डाक्टर बन्ने रहर !

मेरो बुवा सेनामा जागिरे हुनुहुन्थ्यो। पछि प्रहरीतिर जानुभयो। आमा-बुबा काठमाडौंमा बस्नुहुन्थ्यो। २०१२ सालमा म काठमाडौंको डेरामै जन्मिएँ। हाम्रो घर चाहिं सिन्धुपाल्चोकको पेट्कु गाउँमा थियो। अहिले यो लिसङ्खु-पाखर गाउँपालिकामा पर्छ। म अहिले पनि मतदान गर्न त्यहीं पुग्छु। उतिबेला हाम्रो गाउँमा विद्यालय थिएन। २०१६ सालतिर बुबाको सरुवा चौतारामा भयो र म त्यहींको एउटा विद्यालयमा भर्ना भएँ। त्यहाँ कक्षा-३ सम्म पढेपछि बुबा रामेछापमा सरुवा हुनुभयो। हामी पनि उतै लाग्यौं। म रामेछापको साँघुटारको हिमगङ्गा स्कूलमा कक्षा-४ मा भर्ना भएँ। त्यहाँ एक वर्षजति पढें हुँला। त्यत्तिकैमा बुवा अवकाश हुनुभयो र म पनि उहाँसँगै गाउँ फर्किएँ।

त्यसपछि मलाई बुवाले पढ्न काठमाडौं पठाइदिनुभयो । म गणबहालस्थित नेपाल आदर्श विद्यालयको कक्षा-५ या ६ मा भर्ना भएँ। यो २०२० सालतिरको कुरा हो। त्यहाँ गाउँका एक जना मानिसको डेरा थियो। म उनीसँगै बस्थें। त्यो कलिलो उमेरमा अभिभावकीय निगरानी नपुगेर होला, पढाइप्रति मेरो उति ध्यान गएन। विद्यालय पनि मन लागे जाने, नलागे नजाने आदत बस्यो। एक किसिमले म ‘आवारा’ जस्तो देखिन थालेको थिएँ। अन्ततः बुवाले मलाई गाउँमै फर्काउनुभयो।

त्यसपछि लामो समयसम्म स्कूलसँगको मेरो नाता टुट्यो। उकाली-ओराली, खेतीपाती, दाउरा-घाँस र वस्तुभाउमा दैनिकी बित्न थाल्यो। गोठमा सुत्ने; बिहान उठेर गोबर सोहोर्ने र दिउँसो घाँस काट्ने मेरो दिनचर्या थियो। गोठबाट फर्कंदा घरमा ढिंडो कक्रक्क परिसकेको हुन्थ्यो। जसोतसो त्यही खानुपथ्र्यो। चामलको भात देख्न चाडबाड नै आउनुपथ्र्यो । म त्यति बलियो थिइनँ। ज्यान लिखुरे थियो। यसरी तीन-चार वर्ष दुःख गरेपछि बल्ल मलाई बोध भयोः ‘सधैं यसरी जिन्दगी चल्दैन, यो दुःखबाट मुक्ति पाउन पनि मैले पढ्नैपर्छ !’ 

२०२६ सालतिर म आमाको साथ लागेर फेरि काठमाडौं आएँ। त्यतिबेला मेरा मामा लगनखेलमा बस्नुहुन्थ्यो। मामा डेरा बसेको घरमा रहेका किताबमा मेरो नजर प¥यो। ती किताब ओल्टाईपल्टाई हेर्न थालें। किताबप्रतिको रुचि देखेर घरबेटीले मेराबारे सोधीखोजी गर्न थाले। आमाले मेरो विगतको नालीबेली उहाँलाई सुनाइदिनुभयो। घरबेटीले भने, “यस्तो किताब पढ्न रुचाउने केटोलाई यत्तिकै राखेर हुँदैन। यसलाई तुरुन्तै स्कुल भर्ना गरिदिनुपर्छ।” घरबेटीको प्रस्तावमा आमा पनि मञ्जुर हुनुभयो। म मामासँगै बसेर पढ्ने भएँ। पहिले कक्षा-६ सम्म पढिसकेकोले मलाई अब नजिकैको त्रिपद्म विद्याश्रममा कक्षा-७ मा भर्ना गरिदिने सल्लाह भयो। तर, कक्षा-७ मा सीट खाली थिएन । त्यसपछि मलाई एक वर्ष टपाएर कक्षा-८ मा राखियो । विगतमा टुटेको स्कूलसँगको मेरो नाता फेरि गाँसियो। 

त्यसपछिका तीन वर्ष मैले त्रिपद्म विद्याश्रममै बिताएँ । आफ्नै मूल्याङ्कनमा म औसत स्तरको विद्यार्थी थिएँ। न उम्दा, न त लद्दु नै। पाठ्यपुस्तक बाहेकका सामग्रीमा मेरो बढी रुचि थियो। खासगरी उपन्यास र पत्रपत्रिका पढ्न मन पराउने। काठमाडौंका पुस्तकालयतिर धाउने। पत्रपत्रिकामा देश-विदेशका घटना र खबर पढ्न पनि औधी रमाइलो लाग्थ्यो। तर कक्षा-६ बाट सीधै कक्षा-८ पढ्नुपर्दा मलाई कोर्स छिचोल्न त्यति सहज भएन । झन्, पाठ्यपुस्तकमा केन्द्रित नभएका कारण एसएलसी परीक्षामा मैले राम्रो नतिजा ल्याउन सकिनँ ।

डाक्टर बन्ने हुटहुटी
कक्षा ८ मा पढ्दैगर्दा एक पटक असाध्यै पेट दुखेर अस्पताल भर्ना भएको थिएँ । त्यहाँ मलाई जाँच्न आउने डाक्टरको व्यक्तित्वबाट म निकै प्रभावित भएँ । हेर्दै स्मार्ट, सफा सेतो कोटमा चिटिक्क परेका। घाँटीमा ‘स्टेथोस्कोप’ झुन्ड्याएका। त्यो दृश्य देखेदेखि मेरो मनमा पनि डाक्टर बन्ने रहर पलाएको थियो। तर, जब २०२८ सालको एसएलसीको नतिजा आयो, त्यसले खिस्रिक्क पा¥यो । म त तेस्रो श्रेणीमा पो पास भएछु ! डाक्टरी पढ्न आईएस्सी गर्नैपथ्र्यो । आईएस्सीमा भर्ना हुन कम्तीमा पनि ‘सेकेन्ड डिभिजन’मा एसएलसी पास हुनुपर्ने । तैपनि गाउँदेखि आएर सीमित स्रोत र अवसरमा पनि एकै पटकमा एसएलसी पास भएकोमा सन्तोक नै मानें। पाटन क्याम्पसमा अर्थशास्त्र र राजनीतिशास्त्र विषय लिएर आईएमा भर्ना भएँ। तर मलाई यो पढाइप्रति उति लगाव भएन । त्यही भएर आईएमा एक पटक मलाई ‘ब्याक’ समेत लाग्यो। 

आईए पढिरहँदासम्म पनि मेरो मस्तिष्कमा डाक्टर बन्ने धुन गुञ्जिन छाडेको थिएन। ब्रिटिश काउन्सिल र अरू पुस्तकालयमा गएर मेडिकल सम्बन्धी किताबहरू नियमित पढिरहन्थें । त्यतिबेला ‘नयाँ शिक्षा योजना’ लागू हुँदैथियो । त्यो योजनाले प्रमाणपत्र तहमा केही नयाँ विषयका सङ्काय/संस्थान खोल्ने अवधारणा अघि सा¥यो। त्यही क्रममा त्रिविअन्तर्गत ‘चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)’ स्थापना भयो । त्यो संस्थानले प्रमाणपत्र तहमा हेल्थ असिस्टेन्ट, ल्याब, रेडियोग्राफी, फार्मेसी जस्ता कार्यक्रम ल्यायो। मैले हेल्थ असिस्टेन्ट (एच.ए.) तर्फ आवेदन दिएँ। स्वास्थ्य क्षेत्रप्रतिको अध्ययन, रुचि र लगाव भएकै कारणले मलाई प्रवेश परीक्षा उत्तीर्ण गर्न गाह्रो भएन। म अन्तर्वार्ताको निम्ति छनोट भएँ । उतिबेला विद्यार्थीलाई ‘राष्ट्रिय सेवा दल’मा आबद्ध गराएर नेपाली सेना मार्पmत स्वयम्सेवी कोर्स गराइन्थ्यो। म पनि त्यसमा आबद्ध थिएँ । त्यही कोर्सको ‘फिल्ड भिजिट’कै अवधिमा यता मेरो अन्तर्वार्ता प¥यो, म उपस्थित हुन सकिनँ। 

दोस्रो पटक फेरि एचएको प्रवेश परीक्षा दिएँ । यस पटक पनि म अन्तर्वार्ताको निम्ति छनोट भएँ र दिएँ पनि। तर, सफल हुन सकिनँ । अन्तर्वार्ताको समयमा म औपचारिक पोशाकमा थिइनँ। हाफ टिसर्ट लगाएको थिएँ । उसै त दुब्लो मान्छे, त्यसमाथि कपाल पालेर जिङ्ग्रिङ्ग देखिएको थिएँ । शायद मेरो त्यही ‘गेटअप’का कारण अन्तर्वार्तामा फेल भएँ कि भन्ने अनुभूति मलाई भयो । एचए पढ्ने मेरो रहरमा दोस्रो पटक ‘ब्रेक’ लाग्यो। 

त्यहीबेला, उता मेरो छिमेकी गाउँमा स्वीस सरकारको सहयोगमा ‘एकीकृत ग्रामीण विकास सम्बन्धी कार्यक्रम’ सञ्चालन हुँदैथियो । त्यो प्रोजेक्टमा मैले दोभाषेको रूपमा काम गर्ने अवसर पाएँ । दोभाषेको काम गर्दा मैले महीनाको रु.४-५ सय तलब पाउथें । तर त्यो काम मैले धेरै गरिनँ । मेरो रोजाइमा स्वीस प्रोजेक्टले चलाएको क्लिनिक प¥यो । म क्लिनिक सहायक भएर काम गर्न थालें । तलब घटेर डेढ सयमा झ्¥यो । तर पनि मैले त्यहाँ लगनका साथ काम गरें कि छोटो समयमै बिरामीको घाउ सफा गर्ने मात्र होइन, खोप लगाउन पनि सिपालु भएँ । जबकि, क्लिनिक सहयोगीको काम बिरामीको नाम टिप्नु, औषधि बाँड्नु र सरसफाइ गर्नु मात्र हुन्थ्यो । तर, त्यत्रो उत्साहका साथ त्यहाँ काम गर्नु र सिक्नुको कारण थियो- डाक्टर पढ्ने आफ्नो पुरानो सपना साकार पार्ने संकल्प। स्वीस–प्रोजेक्टले दिने अनुभवको प्रमाणपत्रले एचएको निम्ति हुने अन्तर्वार्तामा मद्दत गर्ने मेरो विश्वास थियो । हुन पनि त्यस्तै भयो । त्यही क्लिनिकमा काम गर्दागर्दै तेस्रो पटकमा एचएको प्रवेश परीक्षामा उत्तीर्ण भएँ । यसपटक अन्तर्वार्ताको दिन म ‘फर्मल ड्रेस’मा उपस्थित भएँ । स्वीस प्रोजेक्टको स्वास्थ्य सम्बन्धी कार्यक्रमको अनुभवको प्रमाणपत्र पनि प्रस्तुत गरें। अन्ततः ‘हेल्थ असिस्टेन्ट’ को कोर्स पढ्न म छानिएँ।

यो २०३२ सालको कुरा हो। आफ्नो रहर पूरा भएकोमा मभित्र खुशीको सीमा नै थिएन । त्यसपछि मेरो पढाइको वेग शुरु भयो । म खुब मिहिनेत गर्न थालें । कोर्सको गहिराइमा चुर्लुम्म डुबेको जस्तो महसुस हुन्थ्यो । पढाइप्रतिको त्यो स्तरको लगाव त्यसअघि ममा कहिल्यै थिएन । तीन वर्षमा एचए कोर्स पूरा गरें । नुवाकोटको खरानीटार र दोलखाको बोंचस्थित स्वास्थ्य चौकीमा एक वर्ष काम गरें। त्यति नै बेला नेपालमा पनि चिकित्साशास्त्र अध्ययन संस्थानले महाराजगञ्ज क्याम्पसमा एमबीबीएस कार्यक्रम शुरु ग¥यो । त्यो कोर्र्सको निम्ति एचए सकेर एक वर्ष फिल्डमा काम गरेको अनुभव चाहिन्थ्यो । यी दुवै योग्यता मसँग थिए। सन् १९७९ मा मैले एमबीबीएस कार्यक्रममा भर्ना हुन पाएँ । म त्यो कार्यक्रमको दोस्रो ब्याच थिएँ ।
आईओएममा एमबीबीएसको कार्यक्रम शुरु हुँदा भौतिक पूर्वाधारको अवस्था सबल थिएन । पढाउने जनशक्ति सीमित थिए । यस्तो वातावरणमा यो कार्यक्रम कसरी सफल होला ? गतिला डाक्टर कसरी निस्केलान् ? भन्ने आशंका व्याप्त थियो । त्यस्तो चुनौतीका माझ् हामीले निकै मिहिनेत गरेर पढ्यौं। त्यस्तोे आशंकालाई चिर्न पनि ‘सफल हुनैपर्छ’ भन्ने इख हामीमा थियो । अन्ततः मैले सन् १९८५ मा एमबीबीएस उत्तीर्ण गरें । 

एमबीबीएसपछि कसरी जतिसक्दो छिटो ‘विशेषज्ञ डाक्टर’ बन्ने जोश सबैलाई हुन्छ, जुन मलाई पनि थियो । तर त्यतिबेला नेपालमा विशेषज्ञ कोर्स (मास्टर्स तह) शुरु भइसकेको थिएन । हामीमध्ये केही साथीहरू एमडी कोर्सका निम्ति बङ्गलादेश गयौं । एक महिना पढेपछि, त्यहाँको पढाइ चित्त नबुझ्ेर छाडिदिएँ । त्यतिबेला म शिक्षण अस्पताल, महाराजगञ्जमा चिकित्सकको रूपमा कार्यरत थिएँ । देशमा प्रजातन्त्र पुनस्र्थापनाको निम्ति भएको २०४५ सालको जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका कारण त्यसको सफलतामा हामीलाई ठूलो गर्व थियो । त्यसको लगत्तै सन् १९९१ मा म स्वीडेनको लुन्ड विश्वविद्यालय अन्तर्गत मेडिकल सम्बन्धी अनुसन्धानमा संलग्न रहें । एक वर्ष स्वीडेन बसेपछि मैले त्यहींबाटै अमेरिकामा विशेषज्ञ कोर्सको प्रवेश परीक्षा (यूएसएमएलई) उत्तीर्ण गरें र सन् १९९३ मा अमेरिका गएँ । अमेरिकामा मैले स्टेट युनिभर्सिटी अफ न्यूयोर्कबाट तीन वर्ष ‘इन्टरनल मेडिसिन’ र ब्राउन युनिभर्सिटीबाट अर्को तीन वर्ष फोक्सो रोग र क्रिटिकल केयर सम्बन्धी विशेषज्ञ कोर्स पूरा गरें । त्यसपछि मलाई अमेरिकामै बसिरहने रहर लागेन । नेपालको चिकित्सा शिक्षामा केही नयाँ काम गर्ने ध्येय लिएर म सन् १९९९ मा स्वदेश फर्किएँ । 

...र, जन्मियो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
अमेरिकाबाट फर्केपछि सन् २००० को अन्त्यतिर म काठमाडौं विश्वविद्यालय (केयू)सँग जोडिन पुगें । हाम्रो एउटा समूह नै केयूमा आबद्ध भयो । त्यतिबेला ‘केयू स्कूल अफ मेडिकल साइन्सेज’बाट पाँच वटा मेडिकल कलेजले सम्बन्धन लिइसकेका थिए । तर केयूको आफ्नै आङ्गिक मेडिकल क्याम्पस थिएन ! पहिलो एजेन्डा त विश्वविद्यालयमा आङ्गिक क्याम्पस स्थापनाकै थियो । त्यसबाहेक गुणस्तरीय मेडिकल शिक्षाको निम्ति अन्य एजेन्डा सहितको अवधारणापत्र हामीले विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. सुरेशराज शर्मालाई दियौं। 


त्यो अवधारणापत्रमा- ‘विश्वविद्यालयले डाक्टर उत्पादन गरेर मात्र हुँदैन । उनीहरूलाई दूरदराज र आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट विमुख रहेका समुदायसम्म पुगेर सेवा दिनसक्ने पनि तुल्याउनुपर्छ’ भन्ने हाम्रो सोचाइ थियो। ‘प्राविधिक रूपमा सक्षम र सामाजिक दृष्टिले उत्तरदायी’ मनोवृत्तिको चिकित्सक तयार गर्ने गरी मेडिकल शिक्षाको जग बसाल्नुपर्छ भन्ने हाम्रो मूल ध्येय थियो । त्यसताका नेपालमा शहर र गाउँबीचको स्वास्थ्य सेवामा ठूलो विभेद थियो, जुन अहिले पनि छ । केयू पढेका डाक्टरले त्यस्तो विभेद खेपेको समुदायमा पुगेर उसले पेशागत धर्म निर्वाह गर्नुपर्ने हुन्छ। भर्खरको युवालाई एउटा सक्षम चिकित्सक बनाउन समाजले पनि ठूलो मूल्य चुकाएको हुन्छ। समाजले लगाएको त्यो गुन हरेक डाक्टरले तिर्नुपर्छ भन्ने सिद्धान्तमा हामी अडिग थियौं। 

हाम्रो अवधारणाप्रति विश्वविद्यालय नेतृत्वले प्रतिबद्धता जनायो । त्यही अवधारणाबाट निर्देशित भएर हामीले पाठ्यक्रम परिमार्जन ग¥यौं । ‘समस्यामा आधारित सिकाइ (पीबीएल)’ भनिने नवीनतम शिक्षण विधिबाट सन् २००१ मा केयूमा एमबीबीएस कार्यक्रम शुरु भयो । तर पछि विस्तारै विश्वविद्यालय नेतृत्व आफ्नो प्रतिबद्धताप्रति विचलित हुन थाल्यो। उहाँहरूसँग सैद्धान्तिक र अवधारणागत मतभेद भयो र दुई वर्षपछि हाम्रो टीम काठमाडौं विश्वविद्यालयबाट अलग भयो । हामी त्यहाँ चिकित्सा शिक्षाको नवीन विचार, सिद्धान्त र मान्यता प्रवद्र्धन गर्न गएका थियौं, न कि जागिरको निम्ति।

केयूबाट अलग भए पनि चिकित्सा शिक्षामा केही नौलो काम गर्नैपर्छ भन्ने लक्ष्यबाट हामी विमुख भएनौं। त्यही एजेन्डालाई सार्थक तुल्याउन पाटन अस्पतालमा नयाँ ‘मेडिकल कलेज’ स्थापना गर्ने निचोडमा हामी पुग्यौं । व्यवस्थापकीय र साङ्गठनिक हिसाबले त्यो एजेन्डाको अगुवाइ मैले गरेको थिएँ । संयोगवश त्यतिबेला म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य उपचार टीममा पनि संलग्न थिएँ । त्यो प्रस्ताव मैले उहाँलाई सुनाएँ र उहाँले तुरुन्तै स्वीकार पनि गर्नुभयो । अन्ततः २०६४ सालमा ‘पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान’ जन्मियो । प्रतिष्ठानको पहिलो उपकुलपतिको जिम्मेवारी मेरो काँधमा आयो ।

२०६७ सालदेखि पाटनमा एमबीबीएसको पठनपाठन शुरु भयो। विद्यार्थीको प्रवेश परीक्षालाई नै हामीले अन्यत्रभन्दा पृथक् र सिर्जनशील बनायौं । परीक्षामा तिनले प्राप्त गर्ने अङ्कलाई मात्र भर्ना छनोटको आधार बनाइएन । त्यो विद्यार्थी असल चिकित्सक बन्न योग्य छ÷छैन भनेर उसको ‘एप्टिच्युड टेस्ट (मनोवृत्ति परीक्षण)’ गर्ने पद्धति पनि स्थापित ग¥यौं । त्यसबाहेक पाठ्यक्रम र शिक्षण विधि नवीन अवधारणामा आधारित भएर तयार ग¥यौं । यो प्रतिष्ठानबाट हालसम्म एमबीबीएसका १४ ब्याचमध्ये आठवटा ब्याच डाक्टर बनिसकेका छन् । तीमध्ये करिब ५० प्रतिशत चिकित्सक नेपालका विभिन्न सरकारी अस्पतालमा सेवारत छन् । यो आफैंमा गर्व गर्न लायक उपलब्धि हो । 

नेपाल विश्वविद्यालयको अभियान 
गुणस्तरीय चिकित्सा शिक्षाको पदचिह्न पछ्याउँदै जाँदा हाम्रो समग्र उच्च शिक्षा प्रणालीमै ठूलो समस्या रहेको अनुभूति मलाई भयो । कक्षा १० पास हुनेवित्तिकै हामीले किशोर–किशोरीको कलिलो दिमागमा ज्ञानको फराकिलो जग बसाल्नुको सट्टा सङ्कुचित विज्ञताको भारी बोकाउन थालेछौं- ‘साइन्स’, ‘म्यानेजमेन्ट’, ‘आर्टस्’ वा अन्य विधागत क्षेत्रका नाममा । त्यसको नतिजा के देखिंदो रहेछ भने एउटा विषय पढेको व्यक्तिलाई अर्को विषयको आधारभूत ज्ञान नै नहुने ! अहिले हामी डिजिटल युगमा छौं । सूचना तथा सञ्चारप्रविधि मानव जीवनको आधारभूत अङ्ग बनिसक्यो । यसको ज्ञान सबैमा हुनु आवश्यक छ। अर्कोतर्पm मानव समाज, संस्कार, भाषा, संस्कृति र इतिहास जस्ता समाज विज्ञानका विषय उत्तिकै महŒवपूर्ण छन् । एक्काइसौं शताब्दीमा बाँच्ने हरेक व्यक्तिलाई मानव ज्ञानका प्रमुख क्षेत्रको आधारभूत ज्ञान हुनु आवश्यक छ । साथै, सिर्जनशील र जीवनपर्यन्त सिकाइको प्रवृत्तिलाई स्थापित गर्नु पनि उत्तिकै महत्वपूर्ण छ। 

हाम्रो जीवन बहुआयामिक छ। हामी एकातिर भूमण्डलीकरणबाट सिर्जित परिस्थितिसँग साक्षात्कार गर्दैछौं भने अर्कोतिर हाम्रो उच्च शिक्षा प्रणाली चाहिं ‘विषयगत घेरा’मा सीमित रहन पुग्यो । जुन एकदमै सङ्कुचित र एकाङ्की रहेको बोध हामीलाई भयो । यस्तो शिक्षाबाट हामीले व्यक्तिलाई न नैतिकवान् बन्न सिकायौं, न त समाज बुझने जिम्मेवार नागरिक नै तयार गर्न सक्यौं । पछिल्लो समय नेपाली समाजमा ‘देश बिग्रियो, खत्तमै भयो’ भन्ने भाष्य स्थापित छ। हो, मुलुकमा सुशासन छैन। राजनीतिक प्रणाली सही ‘ट्र्याक’मा छैन । तर शासन प्रणालीलाई सही दिशातर्पm अग्रसर गराउन देशका नागरिकले आफ्नो दायित्व कुशल ढङ्गले वहन गर्न सकेका छन् त ? पक्कै छैनन् । त्यस्तो जिम्मेवारी बोध गर्ने किसिमको समयसापेक्ष र मूल्यवान् शिक्षा हामीले प्रदान गर्नै सकेका रहेनछौं ! यो त गेसपेपर पढ्ने, कण्ठ पार्ने र पास गर्ने प्रवृत्तिको प्रतिफल पो रहेछ । 

तसर्थ, समाजको बहुआयामिक संरचनालाई बुझने, समाजप्रति जिम्मेवार, कर्मनिष्ठ, आलोचनात्मक चेत सहितको सक्षम नागरिक तयार गर्नु आजको आवश्यकता हो। तर विद्यमान शिक्षा प्रणालीबाट त्यस्तो नागरिक तयार हुने गुञ्जायस देखिएन। त्यसैले यस क्षेत्रमा सार्थक हस्तक्षेप गर्नैपर्छ भन्ने हामीलाई लाग्यो। त्यस्तो हस्तक्षेपको एउटा प्रस्थानबिन्दु भनेको उच्च शिक्षा नै हो भन्ने निचोडमा पुग्यौं । यसको निम्ति एउटा अलग्गै र पृथक् किसिमको विश्वविद्यालयको आवश्यकता हामीले देख्यौं। यसै सन्दर्भमा नयाँ विश्वविद्यालयको अवधारणा हामीले अगाडि सारेका छौं, जसको प्रस्तावित नाम हो- ‘नेपाल विश्वविद्यालय’। 

करीब ६ वर्ष अघिदेखि हामी नेपाल विश्वविद्यालयको अभियानमा समर्पित छौं । त्यसयता हामी यो विश्वविद्यालय सञ्चालनको मोडालिटी, पाठ्यक्रम, शिक्षण विधि, शिक्षक व्यवस्थापन लगायतका विषयमा सरोकारवालासँग प्राज्ञिक छलफल र बहस गर्दै आएका छौं। झ्न्डै तीन वर्षअघि ‘नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति’ गठन भयो। म यसको अध्यक्ष छु। डा. सूर्यराज आचार्य, डा. विपिन अधिकारी, डा. अमिना सिंह, डा. उत्तमबाबु श्रेष्ठ लगायत १४-१५ जनाको समूह छ। हामी सबै यो अभियानका स्वयम्सेवी हौं । नवलपुरको गैंडाकोटमा यो विश्वविद्यालय स्थापना गर्ने हाम्रो प्रारम्भिक तयारी छ। 

हाम्रो परिकल्पना अनुसार यो एउटा स्वायत्त, बहुविधागत र अनुसन्धानमुखी विश्वविद्यालय हुनेछ। स्नातक तहबाट पठनपाठन शुरु गर्ने हाम्रो योजना छ। ‘लिबरल आर्टस् एण्ड साइन्सेज’को सिद्धान्त र मान्यतामा आधारित प्राज्ञिक कार्यक्रम हाम्रो प्राथमिकता हो, जसले हाम्रा स्नातकहरूलाई जीवन र जगतका बहुआयामिक पक्ष र अन्तरसम्बन्धलाई गहिरो ढङ्गले बुझन र सामाजिक चुनौतीलाई समुचित एवम् सिर्जनात्मक तवरले सम्बोधन गर्न सक्षम तुल्याओस्। हाल यो विश्वविद्यालयको विधेयक संसद्मा विचाराधीन छ। यो विधेयक पारित भएपछि आवश्यक सबै तयारी पूरा गरेर दुई वर्षभित्र पठनपाठन शुरू गर्न सक्छौं भन्ने हाम्रो आत्मविश्वास छ। भौतिक पूर्वाधारको निर्माण, दक्ष र प्रतिबद्ध प्राध्यापकहरूको खोजी र छनोट, गुणस्तरीय शिक्षाप्रति विद्यार्थी, अभिभावक र अन्य सरोकारवालालाई आश्वस्त पार्नुपर्ने चुनौती हाम्रासामु छन्। हामीलाई विश्वास छ, यी सबै चुनौतीको सामना गर्दै मुलुकमा पृथक् धारको उच्च शिक्षा प्रणाली स्थापित गर्ने अभियानमा हामी सफल हुनेछौं। 

यो विश्वविद्यालय राष्ट्रको आवश्यकता हो। तयारी समितिमा रहेका पदाधिकारीको प्रयासले मात्रै यो अभियान सफल बन्न सक्दैन । यसमा सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत र सबै शिक्षाप्रेमी सरोकारवाला पक्षको सद्भाव र सहयोग आवश्यक छ । 

(डा. कार्की अहिले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिका अध्यक्ष हुनुहुन्छ।)

प्रस्तुतिः प्रमोद आयाम

commercial commercial commercial commercial