डिजिटल साक्षरता र डिजिटल नागरिकः शुरुआत विद्यालयबाटै

दुईवटा फरक-फरक तर अन्तरसम्बन्धित प्रसंगमा छलफल गरौं। राष्ट्रिय तथ्यांक अनुसार नेपालमा ७६.२ प्रतिशत जनसंख्या साक्षर छन्। उनीहरूलाई कम्तीमा सामान्य लेखपढ गर्न आउँछ। सीधा रूपमा हेर्ने हो भने स्मार्टफोन र सामाजिक सञ्जाल चलाउनेहरू पनि यिनै हुन्। हाम्रै वरिपरिका हामीभन्दा धेरै उमेर समूहका व्यक्तिहरूलाई हेरौं। उनीहरू फेसबुक, युट्युब राम्रैसँग चलाउँछन् तर यदाकदा उनीहरूले आफ्ना सामाजिक सञ्जालमा गलत समाचारहरू राखेको पनि देखिन्छ। प्रविधिको प्रयोग गरी थप केही काम गर्नुपर्‍यो भने उनीहरूले अरूको सहारा लिनुपर्छ । यसको मतलब के हो भने साक्षर हुनु र डिजिटल साक्षर हुनु दुई फरक-फरक कुरा हुन्। 

अर्को प्रसंग। अहिले हामीमध्ये कसैलाई राहदानी बनाउनुपर्‍यो भने पहिले जस्तो सम्बन्धित कार्यालयमा गएर मात्रै हुँदैन। पहिल्यै अनलाइनबाट फारम भरेको हुनुपर्छ। यो बाहेक राहदानीको प्रक्रिया शुरू गर्ने अर्को उपाय छैन। तर एकजना आम मान्छे, अझ् हामीले माथि भने झैं ७६.२ प्रतिशत साक्षर जनसंख्यामध्ये कति प्रतिशतले अनलाइनमा गएर राहदानीको फारम भर्ने सामथ्र्य राख्लान् ? कति जनालाई त्यो अनलाइन फारम भर्न सक्छु जस्तो लाग्छ होला ? हुनत नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले सम्पूर्ण जनसंख्यासम्म इन्टरनेटको पहुँच पुगेको छ भन्छ, तर उनीहरूमध्ये कतिलाई राहदानी लिन अनलाइनबाट फारम भर्नुपर्छ भन्ने थाहा होला ? शायद यी कुनै प्रश्नको उत्तर त्यति उत्साहजनक नहुन सक्छ। यो निष्कर्षलाई थप बल पुर्‍याउँछन्– राहदानी बनाउने कार्यालयको वरिपरि खुलेका र अलिकति पैसा लिएर हाम्रो लागि फारम भरिदिने साइबर क्याफेहरूले। यही अवस्था डिजिटल सेवा प्रदान गर्न शुरू गरेको भनिएका अन्य सरकारी निकायमा पनि छ।

यी दुई प्रसंगबाट सजिलै बुझन सकिने कुरा के हो भने, हाम्रो वरिपरिका धेरै कुराहरू हामीले चाहे पनि या नचाहे पनि क्रमशः सम्पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछन्। तर हामी त्यसका लागि तयार छैनौं। हामीले डिजिटल साक्षरतालाई त्यति धेरै प्राथमिकतामा राखेका छैनौं, अथवा हाम्रो नीति निर्माण तहले ‘साक्षरता’ र ‘डिजिटल साक्षरता’ बीचको समानता र भिन्नताबारे त्यति छलफल गरेको छैन। नागरिकले विस्तारै आफैं जानिहाल्छन् नि भन्दै पन्छिएको स्थिति छ। त्यसैले त हामी विश्वभरिका मात्रै हैन दक्षिणएशियाका देशहरूमध्ये पनि डिजिटल साक्षरतामा सबैभन्दा पछाडि छौं। ‘विली’ (Wiley) भन्ने अनुसन्धान र प्रकाशन गर्ने कम्पनीले डिजिटल साक्षरता र दक्षता भएका जनसंख्याको आधारमा डिजिटल सीपको स्तर (Digital Skills Gap Index-DSGI) भनेर देशहरूको सूची सार्वजनिक गर्छ। पछिल्लो तथ्यांक अनुसार १३४ देशहरूको सूचीमा नेपाल १०४औं नम्बरमा पर्छ। 

के हो डिजिटल साक्षरता ? किन चाहिन्छ ?
डिजिटल प्रविधिको द्रुततर विकाससँगै हामीले हाम्रो वरपरको समाज, आफन्तजन, हाम्रो सरकार या जो–कोहीसँग गर्ने कुराकानी र अन्तरक्रियामा ठूलो रूपान्तरण भएको हामीले महसूस गरेकै छौं। नयाँ सम्भावनाको उदय भएको छ, सँगै नयाँ खालका चुनौती थपिएका छन्। जस्तै, तार भएका फोनबाट शुरू भएको सूचनासँगको हाम्रो सहज पहुँच अहिले गोजी-गोजीमा भएको मोबाइल फोनसम्मै आइपुगेको छ, इन्टरनेट गाउँ-गाउँ पुगेको छ। सँगसँगै मिथ्या सूचना Misinformation), साइबर सुरक्षा लगायत थुप्रै कुरा सबैजसो ठूला-साना देश र निकायहरूको टाउको दुखाइको विषय बनिरहेका छन्। प्रविधिले ल्याएका सम्भावना र चुनौतीसँग नेपाल र यहाँ बस्ने हामी सबै जना चाहेर या नचाहेर अनि ढिलो या चाँडो जोडिन पुगेका छौं। यी दुवैखाले अवस्थामा फाइदा उठाउन या सुरक्षित रहनका लागि लेख्न र पढ्न मात्रै जान्ने साक्षरताले पुग्दैन। त्यसको लागि चाहिन्छ डिजिटल साक्षरता। 

सञ्चार, प्रविधि, शिक्षा लगायत क्षेत्रका विज्ञ र अनुसन्धानकर्ताहरूले कम्प्युटर, मोबाइल फोन, इन्टरनेट लगायतका प्रविधि मात्रै नभई त्यहाँ प्राप्त जानकारी या सूचना समेत न्यूनतम रूपमा उपयोग गर्न, बुझन, प्रशोधन गर्न, साथै अरूसमक्ष व्यक्त गर्नसक्ने क्षमतालाई नै डिजिटल साक्षरता भनेका छन्। अनि यी क्षमता/दक्षता भएका नागरिकलाई चाहिं डिजिटल नागरिक। एकजना प्रख्यात अमेरिकी राजनीतिशास्त्री तथा अनुसन्धानकर्ता क्यारेन मसरवर्गरले भनेकी छन्, “डिजिटल प्रविधिको प्रभावकारी र आत्मविश्वासका साथ सदुपयोग गरी दैनिक रूपमा आफ्नो वरपरका व्यक्ति, जनप्रतिनिधि र सरकारसँग व्यक्तिगत, सामाजिक, राजनीतिक अन्तरक्रिया गर्न सक्ने नागरिक नै डिजिटल नागरिक हुन्।” 

डिजिटल साक्षरताले सुसज्जित डिजिटल नागरिकले प्रविधिको रणनीतिक प्रयोग गर्ने क्षमता राख्छ, प्रविधिकै प्रयोगबाट जटिल समस्याहरू समाधानको योजना बनाउन सक्छ। डिजिटल साक्षरताले नै हामीलाई सूचनाप्रविधिको युगमा प्रभावकारी रूपमा बाँच्न, सिक्न, काम गर्न सहयोग पुर्‍याउँछ। इन्टरनेटमा व्याप्त सूचनाको महासागरबीच आफूले खोजेकै र सत्य सूचना पर्गेल्न चाहिने विश्लेषणात्मक सोच, डिजिटल वातावरणमा अन्तरक्रिया गर्ने क्षमता, अनि प्राप्त सूचनाहरूको नैतिक तथा कानूनी प्रयोग गर्ने सीपको मिश्रण हो, डिजिटल साक्षरता। 

अहिलेको विश्वमा डिजिटल साक्षरता आवश्यक नपर्ने कुनै क्षेत्र छैन होला। यसको आवश्यकताको दायरा निकै फराकिलो बन्दै गएको छ। कोभिडको महामारीका बेला हिंडडुलमा लगाइएको रोकका कारण हाम्रा विद्यालय, हामीले सेवा लिने सरकारी तथा गैरसरकारी संघ-संस्थाहरू, हामीले वस्तु तथा सेवा खरीद-बिक्री गर्ने बजार लगायत सबैजसो क्षेत्रमा पहिलेको तुलनामा प्रविधिको व्यापक प्रयोग हुन थाल्यो। सबैतिर हामीले कहिल्यै महसूस नगरेको डिजिटल रूपान्तरण देख्यौं। छोटो समयमै इन्टरनेटको विश्वव्यापी ट्राफिकमा ६० प्रतिशतको छलाङ आयो। माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्या नाडेलाले एउटा सम्मेलनमा भनेका थिए, “हामीलाई सामान्यतया दुई वर्ष या त्योभन्दा धेरै समय लाग्ने वृद्धि दुई महीनाभन्दा कम समयमा प्राप्त भयो।” कोभिड शुरू भएको एक वर्षभन्दा कम समयमै विश्वभरका २२ प्रतिशतभन्दा धेरै देशहरू संयुक्त राष्ट्रसंघको ‘ई-गभर्मेन्ट डेभलपमेन्ट इन्डेक्स’ (e-Government Development Index) मा माथि उक्लिए।

विकसित देशहरू मात्रै हैन नेपालका लागि पनि डिजिटल रूपान्तरण एउटा आवश्यक कुरा बन्दै गयो। नेपालमा संघीयताको कार्यान्वयनपछि सरकारको उपस्थिति वडा-वडासम्म पुगेको छ। वडा, नगरपालिका/गाउँपालिका, जिल्ला, प्रदेश र संघमा रहेका सबै तहका सरकारको कामको परिमाण र जनता/नागरिकमा समेत आफ्ना सरकारप्रतिको अपेक्षामा उल्लेख्य वृद्धि भएको छ। बढेको काम र जनताको अपेक्षालाई सम्बोधन गर्न पुरानो तरिकाको सेवा प्रवाहले प्रभावकारी नतिजा ल्याउन सक्दैन, प्रविधिको प्रयोग अपरिहार्य हुन्छ। साथमा लोकतन्त्रका खम्बाका रूपमा रहेका पारदर्शिता, सहभागिता र सेवा प्रवाहमा द्रुतता पनि प्रविधि मार्फत नै प्राप्त गर्न सहज हुने कुरा हुन्। यो रूपान्तरित डिजिटल वातावरणमा नागरिकको उत्पादकत्व बढाउन समेत उनीहरूलाई डिजिटल साक्षर बनाउनु जरूरी भएको छ। 

दिनानुदिन आइरहेका एआई, ब्लकचेन, मेटाभर्स जस्ता प्रविधिको उच्चतम प्रयोगबारे हाम्रा नागरिकलाई जानकारी दिइएन र विस्तारै उनीहरूलाई त्यसमा अभ्यस्त बनाइएन भने हामीले वर्षौंदेखि देखेको डिजिटल खाडल अथवा ‘डिजिटल डिभाइड’ अझै फराकिलो हुँदै जानेछ। तसर्थ, विद्यमान नीतिगत तथा प्रक्रियागत समस्याहरूलाई प्रविधिको प्रयोग गरेर सम्बोधन गर्न अनि साइबर सुरक्षा, गलत सूचना जस्ता डिजिटल चुनौतीहरूको सामना गर्नसक्ने सक्षम नागरिक बनाएर अरू देशहरूमा जस्तै डिजिटल चुस्तता ल्याउन हामीले डिजिटल साक्षरता विस्तार नगरी हुँदैन। 

आजलाई डिजिटल नागरिक, भोलिलाई डिजिटल जनशक्ति
डिजिटल सीप र दक्षता भएका डिजिटल नागरिक आजका लागि जस्तै भोलिका लागि पनि उत्तिकै महत्वपूर्ण छन्। हामीले माथि नै छलफल गरे जस्तै सरकारी तथा गैरसरकारी निकाय र निजी क्षेत्रको काम बढेको छ, अन्य विकसित देशका निकायहरूसँग तुलना गर्नसक्ने क्षमता बनाएका नागरिकको अपेक्षा पनि बढेको छ। भोलिका दिनमा हाम्रा प्रायःजसो कुराकानी, सेवा तथा वस्तुको विनिमय डिजिटल नै हुनेछ। त्यसका लागि प्रशस्त प्रणालीहरू, वेबसाइट, पोर्टलहरू, एपहरू बन्नेछन्। तिनलाई विना कुनै समस्या चलाइराख्न, आएका समस्याहरू समाधान गर्न पनि उपयुक्त जनशक्तिको आवश्यकता पर्नेछ। आज हामीले आफ्ना योजनाहरू सफल बनाएर आर्थिक समृद्धि हासिल गर्नका लागि बनाएका डिजिटल नागरिक भोलिको हाम्रो योजनाको प्राविधिक र प्रशासनिक पाटो सम्हाल्ने दरिलो जनशक्ति बन्न सक्छन्। 

भोलिका दिनमा एआई, ब्लकचेन जस्ता प्रविधिका एकदमै नवीनतम कुराहरूले धेरैजसो कुराहरू चलायमान गराउने संकेत देखिइरहेका बेला त्यो समयका लागि बजार अनुकूल जनशक्ति निर्माण गर्नुपर्ने चुनौती हामीमाझ् छ। संयुक्त राष्ट्रसंघले तय गरेको र हामीले समेत अंगीकार गरेको दिगो विकास लक्ष्यको लक्ष्य ४.४ मा सन् २०३० सम्ममा बजार माग अनुसारको प्राविधिक, व्यावसायिक लगायत सीप भएका उद्यमशील युवा र वयस्कहरूको संख्यामा उल्लेख्य वृद्धि गर्ने भनेर लेखिएको छ । भोलि उनीहरू नै नीतिनिर्माता बन्न सक्छन्, उच्च तहका कर्मचारी बन्न सक्छन्, निजी क्षेत्रका नेता बन्न सक्छन्, जसलाई डिजिटल कुराहरूको राम्रो ज्ञान हुन्छ । उनीहरूले बनाएका कानून, लिएका आकांक्षा र योजनाहरू नै हाम्रो समुन्नत भविष्यका परिपूरक बन्न सक्छन्।

डिजिटल नागरिक बनाउन सघाउने पहिलो ठाउँ, विद्यालय
डिजिटल साक्षरतालाई सीप, दक्षता र क्षमता मानेपछि यो पनि विद्यालयहरूबाटै शुरू हुनुपर्ने कुरा हो भन्न सकिन्छ । हामीले सामान्य तरिकाले हेर्ने हो भने पाका उमेरका व्यक्तिहरूको तुलनामा बच्चाहरू नै प्रविधिमा बढी उत्सुक र सहज हुन्छन्। तर उनीहरूलाई कुन कुरा कसरी चलाउनुपर्छ, सही र गलत कसरी छुट्याउने, आफ्नो दैनिक सामाजिक र राजनीतिक जीवनमा त्यसलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने जस्ता कुरा थाहा नहुन सक्छ। अहिले हामीले विद्यालयमा सिकाउने प्रविधिको पाठ्यक्रम बढीजसो कम्प्युटर र त्यसको नितान्त प्राविधिक पाटोसँग मात्रै सम्बन्धित छ । विश्वभरि नै मोबाइल फोन मान्छेले सूचना प्राप्त गर्ने र हेर्ने पहिलो स्क्रिन भइसकेको अवस्थामा अब कम्प्युटरमा मात्रै सीमित रहनुहुँदैन। अनि विद्यार्थीलाई ‘कम्प्युटरको यो भागलाई यो भनिन्छ’ अथवा ‘यसरी कोड लेख्यो भने यो बन्छ’ भनेर मात्रै सिकाएर पुग्दैन । सूचनाहरू कहाँ-कहाँ हुन सक्छन्, ती सूचनाहरूको सत्यता कसरी जाँच्न सकिन्छ, कसरी सूचनाहरू प्रशोधन र विश्लेषण गर्न सकिन्छ, त्यो विश्लेषणले कहाँ-कहाँ के के अर्थ राख्छन् भन्ने पनि सिकाउनुपर्छ। त्यति मात्रै हैन, कुन कुन सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, जनप्रतिनिधिहरूलाई अनलाइनमा कहाँ र कसरी भेट्न सकिन्छ, कसरी तिनीहरूसँग अन्तरक्रिया गर्न सकिन्छ भन्ने कुरा सिकाउन थाल्यो भने मात्रै हामीले डिजिटल नागरिक उत्पादन गर्ने अभियानको बीजारोपण गरेको ठहर्छ। हामीले विद्यार्थीहरूलाई सिकाउन थाल्यौं भने धेरै हदसम्म उनीहरूले घरमा रहेका त्यसप्रति अभ्यस्त नभएका आफ्ना अभिभावकहरूलाई सिकाउन थाल्छन्। विस्तारै हराउँदै गइरहेका हाम्रा प्रौढ शिक्षाका कार्यक्रममा पनि डिजिटल साक्षरताका कुराहरू जोड्दै जान सकिन्छ । यस अर्थमा डिजिटल नागरिक उत्पादन गर्न र डिजिटल साक्षरतालाई विस्तारित गर्नमा विद्यालय सबैभन्दा महत्वपूर्ण  थलो हो अनि विद्यार्थी डिजिटल रूपान्तरणका संवाहक। 

(लेखक आचार्य डिजिटल-सञ्चार विषयमाअष्ट्रेलियाको मेलवर्न विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका छन्।)

शिक्षक मासिक, २०८० माघ अंकमा प्रकाशित । 

commercial commercial commercial commercial