

क)    शिक्षकको दायित्व के हो ?
ख)    विद्यार्थीको चाहना के हो ?
ग)    दुवै पक्षलाई समेटेर। 

परिणामको सुनिश्चितता खण्डमा आफूले पढाउने विषयको गुणस्तरको जिम्मा आफैंले लिने, निरन्तर आवधिक मूल्याङ्कन गर्ने, सरदर प्राप्ताङ्कको वार्षिक लक्ष्य, प्रअ, सबै शिक्षक, विव्यससँग सुझाव लिने, गुणस्तरको मापन मूर्त बनाउने, गुणस्तर नपुगेका बालबालिकालाई थप सहयोग गर्ने, शिक्षा र शिक्षणमा व्यावहारिकता जोड्ने, पालिकाभरिको एउटै प्रश्न निर्माण गरी न्यूनतम शैक्षिक गुणस्तर कायम गर्ने, विद्यार्थीको ग्रेडिङ गरेर प्रश्नहरू फेरबदल गर्ने, कमजोर विद्यार्थीको लागि विशेष व्यवस्था गर्ने जस्ता काम गर्नैपर्ने रहेछ भन्ने जानकारी पाएँ। यो खण्डको भराइले मलाई आफूले सुधार गर्नुपर्ने पाटा पनि छर्लङ्ग देखाएको छ। व्यावहारिक ज्ञान सँग जोडिने प्रश्न निर्माण गर्नुपर्ने रहेछ भन्ने कुरा सिकाएको छ।

विद्यार्थीको पोर्टफोलियो बनाएको छ भने यी कुराहरूमा धेरै सहज हुने र कमी-कमजोरी पत्ता लगाई त्यसको उपाय गर्न सकिने रहेछ। यस क्रममा मैले केही थप प्रश्न पनि मनमा राखें । ती प्रश्नहरू थिएः

- ग्रीड अनुसार प्रश्नपत्र निर्माण छ/छैन,
- प्रश्नपत्र निर्माणको तालिम छ/छैन,
- सबै पालिकामा एकै खालको प्रश्नपत्र छ/छैन,
- रिमेडियल क्लासले बालबालिकाको स्तरोन्नतिमा सहयोग भएको छ/छैन।

पेशागत तालिम खण्डमा मैले तालिममा सिकेका कुरा कक्षाकोठामा अवलम्बन गरेको, पुस्तक लेख्ने, लेख रचना लेख्ने, एकीकृत शिक्षण सिकाइ, प्रविधिको प्रयोग, हरेक सिकाइलाई गम्भीरतापूर्वक लिई कक्षाकोठामा अवलम्बन गरेको, विभिन्न संघ-संस्थाहरूसँग सहकार्य गरी तालिमको आयोजना गर्ने गरेको जस्ता कामहरू असल रहेछन् भन्ने कुराको अनुभूति गरें। यो खण्डमा शिक्षकहरूले आफूलाई समयसापेक्ष परिवर्तन गर्दै लैजानुपर्ने प्रविधिमैत्री तालिमप्राप्त शिक्षक भएर विद्यार्थीको माझ्मा सिकेका कुरा प्रस्तुत गर्नुपर्ने व्यावहारिक शिक्षा लगायत एकीकृत शिक्षणमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित ९क्त्भ्ब्ः० लाई जोड्दै जानुपर्ने र सोको जानकार सबै शिक्षक हुनुपर्ने रहेछ भन्ने कुराको महसूस गरें।

यो खण्डको भराइबाट मैले थप सिक्नुपर्ने रहेछ। सबै शिक्षकले आफूले पढाउने विषयवस्तुमा दैनिक पाठयोजनालाई विद्यार्थीको दैनिकीसँग जोडेर लैजानुपर्दछ भन्ने कुराको अनुभूति गरें।

नेतृत्व र नैतिकता खण्डमा विद्यार्थी र अभिभावकले कस्तो शिक्षक अपेक्षा गरेको छ ? आफू त्यसमा फिट छ वा छैन ? उपयुक्त पोशाक, हँसिलो व्यवहार, योग, ध्यान र सरसफाइमा ध्यान दिने, पोषिलो खानेकुरा खानुपर्छ भन्ने ज्ञान दिने, मादक पदार्थ गलत चिज हो भन्ने अनुुभूति छ वा छैन ? आफ्नो जीवनशैली विद्यार्थीको जीवनमा सन्देश दिने खालको छ/छैन ? शिक्षक हुनुमा गर्व गर्छ गर्दैन ? विद्यार्थीलाई भविष्यमा शिक्षक बन्न प्रेरित गर्छ गर्दैन ? गलत र सही पहिचान गरी एकनाशको व्यवहार गर्ने बानी छ÷छैन जस्ता कुराहरूमा मलाई सचेत बनाएको छ। यो खण्ड भर्दा म सन्तुष्ट भएर उत्तर दिएकी छु।

वास्तवमै शिक्षकहरू ऐना हौं। जसमा विद्यार्थीले राम्रा कुराहरू मात्र सिकुन् । शिक्षकले आफ्नो छवि इमानदार, नैतिकवान, हँसिलो र व्यक्तित्व आकर्षित बनाउनुपर्दछ जसको छवि विद्यार्थीमा रहन्छ र शिक्षक बन्न प्रेरित गर्दछ। सदा आँखामा सम्मान रहिरहोस् भन्ने शिक्षकको आचरण हुनुपर्छ भन्ने सिकाइ यो खण्ड भर्नाले भयो।

वातावरणीय चेतना र विश्व नागरिकता खण्डबाट मैले पृथ्वी मानव जातिको साझ घर हो भन्ने धारणा बनाएँ। आधुनिक उपाय अपनाएर वातावरण संरक्षण गर्न विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिहरूको संलग्नता सचेतना जगाउने सोच पाएँ । वातावरण विनाशले पार्ने प्रभाव, जातजाति, धर्म सबै समान हुन् भन्ने सन्देश प्रभाव गर्ने, उपभोग घटाउने, उपभोग्य सामग्रीको पुनः प्रयोग र प्रशोधन गर्ने; गाँस, बास र कपासको जोहो गर्ने, स्थानीय सीपहरू सिक्न अभ्यास गर्ने, विश्व संकट सामना गर्न पूर्व तयारीका रूपमा अभ्यास गर्ने वा न्यूनतम जानकारी राख्ने जस्ता कुराहरू सबै विद्यार्थीमा दिनुपर्ने रहेछ भन्ने कुराको सन्देश पाएँ । यस क्रममा मैले विद्यार्थीलाई-
- डढेलो लगाउन नहुने,
- डढेलोले निम्त्याउने विनाशको जानकारी हुनुपर्ने,
- रूख, बोटबिरुवा जगेर्ना गर्नुपर्ने,
- पानीका मुहानहरू सुरक्षित र संरक्षित गर्नुपर्ने,
- खेर गएको सामग्रीको पुनः प्रयोग गर्न क्रियाशील बनाउने।

वायु प्रदूषण, ध्वनि प्रदूषण, फोहोरमैला बारे सचेतना जगाउने जस्ता कुरा अनिवार्य रूपमा अभ्यास गराउनुपर्ने रहेछ भन्ने अनुभूति गरें। 

योजक बन्ने-बनाउने सक्षमता खण्डमा मैले हरेक विषयलाई बहुविषयक र अन्तर विषयकको रूपमा हेरिनुपर्ने, भौगोलिक तथा ऐतिहासिक, आफूले गरेको कार्य अरूले कसरी मूल्याङ्कन गर्दै छ/छैन, राजनैतिक, विपरीत विचारधाराहरूबाट सार निकाली योजकको काम गर्ने, विद्यार्थीको एकअर्काको विचारको सम्मान गर्न सिके सिकाएको छ/छैन ? नकारात्मक देखिएको घटना तथा व्यवहारमा पनि सकारात्मक खोज्ने अभ्यास गरे/गराएको छ/छैन ? यात्रामा साथी हुँदा सहज हुने कुरा महसूस गरेको छ÷छैन जस्ता कुराहरूमा विद्यार्थीलाई अभ्यस्त गराउनु जरूरी छ भन्ने यथार्थपरक जानकारी प्राप्त गरें । यसले शिक्षक, विद्यार्थीको सम्बन्ध, समाज सँगको सम्बन्ध, राजनैतिक आस्था, विचार, धर्म, जातजाति सबैको सम्मान हुनुपर्छ भन्ने मान्यता स्थापित गर्दाे रहेछ भन्ने बुझे‌‌‌। यो कुरा हामी शिक्षकले विद्यार्थी माझ् पुर्‍याउनुपर्छ र सकारात्मक बन्ने प्रेरणा जगाउनुपर्दछ भन्ने कुराको अनुभूति गरें।

प्रतिभा व्यवस्थापन खण्डमा प्रतिभावान् विद्यार्थीको पहिचान, उनीहरूको ज्ञान, सीप, प्रविधि, पैसा तथा स्वयं युवालाई विद्यालय तथा पालिकाको हितमा प्रयोग गर्ने र रोजगारीका सम्भावना खोज्न सम्पूर्ण निकायहरूसँग सहकार्य गर्ने, अक्षय कोषको स्थापना, अन्तर विद्यालय प्रतिभाको विकास, डिजिटल ननडिजिटल सञ्जाल, प्रचार-प्रसार, प्रतिभा पहिचान गरी पुरस्कृत गर्ने जस्ता विविध पक्षहरू समेटिएको छ। यसबाट मैले पनि धेरै कुरा थाहा पाएँ । तीमध्ये धेरै कार्यहरू पनि गरेको रहेछु भन्ने अनुभूति गरें। संघ-संगठनसँग हातेमालो गरेर गरेका कार्यहरूको प्रचारप्रसार गर्नुपर्ने रहेछ भन्ने महसूस गरें । विभिन्न महानुभावहरूलाई अक्षय कोषको स्थापना गर्न प्रोत्साहित गर्नुपर्ने जसबाट विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुने रहेछन् भन्ने कुरालाई मूर्तरूप दिने निर्णय पनि गरें।

अन्त्यमा सम्बन्धित तह पढाउन सक्षम छु कि छैन ? मेरो विज्ञता, औपचारिक शिक्षा पुग्छ कि पुग्दैन, विद्यार्थीलाई नयाँ प्रविधिको प्रयोग गरी कसरी शिक्षण गर्न सकिन्छ भन्ने प्रश्नले आफू कहाँ छु भन्ने जानकारी पनि प्राप्त भयो।

हामी कस्ता शिक्षक हौं। हामी कहाँ छौं ? हाम्रो औपचारिक शिक्षा पुग्छ पुग्दैन ? आदि जस्ता प्रश्नहरूले शिक्षक हुनु र आफूले गर्नुपर्ने दायित्व के हो भन्ने बोध गरायो । साथै, आफूले अहिलेसम्म के गरें र के गर्न बाँकी छ ? विद्यार्थीलाई कस्तो शिक्षण गरिरहेको छु र विद्यार्थीले के खोजिरहेको छ भन्ने कुराको पनि अनुभूति गर्न सकें। म कहाँ चुकिरहेको छु र के गर्न सकें वा सकिनँ भन्ने कुरा पनि आफैंमा प्रष्ट पारेको छ । शिक्षक आफू चौतर्फी ज्ञान भएको हुनुपर्ने, समय अनुरुप चल्न सक्नुपर्ने, विद्यार्थीको रुचि, क्षमता अनुरूप शिक्षण गर्नुपर्ने, विभिन्न विधिको प्रयोग गरी शिक्षण गर्नुपर्ने जस्ता यावत् कुराहरूले आफ्नो राम्रो पक्ष र कमजोर पक्ष उजागर गरेको छ भन्ने कुरामा जानकार भएँ। यो फारम भर्दा म आफू कहाँ छु, कस्तो शिक्षा दिइराखेको छु र अझ् के सुधार गर्नुपर्छ भन्ने कुरामा आफैं छर्लङ्ग भएँ । यसरी बेला-बेलामा स्वमूल्याङ्कन गर्दा आफ्नो सबल र दुर्बल पक्ष बारे जानकारी पाइने रहेछ । आफूलाई परिमार्जित गर्दै लैजान पनि सहज हुने रहेछ।  

यो पनि पढ्नुहोस्

सीइपीपीको संयोजन र प्रा.डा. विद्यानाथ कोइरालाको अगुवाइमा निर्मित शिक्षक-सक्षमता स्वमूल्याङ्कन प्रश्नावली-२०८१

आफ्नो क्षमता आफैं जाँचौं !

commercial commercial commercial commercial